पहिरोले अवरुद्ध सडक जनश्रमदानबाट सञ्चालनमा
सुनसरी : लगातारको वर्षापछि पहिरो खसेर अवरुद्ध बनेको खोटाङको साकेला गाउँपालिका–३ स्थित ढाडे–मानेभञ्ज्याङ सडक स्थानीयवासीले श्रमदानमा जुटेर पछि पुनः सञ्चालनमा ल्याएका छन् । सडकमा पहिरोसहित माटो र हिलो थुप्रिएपछि केही समयदेखि आवागमन प्रभावित बनेको थियो। वर्षाका कारण थप पहिरो जाने र सडकमा पानी जम्ने जोखिम समेत बढेपछि गाउँपालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीहरु तत्काल सडक खुलाउन श्रमदानमा जुटेका थिए ।
शुक्रबार ‘साकेला श्रम अभियान’ अन्तर्गत सडकमा सामुहिक श्रमदान गरिएको थियो । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको श्रमदानमा वडा नं. ३ का अध्यक्ष गोविन्द तामाङसहित जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी र स्थानीयवासी सहभागी भएका थिए । श्रमदानका क्रममा सडकमा थुप्रिएको पहिरो, माटो र हिलो हटाउनुका साथै सडक किनारमा पुरिएका तथा अवरुद्ध भएका नाली सफा गरिएको थियो । नाली खुलेपछि वर्षाको पानीको निकास सहज हुने र सडकमा पानी जमेर थप क्षति हुने सम्भावना कम हुने अपेक्षा गरिएको छ ।
गाउँपालिका अध्यक्ष राईले विपद्का बेला सरकारी संयन्त्रले मात्रै सबै काम गर्नुपर्छ भन्ने सोचभन्दा समुदायसँगको सहकार्य प्रभावकारी हुने भएकाले जनश्रमदान गरी सडक सञ्चालनमा ल्याएको बताए । उनले ‘साकेला श्रम अभियान’ तत्काल सडक खुलाउने काममा मात्र सीमित नभई सार्वजनिक संरचनाको संरक्षणमा नागरिकको सहभागिता बढाउने उद्देश्यले अघि बढाइएको बताए ।
विपद्का बेला सरकार र नागरिक एकसाथ अघि बढ्नु पर्छ । विकास सरकारको मात्र होइन, सरकार र नागरिकको साझा अभियान हो । अध्यक्ष राईले भने, ‘सडक निर्माण गरेपछि त्यसको नाली सफा राख्ने, पानीको उचित निकास गर्ने र साना समस्या देखिना साथ समाधान गर्ने संस्कार विकास गर्नुपर्छ ।’
स्थानीयवासीले जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण एकै ठाउँमा उभिएर सडक सफा गर्ने कामले सार्वजनिक संरचनाप्रति अपनत्वको भावना बढाएको बताएका छन् ।
उनीहरूले यस्ता अभियानलाई सडक मर्मतमा मात्र सीमित नराखी गाउँका अन्य सार्वजनिक संरचनाको संरक्षण र सरसफाइमा समेत विस्तार गर्नुपर्ने बताए । श्रमदानमा सहभागी स्थानीयवासी सुन्दर लामाले सार्वजनिक पूर्वाधार संरक्षणमा समुदायको सहभागिता आवश्यक रहेको बताए । विपद्का समयमा सरकारी निकाय र स्थानीय समुदायबीच सहकार्य हुँदा समस्या छिटो समाधान गर्न सकिने उनको भनाइ छ ।
जनश्रमदानपछि ढाडे–मानेभञ्ज्याङ सडकमा थुप्रिएको पहिरो र हिलो हटाइएको तथा नाली समेत सफा गरिएकाले हाल सडकमा आवागमन सहज भएको गाउँपालिका सूचना अधिकारी डिएम चाम्लिङ राईले बताए । गाउँपालिकाले श्रम, सहभागिता र सहकार्यबाट समृद्धिको अवधारणालाई अघि बढाउँदै विकास निर्माणमा सरकारी लगानीसँगै स्थानीय नागरिकको श्रम र सहभागितालाई जोड्ने नीति लिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !