भोजपुरी गीत बजाउन प्रतिबन्ध !
वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० मा भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाइएको छ ।बुधबार वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको गाउँ भेलाले वडामा कुनैपनि सामाजिक वा निजी कार्यक्रम (विवाह,भोजलगायतका उत्सव)मा भोजपुरी गीत बजाउन नपाइने सर्वसम्मत निर्णय गरेको हो ।
यदि कसैले भोजपुरी गीत बजाएको पाइएमा कारबाही तथा नगद जरिवानासमेत गर्ने निर्णय गरिएको वडाध्यक्ष यादवले जानकारी दिए । यस्तै गाउँ भेलाले गाउँमा कसैको घरमा विहेको जन्ती आएका बेला सम्बन्धित व्यक्तिको आदेश बिना जन्तीमा प्रवेश गर्ने व्यक्तिलाई कारवाहीसहित नगद जरिवाना गर्ने निर्णय पनि गरेको वडाध्यक्ष यादवले जानकारी दिए ।
वडाध्यक्ष यादवका अनुसार,गाउँ भेलाले वडामा सञ्चालनमा रहेका मदीरा पसलहरु बेलुकी ८ बजेनै बन्द गर्ने निर्णय पनि गरेको छ । यसैगरी राति १० बजेपछि आफ्नो घर बाहेक गाउँमा अनावश्यक रुपमा डुल्न नपाइने,मदिरा सेवन गरी चोकचोकमा होहल्ला गर्न नपाइने निर्णय पनि गरिएको वडाध्यक्ष यादवले बताए। यदि त्यस्तो गरेको फेला परेमा सम्बन्धित व्यक्तिलाई सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइ कारबाही गरिने उनले बताए ।
केहि समय यतामा गाउँमा सामाजिक परम्पराका नाममा विकृतिहरू बढेको,जाडरक्सी खाएर झैंझगडा गर्ने प्रवृति मौलाएकोलगायतका विकृतिहरू बढेर वडामा सामाजिक वातावरणमै खलल पुग्न थालेपछि गाउँबासीको भेला बसेर यस्ता निर्णयहरू गरिएको वडाध्यक्ष यादवले बताए।
गाउँ भेलामा वडाका जन्रतिनिधि,नेपाल प्रहरीका प्रतिनिधि,गाउँका अगुवा,राजनीतिक दलका प्रतिनिधि,समाजसेवी,युवा अगुवालगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !