शिवानीको एक मुठी माटो

साहित्य

शिवानीको एक मुठी माटो

काठमाडौं जाने बस छुट्नै लागेको थियो। हतार–हतार सामान मिलाउँदै गर्दा शिवानी सिंह थारूले एउटा यस्तो काम गरिन्, जुन सामान्य मानिसका लागि सायद असामान्य थियो। उनले जन्मथलो नेपालगन्जको एक मुठी माटो उठाइन्। सानो कपडामा बेरेर पोको पारिन् र झोलाभित्र राखिन्। त्यो माटो कुनै धार्मिक आस्थाको प्रतीक थिएन। न त कुनै अन्धविश्वासको अवशेष। त्यो उनको पहिचान थियो। त्यो बाल्यकाल थियो। त्यो सम्झनाको सुवास थियो। त्यो आमाको काखजस्तै न्यानो जन्मभूमिको स्पर्श थियो।

राजधानी पुगेपछि उनको जीवनले नयाँ मोड लियो। नयाँ सहर, नयाँ परिवेश, नयाँ संघर्ष। तर एउटा कुरा कहिल्यै फेरिएन, झोलाभित्र सुरक्षित रहेको त्यो माटोको पोको। त्यस भित्रको सुगन्ध। जब–जब काठमाडौंको भिडले उनलाई एक्लोपनको अनुभूति गराउँथ्यो। अनि जन्मथलोको सम्झनाले मन भिजाउँथ्यो। उनी त्यो पोको खोल्थिन्। माटोका कणहरूलाई हातमा लिएर धेरैबेर टोलाइरहन्थिन्। ती कणहरूमा उनी केवल आफ्नो विगत खोज्दिनथिन्, आफ्नो भविष्य पनि देख्थिन्। त्यही माटोमा उनले सपनाहरू रोप्थिन्। त्यही माटोमा उनले आफ्ना सम्भावनाहरू पढ्थिन्। अनि त्यही माटोले उनलाई फेरि उभिन सक्ने शक्ति दिन्थ्यो।

उमेरले उनी कलिली थिइन्। तर सोचाइ समयभन्दा अगाडि थियो। सुविधा, अवसर र सम्भावनाले भरिएको राजधानीले उनलाई धेरै कुरा दियो। तर आफ्नो माटोले दिएको अपनापन भने दिन सकेन। काठमाडौंका अग्ला भवनहरूबीच हिँड्दा पनि उनको मन तराईका फाँटहरूमा डुलिरहन्थ्यो। उनलाई लाग्थ्यो, मानिस जहाँ पुगे पनि उसको आत्मा अन्तत :  आफ्नै माटोमा फर्कन्छ। रातो वर्णकी शिवानीको सपना पनि अनेक रङले भरिएको थियो। उनी चाहन्थिन, नेपाली साहित्य एउटै आवाजको बगैंचा नहोस। त्यहाँ सबै रङका फूलहरू फुलून्। सबै भूगोलका कथा सुनिऊन्। सबै वर्गका अनुभूति बोलून्। साहित्यले केवल मनोरञ्जन होइन, समाजलाई नयाँ दृष्टि दिने सामथ्र्य राखोस्।

उनी आज पनि सम्झिन्छिन्, ‘सायद त्यही मोहले मलाई सधैं तानिरह्यो। मेरो मस्तिष्कमा साहित्यका किराहरू निरन्तर सल्बलाइरहन्थे। कहिलेकाहीँ मनले भन्थ्यो, आज त दिमागलाई केही आराम दिऊँ। तर मैले सँगालेर राखेको जन्मभूमिको त्यो एक मुठी माटोले मलाई कहिल्यै विश्राम गर्न दिएन। त्यसप्रतिको प्रेमले नै शब्दका नयाँ–नयाँ थुँगाहरू कोर्न, भावना बुनिरहन र साहित्यका विविध सिर्जनामा निरन्तर लागिरहन बाध्य बनायो।’ त्यो एक मुठी माटो केवल सम्झनाको चिनो रहेन। समयसँगै त्यो उनको सिर्जनाको ऊर्जा बन्यो। वर्षहरू बिते। उनी अब नेपालगन्जबाट काठमाडौं पुगेकी युवतीमात्र थिइनन्।

नेपाली साहित्यमा आफ्नै हस्ताक्षर कोरिसकेकी स्रष्टा अनि पत्रकार पनि थिइन्। पत्रकारिता र साहित्य दुवै क्षेत्रमा उनको परिचय फैलिएको थियो। उनले आफूलाई नेपाली साहित्यको घेराभित्र सीमित राखिनन्। विश्व साहित्य पढिन्। नेपाली महिलाको साहित्यिक उपस्थिति, उनीहरूको संघर्ष, सिर्जना र पहिचानमाथि गहिरो अध्ययन गरिन्। त्यही अध्ययनले उनलाई एउटा निष्कर्षमा पुर्‍यायो।

महिलाले कलम त समाते, तर इतिहासले उनीहरूका अक्षरलाई बराबरीको ठाउँ दिन अझै हिच्किचाइरहेको छ। यही चेतनाका साथ उनी धेरै वर्षपछि फेरि आफ्नै जन्मथलो फर्किइन्। नेपालगन्जस्थित महेन्द्र पुस्तकालय त्यस दिन असाधारण रूपमा जीवन्त थियो। सामाजिक सरोकार उपसमितिले आयोजना गरेको ‘साहित्यमा महिला हस्ताक्षर  :

विश्व र नेपाल’ विषयक विमर्शले पुस्तकालयलाई केवल कार्यक्रमस्थल होइन, विचारहरूको उत्सवमा बदलिदिएको थियो। साहित्यकार, पत्रकार, लेखक, विद्यार्थी, अध्यापक र साहित्यप्रेमीहरूले सभाहल भरिएको थियो। सबैका आँखामा एउटै प्रतीक्षा थियो, जन्मभूमिको माटो बोकेर राष्ट्रिय साहित्यको उचाइमा पुगेकी आफ्नी छोरीलाई सुन्ने।

तर त्यो दिन शिवानी एक्लै थिइनन्। उनीसँगै थिइन् अछामका उकाली–ओराली पार गर्दै तराईसम्म आइपुगेकी कवि निभा शाह। दुई फरक भूगोल। दुई फरक जीवनयात्रा। तर एउटै संघर्ष। एउटी तराईकी छोरी। अर्की पहाडकी छोरी। एउटीले समथर फाँटको धूलो बोकेकी, अर्कीले हिमाली हावाको चिसोपन। तर साहित्यले उनीहरूलाई एउटै मञ्चमा ल्याएर उभ्याएको थियो। उनीहरूका आवाज फरक थिए, तर पीडा एउटै थियो। जब शिवानी बोल्न उभिइन्, सभाहल निस्तब्ध बन्यो। उनले भाषण गरिनन्। बरु उनले प्रश्न सोधिन्। ‘हाम्रा पाठ्यपुस्तकमा महिला साहित्यकार कहाँ छन् ?’
एउटै प्रश्नले सभाहल चिर्दै गयो। ‘विद्यालयका पुस्तकमा छैनन्। कलेजका पाठ्यक्रममा छैनन्। समाजलाई चेतना दिने, परिवर्तनका सपना देखाउने महिलाकासिर्जनाहरू विद्यार्थीको पहुँचभन्दा बाहिर किन छन् ?’

उनको स्वरमा आक्रोश कम, चिन्ता बढी थियो। त्यो व्यक्तिगत असन्तुष्टि थिएन। त्यो पुस्तौंदेखि ओझेलमा पारिएका महिला स्रष्टाहरूको सामूहिक आवाज थियो। सभाहल मौन भयो। त्यो मौनताभित्र धेरै प्रश्नहरू थिए। त्यसपछि निभा शाह बोलिन्। उनको प्रश्न पनि उस्तै गहिरो थियो। ‘विश्वविद्यालयसँग सोधौं , पाठ्यक्रममा कति महिला लेखकका रचना छन ? सायद उनीहरूसँग त्यसको तथ्यांक पनि छैन। हामी आफैंले पुस्तक पल्टाउँदा महिलाका सिर्जना विरलै भेट्छौ। आखिर किन ?’ विमर्श अब साहित्यबाट शिक्षा हुँदै राज्यसम्म पुगेको थियो। निभाले पुरस्कार संस्कृतिमाथि पनि प्रश्न उठाइन्। उनका अनुसारपुरस्कार दिने संस्थाहरूले छनोट समितिका नाम सार्वजनिक नगर्दा निष्पक्षतामाथि सधैं संशय रहिरहन्छ।

एउटै विचारधारा, एउटै घेरा र उस्तै प्रकृतिका कृतिहरू बारम्बार सम्मानित भइरहँदा त्यो संशय अझ गहिरिन्छ। उनले अर्को गम्भीर कुरा पनि उठाइन्। राज्यको चरित्रले नै कुन साहित्यलाई केन्द्रमा ल्याउने र कुन आवाजलाई किनारामा राख्ने भन्ने निर्धारण गरिरहेको छ। आलोचनात्मक चेत भएका र गुणस्तरीय कृति धेरैपटक सम्मानभन्दा टाढा रहन्छन्। महिलाको प्रतिनिधित्वबारे उनको दृष्टिकोण पनि स्पष्ट थियो। केही महिला उच्च पदमा पुग्नु मात्र पर्याप्त होइन। निर्णय गर्ने ठाउँमा महिलाको अर्थपूर्ण सहभागिता नभएसम्म समानताको दाबी अधुरो रहन्छ। शिवानी र निभा अन्तत :  एउटै निष्कर्षमा पुगे।

महिला लेखिकाको सिर्जना केवल प्रतिभाले मात्र हुर्कंदैन। त्यसलाई आर्थिक आत्मनिर्भरता, परिवारको विश्वास र संस्थागत संरक्षणको न्यानो पनि चाहिन्छ। प्रतिभाले बिउ रोप्छ, तर त्यसलाई वृक्ष बनाउने जिम्मेवारी समाजको पनि हुन्छ। उनीहरूले अर्को महŒवपूर्ण आग्रह पनि गरे। नेपाली महिला स्रष्टाका कृतिहरू विश्व साहित्यसँग संवाद गर्न सक्षम छन्। अब तिनलाई विभिन्न भाषामा अनुवाद गरेर विश्वसामु पुर्‍याउने समय आएको छ।
कार्यक्रम सकियो। मानिस घर फर्किए। तर महेन्द्र पुस्तकालयको त्यो साँझ त्यत्तिकै सकिएन। त्यहाँ उठेका प्रश्नहरू उपस्थित हरेक मनमा बाँकी रहे। सायद, वर्षौंअघि काठमाडौं लगिएको त्यो एक मुठी माटो त्यस दिन फेरि नेपालगन्जमै बोलिरहेको थियो। फरक यतिमात्र थियो, यसपटक त्यसले शब्दको रूप लिएको थियो। र ती शब्दहरूले एउटै आग्रह गरिरहेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.