सुमधुर स्वरको पर्याय : गंगा सोनाम

सुमधुर स्वरको पर्याय : गंगा सोनाम

नेपालको सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा र आशा बोकेर उदाएकी प्रतिभा हुन्– गंगा सोनाम। आफ्नो सुमधुर स्वर र अथक मेहनतले उनी नेपाल आइडल सिजन ६ की विजेतासमेत बनिन्। उनको सफलता एउटा जितमात्र होइन, सपना देख्ने युवाको संघर्षदेखि सफलतासम्मको प्रेरणादायी कथा हो।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका— १० बडहरे पाटीगाउँमा २१ वर्षअघि बुवा ध्रुव सोनाम र आमा सीता सोनामको काखबाट कान्छी सन्तानको रूपमा जन्मिएकी गंगाको बाल्यकाल सामान्य ग्रामीण परिवेशमै बित्यो। गाउँको सादा जीवन, प्राकृतिक वातावरण र सांस्कृतिक परिवेशले उनको मनमा संगीतप्रति गहिरो लगाव पैदा गर्‍यो। 

सानैदेखि गीत गाउन रुचाउने उनी विद्यालयका कार्यक्रम र स्थानीय मञ्चहरूमा आफ्नो प्रतिभा देखाउँदै अघि बढिन्। बुवाआमाले दिएको हौसला र साथले गंगालाई आफ्नो रुचिलाई पछ्याउने साहस दियो। र, विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय मञ्चहरूमा उनले आफ्नो प्रतिभा प्रस्तुत गर्दै गइन्।

अरूले गाएको सुनेर आफैं गुनगुनाउन थालेकी गंगा कक्षा ६ मा पुगेपछि मात्र आफू राम्रो गाउन सक्ने रहेछु भन्ने थाहा पाएको बताउँछिन्। विद्यालयको कार्यक्रममा गीत गाउँदा साथी र शिक्षकहरूबाट पाएको प्रशंसाले उनलाई थप हौसला दियो। त्यो प्रशंसाले गंगामा गायिका बन्ने सपनाको बीजारोपण गर्‍यो। मेलापात जाँदा होस् वा घाँस–दाउरा काट्दा, उनी अरू कसैको वास्ता नगरी चिच्याइचिच्याई गाउँथिन्।

तर, गंगाको संगीत यात्रा सहज थिएन। गाउँमा सीमित स्रोत–साधन, अवसरको कमी र आर्थिक चुनौतीबीच उनले आफ्नो सपनालाई जोगाइराखिन्। उनी रेडियो सुन्दै, गीत सिक्दै र आफ्नै तरिकाले अभ्यास गर्दै बिताउँथिन्। औपचारिक प्रशिक्षणको अभाव हुँदाहुँदै पनि उनको स्वरमा प्राकृतिक मिठास र भावनात्मक गहिराइ थियो। उनी गीत गाउनेमात्र होइन, गीतलाई महसुस गरेर प्रस्तुत गर्ने क्षमता राख्छिन्। यही गुणले उनलाई अन्य प्रतिभाभन्दा फरक बनायो। संघर्षका बीच पनि उनले हार मानिनन्; बरु प्रत्येक चुनौतीलाई सिकाइको अवसर बनाइन्। 

ग्रामीण भेगमा जन्मे हुर्केकी गंगालाई नेपाल आइडलजस्तो गायन क्षेत्रको ठूलो रियालिटी शोमा भाग लिन्छु भन्ने कहिल्यै लागेको थिएन। तर उनले भाग लिइन् र विजेता पनि भइन्। उनी यसको श्रेय दीपेन्द्र सोनामलाई दिन चाहन्छिन्, जसले उनको गायन क्षमतालाई चिने र गाउनका लागि सधैं हौसला प्रदान गरे। दीपेन्द्र आफैं गायक हुन्।

न त गंगाको गाउँमा संगीत सिक्ने वातावरण थियो, न औपचारिक प्रशिक्षण। तर, आवाजमा भएको सुमधरता र मौलिकताले नै उनलाई यहाँसम्म ल्याएको हो। ‘म पहिले स्टेजमा गाउन पनि डराउँथेँ। अहिले दर्शकबाट पाएको अगाध मायाले आत्मविश्वास बढेको छ,’ गंगा भन्छिन्, ‘यति धेरै मान्छेले चिन्नुहुन्छ, कति राम्रो स्वर भन्नुहुन्छ, यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पनै गरेको थिइनँ।’ अब आपूmलाई संगीतमै समर्पित गर्ने लक्ष्य राखेको उनले बताईन्।

गंगाले संगीतमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्। उनले अहिलेसम्म तीन दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनका गीतहरूमा विविधता पाइन्छ, लोकधुनदेखि आधुनिक संगीतसम्म। उनको स्वरमा मिठासमात्र होइन, भावना र संवेदनशीलता पनि झल्किन्छ, जसले श्रोतालाई सहजै आकर्षित गरेको छ। उनले विभिन्न सांस्कृतिक कार्यक्रम, राष्ट्रिय मञ्चहरूमा आफ्नो प्रस्तुति दिएकी छन्। संगीतप्रति उनको समर्पण र निरन्तर अभ्यासले उनलाई छोटो समयमा नै लोकप्रिय बनाएको छ।

गंगाले एक दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन्। विभिन्न सांगीतिक संघसंस्था, विद्यालय, क्लबले उनको मेहनत र प्रतिभाको कदर गर्दै प्रदान गरेको सम्मानले आफ्नो यात्रालाई अझ प्रेरणादायी र जिम्मेवार बनाएको उनी बताउँछिन्।

सरल, विनम्र र मेहनती व्यक्तित्वको धनी गंगा सफलता प्राप्त गर्न होइन जोगाउन सक्नुपर्ने धारणा राख्छिन्। आफ्ना कार्म, आफ्नो ठाउँ र आफ्नो पहिचानप्रति गर्व गर्ने उनको व्यवहारले गंगालाई सबैको प्रिय बनाएको छ। उनी सधैं सिक्न चाहने, सुधार गर्न चाहने र नयाँ चुनौती स्वीकार गर्ने सोच राख्छिन्। यही सकारात्मक दृष्टिकोणले उनलाई अझ अगाडि बढ्न प्रेरित गरेको छ।

सांगीतिक क्षेत्र र अध्यनलाई सँगै अगाडि बढाइरहेकी गंगालाई कहिलेकाहीँ अलि दबाब पनि महसुस हुन्छ। श्रोता, दर्शकको अपेक्षा पूरा गर्न नसकिएला कि भन्ने चिन्ता लाग्छ। सकेसम्म मेहनत गरेर गीतसंगीत पस्कने गरेको उनी बताउँछिन्।

गंगा सोनाम आजका युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी छन्। सानो गाउँबाट ठूला सपना देख्न सकिन्छ भन्ने सन्देश उनले दिएकी छन्। सीमित स्रोत–साधन हुँदाहुँदै पनि मेहनत, लगन र आत्मविश्वासका बलमा सफलता हासिल गर्न सकिन्छ भन्ने उनको जीवनले प्रमाणित गरेको छ। उनको यात्राले देखाउँछ– सपना पूरा गर्न ठाउँ होइन, दृढ इच्छाशक्ति चाहिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.