घरभित्रै घाइते अवस्थामा भेटिए युवक

घरभित्रै घाइते अवस्थामा भेटिए युवक
सुन्नुहोस्

विराटनगर : मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा पारिवारिक अवस्थाको दबाब र मानसिक स्वास्थ्यसम्बन्धी समस्याबीच एक युवकले आफैंलाई गम्भीर चोट पुर्‍याएका छन् । ३३ वर्षीय आशकुमार राई आफ्नै घाँटी रेटेको गम्भीर घाइते अवस्थामा फेला परेका हुन् ।  

घटना सोमबार बिहानको हो । प्रहरीका अनुसार राईलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो । तर,अवस्था जटिल देखिएपछि चिकित्सकको सिफारिसमा उनलाई विराटनगरको विराट नर्सिङ होममा थप उपचारका लागि भर्ना गरिएको छ । 

उनको उपचार जारी रहेको र अवस्था गम्भीर देखिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले बताए । प्रारम्भिक अनुसन्धान र स्थानीय तथा आफन्तको भनाइअनुसार आशकुमार पछिल्लो केही समयदेखि असामान्य व्यवहार देखाउँदै आएका थिए । उनी मानसिक रूपमा असन्तुलित जस्तो देखिने,एक्लै बोल्ने,अनौठो व्यवहार देखाउने र कहिलेकाहीँ आक्रोशित हुने जस्ता संकेतहरू देखिन थालेको स्थानीयले बताएका छन् । आफन्त र छरछिमेकले उनको व्यवहारमा आएको परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्दै निगरानी समेत गर्दै आएका थिए । 

घटना हुनुभन्दा अघिल्लो रात अर्थात् आइतबार राति पनि स्थानीयवासी र आफन्तले उनको अवस्थाका बारेमा शंका गर्दै घरमै निगरानी गरेका थिए । तर, बिहान ८ बजेतिर घरको कोठाभित्र प्रवेश गरेपछि खुकुरीले घाँटी रेटेको गम्भीर घाइते अवस्थामा आशकुमारलाई भेटिएको प्रहरीको भनाइ छ । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर नवीन वली नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ । डीएसपी लामिछानेका अनुसार घटनामा कुनै बाह्य संलग्नताको संकेत अहिलेसम्म भेटिएको छैन । ‘प्रारम्भिक रूपमा व्यक्तिगत मानसिक तथा पारिवारिक अवस्थासँग सम्बन्धित घटना भएको देखिन्छ,’उनले भने ।

प्रहरीका अनुसार आशकुमारकी पत्नी विगत तीन वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । उनकी ७ वर्षीया छोरीसमेत रहेको खुलेको छ । लामो समयसम्म पत्नी विदेशमा रहँदा पारिवारिक एक्लोपन र मानसिक तनाव थपिएको हुन सक्ने स्थानीयको अनुमान छ ।  

छिमेकीहरूका अनुसार पछिल्ला दिनहरूमा राईको व्यवहार झनै असामान्य बन्दै गएको थियो । उनी कहिलेकाहीँ अनावश्यक रूपमा चिन्तित देखिने, एक्लै लामो समयसम्म बस्ने र सामान्य कुरामा पनि असहज प्रतिक्रिया दिने गरेका थिए । यही कारणले घटना हुनसक्ने आशंकामा आफन्त र छरछिमेकले निगरानी बढाएका थिए ।

यद्यपि, निरन्तर निगरानीका बाबजुद पनि घटना रोक्न नसकिएको स्थानीयको भनाइ छ । उनीहरूले मानसिक स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी उपचार नहुँदा यस्तो अवस्था आएको हुनसक्ने बताएका छन् । प्रहरीले घटनाको विस्तृत कारण,पछिल्ला दिनको व्यवहारिक अवस्था र पारिवारिक पृष्ठभूमिका बारेमा थप जानकारी संकलन गरिरहेको छ । साथै,मानसिक स्वास्थ्यसम्बन्धी पक्षलाई पनि अनुसन्धानको मुख्य आधार बनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.