प्रिन्सको दार्चुलादेखि पेरिस ओलम्पिकसम्मको यात्रा
सानो उमेरमै राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो प्रभुत्व जमाउँदै उनले १४ वर्षमुनि, १६ वर्षमुनि र १९ वर्षमुनिका समूहहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गरे। यसै सफलताले उनका लागि राष्ट्रिय टिमको ढोका चाँडै खोलिदियो।
नेपालको विकट जिल्ला दार्चुलाबाट उदाएका प्रिन्स दाहाल आज नेपाली खेलकुद इतिहासकै एक प्रेरणादायी नाम बनेका छन्। सामान्य परिवार र सीमित पूर्वाधारका बीच हुर्किएका दाहालले सानै उमेरदेखि देखाएको लगन, अनुशासन र निरन्तरको अभ्यासले उनलाई राष्ट्रियमात्र नभई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याएको छ। दुर्गम भूगोलबाट विश्व रंगशालासम्मको यो यात्रा केवल व्यक्तिगत सफलतामात्र नभएर सम्पूर्ण राष्ट्रका लागि गौरवको विषय बनेको छ।
बुवा नारायण दाहाल आफ्नो सन्तानभित्र देखिएको असाधारण प्रतिभाबाट सुरुदेखि नै प्रभावित थिए। बाल्यकालमै छोराले देखाएको सीप, लगनशीलता र निरन्तर प्रगतिको लक्षणले उनलाई छोराको भविष्यप्रति निकै आशावादी बनाएको थियो। यद्यपि, छोराको भविष्यलाई लिएर परिवारभित्र कहिलेकाहीँ आमाबुवाबीच विचारमा भिन्नता देखिन्थ्यो, जसले निर्णय प्रक्रियालाई केही जटिलसमेत बनाउँथ्यो। आमाको मनमा छोरालाई उच्च शिक्षा दिलाई एक सफल डाक्टर बनाउने दृढ सपना थियो, ताकि उनले चिकित्सा क्षेत्रमार्फत समाजसेवामा योगदान पुर्याउन सकून्। तर, बुवाको सोच भने फरक धारमा प्रवाहित भइरहेको थियो। उनले छोरामा सानैदेखि खेलकुदप्रतिको गहिरो आकर्षण र लगाव देखेका थिए। खेलमैदानमा छोराले देखाउने ऊर्जा, उत्साह र समर्पणले उनलाई अत्यन्त प्रभावित तुल्याएको थियो।

विशेषगरी ब्याडमन्टन र एथलेटिक्सजस्ता विधामा छोराको रुचि र प्रदर्शन निकै उल्लेखनीय थियो। दार्चुलाको सदरमुकाम खलंगामा सन् २००४ मा जन्मिएका दाहालले करिब १० वर्षको उमेरदेखि नै ब्याडमिन्टन खेल्न सुरु गरेका थिए। प्रारम्भिक प्रेरणा परिवारबाटै पाएका उनले पछि व्यवस्थित प्रशिक्षणका लागि राजधानी केन्द्रित अभ्यासलाई अगाडि बढाए। सानो उमेरमै राष्ट्रिय प्रतियोगिताहरूमा आफ्नो प्रभुत्व जमाउँदै उनले १४ वर्षमुनि, १६ वर्षमुनि र १९ वर्षमुनिका समूहहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गरे। यसै सफलताले उनका लागि राष्ट्रिय टिमको ढोका चाँडै खोलिदियो।
प्रिन्स दाहालको खेल जीवनको सबैभन्दा महŒवपूर्ण मोड जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलता नै हो। सन् २०१८ मा आयोजित ‘दुबई अन्तर्राष्ट्रिय जुनियर’ मा स्वर्ण पदक जित्दै उनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो बलियो उपस्थिति दर्ता गराए। त्यसपछि सन् २०१९ को ‘साउथ एसिया यु–१९ च्याम्पियनसिप’ मा रजत पदक जितेर उनले दक्षिण एसियामा आफ्नो प्रभुत्व स्थापित गरे। उनको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धि भने सन् २०२२ मा विश्व जुनियर वरीयताको ‘नम्बर १’ स्थान हासिल गर्नु हो। यो ऐतिहासिक उचाइ प्राप्त गर्ने उनी नेपालका पहिलो ब्याडमिन्टन खेलाडी हुन्, जसले नेपाली खेलकुदको नाम विश्व मानचित्रमा स्वर्ण अक्षरले अंकित गराए।
दाहालले सन् २०२४ मा आयोजित ‘पेरिस ओलम्पिक’का लागि छनोट हुँदै अर्को ऐतिहासिक कीर्तिमान कायम गरे। उनी नेपालबाट ब्याडमिन्टन विधामा ओलम्पिक खेल्ने पहिलो खेलाडी बनेका छन्। यो उपलब्धिले नेपाली खेलकुदमा नयाँ सम्भावनाको ढोका खोलिदिएको छ, जहाँ अब ब्याडमिन्टन पनि प्रमुख प्रतिस्पर्धी खेलका रूपमा स्थापित हुँदै गएको छ।
राष्ट्रिय प्रतियोगिताहरूमा पनि दाहालको प्रदर्शन सधैं सशक्त रहँदै आएको छ। विभिन्न राष्ट्रिय खेलकुद, वरीयता प्रतियोगिता तथा आमन्त्रण प्रतियोगिताहरूमा उनले स्वर्णसहित दर्जनौँ पदकहरू आफ्नो पोल्टामा पारिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !