‘ओभर लोड’ गाडीमाथि कडाइ
विराटनगर : क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने मालवाहक सवारीसाधनविरुद्ध ट्राफिक प्रहरीले कोशी प्रदेशभर व्यापक र योजनाबद्ध अभियान सुरु गरेको छ । सडक दुर्घटना न्यूनीकरण, सडक पूर्वाधारको संरक्षण र कानुनी व्यवस्थाको कार्यान्वयनलाई केन्द्रमा राखेर १४ वटा जिल्ला रहेको कोशीमा अभियान लागू गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सञ्चालन गरेको अभियानअन्तर्गत सबै जिल्लामा कडाइका साथ निगरानी बढाइएको छ । मुख्य राजमार्गदेखि सहायक सडकसम्म नियमित चेकजाँच, आकस्मिक अनुगमन र कारबाहीलाई तीव्र बनाइएको छ । ‘ओभर लोड’ अवस्थामा भेटिएका सवारीसाधनलाई तत्काल नियन्त्रणमा लिएर गन्तव्यतर्फ जान रोक लगाइने, जरिवाना गरिने र आवश्यक परेमा थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइने गरिएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार वैशाख महिनाको हालसम्म मात्रै ११८ वटा मालवाहक सवारीसाधन ‘ओभर लोड’ कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेमध्ये १०१ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नै कारबाही गर्दा २ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । बाँकी १७ वटा सवारीसाधनलाई कडा कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो । यातायातले कारबाही गर्दा ७८ हजार रुपैयाँ राजस्व उठेको छ। जिल्लागत तथ्यांकले समस्या सबैभन्दा बढी औद्योगिक तथा यातायात चाप बढी भएका क्षेत्रमा रहेको देखाउँछ । सुनसरीमा सबैभन्दा बढी ४५ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।
मोरङमा ३६, झापामा १५, ओखलढुंगामा ४ र उदयपुरमा १ वटा सवारीसाधनमाथि कारबाही गरिएको डीएसपी श्रेष्ठको भनाइ छ । यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत झापामा १०, सुनसरीमा ४ र मोरङमा ३ वटा सवारीसाधनमाथि कारबाही भएको छ । कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले ‘ओभर लोड’ सवारीसाधन सडक सुरक्षाका सवालमा गम्भीर खतरा भएको स्पष्ट पारेका छन् ।
अत्यधिक भारका कारण सवारीसाधनको ‘ब्रेक फेल’ हुने, टायर पड्किने, सन्तुलन गुम्ने तथा विशेष गरी घुम्ती, उकालो–ओरालो सडकमा सवारी नियन्त्रण बाहिर जाने जोखिम उच्च हुने उनले बताए । यसले चालक, सहचालक, यात्रुसँगै अन्य सडक प्रयोगकर्ताको जीवन समेत जोखिममा पार्ने गरेको उनको भनाइ छ । गिरीका अनुसार नेपालको सडक संरचना अझै पनि पूर्णरूपले उच्च भार सहन सक्ने अवस्थामा विकसित भइसकेको छैन । यस्तो अवस्थामा क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनले सडकलाई छिटो बिगार्ने, खाल्डाखुल्डी बढाउने र मर्मत खर्च अत्यधिक बढाउने उनले बताए । दीर्घकालीन रूपमा राज्यको आर्थिक भार समेत बढाउने उनको विश्लेषण छ ।
एसपी गिरीका अनुसार सवारीसाधनको डिजाइन निश्चित भार सीमासम्म सुरक्षित हुने गरी बनाइने भएकाले त्यो सीमा नाघ्दा इन्जिन, ब्रेक प्रणाली, सस्पेन्सनलगायतका महत्वपूर्ण भागमा असामान्य दबाब पर्न जान्छ । जसका कारण अचानक यान्त्रिक समस्या उत्पन्न गराउने र दुर्घटनाको सम्भावना बढाउने उनले बताए ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले प्रत्येक सवारीसाधनका लागि स्पष्ट भार सीमा तोकेको छ । सो सीमा उल्लंघन गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले २ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । ‘ओभर लोड’ भेटिएमा सवारीसाधनलाई यातायात व्यवस्था कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ । ट्राफिक प्रहरीले अभियानलाई प्रभावकारी बनाउन नियमित चेकजाँचसँगै जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ । भविष्यमा प्रविधिको प्रयोगमार्फत ‘ओभर लोड’ पहिचान गर्ने प्रणाली विकास गर्ने विषयमा समेत छलफल भइरहेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले ‘ओभर लोड’ नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । कारबाही, निगरानी, कडाइ र जनचेतना अभिवृद्धिलाई सँगसँगै अघि बढाउन डीआईजी घिमिरेको निर्देशन छ । ट्राफिक प्रहरीले ‘ओभर लोड’ विरुद्धको अभियानलाई दीर्घकालीन सुधारको आधारका रूपमा अघि बढाइएको जनाएको छ । ट्राफिकका अनुसार नियम पालना नगरे दुर्घटना र सडक क्षतिको समस्या झन् बढ्ने छ ।
प्रतिक्रिया दिनुहोस !