सिकाइ एक निरन्तर, सचेत र जीवन्त प्रक्रिया हो। मानिसले पढेर, सुनेर तथा आफ्ना साथीभाइ र परिवेशसँग सघन छलफल गरेर ज्ञान आर्जन गर्छ। यो सम्पूर्ण प्रक्रिया सफलतापूर्वक सम्पन्न हुन एउटा अपरिहार्य तत्वको आवश्यकता पर्छ, त्यो हो— मनोयोग वा एकाग्रता।
जबसम्म मस्तिष्क र मन पूर्णरूपमा कुनै विषयमा समर्पित हुँदैनन्, तबसम्म बाह्य रूपमा गरिने अध्ययन वा श्रवण केवल औपचारिकतामा मात्र सीमित हुन पुग्छ। तर, वर्तमान समयको सबैभन्दा ठूलो विडम्बना नै यही बनेको छ कि आजका विद्यार्थीमा यो सचेत मनोयोग र धैर्यको चरम अभाव देखिँदै गएको छ। प्रविधिको तीव्र विकास र आधुनिक जीवनशैलीको बढ्दो प्रभावसँगै शिक्षण संस्था र कक्षाकोठाहरू एकाग्रताविहीन र निरस बन्दै गएका छन्, जसले समग्र शैक्षिक जगलाई नै गम्भीर संकटतर्फ धकेलिइरहेको छ।
आजका नयाँ पुस्ताका विद्यार्थीमा धैर्यको बाँध पूर्ण रूपमा भत्किसकेको अनुभूत हुन्छ। उनीहरू न त गहिराइमा पुगेर पुस्तक पढ्न चाहन्छन्, न त गुरु वा अग्रजका कुरा धैर्यपूर्वक सुन्न नै तयार देखिन्छन्। सूचना प्रविधिको चामत्कारिक विकासले गर्दा उनीहरूको मस्तिष्क क्षणभरमै उत्तेजना खोज्ने (इन्स्ट्यान्ट डोपामिन) कुलतमा फसिसकेको छ। कतिपय अवस्थामा दबाब वा बाध्यताले गर्दा उनीहरू सुन्न वा पढ्न बस्न बाध्य भइहाले भने पनि उनीहरूको ध्यान र मन अन्तै भौंतारिरहेको हुन्छ। ध्यान दिएर, मन दिएर र डुबेर कुनै पनि कुरालाई ग्रहण नगरेसम्म ज्ञान स्थायी हुन सक्दैन। तर, आजको कक्षाकोठाको यथार्थ के हो भने, विद्यार्थी केवल शारीरिक रूपमा उपस्थित हुन्छन्, मानसिक रूपमा उनीहरू सामाजिक सञ्जालका भर्चुअल संसारमा विचरण गरिरहेका हुन्छन्। फलत : उनीहरूका लागि अध्ययन र सिकाइ एक बोझिलो र पट्यारलाग्दो विषयवस्तुका रूपमा देखा पर्न थालेको छ।
सिकाइको अर्को महत्वपूर्ण पाटो भनेको सहपाठीबीचको आपसी छलफल, संवाद र सहकार्य हो। साथीभाइसँग गरिने स्वस्थ विमर्शले मानिसको चिन्तन दायरालाई फराकिलो बनाउँछ र फरक दृष्टिकोण बुझ्न सघाउँछ। तर, आधुनिक प्रविधिको बढ्दो पर्खालले विद्यार्थीबीचको यो जीवन्त संवादलाई पनि निलेको छ। आज साथीभाइ मिलेर कुनै रचनात्मक विषयमा छलफल गर्ने, सामूहिक अध्ययन गर्ने वा वैचारिक बहस गर्ने संस्कृति द्रुत गतिमा ह्रास हुँदै गएको छ। भौतिक रूपमा सँगै हुँदा पनि उनीहरू मोबाइल स्क्रिनमा व्यस्त देखिन्छन्। सामाजिक सम्बन्ध र सामूहिक भावनाको यो क्षयीकरणले विद्यार्थीलाई एकांकी र असामाजिक मात्र बनाइरहेको छैन, बरु उनीहरूको मौलिक र रचनात्मक सोच्ने क्षमतालाई समेत भुत्ते बनाइदिएको छ।
यो समस्या केवल हाम्रोजस्तो विकासोन्मुख मुलुकको मात्र होइन, बरु विश्वका ठूला र विकसित भनिने देशहरूमा अझ विकराल रूपमा फैलिरहेको प्रतिवेदनहरूले देखाएका छन्। विकसित देशहरूमा प्रविधिको पहुँच र उपलब्धता अत्यधिक भएकाले त्यहाँका बालबालिका यसको नकारात्मक प्रभावबाट झन् बढी ग्रसित छन्। आजका विद्यार्थीको साझा मानसिकता के बनेको छ भने– ‘जब सबै कुरा इन्टरनेट र गुगलमै सजिलै पाइन्छ भने किन दु : ख गरेर पढ्नुपर्यो र ?’ यो सतही सोच नै आधुनिक शिक्षाको सबैभन्दा ठूलो शत्रु बनेर उभिएको छ। इन्टरनेटले सूचना त दिन सक्छ, तर त्यस सूचनालाई ज्ञान, विवेक र प्रज्ञामा बदल्ने काम मानवीय चिन्तन र साधनाले मात्र गर्छ भन्ने कुरा आजको पुस्ताले बिर्सिएको छ। अनलाइनमा उपलब्ध रेडिमेड सामग्रीका कारण उनीहरूको मौलिक सोच, खोजी गर्ने प्रवृत्ति र बौद्धिक मिहिनेत गर्ने बानी पूर्ण रूपमा हराएको छ।
त्यसमाथि, सामाजिक सञ्जालमा उपलब्ध ‘रिल’, भिडियो गेम, टिकटकका नाचगान र विभिन्न खाले ख्यालठट्टाका भिडियोहरूले बालमस्तिष्कलाई यसरी अचेटेका छन् कि उनीहरू चौबिसैघण्टा त्यही भर्चुअल संसारको मनोरञ्जनमा डुबिरहन चाहन्छन्। क्षणिक र सस्तो मनोरञ्जन दिने यस्ता सामग्रीहरू हेर्न पाएपछि गम्भीर पढाइलेखाइ, चिन्तन, मनन् र रचनात्मक कार्यमा उनीहरूको मन कसरी लागोस् ? चिन्तन र अध्ययनका लागि शान्त दिमाग र दीर्घकालीन एकाग्रता चाहिन्छ, तर आधुनिक प्रविधिले मस्तिष्कलाई अल्पकालीन र सतही उत्तेजनाको मात्र बानी पारिदिएको छ। फलस्वरूप, पुस्तक समात्नेबित्तिकै उनीहरूलाई आलस्य र दिक्दारी लाग्न थाल्छ। यो अवस्थाले भोलिको समाज कस्तो होला र कस्ता जनशक्ति उत्पादन होलान् भन्ने गम्भीर प्रश्न उब्जाएको छ।
यही शैक्षिक संकट र विद्यार्थीको मनोविज्ञानलाई चित्रण गर्ने एउटा घतलाग्दो र प्रतीकात्मक प्रसंग विकसित देश जापानको सन्दर्भबाट बुझ्न सकिन्छ। जापानजस्तो आधुनिक र प्रविधिमैत्री देशमा समेत आजभोलि विद्यार्थीलाई पढाउन र उनीहरूको ध्यान केन्द्रित गर्न शिक्षकहरूलाई निकै हम्मे–हम्मे पर्ने गरेको बताइन्छ। त्यहाँको एउटा घटनाले वर्तमान शिक्षाको वास्तविक धरातललाई रोचक ढंगले उजागर गर्छ। तीन कक्षामा पढाउने एकजना गणित शिक्षक कक्षाकोठाको परम्परागत र निरस शिक्षण पद्धतिबाट आजित भएका थिए, जहाँ विद्यार्थी पढ्न कत्ति पनि रुचि देखाइरहेका थिएनन्। ती शिक्षकले एकदिन जुक्ति निकाले र आफ्ना विद्यार्थीलाई भने, ‘मलाई पनि आज पढाउन मन छैन र तिमीहरूलाई पनि पढ्न मन छैन, त्यसैले हिँड आज हामी बाहिर घुम्न जाऔं।’
शिक्षकको यो कुरा सुनेर विद्यार्थी निकै खुसी भए र उनीहरू कक्षाबाट बाहिर निस्किए। शिक्षकले उनीहरूलाई उकालो बाटो हिँडाउँदै घुमाउन लागे। उकालो बाटो हिँड्नु सहज थिएन। निकैबेर हिँडेपछि स्वाभाविक रूपमा विद्यार्थी शारीरिक रूपमा निकै थाके। साथै उनीहरूलाई कडा भोक र प्यास पनि लाग्यो। ठीक त्यही बेला शिक्षकले उनीहरूलाई नजिकैको एउटा सुन्तला पसलमा पुर्याए। विद्यार्थीहरू सुन्तला देखेपछि लालायित भए। तर शिक्षकले त्यहाँ उनीहरूलाई सिधै सुन्तला किनेर खान दिएनन्, बरु उनीहरूलाई सुन्तला किन्न लगाएर त्यहीँबाट थाहै नदिई व्यावहारिक रूपमै गणितको हिसाब सिकाउन थाले।
पसलमा १५ जना विद्यार्थी थिए। शिक्षकले प्रश्न गरे, ‘यदि प्रतिव्यक्ति दुई÷दुई दानाका दरले सुन्तला खाँदा जम्मा कति दाना सुन्तला लाग्छ ?’ विद्यार्थीले सोचेर उत्तर दिए। फेरि शिक्षकले सोधे, ‘ती सबै सुन्तलालाई जम्मा कति रुपैयाँ तिर्नुपर्छ ?’ सुन्तला खाने र आफ्नो भोक मेटाउने तीव्र चाहना भइरहेका बेलामा सरले त्यहाँ पनि यस्ता गणितका जटिल प्रश्नहरू सोधेर हिसाब सिकाउन थालेपछि विद्यार्थीहरू आत्तिए। उनीहरूले सोचेका थिए कि बाहिर घुम्न निस्कँदा पढाइबाट मुक्ति पाइन्छ, तर सरले त उनीहरूको आवश्यकता र परिवेशलाई नै उपयोग गरेर हिसाब पो सिकाउन थाल्नुभयो ! त्यसपछि विद्यार्थीहरू एकापसमा कानेखुसी गर्दै ‘धत्, यो सरले त यहाँ पनि हिसाब सिकाउन थाल्यो’ भन्दै त्यहाँबाट भागेछन् !
यो प्रतीकात्मक कथाले आजको विद्यार्थी मनोविज्ञान र शिक्षण पद्धतिको मुख्य चुनौतीलाई छर्लंग पार्छ। यसले के देखाउँछ भने, आजका विद्यार्थीहरू जुनसुकै बहानामा पनि मिहिनेत र बौद्धिक कसरतबाट उम्कन चाहन्छन्। उनीहरूलाई व्यावहारिक र जीवनोपयोगी ढंगले सिकाउन खोज्दा पनि उनीहरू त्यसलाई एउटा बोझकै रूपमा लिन्छन्। सिकाइलाई जीवन र परिवेशसँग जोड्ने शिक्षकहरूको रचनात्मक प्रयासलाई समेत विद्यार्थीले सहजै स्वीकार गर्न सकिरहेका छैनन्, किनभने उनीहरूको मस्तिष्कले तत्काल र बिना मिहिनेत परिणाम खोजिरहेको हुन्छ।
अत : वर्तमान समयको यो गम्भीर शैक्षिक समस्यालाई केवल विद्यालय वा शिक्षकको मात्र कमजोरी ठानेर पन्छिन मिल्दैन। यो एउटा गम्भीर सामाजिक र मानसिक संकट हो, जसको समाधानका लागि बहुआयामिक प्रयासको खाँचो छ। विद्यालयहरूले अब पुराना, शास्त्रीय र केवल रटाउने शिक्षण विधिलाई त्यागेर विद्यार्थीको ध्यान तान्न सक्ने रचनात्मक र प्रविधिमैत्री तर सही दिशा निर्देश गर्ने खालका शिक्षण पद्धतिहरू अपनाउनु पर्छ। अभिभावकहरूले पनि आफ्ना बालबालिकाहरू मोबाइल र सामाजिक सञ्जालमा कति समय बिताइरहेका छन् र उनीहरूको बानी कता जाँदैछ भन्ने कुरामा कडा निगरानी राख्न जरुरी छ।
बालबालिकाहरूमा बाल्यकालदेखि नै पुस्तक पढ्ने, प्रकृतिसँग रमाउने र समाजसँग घुलमिल हुने बानीको विकास गरिनुपर्छ। जबसम्म हामीले नयाँ पुस्तालाई प्रविधिको दास हुनबाट जोगाएर उनीहरूमा धैर्य, एकाग्रता र मौलिक चिन्तनको विकास गर्न सक्दैनौं, तबसम्म औपचारिक शिक्षाको प्रमाणपत्र त प्राप्त होला, तर वास्तविक ज्ञान र विवेकको सञ्चार हुन सक्ने छैन। यो शैक्षिक प्रदूषण र संकटलाई रोक्न आजैका मितिदेखि सरोकारवाला सबैले गम्भीर भएर सोच्न र कदम चाल्न ढिला भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !