चुनौतीपूर्ण नीति तथा कार्यक्रम

चुनौतीपूर्ण नीति तथा कार्यक्रम
सुन्नुहोस्

‘जेन–जी’ आन्दोलनपश्चात् स्थापित युवा नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम सैद्धान्तिक रूपमा उत्साहजनक देखिए पनि वर्तमान आर्थिक शिथिलताका बीच यसको सफल कार्यान्वयन भने निकै चुनौतीपूर्ण देखिन्छ । ऊर्जा, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, डिजिटल प्रविधि, रोजगारीदेखि औद्योगिकीकरणसम्मका बृहत् प्रतिबद्धताहरू यसमा समेटिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई व्यवहारमा उतार्ने दाबी पुनः दोहो¥याइएको छ । तर, जनमानसको मनमा फेरि एउटै प्रश्न उब्जिएको छ— के यी योजनाहरू सफलतापूर्वक कार्यान्वयन होलान् या विगतमा झैं कागजमै सीमित रहलान् ?   

नेपालका लागि नीति तथा कार्यक्रमहरू नयाँ विषय होइनन् । हरेक वर्ष संसद्को रोस्टमबाट ठूला सपनाहरू बाँडिन्छन् । रेलमार्ग, सुरुङमार्ग, स्मार्ट सिटी, उद्योग, कृषि आधुनिकीकरण र डिजिटल नेपालजस्ता कार्यक्रमहरू पटक–पटक दोहोरिने गरेका छन् । तर, कार्यान्वयनको धरातल सधैं कमजोर रहँदै आएको छ । धेरै योजनाहरू केवल उद्घाटनमै रोकिन्छन्, कतिपय बजेट अभावले थलिन्छन् भने कतिपय भ्रष्टाचार र ढिलासुस्तीको सिकार बन्ने गरेका छन् । परिणामतः सरकारी घोषणा र आश्वासनप्रति आम जनताको विश्वास क्रमशः घट्दै गएको छ । यसपटकको नीति तथा कार्यक्रममा ३० हजार मेगावाट विद्युत् उत्पादन, ‘भिजिट नेपाल २०८५’, साझा पूर्वाधारसहितको औद्योगिक ग्राम, राष्ट्रिय डिजिटल पूर्वाधार, नगदरहित अर्थतन्त्र, जीपीएस ट्रयाकिङ प्रणाली र काठमाडौंको वायु गुणस्तर सुधारजस्ता महत्त्वाकांक्षी योजनाहरू अघि सारिएका छन् । सुन्दा आकर्षक लागे पनि विगतका कटु अनुभवहरूले घोषणाभन्दा कार्यान्वयन पक्ष नै बढी जटिल हुने संकेत गर्छन् ।

सरकारको मुख्य कमजोरी योजना छनोटमा भन्दा पनि तिनको कार्यसम्पादनमा देखिएको छ । विकास आयोजनाहरू समयमै सम्पन्न नहुनु, पुँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा हतारमा गर्ने प्रवृत्ति, ठेक्कापट्टामा हुने अनियमितता र जिम्मेवार निकायहरूबीच समन्वयको अभाव हुनु पुरानै रोग हुन् । नीति जतिसुकै उत्कृष्ट भए पनि त्यसलाई कार्यरूप दिने प्रशासनिक संयन्त्र कमजोर हुँदा उपलब्धि शून्य प्रायः हुन्छ । तसर्थ, अब सरकारको प्राथमिकता नयाँ घोषणा थप्नुभन्दा पनि पुराना प्रतिबद्धताहरूको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनुपर्छ ।

अर्कोतर्फ, नीति तथा कार्यक्रममा समेटिएका योजनाहरू नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिनु आवश्यक छ । युवाका लागि रोजगारी, किसानका लागि सुनिश्चित बजार, उद्योगका लागि लगानीमैत्री वातावरण, विद्यार्थीका लागि गुणस्तरीय शिक्षा र नागरिकका लागि सहज सरकारी सेवाको क्षेत्रमा ठोस नतिजा देखिनुपर्छ । केवल भाषण र दस्ताबेजले मात्र जनताको जीवनस्तरमा परिवर्तन आउँदैन, विकासको वास्तविक अनुभूति गाउँ–गाउँसम्म पुग्नुपर्छ । यसकारण यो सरकारले आफ्ना कार्यक्रमहरू लक्षित वर्गसम्म पुगे वा पुगेनन् भन्नेमा विशेष ध्यान दिनु जरुरी छ ।

नीति तथा कार्यक्रमको सफलताका लागि राजनीतिक स्थिरता र प्रशासनिक इमानदारी अनिवार्य सर्त हुन् । सरकार परिवर्तन हुनासाथ अघिल्लो सरकारका योजनाहरू बदल्ने वा अलपत्र पार्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजनाहरू प्रभावित भइरहेका छन् । दीर्घकालीन महत्त्वका योजनाहरूलाई दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढाउनुपर्छ । साथै, भ्रष्टाचार नियन्त्रण, अनुगमन प्रणालीमा सुधार र जनउत्तरदायी शासनको अभ्यास पनि उत्तिकै अपरिहार्य छ ।

जनताले अब सपनाको पुलिन्दा होइन, परिणाम खोजिरहेका छन् । उनीहरू सडक बनेको, उद्योग सञ्चालन भएको, रोजगारी सिर्जना भएको र अर्थतन्त्र सुधारिएको प्रत्यक्ष अनुभूति गर्न चाहन्छन् । त्यसैले सरकारले कागजमा सुन्दर अक्षरहरू कोरेर मात्र पुग्दैन, ती योजनालाई व्यवहारमा उतार्ने दृढ इच्छाशक्ति र साहस देखाउनुपर्छ । यदि यसपटक पनि नीति तथा कार्यक्रम औपचारिक भाषण र दस्ताबेजमा मात्र सीमित भयो भने नागरिकमा व्याप्त जनविश्वास अझ कमजोर हुने निश्चित छ । अहिलेको बलियो र युवा नेतृत्वको सरकारले जनअपेक्षाबाट टाढिने छुट पक्कै पाउनेछैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.