स्वदेशमै समृद्धिको सपना
अभावलाई अवसरमा, चुनौतीलाई शक्तिमा र फोहोरलाई समेत मोहोरमा बदल्न सफल जयरामको जीवनकथा कुनै फिल्मको पटकथाभन्दा कम प्रेरणादायी छैन।
सफलता कुनै तयारी बिनाको संयोग होइन, यो त वर्षौंको धैर्य, कठोर मिहिनेत र अदम्य साहसको प्रतिफल हो। नेपाली समाजमा आज ‘केही गर्न विदेशै जानुपर्छ’ भन्ने भाष्य स्थापित भइरहँदा, ती भिडभन्दाको अलग एउटा नाम हो – जयराम मानन्धर। अभावलाई अवसरमा, चुनौतीलाई शक्तिमा र फोहोरलाई समेत मोहोरमा बदल्न सफल जयरामको जीवनकथा कुनै फिल्मको पटकथाभन्दा कम प्रेरणादायी छैन।
मध्यमवर्गीय परिवारमा जन्मिएका जयरामको प्रारम्भिक जीवन सामान्य थियो। कलेज पढ्ने उमेरताका ठूला सपना त थिए, तर ती सपना साकार पार्न गोजीमा पर्याप्त पैसा थिएन। कलेजको पढाइ र व्यक्तिगत खर्च धान्न उनले सानै उमेरमा कामको महत्त्व बुझे। काठमाडौं बागबजारको भिडभाड र गल्लीहरू नै उनका लागि पहिलो पाठशाला बने। कहिले पसलमा काम गर्ने त कहिले स–साना व्यापारिक अवसरहरू खोज्दै हिँड्दा उनले मान्छे चिन्न र बजारको मनोविज्ञान बुझ्न सके।
त्यही समयको भोगाइले उनलाई एउटा जीवन मन्त्र दियो– काम सानो वा ठूलो हुँदैन, केवल सोच ठूलो हुनुपर्छ। युवा अवस्थाको सोखलाई पनि उनले व्यापारिक बुद्धिमत्तामा बदले। उनीसँग एउटा पुरानो मोटरसाइकल थियो। धेरैले त्यसलाई विलासिताको वस्तु मान्थे, तर उनले त्यसलाई ‘एसेट’ का रूपमा प्रयोग गरे। पछि उनले त्यही मोटरसाइकललाई बुद्धिमानीपूर्वक बेचेर नयाँ गाडी चढ्ने हैसियत बनाए।
व्यावसायिक सफलतासँगै जयरामको मनमा सामाजिक उत्तरदायित्वको भाव पलायो। ‘आफ्नो माटोका लागि केही गरौं’ भन्ने हुटहुटीले उनलाई गृहजिल्ला रामेछाप पु¥यायो। उनले ग्रिन हाइलाइट नेपाल प्रालिमार्फत स्थानीय साथीभाइको साथ सहयोगमा एउटा ऐतिहासिक कदम चाले— सातदिने बजार सफाइ अभियान। उनले बजारको कुरूप फोहोरमात्र सफा गरेनन्, फोहोरलाई मोहोरमा बदल्ने आधुनिक अवधारणा भिœयाए। फोहोरको उचित वर्गीकरण र व्यवस्थापनबाट कसरी आम्दानी गर्न सकिन्छ भन्ने उनले व्यवहारमै देखाए।
यो बाटो सजिलो थिएन। स्थानीय निकायबाट हुनुपर्ने जति सहयोग र समन्वय नहुँदा पनि उनले हिम्मत हारेनन्। सरकारी साथको कमीलाई उनले जनसहभागिता र सहयोगी मनहरू मार्फत चिरेर देखाए। यो अभियानले रामेछापको मुहारमात्र फेरेन, नागरिकमा जागरण समेत ल्यायो।
डिजिटल सेवा र सामाजिक सारथि
जयरामले प्रविधिको सही सदुपयोग गर्दै सामाजिक सञ्जालमा एउटा यस्तो सामूहिक मञ्च बनाए, जहाँ आपत्मा परेका मानिसले तत्काल सहयोग पाउँछन्। यो सञ्जाल केवल कुराकानीका लागि मात्र थिएन, यो त समस्यामा परेकाहरूको ‘लाइफलाइन’ बन्यो। दुर्घटना होस् वा गम्भीर बिरामी, यो समूहमार्फत उनले सहयोगी हातहरूलाई जोडेर तुरुन्तै उद्धार र आर्थिक सहयोग जुटाउने कामको नेतृत्व गरिरहेका छन्। समाजको तल्लो तहमा रहेका भोका मानिस र असहाय एकल महिलाको सारथि बनेर उनले थुप्रैको चुल्हो बाल्ने काम गरेका छन्।
रोजाइमा स्वदेशकै माटो
‘आजको युवापुस्ता १० लाख खर्चेर विदेश जाने र जुनसुकै काम गर्न तयार हुन्छन्’, जयराम प्रश्न गर्छन्, ‘जो युवा विदेशमा घोटिन तयार छ, उसले आफ्नै देशमा पसल बढार्न र आफ्नै बारी खन्न किन लाज मान्ने ?’ उनका अनुसार पाँच लाख लगानी गरेर बाख्रापालन, गाईपालन, तरकारीखेती, मौरीपालन, लोकल वा बोइलर कुखुरापालनजस्ता क्षेत्रमा हात हाल्ने हो भने सफलता निश्चित छ। बाँकी पाँच लाखलाई ‘रनिङ क्यापिटल’का रूपमा राखेर धैर्यका साथ काम गर्ने हो भने विदेशको कमाइ स्वदेशमै सम्भव छ।
नेपालमा पैसै पैसा छ—सागमा पैसा, दूधमा पैसा, अण्डा र मासुमा पैसा। तर, मुख्य समस्या बजार र नीतिको हो। नेपाली किसानले उत्पादन गरेको अण्डा र तरकारीले बजार नपाउने तर सीमा पारिबाट टनका टन आयात भइरहने अवस्थाले युवाको मनोबल गिराएको उनको भनाइ छ।
राज्यको दायित्व र सीमामा कडाइ
जयरामको स्पष्ट ठम्याइँ छ — जबसम्म राज्यले सीमानामा कडाइ गर्दैन र स्वदेशी उत्पादनलाई पहिलो प्राथमिकता दिँदैन, तबसम्म युवा पलायन रोकिँदैन। उनी सम्झिन्छन्, ‘रवि लामिछाने मन्त्री हुँदा अण्डा आयातमा गरिएको कडाइले नेपाली किसानले कसरी लाभ पाएका थिए। राज्यले कालोबजारी, विषादी र महँगीको निगरानी गरोस्, तर आफ्नै माटोमा पसिना बगाउने युवालाई १० रुपैयाँको माला लगाएर भए पनि सम्मान र प्रोत्साहन गरोस्।’ एउटा युवा व्यवसायीले २०–५० जनालाई रोजगारी दिन सके देशको बेरोजगारी समस्या त्यसै समाधान हुने उनले दृढताका साथ सुनाए।
बिदेसिनु मात्र समाधान होइन
उनको विचारमा नेपालमा केही हुँदैन भनेर बिदेसिनु मात्र सम्पूर्ण समस्याको समाधान होइन। ‘घुम्ने नै हो भने ट्रेकिङ गाइड बनेर विदेशीलाई हिमाल घुमाउनुस्, त्यहाँ सम्मान र कमाइ दुवै छ। तर, व्यवसाय नै गर्ने हो भने हप्ताको सातै दिन मेहनत गर्ने सोच राख्नुस्। ऋणसँग डराउनु पर्दैन, मात्र त्यसको सही परिचालन गर्न जान्नुपर्छ’, उनले भने।
जयरामको सन्देश प्रष्ट छ— सोच बदल्नुस्, अवस्था आफैं बदलिन्छ। सफलताको बाटो मरुभूमिमा होइन, हाम्रै पाखा–पखेरा र पसिनामा लुकेको छ। जयरामको यो कथा एउटा व्यक्तिको सफलतामात्र होइन, यो त इच्छाशक्ति भएमा एउटै मान्छेले समाज र देश बदल्न सक्छ भन्ने बलियो प्रमाण पनि हो।
प्रतिक्रिया दिनुहोस !