गोल्याण ग्रुप हाँकिरहेका तेस्रो पुस्ताका अक्षय

गोल्याण ग्रुप हाँकिरहेका तेस्रो पुस्ताका अक्षय
सुन्नुहोस्

अक्षयले ग्रुपलाई आधुनिक प्रविधि र विविधीकरणसहित नयाँ अध्यायमा नेतृत्व गरिरहेका छन्।

गोल्याण ग्रुप हाँकिरहेका तेस्रो पुस्ताका अक्षयनेपालको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा करिब सात दशक लामो विरासत बोकेको गोल्याण ग्रुपको तेस्रो पुस्ताका प्रतिनिधि हुन्, अक्षय गोल्याण। उनी एक अध्ययनशील, दूरदर्शी र नतिजामुखी युवा उद्यमीको रूपमा परिचित छन्। उनी ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन्।

सोहनलाल गोल्याणले विराटनगरबाट एउटा सानो व्यापारिक प्रतिष्ठानका रूपमा सुरु गरेको यो व्यावसायिक समूहलाई पवन गोल्याणले औद्योगिक उचाइ दिएका थिए। अहिले अक्षयले यसलाई आधुनिक प्रविधि, विविधीकरण र दिगो विकासको नयाँ अध्यायमा नेतृत्व गरिरहेका छन्। विश्वव्यापी तथ्यांक हेर्ने हो भने तेस्रो पुस्तामा पुग्दा धेरैजसो पारिवारिक व्यवसायहरू टुक्रिन्छन् वा सकिन्छन्। तर, गोल्याण ग्रुप अपवाद बनेको छ। हजुरबुवा सोहनलालले रोपेको बिउलाई अक्षयका बुवा पवनले हुर्काएर विशाल वृक्ष बनाए। अहिले त्यो वृक्षको संरक्षण, काँटछाँट र विस्तारको जिम्मा अक्षयको काँधमा आएको छ।

अक्षयको प्रारम्भिक शिक्षा काठमाडौंको प्रतिष्ठित इन्टरनेसनल स्कुल ‘लिंकन स्कुल’मा भएको थियो। विद्यालय तहको शिक्षापछि उनले करिब ११ वर्ष विदेशमा बसेर उच्च शिक्षा र व्यावसायिक अनुभव हासिल गरे। उनले विश्वका उत्कृष्ट १० विश्वविद्यालयको सूचीमा पर्ने स्पेनको बार्सिलोनास्थित प्रतिष्ठित ईएसएडी युनिभर्सिटीबाट बिजनेस स्टडिजमा स्नातकोत्तर (एमबीए) पूरा गरे। विदेशमा रहँदा उनले केवल सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेनन्, बरु आफ्नै सानो व्यवसायसमेत सुरु गरेर उद्यमशीलताको व्यावहारिक अनुभव बटुलेका थिए।

लामो समयको प्रवासपछि उनी सन् २०१७ मा नेपाल फर्किए, जुन उनको जीवनको एउटा महŒवपूर्ण मोड सावित भयो। उनको फिर्तीको मुख्य कारण बुवा पवन गोल्याणसँगको एक महŒवपूर्ण पारिवारिक छलफल थियो, जसमा उनले आफ्नो परिवारले नेपालको औद्योगिक विकासमा ६–७ दशकदेखि पुर्‍याएको योगदान र संघर्षको इतिहास बुझ्ने मौका पाएका थिए। आफ्नै देशको माटोमा केही सिर्जना गर्दा प्राप्त हुने छुट्टै ऊर्जा र गौरवको महसुस गर्दै उनले आफ्नो करियरलाई नेपालमै समर्पित गर्ने दृढ संकल्प गरे।

नेपाल फर्किएपछि उनले सिधै नेतृत्वदायी पद सम्हाल्ने सुविधा लिनुको साटो व्यवसायको जगबाटै सिक्ने बाटो रोजे। उनले उद्योगको ‘सप फ्लोर’ (उत्पादन स्थल)बाटै काम सुरु गरेर मेसिनरी, जनशक्ति र उत्पादन प्रक्रियाका सूक्ष्म पक्षहरूलाई नजिकबाट नियाले। एक–डेढ वर्षको कडा परिश्रम र सिकाइपछि मात्र उनी नेतृत्वको अग्रपंक्तिमा आए। उनको नेतृत्वमा गोल्याण ग्रुपले परम्परागत उद्योगका साथै नवीन र दिगो क्षेत्रमा ठूलो फड्को मारेको छ। विशेषगरी नवीकरणीय ऊर्जा (जलविद्युत् र सौर्य ऊर्जा), व्यावसायिक कृषि र हस्पिटालिटी गरी २५ भन्दा बढी क्षेत्रमा भइरहेको ग्रुपको लगानीलाई उनले रणनीतिक रूपमा अगाडि बढाएका छन्। ‘माटो’ ब्रान्डमार्फत नेपालमा विषादीमुक्त र स्वदेशी कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उनको अभियानले नेपाली किसान र उपभोक्तालाई जोड्ने कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ। साथै, रिलायन्स स्पिनिङ मिल्समार्फत नेपाली उत्पादनलाई विश्वबजारमा पुर्‍याएर निर्यात प्रवद्र्धनमा उनले दिएको योगदान उदाहरणीय छ।

अक्षय गोल्याण व्यवसायलाई केवल नाफा र टर्नओभरका आधारमा मात्र मूल्यांकन गर्दैनन्। उनको दृष्टिकोणमा व्यवसाय भनेको ‘सिर्जना’ र ‘योगदान’ हो। उनी भन्छन्, ‘हामीले कति नाफा कमायौँ भन्नेभन्दा पनि हाम्रो व्यवसायले समाजमा कति व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्‍यो भन्ने कुराले सफलताको मापन गर्दछ।’ यही सोचकै कारण गोल्याण ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा र स्वास्थ्यका क्षेत्रमा ठूलो लगानी गरेको छ। विशेषगरी पछिल्ला सामाजिक–राजनीतिक (जेन–जी) आन्दोलनका सहिद परिवारका बालबालिकालाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति र सहिदका बुवाआमाका लागि स्वास्थ्य बिमा कार्यक्रमको नेतृत्व उनले नै गरिरहेका छन्। हाल ३२ विद्यार्थी उनीहरूको पहलमा छात्रवृत्ति पाइरहेका छन्, जसले अक्षयको मानवीय र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई स्पष्ट पार्छ। गोल्याण ग्रुपले एक जना विद्यार्थीलाई मासिक ४० हजार रुपैयाँको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ व्यहोर्दै आएको छ।

नेपाली व्यावसायिक वातावरणका चुनौतीहरूलाई उनी सकारात्मक ‘सिकाइ’ का रूपमा लिन्छन्। नेपालको नीतिगत अस्थिरता र झन्झटिलो सरकारी प्रक्रियाका बाबजुद पनि यहाँ सम्भावनाको खानी रहेको उनको ठम्याइँ छ। उनले जलविद्युत्, पर्यटन र कृषि क्षेत्रलाई नेपालको आर्थिक समृद्धिको मेरुदण्ड मानेका छन्। विशेषगरी पर्यटन क्षेत्रमा लुम्बिनी र पश्चिम नेपालमा नयाँ होटल तथा वाइल्डलाइफ टुरिज्मका प्रोजेक्टहरू अगाडि बढाएर उनले नेपाललाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने लक्ष्य राखेका छन्। विदेश पलायन भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्दै उनी भन्छन्, ‘आफ्नो घर र देशलाई कम्तीमा एकपटक मौका दिनुपर्छ।’

दिनहुँ हजारौं युवा विदेश पलायन भइरहेको समयमा ३७ वर्षीय अक्षय गोल्याणले नेपालमै बसेर साम्राज्य खडा गर्ने काममा लाग्नु र नेतृत्व सम्हाल्ने आँट गर्नु आफैंमा एउटा बलियो सन्देश हो। उनी विदेशमा पढे, त्यहाँको जीवनशैली देखे, तर अवसर भने आफ्नै देशमा देखे। ‘विदेशमा डलर कमाइएला, तर त्यहाँको खर्च पनि डलरमै हुन्छ। अन्त्यमा बचत खासै हुँदैन,’ अक्षय युवाहरूलाई सुझाव दिन्छन्, ‘यदि तपाईंसँग शिक्षा छ, सीप छ र मिहिनेत गर्ने बानी छ भने नेपालमा जति अवसर अहिले कतै छैन। यहाँ कम्पिटिसन कम छ, ग्रोथको सम्भावना उच्च छ। हामीजस्ता कर्पोरेट हाउसहरू सधैं ट्यालेन्टको खोजीमा हुन्छौं। महिनामै ५–१० जना नयाँ मान्छे हामीलाई चाहिन्छ।’ उनी नेपाल विकासोन्मुख देश भएकाले यहाँ हरेक क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र त्यो नै युवाका लागि ‘सुनौलो अवसर’ भएको तर्क गर्छन्।

स्थायी नीतिको पक्षधर उनी बहुमतको नयाँ सरकारबाट निकै नै आशावादी छन्। युवा नेतृत्वको सरकारले आगामी पाँच वर्षमा स्थायी नीति लिने उनको विश्वास छ। सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखी काम गरे अझै धेरै गर्न सकिने उनी बताउँछन्।

अक्षय गोल्याण एक आधुनिक उद्यमी हुन् जसले शिक्षाको विश्वव्यापी गुणस्तर र नेपालको स्थानीय आवश्यकतालाई सुन्दर ढंगले संयोजन गरेका छन्। उनको नेतृत्वमा गोल्याण ग्रुपले केवल औद्योगिक साम्राज्यमात्र फैलाएको छैन, बरु नेपालको अर्थतन्त्र, समाज र युवा पुस्ताका लागि एक प्रेरणादायी उदाहरण देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.