गाउँको साम्प्रदायिक संरचना मिश्रित थियो। एक तिहाइ मुस्लिम, दुई तिहाइ हिन्दु। देखिन्नथ्यो दुईबीच कहिल्यै कुनै मिलनबिन्दु ! हिन्दुले सके मुसलमानलाई लखेट्ने ! मुसलमानको बल पुगे हिन्दुलाई दपेट्ने। यस्तैमा गाउँमा एक दिन मानवतावादी दार्शनिक आए अनि ‘बिग ब्यांकदेखि इभोलुसन अफ स्पेसिज’ (महा–विस्फोटदेखि जाति विकाससम्म) को कहानी सुनाएका थिए।
‘रातो छ रगत सबैको, को मुसलमान को हिन्दु ?
धर्म, जाति, वर्ण मिथ्या हो, मनुष्य सबै भाइबन्धु !’ उनले यो पनि थपे। दार्शनिकको सन्देशले ल्यायो ठूलो तरंग। हिन्दु–मुस्लिमले गला मिलाए, छायो सर्वत्र उमंग ! मुसलमान र हिन्दुबीच चुल्हो–पानी चल्ने भयो ! साम्प्रदायिक जन्जिर पग्लियो, विवाह पनि हुने भयो ! अनि एक दिन...
दुलही बनी सलमा, कृष्ण बन्यो दुलाहा। झ्याइँझ्याइँ बाजा बज्यो, छायो सबैतिर उत्साह। सबै नाचे, खुसी साँटे, हिन्दु–मुस्लिमको तुष मेटियो। सलमाको सिउँदोमा सिन्दूर हाल्न दुलाहा कृष्ण अघि बढ्यो। तर अफसोस ! चलायो कसैले मुटुमा छुरा ! झुक्यो मानवताको शिर। दुलाहा ढल्यो रक्ताम्य भई, छाती आरपार भो तीर ! ‘म मरें सलमा !’ कृष्ण चिच्यायो। ‘सपना रह्यो अधुरो !’ एकत्वको बल्दो मसाल, एकाएक भो मधुरो ! कृष्ण मारिएपछि सलमा विक्षिप्त हुन्छे।
‘मारिए मेरा कृष्ण, यो नाता छुट्दैन। जता हेर्छु कृष्ण नै कृष्ण ! अरू केही देखिँदैन। दुख्यो, दुख्यो, दुख्नु दुख्यो, लौ न यो मेरो छाती ! म ढलें, म मरें कृष्ण ! लैजाऊ सँगै माथि !’ ऊ भन्छे। सलमा यत्तिकैमा हृदयाघात भई चिरनिद्रामा परी। देवदूतहरूले कृष्ण र सलमालाई विशेष विमानमा राखेर वैकुण्ठ पुर्याए ! त्यहाँ उनीहरूको स्वागतमा ‘मनुष्य जाति’को विशाल जुलुस नाराबाजीसहित उपस्थित भयो। नारा यस्तो थियो।
‘वैश्य, शूद्र, ब्राह्मण, क्षेत्री,
मान्छे–मान्छे सबै सगोत्री !
हिन्दु, मुस्लिम, यहुदी, इसाई,
दिल खोली भन हामी भाइ–भाइ !’
प्रतिक्रिया दिनुहोस !