जैविक विविधता संरक्षणमा अविराम यात्रा
संस्कृति जगेर्ना, हात्ती पूजालगायतका पर्यापर्यटन प्रवद्र्घनमा हेमन्तको योगदान छ।
वरिपरि बर्दिया राष्ट्रिय निकुञ्जको घना जंगल। सँगै जोडिएको मध्यवर्ती सामुदायिक वन। यसको नजिकै टाँटीले बारेको खरको झुपडीमा सुतिरहेको बेला आँगनमै जंगली हात्ती आयो। मध्यरातमा हात्ती धपाउन उठेका बाबुलाई एक्कासि आक्रमण गरी घटनास्थलमै प्राण लियो। २०६६ साल असोज २६ गतेको यो कहालीलाग्दो बीभत्स घटना अझै पनि परिवारको मानसपटलमा कालो दिनकै रूपमा रहेको छ।
सामुदायिक जैविक विविधता संरक्षणको नेतृत्व लिएका बाबु ओमप्रसाद जैसीको हात्ती आक्रमणमा ५२ वर्षकै उमेरमा हृदयविदारक मृत्यु भए पनि परिवारजन संरक्षणमा डगमगाएनन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–९ स्थित हात्तीसार घर भएका जैसीका छोरा हेमन्तप्रसाद आचार्य अब्बल संरक्षणकर्मीका रूपमा उदाएका छन्।
बाबुको मृत्यु हुँदा किशोर अवस्थामा रहेका उनी शैक्षिक उन्नयनसँगै संरक्षण क्षेत्रमा कम्मर कसेर लागे। उनकी आमा र दाजु पनि संरक्षणमै अघि बढेका छन्। उनका बुबाले बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संस्थापक अध्यक्ष हुँदै १५ वर्ष सामुदायिक संरक्षणको नेतृत्व लिएका थिए। बुबाले देखाएको बाटो नै अहिले आफूले पनि पछ्याएको उनले बताए। उनले बर्दिया राष्ट्रिय निकुञ्जको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानमा १५ जना युवाहरूको समूह बनाएका छन्। समूहमार्फत उनले संरक्षणमा जोड्दै ३५ सय युवाहरूको दस्ता बनाउन अभूतपूर्व योगदान गरेका छन्।
२०६९ सालमा अभियानको उपसमिति संयोजक बनेका आचार्य २०७१ सालमा अभियानको १९ वटा उपसमिति र ११३ वटा एकाइ एकीकृत गरी युवा परिचालन अभियान मूल समितिको संस्थापक अध्यक्ष बने। चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान विश्वमै बर्दियाबाट शुभारम्भ गरिएको थियो। हाल अभियानमा ५५ प्रतिशत महिला र बाँकी पुरुष आबद्ध छन्। अभियानलाई सफल बनाउन बर्दिया राष्ट्रिय निकुञ्जका तत्कालीन वार्डेन रमेशकुमार थापाको उल्लेखनीय भूमिकाको उनले स्मरण गरे।
निकुञ्ज कर्मचारी प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकाय एवम् स्थानीय संघसंस्थासँगको समन्वयमा आफूहरू अघि बढेको उनले सुनाए। अभियानमा जोडिएसँगै आचार्यले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणार्थ सामुदायिक रूपमा वन्यजन्तु द्रुत उद्धार, चोरी सिकार नियन्त्रणलगायतका ९ वटा थप उपसमिति गठन गर्दै जैविक विविधता संरक्षणमा अगाडि बढेको उनले स्मरण गरे। अभियानका माध्यमबाट एक दशक अघिदेखि बर्दियामा गैँडाको शून्य चोरी सिकार बनाउन सफलता मिलेको थियो। त्यस्तै द्वन्द्व न्यूनीकरण गर्न प्रविधि प्रयोगको सुरुवातमा आचार्यको नाम अग्रपंक्तिमा छ।
आचार्यले घरघरमा राख्ने परम्परागत प्रचलन रहेका जरायोको सिङ, गैँडाको खाग, हात्तीको पुच्छरलगायतका ओखेटोपहार घरघरबाट नियन्त्रणमा लिने अभियानमार्फत घरमा राख्ने परम्परा निरुत्साहित भएको छ। अभियानकै क्रममा चोरी सिकारीहरूका हतियारहरू निकुञ्जलाई स्वतःस्फूर्त रूपमा बुझाई धेरै घरेलु हतियारहरू संकलन गरिएको आचार्यले प्रस्ट्याए। मानव बस्तीमा आउने हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुहरू धपाउने कार्यमा पनि अभियानको भूमिका छ। अभियानमा जोडिएका तथा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने महिलाको आयआर्जनमा समेत अभियानले मद्दत पुर्याएको छ।
अभियानका युवाहरू मार्फत दैनिक तथा आवश्यकताअनुसार निकुञ्जसँगको सहकार्यमा जंगल भित्र गस्ती हुन्छ, जसका कारण अवैध गतिविधि नियन्त्रणमा सहयोग पुगेको छ। आचार्यले थपे, ‘होमस्टे सञ्चालन, नेचर गाइड, फोटोसप, सिलाइकटाइ, कृषि उद्यमलगायत नेतृत्व विकासमा तालिमसमेत उपलब्ध गराएका छौं। निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका रैथाने जंगली बिरुवाहरूको पहिचान गरी एप्सका माध्यमबाट अनुगमन तथा वन विज्ञानका विद्यार्थीलाई जानकारी गराउँदै आएका छौँ।’
संरक्षण क्षेत्र तथा महेन्द्र राजमार्ग क्षेत्रमा फालिने प्लास्टिकजन्य फोहोर नियन्त्रणमा अभियानको विशेष भूमिका छ। करिब डेढ दशकदेखि संरक्षण क्षेत्रमा अनुभव सँगालेका आचार्यले संरक्षणमा लागेका युवा पलायन रोक्नुपर्नेमा जोड दिएका छन्। राज्यले नीति नियम सुधार गर्दै युवा परिचालन गर्नुपर्छ। उचित बजेट व्यवस्थापन बिना संरक्षण अधुरो रहने अनुभव उनको छ। प्रकृतिमा आधारित उत्पादन प्रमोट गर्न सामुदायिक रूपमा सौगात पसलहरू सञ्चालन गरेको उनले बताए।
वन्यजन्तुको द्वन्द्वबाट बिचल्लीमा परेका परिवारको जीवनस्तर उकास्नुपर्ने उनले बताए। लामो समयदेखि संरक्षणमा जोडिएका आचार्यले राष्ट्रपतिबाट उत्कृष्ट प्रतिभा पुरस्कार, प्रधानसेनापति संरक्षण प्रशंसा पुरस्कार, लुम्बिनी प्रदेश सरकारबाट उत्कृष्ट वन संरक्षक पुरस्कारलगायत स्थानीयस्तरमा संरक्षणबापत विविध विषयमा गरी २ दर्जन बढी सम्मान तथा पुरस्कारसमेत पाएका छन्। प्रकृति पथप्रदर्शकसमेत रहेका उनले पर्यटनकर्मीका रूपमा समेत पहिचान बनाएका छन्। संस्कृति जगेर्ना, हात्ती पूजालगायतका पर्यापर्यटन प्रवद्र्धनमा उनको योगदान छ। हाल उनी बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष भएर संरक्षणसँगै समुदायको प्रवर्द्धनमा काम गर्दै आएका छन्।
वन र वन्यजन्तु मात्र नभई चरा संरक्षण तथा स्थानीय थारु समुदायको कला, संस्कृति, भेषभूषा संरक्षण र प्रवर्द्धन गर्दै समुदायको जीविकोपार्जनमा अगाडि बढेको उनले सुनाए। पछिल्लो समय बर्दियाको पर्यटकीय क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। बर्दियाको पर्यटन उकास्न भौतिक पूर्वाधारसँगै प्रविधियुक्त बनाउनुपर्नेमा उनको जोड छ। पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेकाले सहअस्तित्वको वातावरण निर्माण गर्नु आवश्यक रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !