गीताको राजनीतिक फड्को

गीताको राजनीतिक फड्को

‘नेविसंघ, तरुण दल, महिला संघजस्ता संगठनहरू चलायमान छैनन्। विज्ञप्ति निकाल्नेबाहेक प्रभावकारी भूमिका देखिँदैन। युवा पुस्ता नेतृत्वमा नपुगे देशले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ।’

इन्द्रबहादुर गुरुङ सधैं गाउँघरका दुःखी र गरिबका सारथि थिए। सहयोगी मनका धनी गुरुङको आफ्नो क्षेत्रमा स्थानीय नेताका रूपमा राम्रो प्रभाव थियो। तिनै बुवाको प्रेरणाले नेपाली कांग्रेसको राजनीतिमा होमिएकी गीता गुरुङ आज सोही पार्टीको तर्फबाट समानुपातिक सूचीमार्फत प्रतिनिधि सभा सदस्य बनेकी छन्। सानैदेखि तीक्ष्ण स्वभावकी गीता वक्तृत्वकला र वादविवादमा पोख्त थिइन्।

नेतृत्व लिने उनको स्वभाव विद्यालय उमेरदेखि नै झल्कन्थ्यो। सशस्त्र द्वन्द्वलगत्तै उनमा राजनीतिक चेत पसेको थियो। देशमा व्यवस्था परिवर्तन हुँदै गर्दा उनी आफ्ना बुवाकै सिद्धान्तलाई पछ्याउँदै अघि बढिन्। पढाइमा पनि जेहेन्दार रहेकी गीतालाई शिक्षकहरूले समेत राजनीतिमा लाग्न हौसला दिन्थे। उनी सम्झन्छिन्, ‘त्यतिबेला गुरुहरूले राजनीतिमा पढेलेखेका मान्छे पनि आउनुपर्छ भन्नुहुन्थ्यो। बुवाकै बाटोमा इमानदार राजनीति गर भन्दै मलाई प्रेरित गर्ने मेरा गुरुहरू पनि हुन्।’

सोलुखुम्बुको जनकल्याण उच्च माविमा पढ्दै गर्दा १३ वर्षको उमेरमा उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को एकाइ अध्यक्ष बनिन्। २०६६ सालमा विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं छिन्।

विज्ञान विषय लिएर त्रिचन्द्र क्याम्पसमा स्नातक पढ्दै गर्दा उनको राजनीतिक सक्रियता झन् बढ्दै गयो। विज्ञानमा स्नातक सकेपछि उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरिन्। त्यतिबेला नै उनी नेविसंघको केन्द्रीय सदस्य भइसकेकी थिइन्। विद्यार्थी राजनीतिमा उनको सक्रियता यति बढ्यो कि उनी पार्टीका हरेक कार्यक्रम, आन्दोलन र चुनावी अभियानको अग्रपंक्तिमा देखिन थालिन्।

कांग्रेसले उनलाई २०७९ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाए पनि उनी अन्तिम सूचीमा परिनन्। तर, ३० वर्ष पुग्दै गरेकी गीतालाई यसपटक कांग्रेसले समानुपातिक प्रतिनिधित्वमार्फत प्रतिनिधिसभा सदस्यमा छनोट गरेको छ। बुवाको प्रेरणाले राजनीतिमा आएकी उनी संसद्मा पुगेर जनताको आवाज उठाउने कर्तव्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने अठोट व्यक्त गर्छिन्।

राजनीतिक यात्रामा सफल भए पनि आफ्नो एउटा सपना भने अधुरै रहेको उनी बताउँछिन्। ‘मलाई नेविसंघको इतिहासमा पहिलो महिला अध्यक्ष बन्ने इच्छा थियो। त्यही लक्ष्यका साथ म देश दौडाहामा पनि हिँडेकी थिएँ। तर नेविसंघ आफैंमा गिजोलियो, १० वर्षसम्म अधिवेशन हुन सकेन र मेरो त्यो सपना अधुरै रह्यो,’ उनले गुनासो गरिन्। गीताका लागि पितापछि निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा नै राजनीतिमा अर्का उदाहरणीय व्यक्तित्व हुन्।

पार्टीका भ्रातृ संगठनहरूमा व्याप्त गुटबन्दीका कारण नयाँ मान्छेले अवसर नपाएको र युवा पुस्ता राजनीतिप्रति आकर्षित हुन नसकेको उनको बुझाइ छ। उनी भन्छिन्, ‘नेविसंघ, तरुण दल, महिला संघजस्ता संगठनहरू चलायमान छैनन्। विज्ञप्ति निकाल्नेबाहेक प्रभावकारी भूमिका देखिँदैन। युवा पुस्ता नेतृत्वमा नपुगे देशले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ।’यसपटकको चुनावमा देशभर कांग्रेस दोस्रो दलमा सीमित हुँदा उनको गृह जिल्ला सोलुखुम्बुमा भने पार्टीले राम्रो नतिजा निकालेको छ। प्रत्यक्षतर्फमात्र होइन, समानुपातिकमा पनि सोलुबाट गीतासहित थप दुई सांसद चुनिएका छन्।

गीताले अब संसदीय राजनीतिबाटै युवा र हिमाली क्षेत्रको आवाज बुलन्द गर्ने अठोट लिएकी छन्। उनले संसद्को शून्य समयमा सोलुखुम्बुको विकास प्राथमिकता र जलवायु परिवर्तनका चुनौतीबारे कुरा उठाइसकेकी छन्। हिमाली जिल्लाको विशिष्ट भौगोलिक अवस्था र त्यहाँका नागरिकले पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा भोग्नुपरेका समस्या समाधान गर्नु आजको मुख्य आवश्यकता रहेको उनको ठहर छ।

विद्यार्थी राजनीतिमा हुँदा देशका विभिन्न भागमा पुगेकी गीता अब सदनमा युवा र महिलाको सशक्त प्रतिनिधित्व गर्ने बताउँछिन्। ‘कांग्रेसबाट थुप्रै नेताहरू पराजित भएको यो समयमा युवा अनुहारका रूपमा सदनमा पुग्नु अवसर र चुनौती दुवै हो। म सशक्त प्रतिपक्षको रूपमा सरकारको खबरदारी गर्नेछु,’ उनले भनिन्। युवालाई देशमै रोक्ने र ग्रामीण उत्पादन बढाउने विषयमा सरकारको ध्यान जानुपर्ने उनको माग छ। साथै, शैक्षिक विभेद अन्त्यका लागि नयाँ शिक्षा नीति ल्याउनुपर्नेमा उनले जोड दिएकी छन्।

पार्टीभित्रको आन्तरिक किचलो र गुटबन्दीप्रति उनी चिन्तित छिन्। सबै पुस्ता, वर्ग र क्षेत्रलाई समेटेर अघि बढ्नु नै पार्टी सुदृढीकरणको एकमात्र बाटो भएको उनको विश्वास छ। यति लामो इतिहास बोकेको पार्टी डगमगाउन नहुने भन्दै उनी भन्छिन्, ‘कांग्रेसलाई एकीकृत र बलियो बनाएर अगाडि लैजाने जिम्मा अब हाम्रै काँधमा छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.