पश्चिम बंगाल चुनाव परिणामपछि राज्यमा किन फैलियो हिंसा ? चार जनाको मृत्यु दावी
भारत : भारतको पश्चिम बंगालमा चुनाव परिणाम सार्वजनिक भएपछि भइरहेको हिंसाले सन् २०२१ को विधानसभा चुनावपछिको हिंसाको पुनरावृत्ति जस्तो देखाएको छ । ठूलो संख्यामा केन्द्रीय सुरक्षाबल तैनाथ गरिएकाले चुनाव भने झण्डै हिंसामुक्त रह्यो । तर परिणाम घोषणा भएपछि राज्यका विभिन्न क्षेत्रमा सुरु भएको हिंसामा हालसम्म कम्तीमा चार जनाको मृत्यु भएको र धेरै जना घाइते भएको खबर छ ।
धेरै ठाउँमा तृणमूल कांग्रेसका कार्यालयहरूमा हमला, आगजनी, तोडफोड तथा पार्टीका समर्थक र कार्यकर्ताहरूका घरमा आक्रमण भएको रिपोर्टहरू आएका छन् । सोमबार रातिदेखि जारी हिंसापछि मुख्य चुनाव आयुक्त ज्ञानेश कुमारले राज्यका उच्च प्रहरी तथा प्रशासनिक अधिकारीहरूलाई हिंसामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न निर्देशन दिएका छन् । कोलकाताका प्रहरी आयुक्त अजय नन्दले बुधबार पत्रकार सम्मेलन गर्दै यस्ता तत्वहरूलाई हिंसाबाट टाढा रहन चेतावनी दिएका छन् । उनले विजय जुलुसमा बुलडोजर प्रयोग गर्न समेत प्रतिबन्ध लगाएका छन् ।
कहाँ–कहाँ भयो हिंसा ?
कोलकातामा बीजेपीको विजय जुलुसका क्रममा एउटा बुलडोजर प्रयोग गरेर न्यू मार्केट क्षेत्रमा मासु पसल भत्काइएको भनिने भिडियो पनि भाइरल भएको छ, यद्यपि यसको सत्यता पुष्टि भएको छैन । प्रहरी आयुक्त अजय नन्दले भने, ‘हिंसा र आगजनीका आरोपमा हालसम्म राज्यका विभिन्न स्थानबाट ८० जनालाई पक्राउ गरिएको छ र केही हतियार पनि बरामद गरिएको छ ।’ उनले थप भने, ‘यदि हिंसा नियन्त्रणमा प्रहरीको लापरवाही भेटिएमा सम्बन्धित अधिकारीमाथि पनि कारबाही गरिनेछ ।’
पार्टीले विजय जुलुस निकाल्नुअघि अनुमति लिनुपर्ने प्रहरीले स्पष्ट पारेको छ । त्यस्ता जुलुसमा जेसीबी वा बुलडोजर प्रयोग गर्न पाइने छैन । नियम उल्लंघन भएमा सम्बन्धित सवारीधनीमाथि कारबाही गरिनेछ । राज्यमा कानुन–व्यवस्थाको निगरानीका लागि प्रहरी र केन्द्रीय बलहरूले संयुक्त नियन्त्रण कक्ष स्थापना गरेका छन् । साथै २४० वटा क्विक रिस्पोन्स टोली तैनाथ गरिएको छ र मोटरसाइकल गस्ती पनि सुरु गरिएको छ ।
चार जनाको मृत्युको दाबी
हिंसाका विभिन्न घटनाहरूमा तृणमूल कांग्रेस र बीजेपी दुवैले आफ्ना–आफ्ना दुई समर्थकको मृत्यु भएको दाबी गरेका छन् । हावडा जिल्लाको उदयनारायणपुरमा सोमबार राति जादव बार नामक बीजेपी समर्थकलाई कुटपिट गरेर हत्या गरिएको बताइएको छ । स्थानीय बीजेपी नेता प्रशान्त देका अनुसार, चुनावमा सक्रिय भएकै कारण उनी विपक्षीको निशानामा थिए ।
प्रहरीले भनेको छ, ‘जादव विजय जुलुसबाट घर फर्किएपछि केही व्यक्तिले उनलाई बाहिर बोलाएर फलामका रडले कुटपिट गरी हत्या गरेका थिए ।’ कोलकातासँगै रहेको न्यू टाउन क्षेत्रमा पनि बीजेपी कार्यकर्ता मधु मण्डलको विपक्षी समर्थकद्वारा हत्या गरिएको आरोप छ । उनका आफन्तले भनेका छन्, ‘उनी समर्पित बीजेपी कार्यकर्ता थिए र चुनावी जीतपछि तृणमूल समर्थकहरूले उनको हत्या गरे ।’ त्यस्तै, मंगलबार बीरभूम जिल्लाको नानूरमा कथित रूपमा बीजेपी समर्थकहरूले तृणमूल कांग्रेसका समर्थक अबीर शेखको हत्या गरेको आरोप छ, जसलाई बीजेपीले अस्वीकार गरेको छ ।
प्रतिक्रिया दिनुहोस !