२० वर्षमै सरकारी सेवा, सपना मुख्यसचिव
२० वर्षकै उमेरमा सरकारी सेवामा प्रवेश गरेर उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। यदि यही रफ्तार कायम रह्यो भने एकदिन मुख्यसचिव बन्ने उनको सपना अवश्य साकार हुन सक्छ।
१२ कक्षा सक्नेबित्तिकै विदेश जाने प्रवृत्ति नेपालका युवायुवतीमाझ तीव्र रूपमा बढिरहेको छ। राम्रो आम्दानी, सुरक्षित भविष्य र अवसरको खोजीमा हजारौं युवा प्रत्येक वर्ष विदेशतर्फ आकर्षित भइरहेका छन्। यस्तो परिस्थितिमा स्वदेशमै बसेर संघर्ष गर्दै सरकारी सेवामा प्रवेश गर्ने युवाको संख्या तुलनात्मक रूपमा कम देखिन्छ। तर यही भिडको बीचमा फरक बाटो रोज्दै खोटाङका २० वर्षीय रोशन आचार्यले भने सरकारी सेवाबाटै आफ्नो भविष्य निर्माण गर्ने दृढ संकल्प गरेका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का स्थायी बासिन्दा आचार्यको जन्म २०६२ साल माघ १ गते भएको हो। सानै उमेरदेखि अध्ययनमा रुचि राख्ने उनी हाल नेपाल कमर्स क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत छन्। अध्ययनसँगै करिअरलाई व्यवस्थित गर्दै सरकारी सेवामा प्रवेश गर्नु धेरैका लागि प्रेरणाको विषय बनेको छ।
रोशनको सरकारी सेवामा यात्रा सहज भने थिएन। उनले सुरुवातमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामा २०८२ साल कात्तिक ११ गते सहायक लेखापाल पदमा नियुक्ति पाए। त्यहाँको अनुभवले उनलाई प्रशासनिक प्रणाली र कार्यशैली बुझ्न महŒवपूर्ण आधार दियो। तर उनको लक्ष्य स्पष्ट थियो— निजामती सेवामा प्रवेश गरेर देशको सेवा गर्ने। यही उद्देश्यलाई केन्द्रमा राख्दै उनले २०८२ चैत १७ गते उक्त संस्थाबाट राजीनामा दिए।
यसअघि नै उनले लोकसेवा आयोगको परीक्षामा सफलता हासिल गरिसकेका थिए। २०८२ चैत १५ गते संघीय खरिदार पदका लागि सिफारिस भएका रोशनलाई मालपोत कार्यालय खोटाङमा पदस्थापन गरियो। त्यसको दुई दिनपछि, चैत १८ गते उनले औपचारिक रूपमा खरिदार पदको जिम्मेवारी सम्हाल्दै सरकारी सेवाको यात्रा सुरु गरे।
उनका लागि सरकारी सेवा केवल जागिर होइन, समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्ने अवसर हो। उनी भन्छन्, ‘जनताको सेवा गर्न मन लागेर नै निजामती सेवामा आएको हुँ। यहाँबाट सेवा गर्ने अवसर पनि पाइन्छ र भविष्य पनि सुरक्षित तथा मर्यादित हुन्छ।’
रोशनको लक्ष्य अझै ठूलो छ। उनले भविष्यमा सचिव हुँदै मुख्यसचिवसम्म पुग्ने सपना बोकेका छन्। ‘म निरन्तर मेहनत र इमान्दारिका साथ काम गर्दै जानेछु। एकदिन मुख्यसचिव बन्ने लक्ष्य छ,’ उनी आत्मविश्वासका साथ भन्छन्। बीबीएस सकेपछि शाखा अधिकृतको तयारी गर्ने योजना उनले बनाएका छन्।
उनको प्रेरणाको स्रोत परिवार नै हो। ठूलीआमाका छोराहरू दाजु गोविन्दराज आचार्य, भूमिराज आचार्य र जेठी दिदी
दुर्गा आचार्यबाट उनले निरन्तर हौसला र मार्गदर्शन पाएका छन्। पारिवारिक साथले नै आफूलाई सही दिशामा अघि बढ्न सहयोग पुगेको उनी बताउँछन्।
सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती र भ्रष्टाचारप्रति उनको दृष्टिकोण स्पष्ट छ। ‘तोकिएको कार्यविधिलाई पूर्ण रूपमा पालना गर्नुपर्छ। सेवाग्राहीलाई आवश्यक जानकारी दिनुपर्छ र प्रत्येक कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्नुपर्छ,’ उनी भन्छन्। साथै, डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई छिटो, छरितो र पारदर्शी बनाउन सकिने उनको विश्वास छ।
युवाशक्ति विदेश पलायन भइरहेका बेला रोशनजस्ता युवाले फरक सन्देश दिएको स्थानीयवासी बताउँछन्। सीमित स्रोतसाधनका बीच पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।
बाबुको संघर्षले सफलता
रोशनको सफलताको पछाडि उनका बाबु तोयानाथ आचार्यको ठूलो त्याग र संघर्ष पनि छ। परिवारको भविष्य उज्ज्वल बनाउन उनले करिब दुई दशक परदेशमा बिताए। साउदी अरब, अफ्रिका, क्रोएसिया र इटालीलगायत विभिन्न देशमा श्रम गरेर कमाएको आम्दानी उनले सन्तानको शिक्षा–दीक्षामा खर्च गरे।
तोयानाथ भन्छन्, ‘मैले विदेशमा धेरै दुःख गरेर कमाएँ, तर छोराछोरीको पढाइमा कहिल्यै कमी हुन दिइनँ। आज ठूली छोरी अधिकृत र कान्छो छोरा खरिदार भएको देख्दा मेरा सबै दुःख सार्थक भएको महसुस हुन्छ।’
उनका अनुसार परदेशको पीडा सहनुको एकमात्र उद्देश्य आफ्ना सन्तानलाई राम्रो शिक्षा र उज्ज्वल भविष्य दिनु थियो। ‘हामीले भोगेको दुःख उनीहरूले नदेखून् भन्ने चाहनाले नै म बिदेश बसिरहेँ’, उनले भावुक हुँदै भने।
तोयानाथको त्यही संघर्ष र समर्पणले आज रोशनलाई यो स्थानमा पुर्याएको हो। बाबुको त्यागलाई सम्मान गर्दै रोशन पनि इमान्दार र कर्तव्यनिष्ठ कर्मचारी बनेर देशको सेवा गर्ने अठोटमा छन्।
२० वर्षकै उमेरमा सरकारी सेवामा प्रवेश गरेर उनले आफ्नो क्षमता प्रमाणित गरिसकेका छन्। अब चुनौतीहरू पनि छन् र अवसरहरू पनि। यदि यही समर्पण कायम रह्यो भने एकदिन मुख्यसचिव बन्ने उनको सपना अवश्य साकार हुन सक्छ। रोशनको सफलताको यात्राले एउटा प्रश्न उब्जाउँछ—के हामीले विदेश जाने मात्र सोच्ने कि स्वदेशमै बसेर केही नयाँ गर्ने ? रोशन भन्छन्, ‘देशमै बसेर पनि सम्भावना छ, केवल प्रयास र मेहनत गर्न सके सफलता हात पर्छ।’
प्रतिक्रिया दिनुहोस !