सामुदायिक विद्यालय बदल्ने सुदाम यात्रा

सामुदायिक विद्यालय बदल्ने सुदाम यात्रा

आफ्नो विद्यालय सुधारेका गौतम हाल प्रधानाध्यापकहरूको अन्तर्राष्ट्रिय संस्था ‘कन्फिडेरेसन अफ प्रिन्सिपल्स’को काउन्सिल मेम्बर भएर काम गरिरहेका छन्।

२०७४ सालको एउटा उष्ण दिन। काठमाडौंको ठहिटीस्थित कोलाहलपूर्ण गल्लीमा रहेको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको प्रांगणमा २८ वर्षीय एक युवक उभिएका थिए। उनको मन शान्त थिएन, किनकि उनको सामुन्ने विद्यालयको नाममा एउटा जीर्ण काठको टहरोमात्र थियो— जहाँ मुस्किलले ६० जना विद्यार्थी आफ्नो भविष्य खोजिरहेका थिए।

वरपरका स्थानीय बासिन्दा आफ्ना बालबालिकालाई निजी विद्यालय पठाउँथे भने सहरको केन्द्रमा भएर पनि यो विद्यालय उपेक्षाको सिकार बनेको थियो। त्यहाँ अध्ययनरत विद्यार्थीहरू प्रायः असन क्षेत्रमा भारी बोकेर जीविका चलाउने मजदुरका सन्तान थिए। विद्यार्थी अभावले शिक्षकहरू चिन्तित थिए भने तत्कालीन जिल्ला शिक्षा कार्यालयले विद्यालयलाई अर्को संस्थामा गाभ्ने निर्णय गरिसकेकाले यसको अस्तित्व नै संकटमा थियो।

त्यस दिन शान्ति शिक्षा मन्दिरको आँगनमा उभिएका ती युवक सुदामप्रसाद गौतम थिए। काठमाडौंको तारकेश्वरस्थित ग्रामसेवा माध्यमिक विद्यालयमा कार्यरत गौतमलाई सरुवा गरी शान्ति शिक्षामा पठाइएको थियो। त्यही बखत उनले एउटा अठोट गरे, ‘या त यो विद्यालय बन्द हुन्छ, या त यसले इतिहास बदल्छ।’ सरुवा भएको ६ महिनापछि उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाले। आज करिब ९ वर्षपछि त्यो पुरानो टहरो एउटा कथा जस्तै बनिसकेको छ। त्यहाँ अहिले भव्य र अत्याधुनिक भवनहरू ठडिएका छन् र विद्यालय विद्यार्थीले भरिभराउ छ। शान्ति शिक्षा मन्दिर पुग्ने जोकोही अहिले गर्वका साथ भन्छन्– सामुदायिक विद्यालय पनि यति उत्कृष्ट हुन सक्छन् ! धुलोविहीन, ‘ग्रिन, क्लिन र सेफ’ विद्यालयको अवधारणामा सुदामले यसलाई साँच्चिकै नमुना बनाएका छन्, जहाँ शिक्षकहरू स्मार्ट बोर्डमार्फत आधुनिक शिक्षा प्रदान गर्छन्। विद्यालयका पुराना शिक्षक र कर्मचारीहरू आफ्ना युवा प्रधानाध्यापकको प्रशंसा गर्दा थाक्दैनन्। गौतमले त्यहाँ आधुनिक भौतिक संरचना मात्र ठड्याएनन्, बरु ढल्दै गरेको सामुदायिक शिक्षाको साख र शिर पनि उच्च बनाएका छन्।

जाजरकोटको दुर्गम गाउँमा २०४४ सालमा जन्मिएका गौतमले बाल्यकालमा आमाबुवाको न्यानो काख र घरको आँगनमा बसेर पढ्ने सहज अवसर पाएनन्। देशमा चलेको सशस्त्र द्वन्द्वको रापका कारण उनले नेपालगन्जमा रहेर प्रारम्भिकदेखि स्नातकसम्मको अध्ययन पूरा गरे। पछि शिक्षक सेवा आयोग उत्तीर्ण गरी उनी माध्यमिक तहको शिक्षक बनेका हुन्।

गौतमले शान्ति शिक्षा मन्दिरलाई काठमाडौं महानगरको नमुना विद्यालय मात्र बनाएनन्, सामुदायिक विद्यालयप्रति समाजको दृष्टिकोण नै बदलिदिएका छन्। अहिले निजी विद्यालय छुटाएर धेरै अभिभावकले आफ्ना बालबालिका यस विद्यालयमा भर्ना गरिरहेका भेटिन्छन्। शिक्षक र विद्यार्थीका लागि विद्युतीय हाजिरी, विद्यार्थी ट्र्याकिङ एप, अत्याधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशाला, सेमिनार हल र फराकिला कक्षाकोठा भएको यस विद्यालयमा सीपमूलक अतिरिक्त कक्षाहरू पनि सञ्चालन हुन्छन्। मोबाइल तथा ल्यापटप मर्मत, इलेक्ट्रिक तालिम र अतिरिक्त भाषा कक्षाहरूका साथै यहाँ नर्ससहितको प्राथमिक उपचार कक्ष र सबै विद्यार्थीका लागि स्वस्थ दिवा खाजाको प्रबन्ध छ। गौतमले विभिन्न दातृ निकायहरूसँग समन्वय गरेर विद्यालयको मुहार पूर्णतः परिवर्तन गरेका छन्।

उनको सपना एउटा विद्यालयको चौघेरामा मात्र सीमित रहेन। देशभरका २८ हजारभन्दा बढी प्रधानाध्यापकहरूमार्फत सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने अठोट उनले लिए। फलस्वरूप, वि.सं. २०८० सालमा ‘प्रधानाध्यापक संघ, नेपाल’ (पान) को स्थापनामा उनले मुख्य भूमिका खेले। पानको संस्थापक अध्यक्ष बनेर उनले ‘थ्री एल’ (लिंकिङ, लिडिङ, लर्निङ) र ‘थ्री ई’ (एडुकेट, इम्पावर, एक्सेल) को अवधारणा अघि सार्दै देशभरका सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने अभियान सुरु गरे।

गैरराजनीतिक र गैरयुनियनका रूपमा रहेको यो संस्थाले प्रधानाध्यापकहरूको क्षमता विकास गर्ने र आफ्ना अनुभवहरू साटासाट गर्दै सामुदायिक विद्यालयलाई माथि उठाउने व्यावसायिक नेटवर्कका रूपमा काम गरिरहेको छ। मुलुक समृद्ध बन्न शिक्षा अब्बल हुनुपर्छ, शिक्षाका लागि विद्यालय र विद्यालयका लागि नेतृत्वदायी प्रधानाध्यापकले परिणाममुखी काम गर्नुपर्छ भन्ने मान्यतामा संस्था केन्द्रित छ। पानले सातवटै प्रदेश र ७७ वटै जिल्लाका प्रधानाध्यापकहरूलाई जोडेर वार्षिक ‘नेसनल समिट’ आयोजना गर्छ, जहाँ उत्कृष्ट प्रधानाध्यापक, विद्यालय र पालिकालाई पुरस्कृत गरी प्रोत्साहन गरिन्छ। अध्यक्ष गौतम भन्छन्, ‘सामुदायिक विद्यालयको गुणस्तर नसुध्री देशको शिक्षा सुध्रन सक्दैन। यदि एउटा प्रधानाध्यापक बदलिन सक्यो र मेरो विद्यालय म बदल्छु भन्ने संकल्प गर्‍यो भने रूपान्तरणलाई कसैले रोक्न सक्दैन।’

गौतम हाल प्रधानाध्यापकहरूको अन्तर्राष्ट्रिय संस्था ‘कन्फिडेरेसन अफ प्रिन्सिपल्स’ (आईसीपी) को काउन्सिल मेम्बरमा चयन भई एसिया–ओसियाना क्षेत्रको नेतृत्व गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमफिल गरेका उनी हाल काठमाडौं विश्वविद्यालयका पीएचडी स्कलर हुन्। ७७ वटै जिल्लाका विद्यालयको अध्ययन, आफ्नो शैक्षिक अनुभव र विश्वका पाँच देशको भ्रमणबाट प्राप्त ज्ञान समेटेर उनले नेपालको शिक्षा बदल्ने मार्गचित्रका रूपमा ‘ज्योतिर्गमय’ नामक पुस्तक प्रकाशन गरेका छन्। उनी भन्छन्, ‘हामीले के पढ्यौँ र के पढाइरहेका छौँ भन्ने कुराको गहिरो अर्थ खोजेर मैले यो पुस्तक लेखेको हुँ। यो पुस्तक सामुदायिक विद्यालय रूपान्तरणका लागि एक महŒवपूर्ण सन्दर्भकृति हुनेछ भन्ने मलाई विश्वास छ।’

चन्द्रागिरिस्थित निवासबाट निस्केर बिहान ७ बजे विद्यालय पुग्ने र साँझ ७ बजेसम्म कार्यक्षेत्रमै रहने उनको दैनिकी कुनै तपस्वीको भन्दा कम छैन। उनी आफ्नै विद्यालयको व्यवस्थापनसँगै देशभरका प्रधानाध्यापकहरूसँग निरन्तर छलफल र अन्तरक्रियामा व्यस्त रहन्छन्। साँझ ८ बजेपछि पनि भर्चुअल माध्यमबाट शिक्षकहरूलाई सूचना र प्रविधिमा अद्यावधिक गर्न उनी तालिम र छलफल कार्यक्रमहरू सञ्चालन गर्छन्।

३८ वर्षकै उमेरमा नेपालको शैक्षिक आकाशमा एउटा उज्ज्वल नक्षत्रका रूपमा उदाएका गौतमको यो यात्रा ती तमाम युवाहरूका लागि प्रेरणा हो, जो व्यवस्थालाई सरापेर बस्नुभन्दा अव्यवस्था अन्त्यका लागि आफैं अघि सर्नुपर्छ भन्ने विश्वास राख्छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.