अरूको सुरक्षा गर्ने सशस्त्र प्रहरी आफैं असुरक्षित

अरूको सुरक्षा गर्ने सशस्त्र प्रहरी आफैं असुरक्षित
सुन्नुहोस्

मुगु : प्राकृतिक विपद होस् वा शान्ति–सुरक्षाको जिम्मेवारी, अग्रपंक्तिमा देखिने सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी सदरमुकाम गमगढीमा भने आफैं असुरक्षित वातावरणमा बस्न बाध्य छन् ।  नागरिकको ज्यान र सम्पत्तिको सुरक्षाका लागि चौबीसै घण्टा खटिने सुरक्षाकर्मीहरू अहिले पहिरो, ढुंगा र जीर्ण भौतिक संरचनाको जोखिमबीच सेवा दिइरहेका छन् । 

nullसशस्त्र प्रहरी बल नेपाल नं. ४५ गुल्मको कार्यालय हाल साविक श्रीनगर गाविसको ढुंगा र काठबाट बनेको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । भवन जीर्ण मात्र होइन, माथिबाट ढुंगा खस्ने र तलतिर पहिरो जाने उच्च जोखिममा रहेकाले त्यहाँ कार्यरत सुरक्षाकर्मी हरेक दिन त्रासका बीच ड्युटी गर्न बाध्य छन् ।  गुल्मको कार्यालय वरिपरिको अवस्था हेर्दा जोकोहीलाई प्रश्न उठ्छ—अरूको सुरक्षा गर्ने सुरक्षाकर्मी स्वयं किन यति जोखिमपूर्ण स्थानमा बस्न बाध्य होला ? यसको मुख्य कारण सुरक्षित स्थानको अभाव हो ।

नयाँ कार्यालयको योजना अलपत्र

गुल्मलाई स्थानान्तरण गर्न सदरमुकाम माथिको सामुदायिक वन क्षेत्रमा जग्गा पहिचान गरिए पनि  अघिल्लो बर्ष देशभरका ७–८ जिल्लालाई वन मनत्रालयले जग्गा भोगचलन तथा उपयोग गर्न स्वीकृति दिएको थियो जसमध्ये कर्णाली प्रदेशको सुर्खेत–दैलेखले स्वीकृत पाई सकेको भए पनि मुगुले स्वीकृति नपाउँदा भवन निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

null वन मन्त्रालयबाट आवश्यक प्रक्रिया टुंगो नलाग्दा  पहिचान गरिएको हाल उक्त स्थानमा एक जना सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा मनसुन प्रतिकार्य सुरक्षा क्याम्प मात्र सञ्चालनमा छ ।  उक्त जग्गा स्वीकृतिका लागि यो बर्ष पनि सम्बन्धित निकायसँग अनुरोध गरिएको भए पनि स्वीकृत हुने / नहुने कुनै टुङ्गो लागेको छैन ।

माथिबाट ढुंगा, तल पहिरो
वर्षायाम सुरु भएसँगै कार्यालयमाथिको भिरबाट खस्ने ढुंगाले सुरक्षाकर्मीलाई सधैं त्रसित बनाउने गरेको छ । कतिपय ढुंगा कार्यालय परिसरभित्रै पस्दा ड्युटीमा रहेका प्रहरीको भागाभाग हुने गरेको ड्युटीमा रहेका एक सशास्त्र प्रहरीले बताए । कार्यालयको तलतिर पहिरोले  सुरक्षाकर्मीहरु सुत्ने टहरा र शौचालय र भान्सा भत्काउन थालेको छ ।

पहिरोका कारण वरिपरिका सल्लाका रुखहरू समेत ढल्ने जोखिम बढेको छ । ती रुख कुन बेला टहरामाथि खसेर ठूलो मानवीय क्षति हुन सक्ने चिन्ता सुरक्षाकर्मीहरूले व्यक्त गरेका छन् ।हाल गुल्मको कार्यालय साविक खानेपानी कार्यालयका दुई भवनबाट सञ्चालन भइरहेको छ ।  साविकको श्रीनगर गाविसको भवनमा आवास जुनियर अधिकृत, मेडिकल सामग्री, सुरक्षा सामग्री तथा विपद् उद्धारका सामग्री राखिएका छन् । तर भवनका अधिकांश भित्ताहरू चर्किएका र भत्किएका छन् ।

भान्सा र अन्य सुरक्षाकर्मीका बस्ने टिनका टहराहरू भिरालो जमिनमा राखिएका छन् । ती टहरा वर्षामा चुहिने र गर्मीयाममा अत्यधिक तापका कारण बस्नै कठिन हुने अवस्था छ । सशस्त्र प्रहरी बल नेपाल नं. ४५ गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक पृथ्वीबहादुर बोगटी भन्छन्, ‘जस्तोसुकै जोखिम भए पनि जनताको सुरक्षा गर्नु हाम्रो दायित्व हो । हामी आफैं जोखिम मोलेर सेवा दिइरहेका छौं ।’

दुर्घटनाले देखाइसकेको जोखिम
एक वर्षअघि मुगुम कार्मारोङ गाउँपालिकाको एम्बुलेन्स दुर्घटनाग्रस्त भई कार्यालय परिसरमा खसेको थियो । त्यस घटनामा मानवीय क्षति नभए पनि भवनमा क्षति पुगेको थियो । यस्तै, कार्यालयमाथि रहेको महाकाली नमूना माध्यमिक विद्यालयको पर्खाल भत्किँदा खसेका ढुंगा कार्यालय परिसरमा पसेका थिए । त्यतिबेला पनि सुरक्षाकर्मी भागेर ज्यान जोगाउन बाध्य भएका थिए । यस्ता घटना बेला–बेलामा दोहोरिने गरेको उनीहरू बताउँछन् । नायव उपरीक्षक बोगटीका अनुसार यो स्थानमा प्राकृतिक विपद् मात्र होइन, भौगोलिक बनोटका कारण सुरक्षा व्यवस्थापनमा समेत चुनौती रहेको छ ।

nullउद्धार सामग्रीको समेत अभाव
असुरक्षित भवनमा बसेर सेवा दिइरहेका सशस्त्र प्रहरीसँग विपद् उद्धारका लागि आवश्यक उपकरण समेत पर्याप्त छैनन् । नायव उपरीक्षक बोगटीका अनुसार भिरालो क्षेत्रमा उद्धारका लागि कम्तीमा चार रोल डोरी आवश्यक पर्छ । तर हाल गुल्मसँग एउटा मात्र पुरानो डोरी उपलब्ध छ ।

‘भिरमा उद्धार गर्दा उक्लिन र झर्न छुट्टाछुट्टै चार रोल डोरी आवश्यक हुन्छ । तर अहिले एउटा पुरानो डोरीकै भरमा काम चलाइरहेका छौं’, उनले भने। त्यस्तै, एउटा मात्र चेन्स–आरा रहेको छ, जुन पुरानो भइसकेको छ । थप एउटा नयाँ चेन्स–आरा भए उद्धार कार्य धेरै सहज हुने उनको भनाइ छ । चिपिङ ह्याम्पर लगायतका अन्य अत्यावश्यक उपकरण पनि बजेट अभावका कारण खरिद गर्न नसकिएको उनले बताए ।

जिल्ला विपद् व्यवस्थापन संयन्त्र पनि कमजोर
मुगु जिल्ला आपतकालीन विपद् व्यवस्थापन संयन्त्रसँग समेत पर्याप्त उद्धार सामग्री छैन ।  प्रमुख जिल्ला अधिकारी पोषनराज भण्डारीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिसँग बेल्चा, हेल्मेट, गैंती, साबेल जस्ता सीमित सामग्री मात्र उपलब्ध छन् । उनले रुख काट्ने आरा बिग्रिएकाले मर्मतका लागि पठाइएको र अन्य आवश्यक उपकरण अभावमै रहेको जानकारी दिए । विपद् जोखिम बढ्दै गएको अवस्थामा सुरक्षाकर्मीको सुरक्षित आवास, स्थायी कार्यालय भवन तथा आधुनिक उद्धार सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायले समयमै ध्यान नदिए भविष्यमा उद्धार कार्य नै प्रभावित हुने चिन्ता स्थानीय सरोकारवालाले व्यक्त गरेका छन् । 

null मुगु जस्तो भौगोलिक रूपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिम रहेको जिल्लामा अरूको ज्यान जोगाउन खटिने सुरक्षाकर्मी स्वयं असुरक्षित अवस्थामा बस्नुपर्ने विडम्बना राज्यको सुरक्षा तथा विपद् व्यवस्थापन प्रणालीकै कमजोरीको संकेत हो ।  सुरक्षाकर्मीको सुरक्षित कार्यस्थल र पर्याप्त उद्धार सामग्रीको व्यवस्था गर्नु सरोकारवाल निकायको मुख्य कर्तब्य रहेको नागरिक समाजका अगुवा रुपबहादुर मल्ल बताउँछन् । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.