साउनको जलदेखि लोकको मनसम्म

शिव र साउन

साउनको जलदेखि लोकको मनसम्म

शिव प्रकृतिका देवता हुन्। साउनमा प्रकृतिले आफूलाई नयाँ शिराबाट कोर्ने काम गर्छ। शिव प्रकृतिका विराट् रूपक पनि हुन्। पर्वत उनको आवास हो। वन, उपवन उनको क्रीडाभूमि हो।

साउन कसरी भगवान् शिवजीको प्रिय महिना भयो ? योभन्दा पूर्व शिवबारे चर्चा गरौं। शिवबारे रोचक कथा छ। एकपटक सृष्टि रचयिता ब्रह्मा र संसारका पालनकर्ता श्रीहरि विष्णु प्रश्नको उत्तर खोजिरहेका थिए, ‘आखिर शिव के हुन् ?’ ब्रह्माले विष्णुसँग भने, ‘म उनको शिर खोज्छु, तपाईं उनको पाउ खोज्नुस्।’ हजारौं वर्षसम्म विष्णु शिवजीको खोजमा अत्यन्त गहिराइसम्म पुगे। ब्रह्मा शिवको शिर खोज्दै धेरै माथिसम्म पुगे, तर दुवै पत्ता लगाउन असफल भए।

शिव अर्थात् चेतना  :  यो कथाको प्रतीकात्मक अर्थ छ, शिवको कुनै आदि र अन्त छैन। उनी समस्त जगत्को सीमा हुन्। शिव त्यो चेतना हो, जसबाट सबथोक आरम्भ हुन्छ, जहाँ सबैको पोषण हुन्छ र जसमा सबै विलीन हुन्छ। पूरा सृष्टि नै उनमा विद्यमान भएकाले केही पनि शिवबाट बाहिर हुन सक्दैन। हाम्रो मन, शरीर सबै शिवत्वले बनेको छ। सारा सृष्टि नै उनको रूप हुनाले शिवलाई ‘विश्वरूप’ भनिन्छ। समस्त जगत्को सीमा हुन्, शिव।

यही कारण शिवलिंग अस्तित्वमा आयो। शिवलिंग कुनै अंगको प्रतीक नभएर अनन्त शिवको प्रतीकात्मक अभिव्यक्ति हो। सृष्टिका विपरीत मूल्यहरूको संगम हुन्, शिव। उनीभित्र सकारात्मकता र नकारात्मकता दुवै समाहित छ। ब्रह्माण्डमा आगो छ भने पानी पनि छ। उनी यी दुवै विपरीत मूल्यमा विद्यमान छन्। यसैले शिव रुद्र पनि हुन् र भोलानाथ पनि हुन्। जहाँ उनलाई सुन्दरेश भनिन्छ, अघोर पनि भनिन्छ। श्लोक छ– ‘कर्पूरगौरं करुणावतारं...।’ एकातिर उनलाई ‘कर्पूरगौरं’ भनेर शान्त र पवित्र मानिन्छ भने अर्कातिर उग्र (रुद्र) रूप पनि मानिन्छ।

शिवको कुनै आदि र अन्त छैन। उनी समस्त जगत्को सीमा हुन्। शिव त्यो चेतना हो, जसबाट सबथोक आरम्भ हुन्छ, जहाँ सबैको पोषण र सबै विलीन हुन्छ। 

अर्को श्लोकमा भनिएको छ– शिव त्यस्ता परमात्मा हुन् जो सर्वशक्तिमान् छन्। सर्वत्र विद्यमान छन्। त्यस्तो कुनै स्थान छैन जहाँ शिव नहुन्। उनी आकाश हुन्। उनी त्यस्ता चेतना हुन् जसमा सारा ज्ञान विद्यमान छ। उनी अजन्मा हुन्, निर्गुण हुन्। उनी समाधिको त्यो अवस्था हुन् जहाँ भित्री
चेतनाको खाली आकाशबाहेक केही पनि छैन। शिव चेतनाको जाग्रत, निद्रा र स्वप्नावस्थादेखि पर छन्। उनलाई चेतनाको चौथो अवस्था ‘ध्यान’मा नै प्राप्त गर्न सकिन्छ।

श्रावण र शिव  :  भगवान् शिवको प्रिय महिनाको रूपमा साउनलाई मानिनुको पछाडि अनेकौं कारण छन्। प्राचीनकालमा देवता र असुर दुवै मिलेर ‘समुद्र मन्थन’को अभियान श्रावण महिनामा नै सुरु गरेका थिए। समुद्र मन्थनको क्रममा भेटिएका रत्नहरूको बाँडफाँट गरियो। त्यही क्रममा एक विनाशक हलाहल विष पनि उत्पन्न भयो, जसमाथि कसैले दाबी गरेनन्। सृष्टिलाई यो घातक विषको प्रभावबाट जोगाउने जिम्मा भगवान् शिवको काँधमा आयो। उनले सहर्ष स्वीकारे। त्यो नीलो विष उनको कण्ठमा एकत्रित भयो। यसैकारण उनलाई ‘नीलकण्ठ’ भनियो। उनको शरीरको विषको ताप कम गर्न देवताहरूले दूर–दूरदेखि जल ल्याएर उनको अभिषेक गरे। त्यहीँबाट नै शिवभक्तद्वारा टाढा–टाढाबाट जल ल्याएर विभिन्न ज्योतिर्लिंग र शिव मन्दिरमा जल चढाउने परम्परा चलेको भन्ने लोकविश्वास छ। यो महिना नीलकण्ठ महादेवको अभिषेक गर्नाले विशेष कृपा प्राप्त हुन्छ।

अर्को कुरा, शिव प्रकृतिका देवता हुन्। साउनमा प्रकृतिले आफूलाई नयाँ शिराबाट कोर्ने काम गर्छ। शिव प्रकृतिका विराट् रूपक पनि हुन्। पर्वत उनको आवास हो। वन, उपवन उनको क्रीडाभूमि हो। सर्प, साँढे, मुसा उनको परिवारका सदस्य हुन्। उनको पुत्र गणेशको शिर हात्तीको छ। नदी उनको जटाबाट निस्किन्छ। उनको योगबलबाट वायु नियन्त्रण हुन्छ। उनको तेस्रो आँखामा अग्निको तेज छ भने शिरमा चन्द्रमाको शीतलता छ।

शिवको त्रिशूल प्रकृतिका तीन गुण— सŒव, रज र तमको प्रतीक हो भने डमरु प्रकृतिको संगीतको प्रतीक हो र उनको ताण्डवमा प्रकृतिको आक्रोश छ। उनको पूजा दुर्लभ र महँगो सामग्रीले नभएर प्रकृतिकै बहुआयामबाट उपलब्ध बेलपत्र, भाङको पात र धतुरोले हुन्छ। शिवको जीवन नै प्रकृति झैं छ। साउनमा प्रकृति जाग्रत अवस्थामा रहन्छ। त्यसैले पनि यो महिना शिवको प्रिय महिना हो। यतिखेर उनको आराधना गर्नाले सहजै उनीसँग साक्षात्कार गर्न सकिन्छ। यो महिना गरिएको पूजा, यज्ञ, हवनको महŒव अत्यधिक हुन्छ। शिवको महŒव अनादिकालदेखि रहस्यमयी छ। जसरी यो ब्रह्माण्डको न कुनै आरम्भ छ न कुनै अन्त्य, ठीक यसै प्रकारले देवाधिदेव महादेवको पनि न कुनै अन्त्य छ न कुनै आरम्भ। सारा ब्रह्माण्ड नै शिवमा समाहित छ। जब यो जगत् थिएन, त्यतिखेर पनि शिव थिए। सनातन हिन्दु धर्ममा साउन महिना यसैकारणले पनि शिवलाई समर्पित गरिन्छ कि साउनको आरम्भमा पालनकर्ता श्रीहरि विष्णु योगनिद्रामा लीन हुन्छन्। यो सारा संसारको सत्ता सञ्चालनको दायित्व प्रभु शिवको काँधमा आउँछ।

साउन महिनाको एउटा अर्को कथा लोकमा प्रचलित छ– जब सनत कुमारले भगवान् शिवसँग साउन प्रिय हुनुको कारण सोधे, तब भोलानाथले भने, ‘जब देवी सती मेरो असम्मानबाट मर्माहत भएर पिता दक्षको घरमा योगशक्तिले शरीर त्याग गरिन्, त्योभन्दा पहिला सतीले हरजन्ममा पतिको रूपमा मलाई वरण गर्ने प्रण गरेकी थिइन्। देवी सतीले पार्वतीको रूपमा हिमालय पर्वत र रानी मेनकाको घरमा पुत्रीको रूपमा जन्म लिइन्। देवी पार्वतीले निराहार व्रत बसेर मलाई पतिको रूपमा वरण गर्नको निम्ति कठोर तपस्या गरिन् र प्रसन्न पारिन्। त्यसपछि नै मेरो निम्ति साउन महिना अत्यन्त प्रिय र विशेष भयो।’

साउन भगवान् शिवजीको प्रिय हो भन्ने बारे दोस्रो कथा पनि सुन्न पाइन्छ। जसअन्तर्गत मृकण्डु ऋषिका पुत्र मार्कण्डेयले अल्पायुलाई विजय प्राप्त गर्न साउनमा घोर तपस्या गरेर शिवको कृपा प्राप्त गरे। शिवको कृपाबाट प्राप्त गरेको मन्त्रशक्तिको सामु मृत्युका देवता यमराज पनि नतमस्तक भए। मार्कण्डेयको प्राण हर्न सकेनन्। यसरी पनि साउन महिना शिवभक्तिको महिना रहन गयो। साउन महिनामा अत्यधिक वर्षा हुन्छ, जसले शिवजीको गरम शरीरलाई शीतलता प्रदान गर्छ।

महादेव स्वयंले साउनको महिमा बताउँदै भनेका छन्, ‘मेरो तीन नेत्रमा दाहिने सूर्य, बायाँ चन्द्रमा र मध्यमा अग्नि रहन्छ। जब सूर्य कर्कट राशिमा गोचर गर्छ, तब साउन महिना सुरु हुन्छ। सूर्य गरम हुन्छ जसले उष्मा दिन्छ, जबकि चन्द्रमा ठण्डा हुन्छ जसले शीतलता प्रदान गर्छ।’ साउन महिना यसै पनि शिवजीको प्रिय हो। सोमबार हरेक महिना शिवजीमा समर्पित दिन हो। यस दिन पूजा गर्दा शिवजी प्रसन्न हुन्छन्। सोमबारको कारक ग्रह चन्द्रमा हो। शिवले आफ्नो शिरमा चन्द्रमालाई धारण गर्नुभएको छ। त्यसैले यो दिन पूजा गर्दा चन्द्रमा पनि प्रसन्न रहन्छन्, मन शान्त रहन्छ। अर्को कुरा ‘सोम’ शब्दको अर्थ शान्त पनि हुन्छ। भगवान् शिव स्वयं पनि ध्यान र साधनामा बस्ने देवता हुन्। ‘सोम’ शब्दको अर्को अर्थ उमासहितका शिव पनि हुन्। त्यसैले यो दिन उमा–महेशसहितको पूजाका निम्ति उपयुक्त मानिन्छ।

साउन र शिवपूजनको विधि  :  यतिखेर सात्विक आहार गरिन्छ। ब्रह्ममुहूर्तमा उठेर स्नान गरिन्छ र व्रतको संकल्प गरिन्छ। शिवलिंगमा जल, पञ्चामृत र बेलपत्र अर्पण गरिन्छ। शिवलिंगमा शुद्ध जल, गंगाजल चढाएपछि दूध, दही, घिउ, सक्खर र महद्वारा निर्मित पञ्चामृतले स्नान गराइन्छ। श्वेत चन्दन र तिलक लगाएपछि अक्षता चढाइन्छ। बेलपत्र, धतुरो, श्वेतफूल अर्पण गरिन्छ। र, ‘ॐ नम :  शिवाय’ या ‘ॐ नमो भगवते रुद्राय’ भनेर भगवानको आराधना गरिन्छ।
काँवड यात्रा र रुद्राभिषेक  :  साउनको विशेषता भनेको काँवड यात्रा र रुद्राभिषेक हो। काँवड यात्रा एक पैदल यात्रा हो। यसमा भक्तले पवित्र नदीबाट जल ल्याउँछन्। काँवड अर्थात् बाँसको डण्डामा दुवैतिर कलश राखेर गंगाजल भरेर आफ्ना काँधमा उठाउँछन् र हिँडेर आफ्नो नजिकैको शिव मन्दिरमा जल चढाउँछन्। यसरी यात्रा गर्दा ‘बोलबम’ को नारा घन्काउँछन्। ‘बोल’को अर्थ हो पुकारा गर्नु, ‘बम’को अर्थ हो शिव। यस्ता उद्घोषले यात्राको दौरान जोश भर्नुको साथै निरन्तर अगाडि बढ्ने शक्ति प्रदान गर्छ।

भगवान् शिव परमकल्याणकारी छन्। उनको आराधनाबाट सम्पूर्ण भक्तको मनोरथ पूर्ण हुन्छ र विशिष्ट लाभ प्राप्त हुन्छ। यतिखेर शिवलाई अभिषेक गरिन्छ। अभिषेकको सीधा अर्थ हो स्नान गराउनु। रुद्राभिषेकको अर्थ हो, शिवलिंगमा भगवान् रुद्रको रुद्रमन्त्रद्वारा अभिषेक गराउनु। यतिखेर मृत्युञ्जय शिवको जाग्रत मन्त्रद्वारा पूजन गरिन्छ। हरेक अभिषेक रुद्राभिषेक होइनन्। रुद्राभिषेक शिवको आराधनाको सर्वश्रेष्ठ तरिका हो। यसमा सिधै ऋग्वेद, यजुर्वेद र सामवेदबाट मन्त्र लिइएको हुन्छ। रुद्राष्टाध्यायीमा भनिएको छ, ‘शिव नै रुद्र हुन्, रुद्र नै शिव हुन्। शिव पालक पनि हुन्, संहारक पनि हुन्।’ यस्ता रुद्रलाई आफ्ना इच्छा र आकांक्षाअनुसार विभिन्न तरिकाले रुद्राभिषेक गरिन्छ।

शिवको अर्को नाम वंशाधर पनि हो। वंश वृद्धिको निम्ति गाईको शुद्ध घिउसँगै शिवसहस्रनाम पाठ गरिन्छ। मानसिक शान्तिको निम्ति शुद्ध जलले अभिषेक गरिन्छ भने रोगबाट मुक्तिको निम्ति महले अभिषेक गरिन्छ। उखुको रसको धाराले अभिषेक गर्नाले आर्थिक समृद्धि र परिवारमा सुखद माहोल रहन्छ भने गंगाजलले अभिषेक गर्नाले चारैतिर पुरुषार्थ प्राप्त गर्न सकिन्छ। रुद्राभिषेकका अनेकौं प्रक्रियाहरू छन्।

लोकजीवनमा शिवको महिमा  :  हाम्रो लोकजीवन शिवमय छ भन्दा अतिशयोक्ति नहोला। हाम्रा लोकबोली, लवज, लोकसंस्कृति र लोकसाहित्य जताततै भगवान् शिवको अमिट छाप छ। लोकजीवनमा शिव पौराणिक देवतामात्र नभएर जनजीवनका, प्रकृतिका र समाजका सबैभन्दा नजिकका इष्टदेव हुन्। उनी आम जनताका दु : खसुख, मेला, परम्परा, रिवाज र लोकसंगीत आदिमा पूर्ण रूपमा समाहित छन्। उनी लोकका मनमा भव्य र राजषी रूपमा नभएर बेलपत्र र पानीले प्रसन्न हुने ‘भोला भण्डारी’ रूपमा बसेका छन्। हाम्रा लोकगाथा मारुनी सुरु गर्दा एकादश रुद्रलाई जगाएर सुरु गरिन्छ। अरुण उपत्यकाको संकलनमा रहेको मारुनी गाथाले यसैलाई इंगित गर्छ– ‘पाँचै र मुखे रुद्राक्ष माला हो, गला है भिरौंला शैव गला है भिरौंला...।’

यस्तै, संगिनी गीतमा पनि शिव सम्बोधित हुन्छन्– ‘यसै र घरका नि कुलपितृ देउता, यसै र गाउँका सिमेभुमे अनि नागै र नागिनी तम रक्षे गरे पो हम रक्षे होला, खेल्दै जाऔं संगिनी शिव शिव खेल्दै जाऔं संगिनी...।’ लोकले कसैलाई दु : ख, पीडा पर्दा ‘हरे शिव !’ भनेर सान्त्वना दिने रिवाज छ। कयौं जातिमा उनलाई विभिन्न रूपमा जस्तो ‘भैरव’ भनेर स्थानीय रक्षकको रूपमा पुजिन्छ। त्यस्तै पानी नपरेको बेला जलधारा खेल्दै लोकले एक स्वरमा नारा लगाउँछन्– ‘हर हर महादेव पानी देउ देउ, यतिले पुगेन अरू धेरै देऊ। खरानीको डल्लो कति सारो, महादेवलाई पानी दिन कति गारो...।’ स्थान–स्थानका हजारौं लोककिंवदन्ती शिवसँग जोडिएका छन्। शिव लोकका मनमा छन्, तनमा छन्।

लोकगीत र कथामा उनी सहज, गृहस्थ र किसानको रूपमा उपस्थित छन्। कतै उनी हलो जोतिरहेका छन् भने कतै उनी खडेरी लागेको स्थानमा शंख बजाएर वर्षाको आह्वान गरिरहेका छन्। लोकजीवनका सुख, दु : ख, करुणा सबैमा उमा–महेशका कथा समाविष्ट छन्। शिवमा कुनै उँचनिचको भेदभाव छैन। उनी शक्तिमा भिजेर ‘अर्धनारीश्वर’ भए भने श्रीहरि विष्णुमा रमेर ‘हरिहर’ भए। लोकनृत्य वा ताण्डवमा जोडिएको नटराजको नृत्य केवल नृत्यमात्र नभएर सृष्टि, स्थिति र लयको दार्शनिक प्रतीक हो। यसले उनको उग्र र शान्त दुवै रूप दर्शाउँछ। साउन महिना र शिवको महिमाले लोकलाई भौतिक मोहमायादेखि पर रहेर आन्तरिक शान्ति र सत्य प्राप्त गर्नलाई हरदम सिकाइरहन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.