विद्यार्थीलाई यार्सा टिप्न रोक्न स्कुलमै ‘होस्टेल’
मुगु : विगतमा यार्सागुम्बा संकलनको मौसममा विद्यार्थीहरू स्कुलमा भेटिँदैन थिए। बाबुआमासँगै विद्यार्थी पनि यार्सा टिप्न निस्किएपछि मुगुको दुर्गम हिमाली क्षेत्र मुगुम कार्मारोङ गाउँपालिका–२ को जनजागृति आधारभुत विद्यालयले नयाँ जुक्ति अपनाएको छ।
बर्सेनि यार्सागुम्बा संकलनको मौसमसँगै सुनसान बन्ने विद्यालयमा अहिले बालबालिका ‘होस्टेल’ बसेर पढिरहेका छन्। विद्यालयले यस वर्षदेखि यार्सा संकलनको समय लक्षित गर्दै ४५ दिने आवासीय विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको हो। विद्यार्थीको सिकाइको अवरोधलाई समाधान खोज्ने प्रयासका रूपमा नयाँ रणनीति बनाएको विद्यालय प्रशासनको भनाइ छ।
हरेक वर्ष जेठको दोस्रो साताबाट यार्सागुम्बा संकलन सुरु हुन्छ। यहाँका स्थानीयवासीको मुख्य आम्दानीको स्रोत पनि यार्सा नै हो। साना बालबालिकासहित परिवारका सबै सदस्य उच्च पाटनतिर लाग्ने भएकाले गाउँ र विद्यालय दुवै सुनसान बन्थे। विद्यालय बन्द हुँदा कक्षाहरू रोकिँदै आएका थिए भने बालबालिकाको पढाइसमेत प्रभावित हुँदै आएको थियो।
विद्यालयका प्रधानाध्यापक राजेश खत्रीका अनुसार अभिभावक पाटनतिर लागेपछि विद्यालय आउने बालबालिका पनि केही दिनमै त्यतै जान बाध्य हुन्थे। यसले उनीहरूको सिकाइमा अवरोध हुने गरेको थियो। विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन आवासीय कार्यक्रम सुरु गरिएको खत्रीले बताए।
हाल २४ जना बालबालिका अध्ययनरत यस विद्यालयमा कक्षा १ देखि ३ सम्म पढाइ हुने गरेको छ। यार्सा संकलन समयमा ३०–४५ दिनसम्म सबै बालबालिका पाटनमा हुन्छन्। त्यसपछि तिब्बत व्यापार, चाडपर्व र हिउँदको बसाइँसराइका कारण वर्षको आधाभन्दा बढी समय पढाइ प्रभावित हुने अवस्थाका कारण यो वर्षबाट विद्यालयमा आवासीय पढाइ सुरु गरिएको विद्यालयले बताएको छ। ‘अब यार्सा मौसममा अभिभावक पाटन पुगे पनि बालबालिका विद्यालयमै बस्नेछन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेन्जी तामाङले भन्छन्, ‘विद्यालयमै बस्ने खाने र नियमित पठनपाठनको व्यवस्था मिलाएका छौं।’
मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बालबालिकाको पढाइमा अवरोध नआओस् भन्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको बताए। उनका अनुसार यसले दीर्घकालीन रूपमा शैक्षिक सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रम गाउँपालिकाको २० प्रतिशत र रिकिका ब्रक्नर एन्ड लामा करुणा फाउन्डेसनको ८० प्रतिशत आर्थिक सहयोगमा सञ्चालन गरिएको हो।
हिउँदमा सबै घरपरिवार चिसो छल्न गाउँ छोडेर अन्यत्र जाने र गाउँमा दलित समुदाय मात्रै बस्ने भएकाले उनीहरूका बालबालिकाको पढाइ निरन्तर राख्न २०८० सालमा सिरानचौर क्षेत्रमा शाखा विद्यालय स्थापना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !