सार्वजनिक जग्गा फिर्ता अभियान तीव्र

सार्वजनिक जग्गा फिर्ता अभियान तीव्र
फाइल फोटो

दोलखा : जिल्ला प्रशासन कार्यालय दोलखाले सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण तथा अवैध संरचना हटाउने अभियानलाई थप सशक्त बनाएको छ। प्रशासनले जिल्लाका ९ वटै स्थानीय तहलाई पत्राचार गर्दै आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा वन जग्गाको अतिक्रमण सम्बन्धी विस्तृत विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएको हो । 

तथ्यगत विवरण संकलन भएपछि अतिक्रमण हटाउने कार्यलाई चरणबद्ध रूपमा अघि बढाउने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ । सार्वजनिक सम्पत्तिको संरक्षणलाई कानुनी दायित्व मात्र नभई दीर्घकालीन विकास र वातावरणीय सन्तुलनसँग जोडिएको विषयका रूपमा लिएको तथा स्पष्ट तथ्यांक आवश्यक छ, त्यसपछि मात्र प्रभावकारी रूपमा कदम चाल्न सकिने पनि प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गाको संरक्षण, रेखदेख तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई स्पष्ट रूपमा दिएको छ । तर व्यवहारमा भने कतिपय स्थानमा सार्वजनिक तथा वन क्षेत्र अतिक्रमण बढ्दै गएको पाइएको छ । यसलाई नियन्त्रण गर्न प्रशासनले स्थानीय तहसँग समन्वय गर्दै अभियान अघि बढाएको हो ।

जिल्लामा करिब ४४ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कालिञ्चोक, शैलुङ, कालापानी, गैरी, देउराली, सोती, खरिढुङ्गा, तामाकोशी, मालुखोला, भेड्पु, सेउली र पवटीलगायत ११ स्थानमा संस्थागत तथा व्यक्तिगत रूपमा वन क्षेत्र मिचेर पक्की संरचनाहरू निर्माण गरिएका छन् । कतिपय स्थानमा होटल, रिसोर्ट, गोदाम तथा आवासीय भवनहरू समेत निर्माण गरिएको पाइएको छ ।

विशेषगरी कालिञ्चोक र शैलुङ जस्ता प्रमुख पर्यटकीय क्षेत्रमा अव्यवस्थित रूपमा निर्माण गरिएका संरचनाहरूले प्राकृतिक सौन्दर्यमा खलल पुर्‍याएको सरोकारवालाहरूको भनाइ छ । पर्यटक आकर्षण बढ्दै जाँदा संरचना निर्माण पनि तीव्र भएको तर त्यसलाई नियमन गर्ने प्रभावकारी संयन्त्र अभाव हुँदा वन क्षेत्र र सार्वजनिक जग्गामा अतिक्रमण बढेको देखिएको छ ।

यस विषयमा जिल्लाका जनप्रतिनिधिहरू समेत गम्भीर देखिएका छन् । अधिकांश स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूले सार्वजनिक जग्गा खाली गराउने, अवैध संरचना हटाउने र कानुनी दायराभित्र रही व्यवस्थापन गर्ने पक्षमा सहमति जनाएका छन् ।

प्रशासनले अब स्थानीय तहबाट प्राप्त हुने विवरणका आधारमा सम्बन्धित निकायहरूसँग समन्वय गरी अतिक्रमण हटाउने, सार्वजनिक जग्गा फिर्ता गराउने तथा भविष्यमा पुनः अतिक्रमण हुन नदिने रणनीति तयार गर्ने जनाएको छ । यो अभियान प्रभावकारी रूपमा कार्यान्वयन भएमा सार्वजनिक सम्पत्तिको संरक्षण, पर्यावरणीय सन्तुलन कायम तथा दीर्घकालीन रूपमा व्यवस्थित विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.