कर्णालीमा चुलियो ग्यास अभाव
वीरेन्द्रनगर : कर्णाली प्रदेशमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतका साथै अन्य जिल्लाहरूमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको हो। हरेक जिल्लामा सर्वसाधारण नागरिकहरुदेखि व्यवसायीहरू मारमा परेका छन्।
सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमका बजारमा ग्यास सहज रूपमा उपलब्ध हुन छाडेको व्यवसायीहरू बताउँछन्। कतिपय डिलरले खाली सिलिन्डर सङ्कलन गरे पनि नयाँ ग्यास दिन नसकेको अवस्था छ भने उपभोक्ता दिनहुँ डिलर कहाँ धाइरहेका छन्। ग्यास आउने थाहा पाउने बित्तिकै उपभोक्ताको लाइन नै लाग्ने गरेको छ। सुर्खेतमा ग्यास बिक्री–वितरण गरिरहेका व्यवसायी देवराज बुढाले भने, ‘आज बिहीबार हाम्रो पसलमा १ सय सिलिन्डर एलपी ग्यास आएकोमा तीन सय नागरिकहरूको लाइन लागेको थियो। प्रशासनकै रोहबरमा बिक्री–वितरण गर्दा पनि झण्डै २ सय नागरिकहरूलाई ग्यास पुगेन। यसबाट हामी व्यवसाय गर्ने व्यक्तिहरूलाई पनि हैरानी भइरहेको छ।’
ग्यासको अभावका कारण घरपरिवार मात्र होइन, होटल, रेस्टुरेन्ट, बेकरी उद्योग तथा साना व्यवसाय पनि प्रभावित बनेका छन्। विकल्पका रूपमा दाउरा वा विद्युतीय चुलो प्रयोग गर्न खोजे पनि सबै ठाउँमा भरपर्दो विद्युत् सेवा नहुँदा समस्या झन् जटिल बनेको छ। व्यवसायीहरूका अनुसार ग्यास उद्योगबाट आउने कोटा पनि मागभन्दा निकै कम छ। जति कोटा आउँछ, त्योभन्दा धेरै नागरिकहरूको लाइन हुन्छ। सुर्खेतका स्थानीय महेन्द्र सापकोटाले भने, ‘राति तीन बजेदेखि लाइन लागियो। बिहान ९ बजे पालो आउने बेलामा ग्यास सकियो भनियो।’
कति नागरिकहरू त ग्यास डिलरमा दिनहुँ लाइनमा घण्टौँ बसेर रित्तो हात घर फर्किरहेका छन्। ग्यासको सहज उपलब्धता किन नभएको हो? राज्यले यसको विषयमा ठोस समाधान दिनुपर्छ। उपभोक्ताले भने कृत्रिम अभाव सिर्जना गरेर बढी मूल्यमा ग्यास बिक्री गर्ने प्रयास भइरहेको आशङ्का व्यक्त गरेका छन्। बजारमा अनुगमन प्रभावकारी बनाउन उनीहरूले सरकारसँग माग गरेका छन्। आयल निगम भन्छ, ग्यास नियमित आइरहेको छ।
तर बजारमा उपभोक्ताले ग्यास सहज रूपमा पाइरहेका छैनन्। सुर्खेतमा लामो समयदेखि होटल व्यवसाय गरिरहेका समिर तामाङले भने, ‘सुर्खेतमा होटल व्यवसाय गरेको वर्षौँ भयो। ग्यास अभावको यस्तो सास्ती त कहिल्यै भोगिएन। हामीले होटलको चुलो बाल्न दिनहुँ लाइन लाग्दा पनि मागअनुसारको पूर्ति भएको छैन। यसले हाम्रो व्यवसाय नै बन्द हुने अवस्था छ। ग्यासको सहज आपूर्ति गरेर सरकारले हामीलाई सहज रूपमा व्यवसाय गर्ने वातावरण बनाइदियोस्।’
कर्णालीका अधिकांश जिल्लामा अहिले ग्यास डिलरमा स्थानीय उपभोक्ताहरूको लाइन छ। यसले सरकारमाथि नै जनआक्रोश पनि बढाइरहेको छ। शहरी क्षेत्रमा ग्यासको प्रयोग उच्च रहेकाले केही दिनको आपूर्ति अवरोधले पनि ठूलो असर पर्ने अवस्था छ। तर महिनौँ ग्यास अभावले उपभोक्ताहरू मारमा परेका छन्। कालिकोटका युवा समाजसेवी जगतजङ्ग विष्टले भने, ‘नागरिकको चुलो बाल्ने ग्याससमेत सहज रूपमा उपलब्ध गराउन नसक्ने सरकारले अन्य के सवालहरू सम्बोधन गर्ला? यसले जनताको सास्तीमा उल्टै सरकारका समर्थकहरू नकारात्मक रूपमा टिप्पणी गरिरहेका छन्। मुलुकमा सरकार भएको अनुभूति नागरिकले गर्नुपर्छ। ग्यासको आपूर्ति सहज हुनुपर्छ। यस विषयमा सरकार गम्भीर हुनुपर्छ।’ ग्रामीण क्षेत्रमा दाउरा प्रयोग गर्ने चलन अझै भए पनि बजार केन्द्र, सरकारी कार्यालय, विद्यालय, अस्पताल र होटलहरू ग्यासकै भरमा सञ्चालन हुने भएकाले उनीहरूलाई समस्या भइरहेको छ।
सुर्खेतकी उर्मिला रावलले भनिन्, ‘तीन दिनदेखि ग्यास खोजिरहेकी छु। खाली सिलिन्डर बुझाएको पनि दुई दिन भयो। अझै ग्यास आएको छैन। साना बालबालिका भएको घरमा खाना पकाउन निकै समस्या भएको छ। तीन दिनदेखि होटलबाट खानेकुरा ल्याएर घरमा बालबालिकालाई खुवाउनुपर्ने बाध्यता छ। सरकारले यस्तो संकट आउन नदिन समयमै व्यवस्थापन गर्नुपर्छ।’
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्कीले सुर्खेतमा मागअनुसार ग्यास पूर्ति नभएकाले समस्या भइरहेको बताए। उनले भने, ‘नेपालभरि नै समस्या छ। राष्ट्रव्यापी समस्या हो। ग्यास अभावबारे प्रशासन गम्भीर छ। हामीले बजार अनुगमन पनि कडाइका साथ गरेका छौँ। प्रहरीकै निगरानीमा ग्यास बिक्री–वितरण भइरहेको छ। बजारको नियमित अनुगमन भइरहेको छ। आपूर्ति सहज बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेका छौँ। दैनिक १ हजार ८ सय आवश्यक पर्ने भेरी ग्यास दैनिक ५ सय ५० मा झारेको छ। अन्य ग्यास ३ सयदेखि ४ सय आइरहेको छ। यसले समस्या भएको हो।’
आयल निगम सुर्खेत शाखा प्रमुख दीपक घिमिरेले आपूर्ति सहज रहेको बताए। उनले भने, ‘सुर्खेतमा उपभोक्ताको वास्तविक तथ्याङ्क छैन। तर यहाँको सरदर माग २२ हजारदेखि २६ हजार सिलिन्डर हो। हामीले साउन महिनाको २१ गतेसम्म ३६ हजार ८ सय ८३ सिलिन्डर बाँडिसकेका छौँ। तर ग्यास डिलरमा उपभोक्ताको लाइन घटेको छैन। अघिल्लो महिनाको सरदर मागभन्दा बढी १० हजार सिलिन्डर बाँड्दा पनि ग्यास अभाव कायम नै छ। आफ्नै गाडी हुनेहरूले नेपालगन्जबाट छुट्टै ग्यास पनि ल्याइरहेका छन्। तर पनि ग्यासको लाइन घट्दैन। यो विषयले हामीलाई पनि निकै सास्ती भइरहेको छ। तर उपभोक्ताको मागअनुसार ग्यास आपूर्तिका लागि भने हामीले पहल गरिरहेका छौँ। त्यसै कामले म आज आफैँ नेपालगन्जमा आएको छु।’
प्रतिक्रिया दिनुहोस !