समर्पणको एउटा शिखर
वर्तमानको निराशाबीच उभिँदा पञ्चायतकालका सुदूरपश्चिमेली नेताको स्मरण हुन्छ; जसले सरकारी सेवाको सुरक्षित बाटो छोडेर राजनीतिमा प्रवेश गरे, तर सत्ताा र सुविधाको स्वाद चाख्न होइन, जनसेवाको चेतनाबाट प्रेरित भएर।
२०८० को दशकमा आइपुग्दा नेपाली राजनीति उथलपुथलको गहिरो मोडमा पुगेको छ। आम नागरिकको जीवनलाई सहज, सुरक्षित र सम्मानजनक बनाउने दायित्व बोकेको राजनीति जब आफैं असुरक्षित, अस्थिर र अविश्वसनीय बन्दै गयो, तब जनताबाट उठेको असन्तोष ‘नो नट अगेन’ जस्ता नारामा रूपान्तरण हुन थाल्यो।
वर्तमान समयमा राजनीति आशाको होइन, आशंकाको विषय बनेको छ। नेतृत्व परिवर्तन भए पनि नियत परिवर्तन नभएको अनुभूति आम नागरिकमा गहिरिँदै गएको छ। यही असन्तोषको गर्भबाट २०८२ साल भदौ २३–२४ गते ‘जेन–जी आन्दोलन’ विस्फोट भयो। राणाशासन, प्रजातन्त्र, पञ्चायत, बहुदल र गणतन्त्र—यी सबै व्यवस्था नेपाली जनताले आफ्नै जीवनमा भोगे। तर, व्यवस्था फेरिँदै जाँदा पनि जनजीवन अपेक्षित रूपमा रूपान्तरित हुन सकेन। लोकतान्त्रिक मुलुकमा राजनीतिलाई आज ‘पेसा’ र ‘पेवा’का रूपमा हेरिन थालेकोमा आम नागरिकमा ठूलो आक्रोश छ।
यही परिवेशमा, वर्तमानको निराशाबीच उभिँदा पञ्चायतकालका एक सुदूरपश्चिमेली नेताको स्मरण भइरहन्छ; जसले सरकारी सेवाको सुरक्षित बाटो छोडेर राजनीतिमा प्रवेश गरे, तर सत्ता र सुविधाको स्वाद चाख्न होइन, जनसेवाको चेतनाबाट प्रेरित भएर। अझ गहिरो कुरा त के भने, ४३ वर्षको उमेरमै सक्रिय राजनीतिलाई स्वस्फूर्त रूपमा बिट मारेर समाजसेवामा समर्पित हुने साहस देखाउने ती व्यक्तित्व आजको राजनीतिमा दुर्लभ छन्। ती व्यक्तित्व हुन्, स्वर्गीय नृपबहादुर स्वाँर। उनको कथा आजको राजनीतिक भिडमा कतै ओझेलमा परेको भान हुन्छ। तर, वर्तमान पुस्ताले उनलाई बुझ्न सके भने, राजनीति के हो र के होइन भन्ने प्रश्नको उत्तर त्यहीँ भेटिन्छ।
बाल्यकाल, शिक्षा र सामाजिक चेतना : बुढीगंगा र वैद्यनाथको सामुन्नेमा अलि उचाइ कायम गरी बसेको सुन्दर रिडीकोट गाउँमा जन्मिएका स्व. नृपबहादुर स्वाँर आधुनिक अछामको इतिहासमा मात्र होइन, समग्र सुदूरपश्चिमको राजनीतिक, सामाजिक र साहित्यिक परिदृश्यमा विशिष्ट पहिचान बनाउन सफल व्यक्तित्व हुन्। सुदूरको विकट भूगोल अछामको सम्पन्न परिवारमा जन्मिएका उनले प्रारम्भिक शिक्षा गाउँकै पाठशालाबाट सुरु गरी दरबार हाइस्कुल हुँदै त्रिचन्द्र कलेजसम्म अध्ययन गरेका थिए। स्वाँर आईए पास गर्ने पहिलो अछामी हुन्। त्यतिबेलाको सामाजिक सन्दर्भमा हेर्दा, राष्ट्रिय राजनीतिमा स्थापित अछामी नामहरूमध्ये स्वाँर शिक्षित र बौद्धिक राजनीतिज्ञका रूपमा चिनिन्थे।
नृपबहादुर स्वाँरको जीवन र योगदानले आज पनि स्पष्ट सन्देश दिन्छ, राजनीति पेवा होइन, समाज र मानवताको सेवा साधन हो। यही आदर्शले उहाँलाई अछाम, सुदूरपश्चिम र समग्र राष्ट्रियस्तरमा स्मरणीय बनाएको छ।
विद्यालय जीवनमै शिक्षाप्रतिको गहिरो लगाव राख्ने स्वाँरले रिडीकोटमा बस्दा अछामी समाजको साधारण जनजीवन, सामाजिक संरचना र पीडालाई नजिकबाट देखे। पिता लेफ्टिनेन्ट (लप्टन) पद्मबहादुर स्वाँरको जागिरका कारण भोटदेखि मल्वारसम्म पुग्ने अवसर पाएका नृपबहादुरले नेपालको विविधतायुक्त भूगोल, संस्कार र जनजीवनलाई सानै उमेरमा बुझ्ने मौका पाए। यसले गर्दा राजनीतिमा स्थापित हुन र साहित्यमा प्रभाव छोड्न उनलाई सहज भयो।
सरकारी सेवामा जनसेवाको पहिलो अभ्यास : त्रिचन्द्र कलेजको अध्ययनसँगै स्वाँर २१ वर्षको उमेरमा सरकारी सेवामा प्रवेश गरे। २००४ सालमा डोटी गौंडामा डिठ्ठा पदमा नियुक्त हुनु उनका लागि केवल करियरको सुरुवातमात्र थिएन, यो जनताको नजिक पुगेर सेवा गर्ने अवसर थियो। न्याय र प्रशासन दुवैको भारी जिम्मेवारी बोकेको पदमा रहेर स्वाँरले निष्पक्षता, संवेदनशीलता र न्यायप्रियता प्रदर्शन गरे। जनताले न्याय पाएको अनुभूति गरुन् भन्ने उनको चाहना व्यवहारमै देखिन्थ्यो।
२००६ सालमा शिक्षा सहायक निरीक्षक बनेपछि उनको सेवा क्षेत्र अझ विस्तार भयो। विद्यालय व्यवस्थापन, शिक्षाको गुणस्तर, शिक्षक–विद्यार्थीबीचको सम्बन्ध र ग्रामीण शिक्षाको सुधारमा उनी सक्रिय देखिए। शिक्षा नै समाज परिवर्तनको मूल आधार हो भन्ने विश्वास उनको कार्यशैलीमा स्पष्ट झल्किन्थ्यो। झन्डै ६ वर्ष शिक्षा सहायक निरीक्षक भएर काम गर्दा उनले सुदूर भूगोलको शैक्षिक क्षेत्रमा रचनात्मक प्रभाव पारेका थिए।
तर, सरकारी सेवाको स्थायित्व र सुविधामा नअल्झिँदै त्यो क्षेत्रलाई नै अझै प्रभावकारी र जनमुखी बनाउने हेतुले राजनीतितर्फ उनका कदमहरू मोडिए। सायद उनको अन्तरात्माले अझ ठूलो जिम्मेवारीको माग गरिरहेको थियो; जसले समाजलाई बुझ्नमात्रै होइन, समाजलाई केही दिन पनि सकियोस् भन्ने विचार पोखियो र स्वाँर सक्रिय राजनीतिमा होमिए।
सरकारी सेवादेखि राजनीतिसम्म : २०१२ सालमा स्थायी सरकारी जागिर छोडेर राजनीतिमा प्रवेश गर्नु स्वर्गीय नृपबहादुर स्वाँरका लागि सामान्य निर्णय थिएन। आजभन्दा ७० वर्षअघिको समयमा सरकारी जागिर स्थायित्व र सामाजिक सम्मानको प्रतीक मानिन्थ्यो। हुँदाखाँदाको लोभलाग्दो जागिर छोड्नु भनेको असुरक्षाको बाटो रोज्नु र जोखिमको सामना गर्नु थियो।
पिता तिब्बतमा नेपाली वाणिज्यदूतको जिम्मेवारीमा रहँदा भोटसम्म पुगेका उनले विविधतायुक्त समाजलाई नियालेका थिए। आफू डोटीमै कार्यरत हुँदाको बखत मालपोतलगायतका प्रशासनिक झमेलाबाट भाग्ने गरेका अछामीहरूको अवस्थाले पनि उनलाई गहिरो प्रभाव पारेको थियो। भौगोलिक विकटता र राज्यको विभेदकारी दृष्टिका कारण आम अछामीले २०१४ सालअघि निकै नै दु : ख भोगेका थिए।
डोटीमा डिठ्ठा पद, शिक्षा सहायक निरीक्षकको कार्यकाल र गाउँगाउँको भ्रमणले स्वाँरलाई केवल शासकीय जिम्मेवारी नजिकबाट बुझ्ने अवसर मात्र दिएन, जनताको जीवन, समस्या र आशा–आकांक्षासँग प्रत्यक्ष सम्पर्क गरायो। यही अनुभव, सामाजिक चेतना र अध्ययनशीलताको सम्मिश्रणले स्वाँरलाई राजनीतिमा प्रवेश गर्ने साहस र दूरदर्शिता प्रदान गर्यो। उनको राजनीति केवल व्यक्तिगत लाभ वा पद–प्रतिष्ठाका लागि थिएन। यही दृष्टिकोणले उनलाई केवल एक राजनीतिक व्यक्तित्व नभई समाजसेवी, लेखक
र आदर्श नेता बनायो।
राजनीतिक यात्रा – मन्त्रीको प्रस्ताव पटकपटक अस्वीकार :
‘राजनीति पेवा होइन’ भन्ने धारणा राख्ने स्वाँरले कहिल्यै पदका लागि मरिहत्ते गरेनन्, बरु पटकपटक मन्त्रीकै प्रस्ताव (अफर) पनि अस्वीकार गरे। देशको पाँच पटक प्रधानमन्त्री बनेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले आफूले पटकपटक मन्त्रीको प्रस्ताव गर्दा पनि स्वाँरले अस्वीकार गरेको कुरा स्वाँरकै स्मृतिग्रन्थमा उल्लेख गरेका छन्। थापाले लेखेका छन्, ‘मित्र स्वाँर प्रलोभन, अवसर र पदलाई लत्याउँदै उदारवादी धारमा चट्टानजस्तै बनेर अडिरहनुभयो। स्व. नृपबहादुरजस्तो पदको अपेक्षा नगर्ने व्यक्तित्व मेरो स्मरणमा बिरलै छन्।’
२०१२ सालदेखि २०३० सालसम्म स्वर्गीय नृपबहादुर स्वाँर सक्रिय राजनीतिमा रहे। राष्ट्रिय पञ्चायतका सदस्यका रूपमा उनले केवल पद र सत्ता होइन, नीति, विचार र व्यवहारको सन्तुलन मिलाउने नेताको परिचय बनाएका थिए। पद, प्रतिष्ठा वा व्यक्तिगत लाभको मोहमा नपरी समाजको सेवा, न्याय र विकासलाई मात्र प्राथमिकता दिने स्वाँर, राजा महेन्द्रले सत्ता हातमा लिइसकेपछि पञ्चायतलाई जनमुखी बनाउने उद्देश्यले सुरु गरेको ‘गाउँ फर्क राष्ट्रिय अभियान’का मस्यौदाकार (ड्राफ्टकर्ता)समेत हुन्। यसबाटै पनि राजनीतिमा स्वाँरको प्रभावकारिता बुझ्न सकिन्छ।
उनी सुदूरपश्चिमका गाउँ–गाउँसम्म पुग्ने, स्थानीय जनताको समस्या बुझ्ने र त्यसका आधारमा नीति निर्माणमा आवाज उठाउने नेता थिए। विद्यालय र पुल निर्माण मात्रै नभएर साँफेबगरमा विमानस्थल निर्माणको परिकल्पना नै स्वाँरले गरेका थिए। राजनीतिमात्र होइन, स्वाँरको जीवनपथमा समाजसेवा सधैं अग्रपंक्तिमा थियो। २०३० सालपछि सक्रिय राजनीतिबाट अलग भए पनि उनी कैलालीका गाउँहरूमा शिक्षा, स्वास्थ्य, सडक र स्थानीय विकासमा संलग्न रहे। उनको सरल जीवनशैली, निष्कलंक चरित्र र जनसेवाप्रतिको दृढ प्रतिबद्धताले उनलाई राजनीतिज्ञमात्रै नभई अछाम र सुदूरपश्चिमकै एक सच्चा जनसेवी बनायो।
साहित्य समाजको आत्मा : नृपबहादुर स्वाँरको व्यक्तित्वलाई बुझ्न राजनीतिमात्र पर्याप्त हुँदैन। उनको जीवन, सोच र योगदानको मूल केन्द्रमा राजनीति होइन, साहित्यिक चेतना र समाजप्रतिको संवेदनशीलता रहेको देखिन्छ। राजनीति त उनको अभिव्यक्तिको एउटा माध्यम मात्र थियो; वास्तविक रूपमा उनी साहित्य, इतिहास र समाजका गहिरा पाठक र सर्जक थिए।
यो साहित्यिक चेतना अचानक पैदा भएको होइन। अजर–अमर स्रष्टा पहलमानसिंह स्वाँरबाट सुरु भएको साहित्यिक विरासत नृपबहादुर स्वाँरसम्म आइपुग्दा अझ व्यावहारिक, सामाजिक र ऐतिहासिक चेतनासँग जोडियो। पहलमानसिंह स्वाँरले साहित्यलाई आत्मबोधको उचाइमा पुर्याए भने, नृपबहादुर स्वाँरले त्यही आत्मबोधलाई समाज र राजनीतिसँग गाँसे।
स्वाँरले ‘सेतीको मन्दिर’ (कवितासंग्रह २०४२), ‘स्वाँरको चिनारी’ (२०४९), ‘गोठालो केटो’ (खण्डकाव्य २०५१), ‘कुसुमी’ (२०५५), ‘चिनु’ (२०५६), ‘कथा व्यथा’ (उपन्यास २०५९), ‘देशभित्र–देशबाहिर’ (यात्रा संस्मरण २०६०) लगायतका साहित्यिक कृतिहरूमार्फत सुदूरपश्चिमको भाषा र संस्कृतिसँगै समाजलाई प्रस्तुत गरेका छन्। ‘देशभित्र देशबाहिर’मा नेपाल–तिब्बत (ल्हासा, दिगर्चा) यात्राको वर्णनमात्र होइन, त्यसमार्फत नेपाल–तिब्बत सम्बन्ध, सांस्कृतिक आत्मीयता, राज्य संरचनाको कमजोरी र आम जनताको संघर्ष उजागर हुन्छ। राजा लक्ष्मीनरसिंह मल्ल, काजी भीम मल्ल, अरनिको र भृकुटीले निर्माण गरेको कूटनीतिक र सांस्कृतिक विरासतलाई स्मरण गराउँदै उनले नेपाली इतिहासलाई वर्तमानसँग जोड्ने प्रयास गरेका छन्।
नृपबहादुर स्वाँरको साहित्यिक योगदान उनको राजनीतिक पहिचानका कारण ओझेलमा परेको भान हुन्छ। ‘माननीय’को परिचयले ‘सर्जक’लाई छायामा पारेको यथार्थ अस्वीकार गर्न सकिँदैन।
आजको सन्दर्भमा नृपबहादुर : आजको नेपाली राजनीति, जहाँ प्राय : व्यक्तिगत स्वार्थ, अवसर र सुविधाको केन्द्र बनेको छ, त्यहाँ नृपबहादुर स्वाँरको जीवन दर्शन अझै उज्यालो छर्ने दीपझैं देखिन्छ। उहाँले आफ्नो जीवनमा जेन—जी आन्दोलन, पञ्चायतकालीन सामाजिक अभियान र लामो राजनीतिक यात्रामा देखाएको त्याग, सादगी, नैतिकता र जनसेवा आज पनि सबैका लागि पाठ हो।
राजनीतिमा निष्कलंक, साहित्यमा सर्जक र समाजमा सच्चा सेवक स्वाँरको जीवनले स्पष्ट सन्देश दिएको छ— राजनीति केवल पद र शक्ति हासिल गर्ने माध्यम होइन, समाज र जनताको सेवा गर्ने माध्यम हो। २०१२ सालमा स्थायी सरकारी जागिर छोडेर राजनीतिक क्षेत्रमा प्रवेश गर्नु उहाँको साहसिक कदममात्र थिएन, यो सामाजिक उत्तरदायित्व र नैतिक प्रतिबद्धताको प्रतीक पनि हो। आजको पुस्ताका लागि यो मार्गदर्शन अझै महत्वपूर्ण छ। जहाँ सत्ता र पदका लागि राजनीति साधन बन्छ, त्यहाँ नृपबहादुरको उदाहरणले हामीलाई सम्झाउँछ— सच्चा नेतृत्व भनेको जनताको जीवन सहज बनाउने, न्यायको सुनिश्चितता गर्ने र समाजको दीर्घकालीन हितमा काम गर्ने हो। उहाँको सरल जीवनशैली, निष्कलंक चरित्र र शतत् समाजसेवा केन्द्रित दृष्टिकोणले आधुनिक राजनीतिमा पनि आदर्श प्रस्तुत गर्दछ।
अझै भन्नुपर्दा, नृपबहादुर स्वाँरले व्यक्तिगत लाभभन्दा समाजको हितलाई प्राथमिकता दिनु, शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष योगदान गर्नु, गाउँगाउँमा संरचनात्मक विकासमा सहभागी हुनु— यी सबै कुराले उनलाई केवल राजनीतिज्ञ होइन, सच्चा जनसेवी र उदारवादी नेता बनाएको छ। राजनीति, साहित्य र समाजसेवाबीचको सन्तुलनमा उहाँको जीवन आजको नेपाली समाजमा उज्यालो उदाहरण बनेको छ।
नृपबहादुर स्वाँरको जीवन र योगदानले आज पनि स्पष्ट सन्देश दिन्छ— राजनीति पेवा होइन, समाज र मानवताको सेवा साधन हो। यही आदर्शले उहाँलाई अछाम, सुदूरपश्चिम र समग्र राष्ट्रियस्तरमा स्मरणीय बनाएको छ।
प्रतिक्रिया दिनुहोस !