हिक्मत : बादी बालबालिकाका अभिभावक
हिक्मतबहादुर बादी अहिले आफ्नो समुदायका सयौँ बालबालिकाको अभिभावक बनेका छन्। तर, हिक्मतसँग अब ‘हिम्मत’ बाहेक केही बाँकी छैन।
कर्णाली नदी र लोहोरे खोलाको संगम विन्दु दैलेखको तल्लो डुंगेश्वर बजार। यहाँ युवा हिक्मतबहादुर बादी हुर्किएका थिए। उमेरले ३२ वर्ष पुगेका उनी दैलेखको तत्कालनी जम्बुकाँध गाविस— ४ मा (हालको चामुण्डाविन्द्रासैनी नगरपालिका)मा जन्मिएका हुन्। आमाबुबाका ११ सन्तानमध्ये एक हुन्, हिक्मत।
हिक्मतको आफ्नै जीवनको संघर्षको फेहरिस्त पनि ठूलै छ। उनी ३ वर्ष छँदा नै उनको परिवार चामुण्डाविन्द्रासैनीबाट तल्लो डुंगेश्वर झरेको थियो। उनी त्यहीँ हुर्किए। त्यहाँ रहेको महादेव प्राविमा कक्षा ३ सम्म अध्ययन गरे। लगत्तै उनले मालिका गाविसमा रहेको नेरा माविमा कक्षा ८ सम्म पढाइ सके। एसएलसीसम्मको पढाइका लागि उनी अछामको तत्कालीन रप गाविसमा रहेको विन्द्रासैनी माविमा भर्ना भए। पुनः दुल्लुस्थित विजया माविबाट प्लस टुसम्मको अध्ययन सके। त्यसपछि भने उनको पढाइ रोकियो।
घरको आर्थिक अवस्था निकै कमजोर थियो। कमाउन जमिन थिएन। हिक्मतका बुबा सारंगी बजाउँथे। त्यहीबाट परिवारको खर्च चल्थ्यो। आफू जान्ने भएपछि नै मजदुरी गर्दै आफ्नो अध्ययनसँगै घर खर्च चलाउन सहयोगी बनेको हिक्मत सम्झन्छन्। स्कुले उमेरदेखि नै जातीय विभेदसँग लडेका युवा हुन् उनी। स्कुले साथीभाइमात्रै होइन शिक्षकहरूबाटै विभेद सहनु परेको उनी सम्झन्छन्। त्यही विभेदका बाँछिटाहरूकै कारण त्यहाँका बादी समुदायका अन्य विद्यार्थीले पढाइ नै छोडे। तर, हिक्मतले हिम्मत हारेनन्। २०६८ साल ताका प्लस टुसम्मको अध्ययनकै क्रममा उनी बादी समुदायका बालबालिकाको शिक्षा र सुन्दर भविष्य बनाउने कार्यमा संलग्न बनिसकेका थिए। सुरुमा उनले काठमाडौंमा रहेको एक संस्थासँग जोडिएर दैलेखका ४६ जना बादी समुदायका बालबालिकालाई शिक्षाकै लागि काठमाडौं पठाएका थिए।
हालको कर्णालीको राजधानी वीरेन्द्रनगर सुर्खेत झर्नुअघि उनले तल्लो डुंगेश्वरमा कस्मेटिक एन्ड ब्युटिपार्लरसँगै गाडी (फोर्स) को व्यवसाय चलाउँथे। पछि व्यवसायसँगै बादी समुदायका बालबालिकाको हकहितका लागि काम गर्ने भन्दै सुर्खेत झरे। सुर्खेतमा उनले स्टेसनरी, फेन्सी पसल र गाडीको व्यवसाय गर्थे। पुस्तक र फेन्सी पसल सञ्चालन गर्दा पनि जातीय विभेद भोग्नुपर्यो। यसले उनलाई आफ्नो समुदायका लागि केही गर्ने हुटहुटी आयो। सिंगो समुदाय नै विभेद र गरिबीमा बाँच्नुपर्ने अवस्था आएपछि समाज रूपान्तरण गर्ने अठोट लिए। बादी समुदायका सबै बालबालिकाले पढ्न पाउनुपर्छ भनेर वकालत गर्न लागे। जबसम्म मानिस शिक्षित हुँदैन तबसम्म समाज रूपान्तरण हुन सक्दैन भन्ने उनको मान्यता छ। त्यसैले पनि उनको पहिलो अभियान शिक्षाबाट सुरु भयो।
व्यवसाय पनि फाइदा कमाउनका लागि मात्रै थिएन, व्यवसायबाट भएको आम्दानी बादी समुदायका बालबालिकालाई होस्टेलमा राख्न खर्च गर्थे। उनले २०७४ मा सुर्खेतमा हिक्मत होस्टल खोलेका थिए। उनले आफ्ना समुदायका बालबालिका पढाउन गरेको दुःखको फेहरिस्त पनि लामै छ। सुरुमा १६ जना बालबालिका राखेर सुरु गरिएको होस्टेल पछि गएर ८४ जना पुगे। होस्टेलमा आफ्नै खर्चले धान्न नसक्ने अवस्था आएपछि उनले आफूले चलाएको सबै व्यवसाय बेच्नुपर्यो। उनको शब्दमा बादी बालबालिकाको शिक्षा, स्वास्थ्य, खानाबासका लागि व्यवसायबाटै पलायन हुनुपर्यो।
तर, उनले हार खाएनन्। उनले २०७८ असोजमा बादी सरोकार मञ्च नेपाल नामक संस्था खोले। जसको अध्यक्ष हुन् उनै आफंै। सरकार, मनकारी र सहयोगी व्यक्ति तथा सामाजिक संस्थाहरूको सहयोगमा सञ्चालन भइरहेको मञ्चमा अहिले कर्णाली, सुदूरपश्चिम लुम्बिनी प्रदेशका ११३ जना बालबालिका आश्रय लिइरहेका छन्। ती सबै बालबालिकाको सम्पूर्ण खर्च हिक्मतले नै धानिरहेका छन्। ११४ जना बालबालिकामध्ये ९६ जना बालबालिका सुर्खेतको सूर्योदय बोर्डिङ स्कुल, ४ जना अरनिको बोर्डिङ, २ जना लोटस मन्टेश्वरी र २ जना ब्लुमिङ मन्टेश्वरीमा अध्ययन गर्छन्। ८ जना बालबालिकाले एसईई दिएका छन् भने एक जना प्सल टुसम्मको अध्ययन सकेर मञ्चकै आश्रयमा छन्।
२०७७ फागुनमा हिक्मतको अगुवाइमा कर्णालीभरिका बादी समुदायले सुर्खेतमा आन्दोलन सुरु गरे। लगातार तीन सातासम्म कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएपछि सरकारसँग पाँचबुँदे सहमति भयो। सहमतिमा बादी समुदायका लागि खाना, नाना र छानासँगै बालबालिकाको शिक्षाको विषय समावेश थियो। सरकारले उक्त सहमतिको कार्यान्वयन भने अहिलेसम्म गरेको छैन। गरिबी, जातिय अवहेलना, अभावसँग जुध्दै प्रेरणादायी युवाको परिचय बनाएका हिक्मतले जति नै ठूलो समस्या आईपर्दा पनि हिम्मत हारेका छैनन्। हिक्मतको आफ्नै जीवनको संघर्षको फेहरिस्त पनि ठूलै छ। हिक्मतको अभियानले अहिले आकार लिँदै छ। बादी बालबालिकाले गुणस्तरीय शिक्षा पाइरहेका छन्। गाउँको जस्तो विभेद ती बालबालिकाले सहरमा भोग्नु परेको छैन। विद्यालय छोडेर कमाउन कालापहाड जानुपर्ने, छाक टार्न मजदुरी गर्नुपर्ने, देह व्यापारमा लाग्नुपर्ने अवस्थाको अन्त्य हुँदै गएको छ। बालबालिकाका अभिभावकले ढुक्कले मजदुरी गर्न पाएका छन्।
एक युवा, जो बादी समुदायका सयौं बालबालिकाको अभिभावक बनेका छन्। तर, हिक्मतसँग अब ‘हिम्मत’ बाहेक केही बाँकी छैन। उनको पुख्र्यौली जमिन छैन। बालबालिकाको लालनपालन र विद्यालय पढाउँदा लाखौं ऋण लागिसकेको छ। उनी भन्छन्, ‘अझै कति ऋणमा डुब्ने हो त्यो पनि पत्तो छैन।’ जतिसुकै ऋणमा डुबे पनि आफ्ना समुदायका बालबालिकालाई उच्च शिक्षासम्म पढाउने उनको दृढता भने कायमै छ।
उनले आफूजस्तै युवालाई इमान्दारिताका साथ अघि बढ्न र सामाजिक सञ्जालको सही सदुपयोग गर्न सुझाव दिन्छन्। ‘राष्ट्र र समाजलाई कसरी सभ्य बनाउने भन्नेमा युवाहरूको ध्यान जानुपर्छ, अर्कोतर्फ भ्रममा नभई यथार्थमा जीवन जिउन सिक्नुपर्छ,’ उनी भन्छन्, ‘पढेर जागिर गर्ने भन्ने मानसिकता त्यागेर पढेर जुनसुकै काम गर्न तयार हुनेछु र काम गर्छु भन्ने मानसिकता युवामा हुनुपर्छ।’ युवाले समाज र देशको हितमा काम गर्न मानसिक रूपमा तयार रहनुर्पे हिक्मत बताउँछन्।
प्रतिक्रिया दिनुहोस !