मानवीयतालाई केन्द्रमा राखेर सामाजिक न्यायका निम्ति पैरवी गरिरहेकी रक्षा जेन—जी आन्दोलनमा उठेका आवाजकी एक प्रतिनिधिपात्र हुन्।
भदौ २३ र २४ गतेको घटनापछि, २५ गते नेपाली सेनाले आन्दोलनरत जेन-जी पक्षसँग सेनाको मुख्यालयमा वार्ता थाल्यो। जेन—जी अगुवाहरू प्रधानसेनापतिसँग छलफल गर्न पुगे।
छलफलका क्रममा सेनापतिले राजावादी आन्दोलन गर्दै आएका दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि आन्दोलनको स्टेकहोल्डर भएको बताउँदै वार्तामा सहभागी गराउनुपर्ने जिकिर गरे। सेनाको सहजीकरणमा भइरहेको वार्तामा प्रधानसेनापतिको उक्त तर्कले जेन—जी अगुवामध्येकी एक रक्षा बमको मथिंगल हल्लियो, ‘कतै यो व्यवस्थामाथि प्रहार त भइरहेको छैन ?’ उनले आफूहरू वार्ता नगर्ने अडान राखेर मुख्यालयबाट बाहिरिँदै फेसबुकमा एउटा स्टाटस पोस्ट गरिन्।
‘राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाइ र रास्वपा समूहसँग वार्तामा बस्नुस्, उहाँहरू पनि स्टेकहोल्डर हो भनेर स्वयम् प्रधानसेनापतिले भनिसकेपछि, जेन—जी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्तावलाई अस्वीकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरिएर प्रदर्शनकारी जेन—जी समूहसँग छलफलका निम्ति तयारी गरिरहेका छौं,’ रक्षाको यो पोस्टले मिडियामा हेडलाइन पायो।
मूलधारका सबैजसो मिडियामा रक्षाको अडान छापियो। व्यवस्थामाथि हुन थालेको षड्यन्त्रको पर्दाफास गर्ने साहसी चेली रक्षा को हुन् ? उनको सर्वत्र खोजी भयो। ‘यो व्यवस्थामाथि षड्यन्त्र भइरहेको डर मेरो मनमा थियो, देश शून्यतामा हुँदा नागरिकले सही सूचना पाएका थिएनन्, प्रधानसेनापतिज्यूको उक्त प्रस्ताव अस्वीकार गरेको पोस्ट सार्वजनिक गरेपछि धेरै समाचारहरू प्रकाशित भए’, रक्षाले भनिन्, ‘लामो समयदेखि सामाजिक न्यायको क्षेत्रमा भुइँमान्छेका आवाज उठाउँदै आएको मेरो लागि त्यही नै टर्निङ प्वाइन्ट भयो।’
एसएलसी उत्तीर्ण गरेपछि २०७२ सालमा उच्च शिक्षा पढ्न पुगेकी रक्षाले काठमाडौंमा क्षेत्रीय असमानता देखिन्। संविधान जारी हुनुअघि अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन देखेकी उनलाई काठमाडौंको क्षेत्रीय असमानताले घोच्यो।
‘मैले काठमाडौं र हाम्रो गाउँबीचको असमानता देखें। गाउँको असुविधा र सहरको सुविधा हेरे। दुवै ठाउँका नागरिकले राज्यलाई कर तिरेका छन्। राज्यको सुविधामा समानता छैन। यो अन्याय हो भन्ने लाग्यो’, रक्षाले भनिन्, ‘बच्चादेखि नै मैले समाजमा अन्याय देखिरहेको थिएँ, पहुँच नहुनेहरूका लागि बोलिदिने कोही हुन्न ? उनीहरू दमनमा परिरहेका छन् भन्ने लागेर मैले सामाजिक क्षेत्रमा काम गर्न थालेको हुँ।’
काठमाडौंका तत्कालीन नगर प्रमुख बालेन्द्र शाहले सडक व्यापारीलाई हटाउँदा रक्षा ‘गरिबको चमेली बोल्दिने कोही छैन..’ अभियानमा सहभागी भइन्। सामाजिक अभियन्ता ईः को आन्दोलनमा सक्रिय रहिन्। सामाजिक कार्य पढ्दै गर्दा उनले ‘भाग्य बोक्ने झोला’ अभियान लिएर गाउँगाउँ पुगिन्।
अमेरिकन सहयोग निकाय यूएसआईडीको फेलोसिपमा उनले मिसइन्फर्मेसन र राइट टु इन्फर्मेसनमा काम गरिन्। त्यहीँबाट उनले सूचनाको हक र सूचनाको शक्तिबारे थाहा पाइन्।
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्याबाट रक्षाले सडक रोजिन्। त्यही आन्दोलन हो, रक्षा पहिलो पटक सडकमा उत्रिएको। यो अवधिमा देशमा भएका किसान आन्दोलन, एसिड आक्रमणविरुद्धको प्रदर्शन, मिटरब्याजीविरुद्धका आन्दोलन सबैतिर उनको सहभागिता बढ्न थाल्यो। उनी काठमाडौंको माइतीघर मण्डलामा आयोजना हुने अन्यायमा परेकाहरूको सारथि बनिन्।
नेपालगन्जका निर्मला कुर्मी र बाँकेका नकुन्नी धोबीको मृत्युबारे छानबिनको माग राख्दै नेपालगञ्जका रुबी खान नेतृत्वको टोलीले २०७८ सालदेखि पटकपटक प्रदर्शन गरे। नेपालगन्जबाट रुबी खानहरू न्याय खोज्न २१ दिन पैदलै हिँडेर काठमाडौं पुगे। माइतीघरमा न्याय पर्खिरहेका उनीहरूसँग रक्षाले आवाज मिसाइन्। ‘रुवी खानहरूले थालेको आन्दोलनपछि मलाई प्रश्न सोध्नुपर्छ भन्ने लाग्यो, प्रश्नले सामाजिक मुद्दालाई स्थापित गर्छ, प्रश्न सोधिएन भने जवाफदेहिता हराउँछ,’ रक्षा भन्छिन्, ‘प्रश्न नेतृत्वका लागि अवसर पनि हो, खबरदारी पनि हो, त्यसैले मैले प्रश्न उठाउन छोडेकी छैन।’
रक्षाले प्रश्न मात्रै उठाएकी छैनन्। उनले जनआक्रोशबारे कविता लेखिन्, पोस्टर बनाइन्। जेन—जी आन्दोलनलाई निर्णयक मोडमा पुर्याउँँदै तोकिएको सीमाभित्र निर्वाचन गराएर देशको राजनीतिलाई मुख्य ट्र्याकमा ल्याउन रक्षाहरूको भूमिका महत्त्वपूर्ण छ।
कैलालीको जानकी गाउँपालिका १ दुर्गौलीमा २०५६ सालमा जन्मिएकी उनी आमा चन्द्ररेखा र बुवा वीरेन्द्रबहादुर बमकी जेठी छोरी हुन्। टीकापुरस्थित युनाइटेड एकाडेमीबाट एसएलसी उत्तीर्ण गरेकी उनले काठमाडौंको ट्रिनिटी कलेजबाट विज्ञानमा प्लस टु उत्तीर्ण गरिन्। कानुन विषयमा स्नातक गर्ने योजना रहे पनि काठमाडौंको के एन्ड के कलेजबाट मानविकी संकायमा सामाजिक कार्य विषय रोजिन्। त्यसैमा उनी स्नातकोत्तर गर्दैछिन्।
हुने विरुवाको चिल्लो पात भनेझैं बच्चादेखि नै रक्षा जिज्ञासु थिइन्। हरेक कुरा जान्न खोज्ने, प्रश्न सोधिरहने, चञ्चल र गाउँघरमा हुने घटनामा चासो दिने उनको स्वभाव थियो। आमा चन्द्ररेखाका अनुसार हक्की स्वभावकी रक्षा महिला पुरुष समान हुनुपर्छ भन्ने भावना राख्थिन्। ‘गाउँमा साना बालबालिकालाई कसैले काममा लगाएको देखे विरोध गरिहाल्ने स्वभाव थियो’, चन्द्ररेखाले भनिन्, ‘सुरुदेखि नै आफ्नो कुरामा अडान राख्ने बानीले नै रक्षा यहाँसम्म पुगेकी हुन भन्ने लाग्छ।’
मध्यमवर्गीय परिवारमा हुर्किएकी रक्षालाई जेन—जी आन्दोलनले उठाएका मुद्दाहरू सम्बोधन हुने प्रक्रियामा रहेको लाग्छ। निर्वाचनबाट देशमा आएको परिवर्तनले सुशासनमा आशावादी रहेको उनी बताउँछिन्। ‘सरकार सुशासनप्रति सजक छ भन्ने बारे आशावादी छौं, मन्त्रीहरूका बारेमा प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिइरहेका छन्, यो पनि सुशासनको प्रक्रिया हो,’ रक्षाले भनिन्, ‘यसअघिका सरकारका मन्त्रीहरूले मुद्दा लाग्दासमेत राजीनामा दिएका थिएनन्, हामी आशावादी छौं, कुनै व्यक्तिभन्दा पनि जनताले दिएको म्यान्डेट देखेर। सरकारले जनताको म्यान्डेटअनुसार काम गरे सुशासन कायम हुन समय लाग्ने छैन।’
सामाजिक मुद्दामा हुने गरेका विभेदबारे निरन्तर आवाज उठाइरहेकी नेपाल जेन—जी फ्रन्टकी संयोजक रक्षा आज पनि सडकमा छिन्। निर्वाचनमा विभिन्न दलबाट उम्मेदवार बन्न गरिएको आग्रहलाई धन्यवाद भन्दै सडक रोजेकी रक्षाले भनिन्, ‘मैले अझै पढ्नु छ, समाजसँग नजिक हुनुछ, भुइँमान्छेसँग नजिक हुनुछ, सामाजिक क्षेत्रमा जे गरे पनि देशका लागि इमान्दारिताका साथ काम गर्नेछु।’ मानवीयतालाई केन्द्रमा राखेर सामाजिक न्यायका निम्ति पैरवी गरिरहेकी रक्षा जेन—जी आन्दोलनमा उठेका आवाजकी एक प्रतिनिधिपात्र हुन्।
प्रतिक्रिया दिनुहोस !