इरानी संसदका सभामुखको आरोप : ट्रम्पको बारम्बारको कुटनीति देखावटी र असफल
इरान : इरानी संसदका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘बारम्बार दोहोरिने नाटकीय कूटनीति’ गरिरहेको आरोप लगाएका छन् । उनले ट्रम्पले इरानमाथि आक्रमण गर्ने आदेश दिएको दाबी गर्ने र त्यसपछि आक्रमण रोक्ने गरेको भन्दै आलोचना गरेका हुन् ।
घालिबाफले बिहीबार सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । केही दिनअघि ट्रम्पले इरानमाथि गर्ने भनिएको पछिल्लो ठूलो सैन्य आक्रमण रोक्दै तेहरानसँग सम्झौताको आधार तयार भइसकेको दाबी गरेका थिए । घालिबाफले अमेरिकाले सैन्य धम्की र वार्ताको प्रस्तावबीच बारम्बार नीति परिवर्तन गरेर दबाब दिने असफल रणनीति अपनाइरहेको बताए ।
उनले एक्समा लेखेका छन्, ‘ठूलो आक्रमण आउँदैछ... पर्खनुहोस्, होइन, उनीहरू वार्ता गर्न चाहन्छन् । यो बारम्बार दोहोरिने देखावटी कूटनीति हो ।’ उनले थप भनेका छन्, ‘धम्की, पूरा नगरेका प्रतिबद्धता र झुटा समाचारलाई दबाबको माध्यम बनाउनु असफल रणनीति हो ।’ घालिबाफले अमेरिकालाई ‘यथार्थ स्वीकार गर्न’ र आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।
यसअघि शनिबार ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य आक्रमण रद्द गरेका थिए । उनले इरान र क्षेत्रका अन्य देशहरूले आक्रमण रोक्न आग्रह गरेको र कूटनीतिक सफलता नजिक पुगेको दाबी गरेका थिए । ट्रम्पले प्रस्तावित सम्झौताले ‘होर्मुज जलडमरूमध्य तत्काल, पूर्ण र सम्पूर्ण रूपमा खुला गर्ने’ तथा इरानको आणविक खतरा अन्त्य गर्ने दाबी गरेका थिए ।
इरानले होर्मुज जलडमरूमध्य पुनः खोल्न ओमानसँग वार्ता गरिरहेको छ । तेहरानले दुवै पक्षले महत्वपूर्ण जलमार्गका लागि मार्ग निर्धारणमा सहमति जनाइसकेको र सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ । विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्यमा इजरायल र अमेरिकाले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि तनाव बढेको थियो, जसले लामो समयसम्म चलिरहेको क्षेत्रीय युद्धको रूप लिएको छ ।
आक्रमणपछि इरानले प्रभावकारी रूपमा उक्त जलमार्ग बन्द गरेको थियो र अहिले त्यसको केही भागमा आफ्नो सार्वभौमिकता रहेको दाबी गर्दै आएको छ। होर्मुज जलडमरूमध्य इरान र ओमानको क्षेत्रीय पानी हुँदै जाने भाग पनि समेट्छ।
जलमार्ग बन्द हुनु र अमेरिका तथा इरान दुवैतर्फबाट ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ। बिहीबार ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको युद्ध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरे। उनले द्वन्द्व अन्त्य भएपछि पेट्रोलको मूल्य घट्ने दाबी पनि गरे।
ट्रम्पले भने, “मलाई लाग्छ यो छिट्टै अन्त्य हुनेछ। उनीहरूले धेरै लामो समयसम्म यसलाई जारी राख्न सक्दैनन्।” उनले आफू तेहरानसँगको वार्तामा संलग्न रहेको पनि बताए। ट्रम्पले भने, “मलाई लाग्छ हामी राम्रो अवस्थामा छौं।” ट्रम्पले महिनौँदेखि इरान पराजित भइसकेको र द्वन्द्व अन्त्यको चरणमा पुगेको दाबी गर्दै आएका छन्। तर इरानी अधिकारीहरूले भने आफूहरू लामो युद्धका लागि तयार रहेको बताउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस !