२० वर्षमा राजनीति थाले, २६ मा सांसद भए
‘राजनीतिमा चासो थियो, तर छिट्टै सांसद बनिएला भन्ने सोचेको थिएन तर यसैमार्फत देशको सेवा गर्छु भन्ने चाहिँ थियो’
एसएलसी पास गरेपछि पढ्न काठमाडौं पुगेका मनिष खनालले कहिल्यै पनि सोचेका थिएनन् कि उनी एक दिन सांसद हुनेछन्। नवलपुरको चोरमारास्थित नवजागरण माध्यमिक विद्यालयबाट एसएलसी दिएका खनाल उच्च शिक्षा अध्ययनका लागि काठमाडौं गएका थिए।
काठमाडौं पुगेपछि उनको संगत तत्कालीन समयमा वैकल्पिक राजनीतिको वकालत गरिरहेका उज्ज्वल थापा समूहका सदस्यहरूसँग भयो। त्यही संगतको प्रभावले २६ वर्षकै उमेरमा उनी सांसद बने, त्यो पनि आफ्नो प्रतिस्पर्धीलाई भारी मत अन्तरले पराजित गरेर।
खनाल नवलपुर जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन्। २६ वर्षीय जेन—जी युवा खनालले नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतलाई पराजित गरेका हुन्। खनालले ४१ हजार ३ सय ४७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी महतले १५ हजार ७ सय ५५ मत प्राप्त गरे। खनालले २५ हजार ५ सय ९२ मतको अन्तरमा महतलाई हराएका हुन्। खनालले हराएका महत यसअघि २०७४ सालमा यसै क्षेत्रबाट निर्वाचित सांसद पनि हुन्।
२०५६ सालमा जन्मिएका खनालको बाल्यकाल मध्यविन्दु नगरपालिका— ६ मा बित्यो। यहाँकै नवजागरण माध्यमिक विद्यालय चोरमाराबाट एसएलसी उत्तीर्ण गरेका खनालले सेन्ट जेभियर्स कलेजबाट प्लस टु गरेका हुन्। उनले नेपाल ल क्याम्पसबाट बीए एलएलबी उत्तीर्ण गरेका छन्। हाल उनी राजनीतिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्। रास्वपाका निवर्तमान सांसद एवं हाल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको स्वकीय सचिव भएर काम गरेका खनालले रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहसँग निकट रहेर उनी काठमाडौंको मेयर लड्दा उनको अभियानमा समेत सक्रियतापूर्वक लागेका थिए।
‘म कानुनको विद्यार्थी हुँ, त्यसकारण स्वभावैले राजनीतिप्रति मेरो गहिरो चासो थियो। असिम शाहसँग निकट भएर काम गर्दा संसदीय राजनीतिको थप ज्ञान आर्जन गर्ने अवसर मिल्यो। त्यसैले मलाई सांसद लड्न प्रेरित गर्यो,’ खनालले अन्नपूर्णसँग भने। एसएलसी सकेपछि नै आफूले आफ्नो क्षेत्रमा भइरहेको राजनीतिक गतिविधिलाई सूक्ष्म तवरले नियालिरहेको उनले बताए। ‘राजनीतिमा चासो थियो, तर छिट्टै सांसद बनिएला भन्ने सोचेको थिएन तर राजनीतिमार्फत नै देशको सेवा गर्छु भन्ने चाहिँ थियो,’ खनालले भने। खनाल एकाएक राजनीतिमा ल्याइएका वा आएका व्यक्ति भने होइनन्। २० वर्षको उमेरमै उनी तत्कालीन विवेकशील नेपालीको केन्द्रीय सदस्य बनेका थिए। पछि रवीन्द्र मिश्रसँग एकीकरण भएपछि जनकपुरमा सम्पन्न महाधिवेशनबाट उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए। त्यतिबेला उनी केन्द्रीय सदस्य निर्वाचित हुनेमध्ये सबैभन्दा कान्छा थिए। ‘राजनीतितर्फ चासो भएकै कारण म पढाइसँगै राजनीतिक गतिविधिमा सक्रिय थिएँ, मुलुकमा परिवर्तन हुनुपर्छ भन्ने हुटहुटीले राजनीतिमा लाग्न प्रेरित गर्यो,’ खनालले भने।
भदौ २३ गते भएको जेन—जी पुस्ताले गरेको आन्दोलनमा पनि खनाल अग्रपंक्तिमा थिए। जेन—जी आन्दोलनपछि त्यसको उपलब्धिलाई संस्थागत गर्न निकै सक्रिय भएका खनाल सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग विभिन्न चरणमा भएका संवादमा सहभागी थिए। उनले जेन—जी पुस्ताले गरेको आन्दोलन र उपलब्धिलाई सबै दलले अपनत्व लिनुपर्ने भन्दै लबिङ गरेका थिए। गत मंसिर २४ गते सरकार र जेन—जीबीच भएको १० बुँदे सम्झौताको उनी मस्यौदाकार हुन्।
जेन—जी आन्दोलनको राप र तापको परिणामबाट निर्वाचन सम्भव भएको र सोहीबमोजिम आफू निर्वाचित भएकाले उनीहरूको भावनाअनुसार आफूले काम गर्ने खनालले बताए। ‘म जेन—जी आन्दोलनको बलमा सांसद भएको हुँ, उनीहरूको आवाजलाई इमानदारीका साथ निरन्तर उठाउँछु। सहिदको सपना पूरा गर्नु पर्नेछ, घाइतेहरूको माग पूरा गर्नुपर्नेछ,’ उनले भने। भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा आफूले निरन्तर आवाज उठाउने खनालले बताए। ‘कानुनको विद्यार्थी हुँ, आफ्नो विज्ञताअनुसार नै जनअपेक्षाअनुसारको कानुन निर्माणमा मेरो भूमिका रहन्छ। कानुन नजान्नेहरू कानुन बनाउने ठाउँमा पुग्दा देश पछि परेको हो। अब जानेका बुझेका युवाहरूले देश चलाउनुपर्छ,’ खनालले भने। उनले वर्तमान सरकार पनि सोहीबमोजिम अघि बढेको बताए। खनाल विगत दुई वर्षदेखि अधिवक्ताका रूपमा वकालत पेसामा सक्रिय छन्। सामाजिक अभियन्ताको रूपमा उनी विभिन्न मुद्दाहरूमा सरकारलाई खबरदारी गर्दै सडकमा आइरहने युवा हुन्। ‘सांसद भएपछि भूमिका फेरिएको छ, तर पनि देश र जनताका विरुद्ध हुने जुनसुकै निर्णयका विरुद्ध मेरो खबरदारी निरन्तर हुनेछ,’ उनले भने।
२० वर्षको उमेरमा राजनीति थालेर २६ वर्षकै उमेरमा सांसद बन्ने सौभाग्य पाएका मनिषले जनताले परिवर्तनको अपेक्षासहित आफूलाई निर्वाचित गरेकाले उनीहरूको भावना अनुकूल नै आफूले आगामी कदम चाल्ने बताए।
प्रतिक्रिया दिनुहोस !