अविश्वास गरेकै दलको विश्वासले मुख्यमन्त्री बने नेकपाका शाही
वीरेन्द्रनगर : कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा संसदीय दलको नेता मंगलबहादुर शाही नियुक्त भएका छन्। मुगु जिल्लाबाट प्रदेशसभामा निर्वाचित सांसद शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री भएका हुन्।
नेकपाकै अग्रसरतामा नेपाली कांग्रेससँग मिलेर तत्कालीन नेकपा एमालेबाट बनेका मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। उही अविश्वास गरेको दल नेकपा एमालेको समर्थनमा नेकपाका नेता शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका हुन्।
केही समयअघिसम्म संसद्मा एकअर्काविरुद्ध तीखा राजनीतिक आरोप–प्रत्यारोपमा उत्रिएका नेकपा एमाले र नेकपाबीच केन्द्रमा ओली प्रचण्डको तीनबुँदे सहमतिले एकै ठाउँमा उभ्याएको छ। कर्णालीमा नेपाली कांग्रेस र नेकपाबीचको नयाँ सहकार्यले सार्थकवक्ता पाउने अन्तिम दिनमा ओली प्रचण्डको सहमतिले देशकै राजनीति नयाँ मोडमा लियो। नेकपा एमालेका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने राजनीतिक समीकरण अन्ततः तुहियो। जसको परिणाम वामहरूको नयाँ गठबन्धन बन्यो।
जुन दलले अघिल्लो सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। उसै दलको संसदीय दलको नेतालाई उही अविश्वासी दलको समर्थनमा नयाँ सरकार गठन भएको छ। यस घटनाक्रमले प्रदेश राजनीतिमा संघको हस्तक्षेप र संघीयताको भावनाविपरीतको कदम भनेर प्रतिपक्षले दाबी गरिरहेको छ। कर्णालीमा सत्ताको लोभमा नेपाली कांग्रेसले आफ्नै समर्थनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढायो। जसको प्रतिफल हप्ता दिनमै सत्तापक्षबाट प्रतिपक्ष दलको भूमिकामा उभिनुपर्ने अवस्था आयो।
नेकपा एमालेका प्रमुख सचेतक टेकराज पछार्इँले भने, केन्द्रमा नेताहरूले पार्टी एकता गर्ने गरी छलफल भइरहेको र त्यसैअनुसार प्रदेशमा सहकार्यको थालनी भएकाले नेकपा एमाले इमान्दार रूपमा प्रस्तुत भएको हो। त्यसैको परर्णाम कर्णालीमा नयाँ सरकार गठबन्धन भयो। यो सहकार्य लामो समय जाने विश्वास गरेका छौं।
कर्णाली प्रदेशसभामा एमाले नेतृत्वको सरकारविरुद्ध कांग्रेस र नेकपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। त्यसयता दुवै दलबीच लगातार संवाद, छलफल बन्द थियो। एकाएक केन्द्रमा भएको सत्ता सहकार्यको निर्णयले विभिन्न कोणबाट असन्तुष्टिहरू पनि आएका थिए। तर, अन्तिम घडीमा नेकपा एमाले र नेकपाले सहमति गरेर मंगल शाहीलाई मुख्यमन्त्री बनाउने सहमति जुट्यो। विगतमा प्रदेशसभाभित्र कांग्रेस र नेकपाबीच बढेको निकटताले एमालेलाई लखेटेको अनुमान भइरहेको थियो।
नागरिक समाजका अगुवा पीताम्बर ढकालले प्रदेश सरकारको शुभारम्भ राम्रो नदेखिएको बताए। उनले भने, राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भन्ने भनाइ कर्णालीमा सावित भयो। हिजो आफ्नो सरकार ढाल्नेलाई नै अहिले नेतृत्व स्वीकार्नु परेको अवस्था छ। यसले विभिन्न आशंकाहरू उब्जाएको छ। तर यसलाई निरन्तर संवाद र सहकार्यले समाधान पनि गर्न सक्छ। तर, खास कुरा दलहरूले सत्ता स्वार्थका लागि बारम्बार सरकार फेर्ने जुन खालको राजनीतिक खिचडीहरू पाकिरहेका छन्। यसले पुराना दलहरूप्रति थप जनमत कमजोर भने पक्कै भइरहेको छ।
नेकपा नेता एवं प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीले मुलुककै राजनीतिक नयाँ कोर्समा प्रवेश गरेसँगै कर्णालीमा पनि त्यसको प्रभाव परेको बताए। उनले भने, पुरानो राजनीतिक कोर्स भत्किएर नयाँ कोर्समा प्रवेश गरेका छौं। नेकपा र एमालेबीचमा कुनै पनि मतभेद छैन। जसरी मुलुकमा वाम शक्तिहरूको एकताको आवश्यकताअनुसार सत्ता सहकार्यको सहमति भयो। त्यसलाई कर्णालीमा दुवै दलले इमान्दारीका साथ पालना गरेका छौं। यसलाई हामी थप मजबुत बनाउँदै लैजान्छौं। उनका अनुसार अब नेकपा र एमालेको सहकार्यमा निर्माण भएको प्रदेश सरकारले प्रदेशको विकास, सेवा प्रवाह र प्रशासनिक सुधारलाई गति दिनका लागि ठोस पहल थाल्नेछ।
प्रतिक्रिया दिनुहोस !