घटनास्थलमा भेटिएको ढुंगाको कान ल्याएर जोड्दा ठ्याक्कै मिल्यो। यसरी ‘टुटेश्वर’ (टुटेको ईश्वर) र मन्दिरको नाम टुटेश्वरनाथ रहन गएको जनविश्वास छ।
घर कसको छैन र ? ओछ्यान कसको छैन ? तर, मधेसको कैलाश अर्थात् टुटेश्वरनाथ पुग्ने तीर्थालुहरू भुइँमै सुत्छन्। धनी हुन् वा गरिब, सबैले खुला आकाशमुनि रात काट्छन्। चारैतिर घना जंगल छ, तर कसैलाई कुनै डर छैन। मन्दिरका पुजारी भन्छन्, ‘सबैको रक्षा देवोका देव कैलाशपति बाबा टुटेश्वरनाथले गर्छन्। यहाँबाट सबैले शान्ति र खुसीको झोली भरेर जान्छन्।’
श्रावणी मेलाको उल्लास, ‘बोलबम’ काँवरियाहरूको ताँती र गौरवपूर्ण इतिहासले भरिएको टुटेश्वरनाथको दर्शन पाउन यतिखेर जनसागर ओर्लिइरहेको छ। चुरे पर्वत फोडेर सुसाउँदै बग्ने माण्डवी गंगाको तटमा छ, चुरिया शिखर टुटेश्वरधाम। जहाँ विराजमान छन्, टुटेश्वरनाथ महादेव। अनि मध्यरात। कैलाशपतिको दरबारमा बजिरहेको घण्ट र ‘हर हर महादेव’को कर्णप्रिय ध्वनिका बीच मध्यरातमा पनि मधेसको यो कैलाश जागा रहन्छ। लाग्छ, स्वर्गको अर्को नाम नै टुटेश्वरधाम हो। जुन मधेस प्रदेशअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ मा अवस्थित छ।
स्वयम्भू ज्योतिर्लिंग : लाखौं भक्तजनको मनमा गुञ्जिरहेका टुटेश्वरनाथको धर्ती टेक्नासाथ असीम शान्तिको आभास हुन्छ। चुरिया जंगलमा अवस्थित यो प्राकृतिक र प्राचीन मन्दिरका बारेमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं संस्कृतिअध्येता धर्मेन्द्र झा भन्छन्, ‘टुटेश्वरनाथ महादेवको ज्योतिर्लिंग स्वयम्भू उत्पन्न भएको पाइन्छ। यहाँ कसैले शिवलिंग स्थापना गरेको प्रमाण आजसम्म भेटिएको छैन। यसै कोणबाट यसको पुरातात्त्विक अध्ययन गरिनु आवश्यक छ।’ देशको नजरमा ओझेल परे पनि ‘नेपालको बाबाधाम’ भनेर प्रसिद्ध यो धाम यतिखेर चर्चाको शिखरमा छ।
अर्जुन, पाशुपतास्त्र र महाभारतको साइनो : बृहत् ज्ञानकोशको २५औं संस्करणअनुसार, चार हजार वर्षअघि नै टुटेश्वरनाथ मन्दिर अस्तित्वमा थियो। महाभारत युद्धमा विजयी हुन अर्जुनले यसै पावन भूमिमा शिवको घोर तपस्या गरेका थिए। प्रसन्न भएर महादेवले उनलाई पाशुपतास्त्र (त्रिशूल) र युद्ध जित्ने ज्ञान प्रदान गरेको वर्णन पाइन्छ। नेपाल होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्की पनि यसको साइनो द्वापरयुगसँग जोड्छन्।
बाह्रवर्षे वनवासका क्रममा पाँच पाण्डवले यहीँ शिवजीको जपतप गरेको किंवदन्ती छ। संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन्, ‘टुटेश्वर शिवको पवित्र बासस्थान हो। यो चुरिया पहाडमा छ, भक्तजनले यसलाई ‘मधेसको कैलाश’ पुकार्छन्।’
बोलबमको नारा, आस्थाको केन्द्र : मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष हितबहादुर पौडेलका अनुसार, यसलाई टुटेश्वर, त्रिकुटेश्वर, टुकेश्वर र किराँतेश्वर आदि नामले पनि चिनिन्छ। राई जातिले यसलाई किराँतेश्वर महादेवका रूपमा पुज्छन्। मन्दिर वरपर बसाहा बाबा, लक्ष्मी, पार्वती, रामजानकी, हनुमान मन्दिरलगायत दर्जनौं देवस्थल छन्।
साउन महिनामा कोही १६ किलोमिटर घिस्रिँदै त कोही ४५ किलोमिटर दौडँदै यहाँ आइपुग्छन्। काँधमा निर्मल जल बोकेर भक्तजन जयकार लाउँछन्, ‘बोलबम कि नारा है ! बाबा एक सहारा है !!’ पुजारी श्रीचन दासको विश्वास छ, ‘खुला दिलले जसले जे माग्छ, बाबाले त्यो पूरा गरिदिनुहुन्छ।’ साउन, तीज, एकादशी र शिवरात्रिमा विशेष मेला लाग्ने यो मन्दिरले मधेसी र पहाडी समुदायलाई एकताको सूत्रमा बाँध्ने काम गरेको पूर्वकर्मचारी समाज बर्दिबासका अध्यक्ष रामकुमार कार्की बताउँछन्।
गोठालाले भेटाएको शिवलिंग र राज्यको दायित्व :
यस प्राकृतिक शिव मन्दिरको उत्पत्ति कथा अनौठो छ। माईस्थानका तत्कालीन गाविस अध्यक्ष स्व. धनबहादुर स्याङ्वाका अनुसार, १९९० सालभन्दा अगाडि नै चुरे जंगलमा गोठालाहरूले शिवलिंग र नन्दी (बसाहा) भेटाएका थिए। राणाकालमा राई, मगर र तामाङ जातिहरू पहाडबाट झरेर यस क्षेत्रमा बस्ती बसालेसँगै मन्दिरको विकास हुँदै गयो।
टुटेश्वरनाथको वैभव विशाल छ, भक्तजनको आस्था विराट् छ। हालै संघीय मन्त्रीहरूले मन्दिरको दर्शन गर्दा महोत्तरी क्षेत्र नम्बर १ का सांसद प्रमोदकुमार महतोले यसको पुराताŒिवक अध्ययन र विकासका लागि सरकारको ध्यानाकर्षण गराए। मधेससँगै देशकै शान्ति, सद्भाव र धार्मिक पर्यटनको केन्द्र बन्न सक्ने कैलाशलाई राज्यले गर्नुपर्ने बेला आएको छ।
यथार्थ र किंवदन्तीको संगम टुटेश्वरनाथ : टुटेश्वर महादेव मन्दिरको नामकरण र अस्तित्वसँग अनेकौं रोचक किंवदन्ती र यथार्थ जोडिएका छन्। ‘बर्दिबास बिम्ब’ पुस्तकमा उल्लिखित जनश्रुतिअनुसार, एक पटक एउटा बसाहा (साँढे)ले स्थानीय किसानको बाली खाइदिएछ। रिसले चुर भएका किसानले खुकुरी प्रहार गर्दा बसाहाको दाहिने कान काटियो। बसाहा भाग्दै जंगलमा पस्यो। रगत र पाइला पछ्याउँदै जाँदा किसानले जंगलको बीचमा शीतले भिजेको, तोरीको फूल टाँसिएको र कान काटिएको अवस्थामा एउटा ढुंगाको साँढे देखे। गल्तीको महसुस गर्दै उनले क्षमा मागे। उता घटनास्थलमा भेटिएको ढुंगाको कान ल्याएर जोड्दा ठ्याक्कै मिल्यो। यसरी यस ठाउँको नाम ‘टुटेश्वर’ (टुटेको ईश्वर) र मन्दिरको नाम टुटेश्वरनाथ रहन गएको जनविश्वास छ।
टुटेश्वरनाथ धार्मिक वन व्यवस्थापन कार्ययोजना–२०८१ मा अंग्रेज सेनासँग जोडिएको अर्को रोचक प्रसंग छ। सिन्धुलीगढीको युद्ध हारेर फर्किएका अंग्रेज सेनाहरू यसै मन्दिर क्षेत्रमा बास बसेछन्। उनीहरूले यहाँको अनौठो ढुंगाको बसाहा काठको गाडामा हालेर भाग्न खोज्दा जंगलमै गाडाको धुरा भाँचियो। रात त्यहीँ बिताएका सैनिकहरूले बिहान उठेर हेर्दा त्यो ढुंगा पहिलेकै स्थानमा पुगिसकेको थियो। सन् १७६८ मा नेपाल आक्रमण गर्न आएका इस्ट इन्डिया कम्पनीका कमान्डर कर्नेल जर्ज किनलकको डायरीले पनि यस क्षेत्रको ऐतिहासिकता पुष्टि गर्छ।
जर्मनीको संग्रहालयमा सुरक्षित उक्त डायरीमा ‘रातु नदीको भेलले धेरै हतियार र रसद बगाएको’ उल्लेख गरिएको प्रसंगलाई लेखक जगदीश घिमिरेले आफ्ना लेखमा उद्धृत गरेका छन्। अर्कोतर्फ, मधेसका मानिसहरूले पनि टायरगाडामा उक्त बसाहा चोरेर लैजान खोज्दा गौशालाको खाल्टे बजारमा पुगेपछि गाडाको धुरा भाँचिएको र बिहान ढुंगा पुन : टुटेश्वरधाममै फर्किएको किंवदन्ती छ। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादव भन्छन्, ‘यो पर्वतमा सर्प र द्रव्यको कमी छैन। शंकरजीको बास छ, त्यहाँ सर्प नबसेर कहाँ बस्छ र ?’
पुरातात्त्विक अध्ययनको पर्खाइमा ‘ब्ल्याक स्टोन’ : टुटेश्वरधामभन्दा पूर्वमा पर्ने रातु नदीको सभ्यताबारे चार दशकअघि जर्मन पुरातत्त्वविद् गुड्रुन कोर्भिनसले अनुसन्धान गरेकी थिइन्। हालै पुरातत्त्व विभागको संयोजनमा नयाँ अध्ययनहरू भएका छन्। रातु नदी र पाटु क्षेत्रको अध्ययन गर्दै भारतीय पुरातत्त्वविद् डा. मञ्जित हजारिकाले यो क्षेत्र दक्षिण एसियाकै महत्त्वपूर्ण पुराताŒिवक स्थल हुन सक्ने औंल्याएका छन्। यहाँ कलात्मक बुट्टा कुँदिएका अनौठा ‘ब्ल्याक स्टोन’ (काला ढुंगा)हरू छन्, जुन विस्तारै चोरी हुँदै गएका छन्। विस्तृत अनुसन्धान हुन सके यस मन्दिर र प्राचीन सभ्यताबीचको गहिरो साइनो उजागर हुने डा. हजारिकाको निष्कर्ष छ।
मिथिलापुरी र जनकका इष्टदेव : ‘श्री मिथिला माहात्म्यम्’मा पूर्वमा कोसीदेखि पश्चिममा गण्डकी र दक्षिणमा गंगादेखि उत्तरमा हिमालयसम्मको भूभागलाई मिथिला क्षेत्र भनिएको छ। पराशर र मैत्रेय ऋषिबीचको संवादमा मिथिलालाई पवित्र तीर्थस्थल मानिएको छ, जहाँ देवीदेवता र ऋषिमुनिहरूको बास हुन्थ्यो। संस्कृतिविद् डा. राजेन्द्र विमलका अनुसार, त्रेतायुगमा मिथिलाका राजा जनकका इष्टदेव नै भगवान् शिव थिए।
नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य सारा नेपाल नै शिवको क्षेत्र भएको बताउँछन्। ‘टुटेश्वरनाथ नेपालकै उपज र वरदान हो। शिव पुराणमा कुनाकुनामा नेपालको वर्णन छ’, उनी भन्छन्, ‘त्यसैले विश्वमा नेपाललाई मात्र ‘पुरी’ भनिन्छ, र अयोध्या, मथुरा, काशीलगायत सातवटै पुरीभन्दा सर्वश्रेष्ठ पुरी नेपाल नै हो।’ १९९० सालको महाभूकम्पले ढुंगाको गुफा भत्काएपछि मात्र यस मन्दिरको थप चर्चा सुरु भएको थियो। मधेसको कैलाशका प्रवद्र्धक बाबुदेव महतोका अनुसार माण्डवी, बरुणमती र स्वर्णमती नदीको संगममा रहेको यो धामको ऐतिहासिक महत्व फराकिलो छ।
जटाबाबा र चट्टीबाबाको अलख : टुटेश्वरधाममा भारतको बिहारस्थित सीतामढीबाट आएका ‘जटाबाबा’ र ‘चट्टीबाबा’हरूले ‘हर हर महादेव’को अलख जगाइरहेका छन्। १५ वर्षदेखि यहाँ धुनी जगाइरहेका जटाबाबा भन्छन्, ‘यो अलौकिक स्थान हो। यहाँ आउनासाथ हामी साधुहरू शिवको सान्निध्य महसुस गर्छौं। मानिलिऊँ, यो सानो कैलाश नै हो।’ त्यसैगरी, ३५ वर्षदेखि निरन्तर यहाँ आउने रामबालक दास (चट्टीबाबा) को विश्वास छ, ‘यहाँ आएर कोही खाली हात फर्किंदैन। भगवान् शिव कैलाशमा बास गर्छन्, यहाँको धर्ती टेक्दा मात्रै पनि मनमा असीम शान्ति मिल्छ।’
रामायण सर्किट र विकासको भोक : टुटेश्वरनाथको इतिहास रामायण सर्किटसँग पनि जोडिन्छ। त्रेतायुगमा राम र सीताको विवाहका बेला माता गौरी र भगवान् शंकरले यहीँ बसेर दर्शन गरेको विश्वास गरिन्छ। नजिकै दाहालनी खोल्सीमा रहेको प्राचीन हनुमान मन्दिरले पनि यसको आभास दिन्छ। नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशका अध्यक्ष हीरा गौतम यस धामलाई रामायण सर्किटसँग जोडेर विकास गर्नुपर्ने बताउँछन्।
साउन महिनामा कमला, बागमती र माण्डवीको त्रिवेणीबाट जल उठाएर कोही १६ किलोमिटर घिस्रिँदै त कोही ४४ किलोमिटर दौडिँदै ‘डण्डी बम’का रूपमा यहाँ आइपुग्छन्। तर, मन्दिर पुग्ने लामो जंगलको बाटोमा न एउटा गतिलो प्रतीक्षालय छ, न त शौचालय नै। बरु राज्यले योजनाबद्ध कदम चाल्न ढिला भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !