जेन–जी आन्दोलनकी ‘पोस्टर गर्ल’ तनुजा पाण्डे
मुलुकको अस्तव्यस्त अवस्थालाई चिर्दै अन्तरिम सरकार गठनका लागि उचित परामर्श र सुझाव दिने युवाको टोलीमा तनुजाको भूमिका महत्वपूर्ण रह्यो।
नेपालमा वातावरणीय न्यायका पक्षमा प्रखर आवाज उठाउँदै ‘जेन–जी’ आन्दोलनलाई निष्कर्षमा पुर्याउन निर्णायक भूमिका निर्वाह गर्ने युवाको नाम हो— तनुजा पाण्डे। २०७४ सालदेखि नै वातावरणीय मुद्दाहरूमा सक्रिय तनुजालाई पछिल्लो राजनीतिक परिवर्तन र युवा विद्रोहले ‘पोस्टर गर्ल’का रूपमा स्थापित गरिदिएको छ।
आन्दोलनपछि विकसित परिस्थितिलाई सम्हाल्न उनले विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूसँग दूतका रूपमा संवादको भूमिका निर्वाह गरिन्। आन्दोलनको राप र चापका बीच उनले उच्चस्तरीय वार्ताहरूमा प्रतिनिधित्व गर्दै सेना प्रमुखसँग समेत लबिङ गरेकी थिइन्। मुलुकको अस्तव्यस्त अवस्थालाई चिर्दै अन्तरिम सरकार गठनका लागि उचित परामर्श र सुझाव दिने युवाहरूको टोलीमा उनको भूमिका महत्त्वपूर्ण रह्यो। उनले राष्ट्रपतिलाई समेत भेटेर विद्यमान संकट समाधानका लागि राजनीतिक निकास र अन्तरिम सरकार निर्माणका लागि ठोस राय पेस गरेकी थिइन्।
धनगढीमा जन्मिएकी तनुजाको परिवार २०६५ सालमा झापा बसाइँ सर्यो। चुरेको फेदीमा घर भएकाले उनले चुरे क्षेत्रको विनाश र वातावरणीय क्षयलाई आफ्नै आँखाले देखिन्। उनको परिवार कृषिमा संलग्न रहेकाले जलवायु परिवर्तन र बढ्दो तापक्रमले बालीनालीमा पारेको प्रत्यक्ष असर उनले नजिकबाट महसुस गरिन्। यही व्यक्तिगत अनुभव र भोगाइले नै उनलाई वातावरणीय न्यायका लागि लड्न प्रेरित गरेको हो।
तनुजाका अनुसार नेपालमा राजनीतिक र सामाजिक मुद्दाहरूमा धेरै आवाज उठे पनि वातावरणको विषय सधैं ओझेलमा पर्ने गरेको छ। प्रत्येक वर्ष बाढीले सयौँको उठीबास लगाउँदा र जलवायु परिवर्तनले भयानक संकट निम्त्याउँदा पनि यसलाई केवल ‘प्रोजेक्ट’ मा मात्र सीमित गरिएको उनको आरोप छ। वातावरणलाई राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्छ भन्ने मान्यताका साथ उनले २०७४ सालमा ‘हरिन नेपाल’ नामक संस्थाको स्थापना गरिन्।
‘जेन–जी’ आन्दोलनपछि तनुजाले हजारौं युवाहरूका बीचमा एउटा बलियो र सुपरिचित पहिचान बनाएकी छन्। राजनीतिक विवेक र उत्तारदायित्व बोध गर्दै उनले भ्रष्टाचार, राजनीतिक बेथिति र सम्भ्रान्त वर्गको एकाधिकारविरुद्ध डिजिटल माध्यमबाट खबरदारी गरिरहेकी छन्। नागरिकले सरकारको ‘हनुमान’ बन्नुभन्दा कडा आलोचक बन्नुपर्ने उनको स्पष्ट बुझाइ छ।
उनकै नेतृत्वमा स्थापित ‘हरिन नेपाल’ ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा हुने वातावरणीय क्षति र तराईका बासिन्दाको जंगलप्रतिको स्वाधीनताको मुद्दालाई सशक्त रूपमा उठायो। विकासको मोडलले जनताको चाहना र आवश्यकतालाई बेवास्ता गरेको भन्दै उनी आक्रोश व्यक्त गर्छिन्।
‘विमानस्थल निर्माणका लागि तयार पारिएको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट जलविद्युत् आयोजनाबाट सारेर ल्याइएको झुठो दस्तावेज थियो,’ उनी दाबी गर्छिन्, ‘हामीले निजगढ विमानस्थल निर्माण वातावरणीय क्षतिमात्र नभई भ्रष्टाचारको ठूलो केन्द्र बन्ने सम्भावना देखेपछि आवाज उठाएका हौँ।’
जलवायु परिवर्तनलाई वर्गीय र सामाजिक मुद्दाका रूपमा बुझेकी तनुजाले आदिवासी जनजाति, जैविक विविधता संरक्षण र लैंगिक न्यायलाई मूलधारमा ल्याउने प्रयास गरिरहेकी छन्। उनको संस्थाले नेपालमा ‘जलवायु संकटकाल’ घोषणा गर्न लबिङ गर्ने, विपद् व्यवस्थापनमा सरकारलाई नीतिगत सुझाव दिने र जनचेतना जगाउने कार्य गर्दै आएको छ। राज्यले गर्ने प्राकृतिक स्रोतको दोहन र दिगो विकासका विषयलाई उनले युवा र सीमान्तकृत वर्गको आवाजसँग जोडेकी छन्।
‘जेन–जी’ आन्दोलनपछि तनुजाले हजारौं युवाहरूका बीचमा एउटा बलियो र सुपरिचित पहिचान बनाएकी छन्। राजनीतिक विवेक र उत्तरदायित्व बोध गर्दै उनले भ्रष्टाचार, राजनीतिक बेथिति र सम्भ्रान्त वर्गको एकाधिकारविरुद्ध डिजिटल माध्यमबाट खबरदारी गरिरहेकी छन्। नागरिकले सरकारको ‘हनुमान’ बन्नुभन्दा कडा आलोचक बन्नुपर्ने उनको स्पष्ट बुझाइ छ।
पेसाले अधिवक्तासमेत रहेकी तनुजाका अनुसार यो युवा आन्दोलनको लक्ष्य प्रजातान्त्रिक पद्धति समाप्त गर्ने विद्रोह होइन। उनले सार्वजनिक रूपमै संविधानको रक्षा, संघीयताको सुदृढीकरण र सरकारी निकायहरूलाई पारदर्शी एवं सेवामुखी बनाउनुपर्ने वकालत गर्दै आएकी छन्।
प्रतिक्रिया दिनुहोस !