रुसमा छलेको गोली काठमाडौंमा लाग्यो

जसको जुत्ता बनेको छ जो—जी आन्दोलनको ‘आइकन’

रुसमा छलेको गोली काठमाडौंमा लाग्यो
सुन्नुहोस्

दैलेख : दैलेखको नारायण नगरपालिका–८, तर्ताङका २८ वर्षीय प्रकाश बोहरा यतिबेला युवा पुस्ताका लागि साहसको पर्याय बनेका छन्। २०५४ भदौ १७ गते जन्मिएका प्रकाशले दैलेख सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन पूरा गरे।

त्यसलगत्तै उनले नेपालगन्ज टेक्निकल कलेजबाट स्वास्थ्य क्षेत्रको तीनवर्षे ‘एचए’ (हेल्थ असिस्टेन्ट) को अध्ययन पूरा गरे। २०७३ सालमा अध्ययनकै क्रममा उनको सपना सेनामा जागिर खाने थियो, अझ विशेषगरी भारतीय सेनामा भर्ती हुने उनको तीव्र इच्छा थियो। तर, परिस्थितिले उनको त्यो सपना साकार हुन दिएन। पारिवारिक जिम्मेवारी र आफ्ना बाँकी सपनाहरू बोकेर उनी २०७४ सालमा काठमाडौँ छिरे।

लोकसेवा आयोगको तयारी गरी सरकारी सेवामा प्रवेश गर्ने लक्ष्यका साथ काठमाडौं पुगेका प्रकाश पहिलो प्रयासमा सफल हुन सकेनन्। त्यसपछि उनले दोस्रो पटक परीक्षा दिने अवसर नै पाएनन्, किनकि लगातार तीन वर्षसम्म आयोगको विज्ञापन खुलेन। लगत्तै सुरु भएको कोरोना महामारीले उनको सरकारी जागिरे सपनामा पूर्णविराम लगाइदियो। त्यसपछि उनले केही समय विभिन्न परियोजनाहरूमा आबद्ध रहेर काम गरे।

परियोजनामा काम गरिरहँदा पनि उनमा सुरक्षा निकायमा सेवा गर्ने पुरानो रहर मरेको थिएन। अर्कोतर्फ, घरको आर्थिक भार पनि उनकै काँधमा थियो। अन्ततः परियोजनाको काममा उज्ज्वल भविष्य नदेखेपछि उनी विद्यार्थी भिसामा रुस प्रस्थान गरे। जहाँ रुस र युक्रेनबीच भीषण युद्ध चलिरहेको थियो। रुस पुगेपछि उनी रुसी सेनामा भर्ती भए। झन्डै १८ महिना उनले रुसी सेनाका रूपमा युद्ध मैदानमा बिताए। उनीसँगै भर्ती भएका कयौँ नेपाली र रुसी साथीहरूले युद्धमै ज्यान गुमाए भने धेरै अंगभंग भए। तर, प्रकाश भने भाग्यले सकुशल नेपाल फर्कन सफल भए। रुस बसाइलाई स्मरण गर्दै उनी भन्छन्, ‘सँगै काम गरेका साथीहरूले जीवन गुमाए, कयौँ अझै बेपत्ता छन्; म भने भाग्यले बाँचेर फर्किएँ।’

रुसबाट नेपाल फर्किएको तीन महिना पनि पुगेको थिएन, उनले पुनः वैदेशिक रोजगारीमै जाने योजना बुने। कतारी प्रहरीमा भर्ना हुनका लागि उनको सबै प्रक्रिया पूरा भइसकेको थियो। ठीक यही समयमा नेपालमा ‘जेन–जी’ आन्दोलनको चर्चा सुरु भयो। आन्दोलनअघि सामाजिक सञ्जालमा ‘नेपोबेबी’ अभियान चलिरहेको थियो। देशको राजनीतिक अस्थिरता, व्याप्त भ्रष्टाचार र बेथिति देखेर प्रकाश भित्रभित्रै आक्रोशित थिए।null

भदौ २३ गते प्रकाशले पनि आन्दोलनमा होमिने निधो गरे। ‘यो युवाहरूको लडाइँ हो र आउँदो पुस्ताको सुनौलो भविष्यका लागि हो भन्ने मलाई लाग्यो। भदौ २३ गते युवाहरूको वर्षौंदेखिको निराशा एकै पटक विस्फोट भएको दिन थियो,’ उनी सम्झन्छन्। अन्य युवाजस्तै प्रकाशका पाइला पनि दिउँसो १२ बजेतिर माइतीघरतर्फ लम्किए। आन्दोलनकारीको भिडसँगै उनी नयाँबानेश्वरतिर लागे र नारा जुलुसमा सहभागी भए। ‘सुरुमा आन्दोलनले यस्तो रूप लिन्छ भन्ने आकलन नै थिएन। सरकारले बेलैमा संवेदनशीलता बुझ्नुपथ्र्यो, तत्कालीन सरकारले त्यहाँ ठूलो गल्ती गर्‍यो, ‘प्रकाशको बुझाइ छ। प्रकाशसहितका युवाहरू बानेश्वर पुग्दा प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको थियो। त्यही भागदौडका क्रममा बिजुलीबजारबाट पुनः बानेश्वरतर्फ फर्कंदा उनको खुट्टामा गोली लाग्यो। आन्दोलनका क्रममा उनले लगाएको सोही जुत्ता यतिबेला ‘जेन–जी आन्दोलनको आइकन’ बनेको छ भने उनी स्वयं युवाका लागि प्रेरणा बनेका छन्।

आन्दोलनमा घाइते भएका प्रकाशले उपचारका लागि झन्डै पाँच महिना अस्पतालको शय्यामा बिताए। यस बीचमा उनका ‘मेजर’ र ‘माइनर’ गरी चारवटा शल्यक्रिया भइसकेका छन् भने अझै तीन वटा अप्रेसन हुन बाँकी छ। देशका लागि गोली खाएकोमा उनलाई कुनै पछुतो छैन, बरु गर्व लाग्छ। ‘आन्दोलनको माग निर्वाचनमात्र थिएन, युवाले देशमा सुशासन र स्वदेशमै केही गर्ने वातावरण खोजेका हुन्,’ अस्पतालको बेडबाटै निरन्तर आवाज उठाएका उनी भन्छन्। यद्यपि, राजनीतिक स्थिरताका लागि निर्वाचन आवश्यक ठानेर उनीहरू चुनावी प्रक्रियामा होमिएका थिए। ‘निर्वाचनपछि बलियो सरकार बनेको छ र मुलुकको हितमा सकारात्मक प्रयासहरू सुरु भएका छन्। अब देशले स्थिरता पाउनेछ भन्नेमा म आशावादी छु,’ उनी भन्छन्।

प्रकाश युवाहरूलाई धैर्यका साथ निरन्तर कर्म गर्न सुझाव दिन्छन्। ‘आन्दोलनले मात्र सबै समस्या समाधान हुँदैन, अब युवाले धैर्य र काममा निरन्तरता दिनुपर्छ,’ उनी भन्छन्। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्द सूचीमा राखेको थियो। यद्यपि, उनी सांसद बन्न भने सकेनन्। निर्वाचनका क्रममा गाउँगाउँ पुग्दा उनले युवाको भावनालाई नजिकबाट बुझ्ने मौका पाएका छन्। उनी भन्छन्, ‘हाम्रा दक्ष युवाहरू विदेश पलायन भइरहेका छन्। विदेशमा रहेका युवाको चाहना पनि मुलुकमा स्थिरता कायम होस्, सरकारले जनहितमा काम गरोस् र स्वदेशमै रोजगारी सिर्जना होस् भन्ने नै छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.