लुम्बिनीलाई विश्वभर फैलाउने युवा भिक्षु

लुम्बिनीलाई विश्वभर फैलाउने युवा भिक्षु
सुन्नुहोस्

उनको जीवनको सबैभन्दा प्रभावशाली पाटो भनेको लुम्बिनीप्रतिको समर्पण हो । बुद्घ जन्मस्थल लुम्बिनीलाई विश्वसामु चिनाउने उनको प्रयास निरन्तर छ।

लुम्बिनीको माटोबाट उठेको एउटा शान्त आवाज, हजारौँ किलोमिटर टाढा पुगेपछि पनि उस्तै दृढ सुनिन्छ। यस्तै दृढ सुनिने युवा भिक्षु हुन्, सिरी बजिर। चर्को प्रचारबिना, ठूला संशाधनबिना, तर गहिरो विश्वास र निरन्तरताका साथ उनले बुद्धको सन्देशलाई लुम्बिनीबाट विश्वमाझ फैलाउने एक मौन अभियान अघि बढाइरहेका छन्।

प्रेम चौधरीका रूपमा साढे तीन दशकअघि सप्तरी जिल्लामा जन्मिएका उनी साधारण परिवारका बालक थिए। तर, उनको जीवनको दिशा बाल्यकालमै मोडियो। १० वर्षको उमेरमा उनले गृहत्याग गरे, न कुनै लोभ, न कुनै डर, केवल ज्ञानको खोज। बुद्धले २९ वर्षको उमेरमा गृहत्याग गरी संसारलाई दुःखबाट मुक्त गर्ने मार्ग देखाएझै, बजिर प्रेमले पनि सानै उमेरदेखि त्यही पथ रोजे। उनी समुद्रपारि श्रीलंका पुगे। अपरिचित भूमि, फरक भाषा, नयाँ परिवेश। तर उद्देश्य भने स्पष्ट थियो, बुद्धको शिक्षा ग्रहण गर्ने।

श्रीलंकामा उनले पाली, संस्कृत, सिंहालीलगायतका भाषामा गहिरो अध्ययन गरे। समयसँगै उनी भिक्षुका रूपमा प्रवज्जित भए, र प्रेम चौधरीबाट ‘सिरी बजिर’ नामले परिचित बने। तर उनको साधना केवल व्यक्तिगत मुक्ति वा ज्ञानमा सीमित रहेन, त्यो विस्तारै समाज र विश्वतर्फ उन्मुख हुन थाल्यो।

आज भिक्षु बजिर केवल एक धार्मिक व्यक्तित्व मात्र होइनन्, उनी एक चिन्तक, प्राध्यापक र सामाजिक अभियन्ता पनि हुन्। हाल लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा कार्यरत उनी ज्ञान र अभ्यासलाई एकसाथ अघि बढाइरहेका छन्। कक्षाकोठाभित्र उनी शास्त्र पढाउँछन्, बाहिर जीवनका उदाहरणहरू प्रस्तुत गर्छन्।

उनको जीवनको सबैभन्दा प्रभावशाली पाटो भनेको लुम्बिनीप्रतिको समर्पण हो। बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वसामु चिनाउने उनको प्रयास निरन्तर छ। श्रीलंकाको कोलम्बोमा उनले ‘मिनी लुम्बिनी’ निर्माण गरेर बुद्ध जन्मस्थल बारेको भ्रम चिर्दै आएका छन्। यो यात्रा दशक अघिदेखि चलिरहेको छ। मायादेवी मन्दिर, पुष्करिणी पोखरी र वरपरको हरियाली वातावरणलाई सानो आकारमा उतारेर उनले बुद्ध नेपालमा जन्मेका हुन् भन्ने एउटा सशक्त सन्देश विश्वलाई दिएका छन्।

हरेक वर्ष बुद्ध पूर्णिमाको अवसरमा हुने उक्त प्रदर्शनले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरिरहेको छ। विभिन्न देशका उपासक–उपासिका, विद्वान र पर्यटकहरूले त्यो प्रतिरूप अवलोकन गर्छन्, प्रश्न सोध्छन् र सत्यसँग परिचित हुन्छन्। साढे चार फिटको सानो संरचनाले विश्वभर फैलिएको भ्रमलाई चुनौती दिइरहेको छ। यो भिक्षु बजिरको दृढ संकल्पको ज्वलन्त उदाहरण हो। तर बजिरको भूमिका यतिमै सीमित छैन। लुम्बिनीमै पनि उनी उत्तिकै सक्रिय छन्। हरेक पूर्णिमालाई बौद्ध संस्कृतिमय बनाउनेदेखि लिएर शान्तिका लागि पैदल यात्रामा सहभागिता जनाउनेसम्म, उनी सधैँ अग्रपंक्तिमा देखिन्छन्। थेरवादी परम्पराको चिवर लगाएका उनी लुम्बिनीको चर्को गर्मीमा पनि सधैं शीतल देखिन्छन्, जसरी उनको स्वभाव शान्त र संयमित छ। 

लुम्बिनीमा हुने विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमा उनको सक्रियता उल्लेखनीय छ। भिक्षु प्रवज्जा कार्यक्रम होस् वा बुद्ध पूर्णिमा मनाउने भव्य आयोजनाहरू, कथिन चिवर दान होस् वा भिक्षु भोजन दान, उनको उपस्थिति प्रेरणादायी हुन्छ। उनी केवल सहभागी मात्रै होइनन्, एक मार्गदर्शक हुन्, जसले नयाँ पुस्तालाई बुद्धको मार्गतर्फ आकर्षित गरिरहेका छन्। छोटो अवधिको भिक्षु प्रवज्जामा उनको सक्रियता उस्तै छ। 

गत माघमा भएको प्रवज्यामा उनका आफ्नै बाबु पनि प्रवज्जित भए। उनले त्यस दिनको उत्साह सबैलाई साझा गरे। छोराको पथमा बाबुको पनि यात्रा हुँदा सबैका लागि उनी प्रेरणादायी रहे। उनको अर्को महत्वपूर्ण विशेषता हो– भाषामा अद्भुत पकड। पाली, संस्कृत, सिंहाली, अंग्रेजी, हिन्दी, नेपाली र थारूसहितका भाषामा उनी समान दक्ष छन्। यसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा बुद्धको सन्देश प्रवाह गर्न सहज बनाएको छ। विभिन्न देशका अनुयायीहरूसँग संवाद गर्न, शास्त्र व्याख्या गर्न र सन्देश पुर्‍याउन उनी सक्षम छन्। विशेषगरी पाली साहित्यको प्रवद्र्धनमा उनको योगदान उल्लेखनीय मानिन्छ।

बजिर भिक्षुको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– साधना र सेवा सँगसँगै अघि बढ्न सक्छन्। उनी ध्यानमा बस्ने भिक्षु मात्र होइनन्, समाजमा हिँड्ने, काम गर्ने र परिवर्तन ल्याउने अभियन्ता पनि हुन्। उनले देखाएका छन् कि बुद्धको मार्ग केवल विगतको दर्शन होइन, वर्तमानको अभ्यास पनि हो। हरेक व्यक्तिहरूले बुद्ध शिक्षालाई आफ्नो जीवनमा उपयोग गर्न सक्छन्।

उनको अनवरत यात्राले लुम्बिनीलाई विश्वमाझ फैलाइरहेको छ। सानो प्रयासबाट सुरु भएको यो अभियान आज अन्तर्राष्ट्रिय पहिचान बन्दै गएको छ। उनी चर्का नारामा होइन, मौन कर्ममा विश्वास गर्छन्। सायद यही कारण हो, उनको प्रभाव गहिरो छ, स्थायी छ।

भिक्षु बजिरको दैनिकी सामान्य छ। बौद्ध विहार, लुम्बिनीको रैथाने समाज र बौद्ध संस्कृतिमा उनी अन्तरघुलित भएका छन्। बौद्ध शिक्षा अध्ययन गर्नेहरूका लागि उनी अवसर सिर्जना गर्छन्। विश्वभरबाट लुम्बिनी आउने बौद्ध अनुयायी, पर्यटक, भिक्षु भिक्षुणीलाई भ्याएसम्मको सहयोग पुर्‍याउछन्। भिक्षु बजिरको जीवन कथामात्रै एक व्यक्तिको कथा होइन। युवाहरूका लागि यो एक दृष्टिकोण हो, एक प्रेरणा हो। यदि उद्देश्य स्पष्ट र समर्पण साँचो छ भने एउटा सानो पाइला पनि विश्व परिवर्तन गर्ने दिशामा अघि बढ्न सक्छ भन्ने प्रेरणा प्रेम चौधरीबाट भिक्षु बजिर बन्ने उनको यात्राले देखाउँछ। हरेक बिहान उच्चरण गर्ने शब्दले नै उनीलाई लुम्बिनीमा बाँधिरहेको छ– बुद्धम् शरणम् गच्छामी। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.