राष्ट्रिय गौरवका आयोजना थपिन्छन्, सकिँदैनन्

राष्ट्रिय गौरवका आयोजना थपिन्छन्, सकिँदैनन्

काठमाडौं : सरकारले राष्ट्रिय गौरवका आयोजना भनी छुट्ट्याएका २७ आयोजनाको संशोधित लागत अनुमान २४ खर्ब १५ अर्ब ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । तर, आर्थिक वर्ष २०८१/८२ सम्ममा करिब ५ खर्ब ४ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । यी २७ आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल मात्र सम्पन्न भएका छन् । 

आर्थिक रूपान्तरणका लागि भन्दै सरकारले प्राथमिकतामा राखेका गौरवका आयोजनाहरू समयमै सम्पन्न नहुँदा उल्टै आर्थिक भार थपिएको छ । वर्षौंसम्म आयोजनाहरू अल्झिरहँदा शतप्रतिशत आयोजनाको लागत बढेको छ । अघिल्ला प्रतिवेदनहरूमा जस्तै शुक्रबार सार्वजनिक भएको महालेखापरीक्षकको ६३औं प्रतिवेदनको सारांशले पनि गौरवका आयोजनाको सुस्त प्रगतिमाथि प्रश्न उठाएको छ ।

राष्ट्रिय गौरवका २७ आयोजनामध्ये ३ वटा सम्पन्न भएका छन् भने समष्टिगत भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने ५ वटा, ५० देखि ८० प्रतिशत प्रगति हासिल गर्ने ४ वटा आयोजना छन् । त्यस्तै, ५० प्रतिशतभन्दा न्यून प्रगति भएका ९ वटा, भौतिक प्रगति नखुलेका ४ वटा र हालसम्म सुरु नै हुन नसकेका २ वटा आयोजना छन् । 

आर्थिक वर्ष २०७८/७९ सम्ममा सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति खुलाइएको छैन भने सम्पन्न हुने नयाँ अवधिसमेत तोकिएको छैन । अधिकांश आयोजनाहरू कार्यक्षेत्र थप गर्दै जाने तथा तोकिएको समयमा निर्माण नसकी म्याद थप मात्र गरिरहने प्रवृत्ति देखिएको छ ।null

प्रतिवेदनअनुसार सडकतर्फका आयोजनामध्ये पुष्पलाल (मध्यपहाडी) लोकमार्गको भौतिक प्रगति ८१.७३ प्रतिशत पुगेको छ भने कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा–सिमिकोट–सलिसल्ला सडकको प्रगति ११ वर्षमा मात्र २०.७५ प्रतिशत छ । यसैगरी, कालीगण्डकी करिडोरको प्रगति ८२.४३ प्रतिशत र हुलाकी लोकमार्ग आयोजनाको प्रगति ७२.७५ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ । कोशी करिडोरअन्तर्गत खाँदबारी–किमाथांका सडक आयोजनाको प्रगति ४५ प्रतिशत मात्र छ ।

सिँचाइतर्फ रानीजमरा कुलरिया सिँचाइ आयोजनाको भौतिक प्रगति ७४.७६ प्रतिशत, बबई सिँचाइ आयोजनाको ८२.२७ प्रतिशत तथा सिक्टा सिँचाइ आयोजनाको ४४.२३ प्रतिशत पुगेको छ । महाकाली सिँचाइ आयोजनाको प्रगति २६.६५ प्रतिशत र भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना (भेरी करिडोर सिँचाइबाहेक) को भौतिक प्रगति ६९ प्रतिशत छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति भने ३६.८३ प्रतिशत रहेको छ ।

केही महत्वपूर्ण आयोजनाको प्रगति अत्यन्तै न्यून छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको भौतिक प्रगति १६.५५ प्रतिशत मात्रै छ भने राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिको प्रगति ६.३९ प्रतिशतमा सीमित रहेको प्रतिवेदनले देखाएको छ । विद्युत् प्रसारण आयोजनाको प्रगति पनि ११.२७ प्रतिशत मात्रै छ । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनामा हालसम्म ८ हजार ५६ करोड रुपैयाँ खर्च हुँदा भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण ९९ प्रतिशत सम्पन्न भए पनि दोस्रो चरणको प्रगति १२.४७ प्रतिशत मात्रै छ । 

प्रतिवेदनले पश्चिम सेती जलविद्युत् आयोजना र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना हालसम्म सुरु हुन नसकेको उल्लेख गर्दै तोकिएको अवधिमै सम्पन्न हुने गरी आयोजना व्यवस्थापन हुनुपर्नेमा जोड दिएको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ मा गौरवका आयोजनामा समावेश गरेका मूलपानी क्रिकेट एकेडेमी तथा रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको भौतिक प्रगति भने स्पष्ट 
खुलाइएको छैन ।

कहिले परे कुन आयोजना राष्ट्रिय गौरवका सूचीमा ? 
नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा समृद्ध नेपालका लागि ‘राष्ट्रिय गौरवका आयोजना’ को अवधारणा ल्याई आयोजनाहरू वर्गीकरण गरेको हो । समृद्ध नेपालका लागि सडक पूर्वाधार विकासको आधारशीला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्थापन, तथा सांस्कृतिक सम्पदाको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण देखिएका १७ आयोजनालाई सुरुमा उच्च प्राथमिकतामा राखी कार्यान्वयन गर्ने भनिएको थियो ।null

आर्थिक वर्ष २०७०/७१ मा चारवटा, २०७५/७६ मा एकवटा, २०७६/७७ मा एकवटा, २०७७/७८ मा एकवटा र २०८०/८१ मा तीनवटा आयोजना थपिएका हुन् । यी पछिल्ला आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनाका रूपमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाउन २०८० कात्तिक २३ मा मन्त्रिपरिषदबाट स्वीकृति पाएसँगै कुल आयोजनाको संख्या २७ पुगेको हो । तीमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र माथिल्लो तामाकोशी जलविद्युत् आयोजना गरी ३ वटा आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् भने पश्चिम सेती र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य हालसम्म सुरु हुन सकेको छैन ।

‘आयोजना छनोटदेखि कार्यान्वयनसम्म सुधार आवश्यक’
चालू आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थ मन्त्रालयले आयोजना छनोटदेखि कार्यान्वयनसम्म आमूल परिवर्तन गर्नुपर्ने औंल्याएको थियो ।

प्रतिवेदनले आयोजनाहरू वर्षौंसम्म अल्झिरहने र लागत बढ्दै जाने पुरानो प्रवृत्ति रोक्न १५ बुँदे समाधानका उपायहरू सिफारिस गरेको छ । जसमा छुट्टै कानुनी संरचना निर्माण, पूर्वतयारीबिना ठेक्का लगाउन नपाइने व्यवस्था, र आयोजना प्रमुखहरूको कार्यअवधि स्थिरतालाई सुझावमा समेटेको छ ।

अर्थ मन्त्रालयले अबदेखि राजनीतिक वा हचुवाका भरमा आयोजना थप्ने परिपाटी अन्त्य गर्न ‘लागत लाभ विश्लेषण’ का आधारमा मात्र उपयुक्त आयोजना छनोट गर्न सुझाव दिएको छ । बजेट अभावका कारण आयोजना रोकिने समस्या समाधानका लागि मध्यमकालीन खर्च संरचनाका आधारमा बजेट व्यवस्था गर्ने र त्यसलाई ‘इयरमार्क’ गरी सुनिश्चित गर्न भनिएको छ ।

जग्गा अधिग्रहण र वन क्षेत्र प्रयोगको नीतिगत अन्योल हटाउन स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । मुआब्जा वितरणमा देखिएको विवाद सुझाउन बजार मूल्यसँग तादम्यता मिल्ने गरी सहज र यथार्थ मूल्य निर्धारण गर्ने नीतिगत व्यवस्था गर्न अर्थले निर्देश गरेको छ । खरिद प्रक्रियालाई पारदर्शी र बलियो बनाउन पूर्वतयारी सकिएपछि मात्र ठेक्का लगाउने र निर्माण व्यवसायीको प्राविधिक प्रस्तावको मूल्यांकनलाई प्रभावकारी बनाइने प्रतिवेदनमा उल्लेख छ । 

मन्त्रालयले केवल वित्तीय र भौतिक प्रगतिलाई मात्र नभई प्राविधिक परीक्षणलाई अनुगमनको मुख्य आधार बनाउन वैज्ञानिक सूचकहरू विकास गर्नुपर्ने बताएको छ । आयोजना प्रमुख र सम्बन्धित मन्त्रालयले निरन्तर रूपमा आयोजनाको जोखिम पहिचान, विश्लेषण र व्यवस्थापन गर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ ।

स्थानीयस्तरमा हुने अवरोध हटाउन प्रभावित क्षेत्रका बासिन्दा तथा सामुदायिक संस्थाहरूसँग पूर्वसहमति कायम गर्ने र विस्फोटक पदार्थको आपूर्तिमा हुने ढिलाइलाई कूटनीतिक माध्यमबाट हल गर्नुपर्ने प्रतिवेदनको निष्कर्ष छ । आयोजनामा खटिने श्रमिक तथा जनशक्तिलाई तालिम प्रदान गरी श्रम सम्बन्धमा सुधार ल्याउनुपर्नेमा समेत अर्थ मन्त्रालयले जोड दिएको छ ।

बढेन गति
राष्ट्रिय गौरवका आयोजना जस्तै पटक–पटक म्याद थप भएर पनि रूपान्तरणकारी आयोजनाहरूको गति अघि बढ्न नसकेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । सरकारले आर्थिक क्षेत्रका ५, सामाजिक क्षेत्रका ४, पूर्वाधार क्षेत्रका ७ र लोकतन्त्र तथा सुशासन क्षेत्रको १ गरी कुल १७ वटा आयोजनालाई रूपान्तरणकारी आयोजना तथा कार्यक्रमका रूपमा सञ्चालन गरिरहेको छ । यसमध्ये शिक्षा क्षेत्रको सार्वजनिक विद्यालय सबलीकरण आयोजना र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रमको समष्टिगत भौतिक प्रगति क्रमशः ८१ र ८८ प्रतिशत छ । यस्तै, गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाको भौतिक प्रगति ६४ प्रतिशत छ । राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन कार्यक्रमअन्तर्गतको भेरी करिडोर ४०० केभी र तमोर करिडोर ४०० केभी प्रसारण लाइन आयोजनाको समष्टिगत भौतिक प्रगति क्रमशः १२.३ प्रतिशत र २७.७ प्रतिशत मात्रै छ ।

पटक–पटक म्याद थप भई आर्थिक वर्ष २०८१/८२ मा निर्माण सम्पन्न हुनुपर्ने समृद्धिका लागि वन, जग्गा प्रशासन सुदृढीकरण, स्वास्थ्य संस्था तथा सेवा विस्तार, सार्वजनिक विद्यालय सबलीकरण आयोजना, प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रम र राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रमसहितका ६ वटा आयोजना यो वर्षसम्म पनि सम्पन्न हुन सकेका छैनन् । यस्ता महŒवपूर्ण आयोजनाहरूको मध्यावधि समीक्षासमेत नगरिएको प्रतिवेदनमा उल्लेख छ । अनुगमनलाई प्रभावकारी बनाई देखिएका समस्या समाधान गर्न राष्ट्रिय योजना आयोगले सक्रिय भूमिका खेल्नुपर्ने सुझाव महालेखाले दिएको छ ।

गौरवका आयोजना घटाउनुपर्छ
ई. केशवकुमार शर्मा, पूर्वसचिव

प्रारम्भिक अनुमानभन्दा चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामार्फत सार्वजनिक संशोधित अनुमानित लागत अधिकांश आयोजनाहरूमा दोब्बर देखिनुका पछाडि प्राविधिक, व्यवस्थापकीय र आर्थिक कारणहरू छन् । धेरैजसो सडक आयोजनाहरूमा सुरुको रेखांकनभन्दा पछि सहायक सडकहरू र उत्तर–दक्षिण जोड्ने सडकहरू थपिएकाले आयोजनाको आयतन र लम्बाइ दुवै बढ्न गई स्वाभाविक रूपमा लागत वृद्धि भयो ।

सुरुमा सामान्य अलकत्रा र गिट्टी मात्र छर्ने प्रविधि गर्ने गरी लागत अनुमान गरिएकोमा पछि आयोजनालाई दिगो र गुणस्तरीय बनाउन कंक्रिट प्रविधि अपनाइँदा बीचैमा विशिष्टीकरण परिवर्तन भयो, जसले लागत ह्वात्तै बढायो । मध्यपहाडी लोकमार्ग लगायतका धेरै आयोजनाहरूमा सुरुमा विस्तृत अध्ययन र डिजाइन नै नगरी अनुमानित लागतका भरमा आयोजना घोषणा गरिएकाले वास्तविक काम सुरु भएर विस्तृत आयोजना प्रतिवेदन तयार हुँदा लम्बाइ र लागत दुवै परिवर्तन हुन पुग्यो । 

कुनै पनि आयोजना समयमै नसकिँदा समयसँगै पैसाको वर्तमान मूल्य घट्दै जान्छ र वर्षौंसम्म आयोजना लम्बिरहँदा बजारमा निर्माण सामग्री र श्रमको मूल्य बढ्ने हुँदा सुरुको बजेटले न्यून काम मात्र सम्भव हुन्छ र संशोधित लागत चुलिन्छ ।

राष्ट्रिय गौरवको वर्गीकरण आवश्यकता र पूर्वतयारीका आधारमा भन्दा पनि राजनीतिक होडबाजी र क्षेत्रीय सन्तुलन मिलाउने नाममा हुने गरेको छ । ‘हाम्रो क्षेत्र वा हाम्रो मन्त्रालयको आयोजना किन नपार्ने ?’ भन्ने सोचका कारण पर्यटन, खेलकुद, ऊर्जा र सडकका नाममा अन्तर–निकाय बजेट र आयोजना बाँडफाँट गर्ने प्रवृत्ति हाबी भयो । आवश्यक अध्ययन र स्रोतको सुनिश्चितता विना नै संख्या मात्रै थपेर सस्तो लोकप्रियता कमाउने राजनीतिक आकांक्षाले गर्दा नयाँ आयोजनाहरू पनि पुरानै असफलताको बाटोमा हिँडिरहेका छन् ।

गौरवका आयोजनाहरूलाई साँच्चिकै सफल बनाउन र राज्यको ढुकुटीको दुरुपयोग रोक्न अबको रणनीतिमा आमूल परिवर्तन आवश्यक छ । विस्तृत इन्जिनियरिङ अध्ययन, जग्गा प्राप्ति र वातावरणीय प्रभाव मूल्यांकन पूरा नभई कुनै पनि आयोजना सुरु गर्नुहुँदैन । आयोजना सुरु गर्दाकै बखत वास्तविक लागत निकालेर बजेट अद्यावधिक गरिनुपर्छ ।

आयोजनाहरूलाई निश्चित समयभित्रै सक्ने गरी कडा कार्यतालिका बनाइनुपर्छ । निर्माण व्यवसायीले काम गरेबमोजिमको भुक्तानी समयमै पाउने र ढिलासुस्ती गर्नेलाई कडा कारबाही गर्ने परिपाटी बसालिनुपर्छ । २७ वटा आयोजनामा स्रोत र साधन छर्नुभन्दा तत्कालका लागि देशलाई नभई नहुने चार–पाँचवटा आयोजना मात्र छनोट गरी तिनलाई राष्ट्रिय गौरवको रूपमा प्राथमिकता दिनुपर्छ । ती आयोजना निश्चित समयमा सम्पन्न भएपछि मात्र पालैपालो अन्य नयाँ आयोजनालाई यो सूचीमा थप्दै जानुपर्छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनले देखाएका चुनौती तथा समस्याहरूः चुनौतीहरू

  • १. राष्ट्रिय गौरवका आयोजनाहरू निर्धारित समय र लागतमा सम्पन्न गरी अपेक्षित नतिजा हासिल गर्नु ।
  • २. आयोजनाहरूको वर्गीकरणमा वस्तुनिष्ठता र सामञ्जस्यता कायम हुने गरी स्पष्ट मार्गदर्शन तयार गर्नु ।
  • ३. अन्तर–तह र सरोकारवाला निकायहरूको स्वामित्व तथा अपनत्व सुनिश्चित गर्नु ।
  • ४. आयोजनाहरूको कार्यान्वयन दक्षतामा अभिवृद्धि गर्नु ।
  • ५. आयोजना व्यवस्थापनमा आइपर्ने स्थानीय अवरोध हटाउन अन्तर–निकाय समन्वय र कार्यान्वयन सहजीकरणलाई प्रभावकारी बनाउनु ।
  • ६. कार्यक्षेत्र विस्तार, सीमांकन तथा ढाँचा परिवर्तन गर्नुपर्दा वस्तुनिष्ठ आधारमा मात्र गर्ने पद्धतिको विकास गर्नु ।
  • ७. आयोजनाहरूको व्यवस्थापकीय स्वायत्तता र स्वतन्त्र कार्यसम्पादन वातावरण सुनिश्चित गर्नु ।
  • ८. आयोजना प्रमुख तथा कर्मचारीहरूको व्यावसायिक क्षमताको विकास गर्नु ।
  • ९. आयोजनाहरूको उद्देश्यमूलक, नतिजामूलक, प्राविधिक परीक्षण तथा प्रविधिमैत्री अनुगमन र मूल्यांकन प्रणाली स्थापित गर्नु ।

समस्याहरू :

  • १. आयोजनाहरू निश्चित सिद्धान्त र वैज्ञानिक मापदण्डका आधारमा पहिचान र छनोट हुन नसक्नु ।
  • २. राष्ट्रिय गौरवका आयोजनाहरू पनि नियमित कानुनअन्तर्गत नै सञ्चालन हुँदा कार्यसम्पादन प्रभावकारी नहुनु तथा जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगमा नीतिगत अन्योल कायम रहनु ।
  • ३. विस्तृत आयोजना प्रतिवेदन, निर्माण मोडालिटी, मुआब्जा र पुनर्वास जस्ता आधारभूत पूर्वतयारीका कार्यहरू पूरा नगरी आयोजना सुरु गरिनु ।
  • ४. आयोजनाहरूको आर्थिक, सामाजिक, प्राविधिक र भौगर्भिक विश्लेषण वैज्ञानिक हुन नसक्दा कार्यान्वयनमा जटिलता आउनु ।
  • ५. आयोजना सुरु भएपछि कार्यक्षेत्र विस्तार वा परिवर्तन हुनु, जसले गर्दा समय र लागत दुवै बढ्न गई आयोजनाहरू आर्थिक रूपमा बोझिलो बन्नु ।
  • ६. पर्याप्त पूर्वतयारी र स्रोतको सुनिश्चितता नै नगरी ठेक्का लगाउनाले समग्र ठेक्का व्यवस्थापन प्रणाली कमजोर बन्नु ।
  • ७. न्यून बोलकबोल गरेर धेरै ठेक्का ओगट्ने तर पूर्ण इमानदारिता र सक्षमताका साथ कार्यसम्पादन नगर्ने प्रवृत्ति देखिनु ।
  • ८. आयोजना बैंक र मध्यमकालीन खर्च संरचनाको अनुमानभन्दा न्यून बजेट प्रस्ताव गरिनु ।
  • ९. मुआब्जाको माग बजार मूल्यभन्दा अत्यधिक बढी हुँदा विकास निर्माणको लागत उच्च हुन पुग्नु ।
  • १०. सडक, खानेपानी, विद्युत् जस्ता निकायहरूबीच समन्वय नहुँदा निर्मित संरचनाहरू पटक–पटक भत्काइने र कमजोर हुने स्थिति आउनु ।
  • ११. आयोजना प्रमुखहरूको अवधि नपुगी बारम्बार सरुवा हुनाले आयोजना निर्माण र सञ्चालनमा अनिश्चितता उत्पन्न हुनु ।
  • १२. वित्तीय र भौतिक प्रगतिलाई मात्र सफलताको आधार मान्ने प्रचलनले गर्दा गुणस्तर र प्राविधिक पक्ष ओझेलमा पर्नु ।
  • १३. सूचकमा आधारित नतिजामूलक अनुगमन पद्धति र जोखिम विश्लेषण प्रणाली बलियो हुन नसक्नु ।
  • १४. दक्ष श्रमिक र प्राविधिक जनशक्तिको अभाव हुनुका साथै विस्फोटक पदार्थलगायतका निर्माण सामग्रीको आपूर्तिमा प्रक्रियागत ढिलाइ हुनु ।
  • १५. आयोजना प्रभावित बासिन्दाहरूसँग उचित समन्वय हुन नसक्दा आयोजना सञ्चालनमा पटक–पटक अवरोध सिर्जना हुनु ।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.