बाघ र चितुवा धपाउन बर्दियामा कृत्रिम गन्ध संकेतको परीक्षण

बाघ र चितुवा धपाउन बर्दियामा कृत्रिम गन्ध संकेतको परीक्षण
सुन्नुहोस्

गुलरिया : मानव बस्तीमा प्रवेश गर्ने वन्यजन्तु बाघ तथा चितुवालाई धपाउन नेपालमै पहिलोपटक बर्दियामा कृत्रिम गन्ध परीक्षण सुरु गरिएको छ । 

अफ्रिकामा सफल प्रमाणित भएको यो आधुनिक प्रविधि नेपालको बर्दियास्थित खाता जैविक मार्ग (कोरिडोर) क्षेत्रभित्र परीक्षणका रूपमा सुरु गरिएको हो । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गका रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ्दो क्रममा छ । वन्यजन्तुको उच्च जोखिम रहेको खाता क्षेत्रमा बाघ, चितुवालगायतका हिंस्रक वन्यजन्तुलाई धपाउन कृत्रिम गन्धका माध्यमबाट नयाँ प्रविधिको परीक्षण भइरहेको खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङले बताए ।

डिभिजन वन कार्यालय बर्दियाको सहकार्य, खाता सामुदायिक वन समन्वय समितिको समन्वय तथा तराई भूपरिधि संरक्षण कार्यक्रम (ताल) को सहयोगमा यो कृत्रिम गन्ध संकेत परीक्षण थालिएको हो । अध्यक्ष गुरुङले भने, ‘अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता कोरिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाएमा मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा धपाउन सहज हुने अनुमान गरेका छौं । यसबाट सफलता मिल्ने ठूलो आशा छ ।’ खाता जैविक मार्ग मानव–वन्यजन्तु द्वन्द्वका दृष्टिले अति नै संवेदनशील मानिन्छ । उक्त क्षेत्रमा मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्न गत वर्षदेखि नै गन्ध संकेत विधि पाइलटिङका रूपमा परीक्षण गर्न सुरु गरिएको थियो । 

यस वर्ष पनि खाता वन क्षेत्रमा बाघ, चितुवा र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम गन्ध संकेतको परीक्षणलाई निरन्तरता दिइएको तराई भूपरिधि संरक्षण कार्यक्रम (ताल)का प्रबन्धक भरतप्रसाद भट्टको भनाइ छ । यस प्रविधिअन्तर्गत जंगलभित्र विभिन्न ३० वटा स्थानमा संकेतहरू जडान गरिएका छन् । दुईवटा स्वचालित क्यामेराको बीचमा पर्ने गरी जडान गरिएको यस प्रविधिमा बाघले देखाउने प्रतिक्रिया र क्रियाकलापलाई क्यामेराले खिचेको भिडियोमार्फत अनुगमन गरिने प्रबन्धक भट्टले बताए । प्राकृतिक रूपमा बाघले रुख वा भुइँमा नंग्राले कोतरेर वा पिसाब फेरेर आफ्नो आधार इलाका (ट्यारिटोरी) तय गर्ने गर्छन् । 

उनले अगाडि थपे, ‘परीक्षणका लागि राखिएको संकेतबाट बाघको पिसाबको जस्तै गन्ध आउने भएकाले, उक्त गन्ध सुँघेपछि बाघले अर्कै शक्तिशाली बाघको इलाका ठानेर त्यहाँबाट बाटो मोड्ने वा भाग्ने गर्छ । यस गन्धमा कुनै पनि हानिकारक रसायन नभएकाले यसले पर्यावरण वा वन्यजन्तु कसैलाई पनि नोक्सान पुर्‍याउँदैन ।’

प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाले आफ्नो पिसाबका माध्यमबाट आफ्नो आधार क्षेत्र निर्धारण गर्ने गर्छन् र सो क्षेत्रमा सामान्यतया अन्य बाघहरू प्रवेश गर्दैनन् । गन्ध सुँघेपछि अर्को बाघको बलियो आधार इलाका सम्झेर अन्य बाघहरू अगाडि नबढी फर्कने स्वभाव हुन्छ । 

वन्यजन्तुको यही प्राकृतिक स्वभावलाई अनुसरण गरी यो गन्ध प्रविधि भिœयाइएको ताल कार्यक्रमका संयोजक प्रतीक शाहले स्पष्ट पारे । बर्दिया जिल्ला बाघ र चितुवाको आक्रमणबाट अत्यधिक प्रभावित क्षेत्र हो । नेपालमै पहिलोपटक बर्दियामा गरिएको यो गन्ध संकेत परीक्षण सफल भएमा आगामी दिनमा गाउँबस्ती आसपासमा समेत यसको प्रयोग गरी बाघ र चितुवाको आक्रमण पूर्णरूपमा न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.