‘कांग्रेस विभाजनको डिलमा छ, मिलाउने कि फुटाउने नेतृत्वको हातमा’
सुर्खेत : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी गम्भीर मोडमा उभिएको र विभाजनको डिलमा पुगेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहद्वारा सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू जस्तोसुकै परिस्थितिमा पनि पार्टी विभाजनको विपक्षमा रहेको र संस्थापन पक्षले सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
भेलालाई सम्बोधन गर्दै नेता खड्काले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीप्रति कडा असन्तुष्टि जनाए। आफू पार्टी फुट्न नदिने पक्षमा दृढ रहेको प्रस्ट्याउँदै उनले भने, ‘पार्टी विभाजनको डिलमा छ। तर, पहिले के गर्छस् भनेर सोध्नुभयो भने म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु।’ उनले आफू सधैं एकताकै पक्षमा उभिने प्रतिबद्धतासमेत व्यक्त गरे।
कांग्रेसको ऐतिहासिक विभाजन र एकताको प्रसंग कोट्याउँदै नेता खड्काले विगतका घटनाक्रमको आफू प्रत्यक्ष साक्षी रहेको दाबी गरे। ‘पार्टी विभाजन पनि गिरिजाबाबुका कारणले भएको हो। पार्टी मिलाएको पनि गिरिजाबाबुले नै हो, म यसको साक्षी छु,’ खड्काले थपे, ‘भोलि बोल्दा सबै सविस्तार भन्छु, घटनाहरू भन्छु। के के घटनाले पार्टी फुट्यो, के के घटनाले पार्टी मिल्यो, त्यो पनि म साक्षी छु। म जस्ताको त्यस्तै तपाईंहरूलाई भन्छु। यो अन्तिममा एउटा कुरा आज भन्दैछु।’
खड्काले केही समयअघि आफूलाई भेट्न आएका पार्टीका पदाधिकारीहरूसँग पनि यही विषयमा गम्भीर छलफल भएको जानकारी दिए। वर्तमान नेतृत्वलाई सचेत गराउँदै उनले भने, ‘यो कुरा मैले अस्ति गगन र विश्वजी मलाई भेट्न आउँदा भनेको छु, ‘पार्टी मिलाउने कि फुटाउने
तपाईंको हातमा छ।’
पार्टीभित्र चुनावी कार्यतालिका र आन्तरिक असमझदारीलाई सुल्झाउन आफूले विगतमा पनि ठूलो कसरत गरेको स्मरण गर्दै खड्काले विशेष महाधिवेशनसम्म पुग्नुको भित्री कारण आफूलाई थाहा भएको बताए।
विगतको वातावरण सम्झिँदै उनले भने, ‘सहमतिको प्रस्ताव चाँडै सम्पन्न गर्ने। होइन, चुनाव फागुनमै हुने भयो भने कार्यतालिका वैशाखमा सार्ने, सिंगो पार्टी चुनावमा लग्ने, यही सहमति भएपछि मैले एक दिनभरि असहमति हुनुभएका नेताहरूसँग संवाद गरेर, वार्ता गरेर, सभापतिले बोलाएर, सम्झाएर सबै बसेर शेखरजी, दुईवटै महामन्त्री तत्कालीन, अहिले पूर्वपदाधिकारी नेताहरू सभापति कहाँ बसेर, केन्द्रीय सचिवालय ब्रिफ गर्दै जाँदै, अन्तिममा सर्वसम्मतिले त्यो कार्यतालिका पारित भएको हो।’ तर, पछि परिस्थिति बदलिएको तर्फ संकेत गर्दै उनले थपे, ‘के कारण म जान्दिनँ, म भन्दिनँ। कारण मलाई थाहा छ। तर, कारण म भन्छु, समय लिएर भन्छु, अहिले भन्दिनँ। थाहा छ, कारण मलाई। त्यसैले के छ भन्दा त्यो परिस्थिति बन्यो र पार्टी विशेष
महाधिवेशनमा पुग्यो।’
नेता खड्काले हाल पार्टीको केन्द्रीय कार्यालय सानेपामा संकुचित राजनीति भइरहेको र पार्टी नेतृत्वले सबैलाई अपनत्व दिलाउन नसकेको आरोपसमेत लगाए। वर्तमान सभापतिलाई लक्षित गर्दै उनले भने, ‘अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाईं सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्। अदालतले जिताएर हामीले सभापति मानेका छौं। सबै नेताहरूलाई सानेपा आउन सक्ने वातावरण बनाउनुस्।’
नेता खड्काले आन्तरिक फुटले पार्टी मात्र नभई देश नै कमजोर हुने चेतावनी दिए। उनले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै कांग्रेस फुट्यो भने देशको अस्तित्व नै संकटमा पर्न सक्ने जिकिर गरे। त्यसैले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टी जोगाउन सम्पूर्ण कार्यकर्ता र नेतृत्व पंक्ति एकजुट हुनुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस !