यात्रा एक, अनुभूति अनेक

हरियालीमा हराएका पाइला

यात्रा एक, अनुभूति अनेक

विशाल सेतो शंखको आकृति राखिएको ‘शंखमूल पार्क’ छ, जसले स्थानीय र आगन्तुक दुवैलाई सुन्दर विश्रामस्थलको अनुभूति दिन्छ।

यात्रा लामो होस् या छोटो, यो मानव जीवनको अभिन्न अंग हो। सायद त्यसैले भनिन्छ– जीवन आफैंमा एउटा अविराम यात्रा हो। यात्रा केवल एक भूगोलबाट अर्को भूगोलसम्मको भौतिक स्थानान्तरण मात्र होइन। यसपटक हाम्रो पाइला सल्यानको शारदा नगरपालिकास्थित ‘लुहापिङ’तर्फ अघि बढ्यो। काठमाडौंको उकुसमुकुस, कोलाहल र धुलोधुवाँबाट केही दिनलाई सल्यानको शान्त, स्निग्ध र सुन्दर प्रकृतिसँग लुकामारी खेल्न पुग्यौं।

कर्णाली प्रदेशको यो नौलो भूगोल र नयाँ अनुभव हुँदैथियो परिवारकै लागि। यात्राको उद्देश्य आफूसँगै सन्तानलाई देशको भिरालो भूगोल र बनौट चिनाउनु मात्र थिएन; एउटा सुन्दर गन्तव्यमा पुग्न कति लामो धैर्यता र संघर्ष चाहिन्छ भन्ने सिकाउनु पनि थियो। दाङबाट करिब तीन घण्टाको उकालो काटेपछि बस सल्यानको श्रीनगर बसपार्कमा पुगेर थामियो। नानीबाबुका लागि यति लामो बसयात्रा पहिलो थियो। एउटै सिटमा खुम्चिएर गरिएको १६ घण्टाको यात्रा।

श्रीनगर बसपार्कबाट गन्तव्य लुहापिङ पुग्न अझै ८ किलोमिटरको दूरी तय गर्नु थियो। अन्तत :  घुम्तीहरू छिचोल्दै बासस्थान लुहापिङ आइपुग्यौं। व्यवस्थित बसपार्कले यातायात आवागमनलाई सहज मात्र बनाउँदैन, नगरको आर्थिक चलायमानतामा पनि ठूलो इँटा थप्छ। महसुस भयो– सही दृष्टिकोण, स्पष्ट योजना र योग्य नेतृत्व हुने हो भने दीर्घकालीन विकासका सोचहरू यसरी नै विपनामा परिणत हुन्छन्।

ऐतिहासिक पाना पल्टाउँदा थाहा हुन्छ, २०७१ वैशाख २५ गतेको निर्णयबमोजिम तत्कालीन सात गाविस— खलंगा, मार्के, ह्विल्चा, कजेरी, सजैवाल टाकुरा, स्यानीखाल र डाँडागाउँलाई एउटै मालामा उनेर जेठ २ गते शारदा नगरपालिका बन्यो। नाममात्र शारदा होइन, यो नगरलाई सल्यानकै जीवनरेखा मानिने कञ्चन ‘शारदा नदी’ले स्निग्ध आँचलले बेरेर सिञ्चित गरेको छ। प्रशासनिक हिसाबले हेर्दा सल्यानमा बागचौर, बनगाड कुपिण्डे र शारदा गरी तीनवटा नगरपालिका छन् भने कपुरकोट, छत्रेश्वरी, त्रिवेणी, कालीमाटी, सिद्धकुमाख, कुमाख र दार्मा गरी सातवटा गाउँपालिकाहरू सजिएका छन्। यिनैमध्येको शारदा नगरपालिकाभित्र पर्छ जिल्लाको मुटु— सदरमुकाम खलंगा। यो केवल एउटा उर्वर भूमिमात्र होइन, श्रीनगर हुँदै रोल्पा, सल्यान र सुर्खेतलाई जोड्ने एउटा सुन्दर संगमस्थल पनि हो। कर्णाली प्रदेशको यो भूभागलाई यहाँका हरिया पहाड, सुसाउने सल्लाका घारी र असीमित प्राकृतिक सम्पदाले मोहनी लगाएजस्तै मनमोहक बनाएका छन्।

करिब १९८.३४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिकालाई उत्तरमा सिद्धकुमाख, पश्चिममा बनगाड कुपिण्डे, दक्षिणमा छत्रेश्वरी, त्रिवेणी र कालीमाटी अनि पूर्वमा छत्रेश्वरी र बागचौरले घेरेर सुरक्षित राखेका छन्। साँझपख चिसो हावासँगै हामी लुहापिङको वरपर टहल्न निस्कियौं। हिँड्दै गर्दा स्थानीय ७० वर्षीय राजन श्रेष्ठसँग भलाकुसारी भयो। उहाँका अनुसार कुनै बेला सदरमुकाम खलंगा वरिपरि नेवार समुदायको ठूलो बाहुल्य थियो। समयसँगै रोजगारी र उच्च शिक्षाको खोजीमा बाहिरिने क्रम बढेपछि नेवारहरूको बस्ती पातलिँदै गएको रहेछ।

खलंगा बजारमा केही आधुनिक कंक्रिटका घरहरू ठडिन थाले पनि यसको वास्तविक सौन्दर्य भने पुराना रैथाने घरहरूमा लुकेको छ। माटो, काठ र ढुंगाले बनेका ती घरहरू, जसमा सेतो कमेरो लिपिएको छ, काठका कलात्मक झ्यालहरूलाई नीलो रङले सजाइएको छ र छानाहरू ढुंगाले कुँदिएका छन्। यी दृश्यले खलंगाको गौरवमय इतिहास र कलालाई आज पनि जीवन्त राखेको भान हुन्छ।

कोइलीको मधुर ‘कुहु–कुहु’ भाकासँगै हामी मर्निङ वाकमा निस्कियौं र पुग्यौं, सीतापाइला पार्क। जनआस्था छ, यहाँ माता सीताले पाइला टेकेकी थिइन् र त्यही पदचापकै कारण ‘सीतापाइला’ नाम रह्यो।

यसरी वरपरका दृश्यहरू पिउँदै हिँड्दा पाइला केही थाके। नजिकै एउटा करिब ३५ वर्ष पुरानो विशाल पीपलको रुख रहेछ, हामी त्यही चौतारीमा सुस्तायौं। शीतल छहारीमा पसिना ओभाउँदै गर्दा मेरो नजर नजिकैको एउटा पुरानो माटोको घरमा पुग्यो। संयोग नै भन्नुपर्छ, त्यो सामान्य घर थिएन। त्यो त पञ्चायतकालमा नेवार समुदायबाटै देशको प्रधानमन्त्री बन्न सफल सल्यानका सुपुत्र मरिचमान सिंह श्रेष्ठको पुख्र्यौली घर पो रहेछ ! यो तथ्यले मेरो मनमा एकखालको उत्साह र रोमाञ्चकता छायो। सल्यान खलंगाको माटोमा जन्मिएका मरिचमान एउटा इतिहासमात्र होइनन्, सल्यानलाई देशभर चिनाउने एउटा गौरव हुन्।

तर, जीर्ण अवस्थामा रहेको त्यो माटो र काठको घरले संरक्षणको पर्खाइमा रोइरहेको महसुस हुन्थ्यो। त्यहीँ रहेका एक स्थानीय ज्येष्ठ नागरिकले मलिन स्वरमा भने, ‘अब त केवल उहाँको सम्झनामा यो घर मात्र बाँकी छ।’ २०७० साल साउन ३२ गते ७१ वर्षको उमेरमा यो धर्तीबाट बिदा भएका मरीचमान सामान्य व्यक्ति थिएनन् भन्ने कुरा नयाँ पुस्तालाई बुझाउनु जरुरी छ। लाग्यो, सल्यानको माटोमा राजनीति र नेतृत्वको गहिरो बिउ रोपिएको छ। मरीचमानमात्र होइन, स्व. नेबबहादुर मल्ल, नीलाम्बर आचार्य, प्रकाश ज्वाला, सुरेश अधिकारी, टेकबहादुर बस्नेत, भीमप्रकाश शर्माजस्ता थुप्रै प्रभावशाली अनुहारहरूलाई जन्माउने यही सल्यानको उर्वर भूमि त हो नि !

शारदा नगरपालिकाको काखमै रहेको ‘कुपिण्डे दह’ सदरमुकाम खलंगाबाट करिब २०–२५ किलोमिटरको दूरीमा अवस्थित छ। यो रहस्यमय तालसम्म पुग्ने बाटो कतै पक्की, कतै कच्ची त निकै घुमाउरो थियो। गाडीमा चढ्दाखेरिको उघ्रेको मौसम दहको नजिक पुग्दानपुग्दै एक्कासि बदलियो। सिमसिम गर्दै सुरु भएको वर्षा हामी कुपिण्डे दह पुग्नासाथ मुसलधारे भयो। पानीसँगै तँछाडमछाड गर्दै असिनाका ठूला दानाहरू पनि खस्न थाले। गड्याङगुडुङ आवाजसहितको डरलाग्दो असिनापानीले नानीबाबुहरू अत्तालिए। गर्भवती महिलालाई बेथा लाग्दा छिनमै शान्त र छिनमै उकुसमुकुस भएजस्तै मौसमको यो अकल्पनीय र अस्थिर मिजासले हामीलाई अन्योलमा पार्‍यो।

मौसमको प्रतिकूलता र बढ्दो जोखिमलाई मध्यनजर गर्दै हामीले तालमा ‘बोटिङ’ नगर्ने निर्णय गर्‍र्यौं। कुपिण्डेको कञ्चन जललाई नजिकैबाट स्पर्श गर्‍यौैं र प्रकृतिको यो अनुपम सिर्जनालाई श्रद्धापूर्वक ढोग्यौं। पानीमा सयर गर्ने रहर मनमै पोको पारेर हामीले चिसो र शान्त वातावरणको भरपुर आनन्द लियौं। फर्किने बेला बाटोभरि परेको असिनाले कतै हिलो त कतै सेताम्मे तन्ना ओछ्याएजस्तो दृश्य बनाएको थियो। बोटिङ गर्न नपाएर
खिन्न भएका बच्चाहरू डाँडाकाँडा र भुइँमा हिउँजस्तै सेताम्मे थुप्रिएको असिना देखेर फुरुंग भए।

गाडी रोकेरै हामी एकछिन असिनासँग रमायौं। एकातिर हिउँजस्तै असिनासँग खेल्न पाउँदाको बालसुलभ खुसी थियो भने अर्कोतिर यही असिनाले किसानको पाकेको अन्नबालीमा पुर्‍याएको नोक्सानी सम्झेर मन कटक्क खाइरहेको थियो। स्थानीयको भनाइअनुसार, ‘कु’ को अर्थ अशुभ वा अनौठो र ‘पिण्डे’ को अर्थ असामयिक, गहिरो वा रहस्यमय आकृति भन्ने बुझिन्छ। विगतमा यहाँ घटेका अलौकिक घटना र मानिसहरूको रहस्यमय मृत्युका कारण यसलाई ‘कुपिण्डे’ दह भनिएको जनविश्वास रहेछ।

सल्यान पुगेर प्रख्यात धार्मिकस्थल खैराबाङ भुवनेश्वरी भगवतीको दर्शन नगरी फर्किनु त यात्रा नै अधुरो हुनु हो। त्यसैले भोलिपल्ट बिहानै हामी मन्दिरतर्फ लाग्यौं। श्रीनगर बसपार्कबाट करिब १० किलोमिटरको दूरीमा, उच्च पहाडको टाकुरामा विराजमान खैराबाङ भुवनेश्वरीको दर्शन र पूजाआजा गरेर हामी फर्कियौं। यहाँ सतीदेवीको बायाँ स्तन र कलेजो पतन भएको धार्मिक जनविश्वास छ। २०४५ सालमा तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले समेत यो शक्तिपीठको दर्शन गर्नुभएको इतिहास छ।

सल्यानको छत्रेश्वरी गाउँपालिकास्थित शंखमूल क्षेत्रतर्फ अघि बढ्यो। यहाँ एउटा विशाल सेतो शंखको आकृति राखिएको ‘शंखमूल पार्क’ छ, जसले स्थानीय र आगन्तुक दुवैलाई एउटा सुन्दर विश्रामस्थलको अनुभूति दिन्छ। पार्कको रमणीयतालाई आँखामा सजाउँदै हामी त्यहाँबाट करिब पाँच किलोमिटर पर रहेको छत्रेश्वरी मन्दिर पुग्यौं। स्थानीयका अनुसार, छत्रेश्वरी देवीले भक्तजनलाई रक्षा गर्ने, आश्रय दिने र सम्पूर्ण रोगव्याधि तथा दु : खबाट मुक्ति दिलाउने अटल विश्वास छ। नजिकैको छायाँ क्षेत्रमा रहेको मन्दिरभित्र एउटा विशाल चट्टान छ, जसमा ऐनामा जस्तै बाहिरको दृश्य प्रतिविम्बित हुन्छ भन्ने भनाइ छ। यहाँ सतीदेवीको सम्पूर्ण अंग पतन भएको विश्वास गरिन्छ, त्यसैले यसलाई महाशक्तिपीठ पनि मानिन्छ।

१,४६२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सल्यान जिल्लाको जनसंख्या २०७८ को जनगणनाअनुसार २ लाख ३८ हजार ५ सय १५ छ। प्राकृतिक र धार्मिक सम्पदामात्र होइन, यहाँका आधुनिक पार्कहरूले पनि पर्यटकलाई लोभ्याउँछन्। अग्लो थुम्कोमा सुनौलो बुद्धको मूर्ति सजिएको र सल्लाका रूखहरूले घेरिएको ‘बुद्ध पार्क’ आन्तरिक तथा बाह्य पर्यटकका लागि सुन्दर दृश्य अवलोकन गर्ने प्रमुख गन्तव्य बनेको छ। त्यहाँबाट करिब दुई किलोमिटरको दूरीमा ‘चन्द्रपाला पार्क’ अवस्थित छ। स्थानीयका अनुसार, यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने एक स्थानीय वीर, नेता तथा समाजसेवीको सम्मान र सम्झनामा यस पार्कको नाम ‘चन्द्रपाला’ राखिएको हो।

अर्को बिहानी, कोइलीको मधुर ‘कुहु–कुहु’ भाकासँगै हामी मर्निङ वाकमा निस्कियौं र पुग्यौं— सीतापाइला पार्क। जनआस्था छ, यहाँ माता सीताले पाइला टेकेकी थिइन् र त्यही पदचापकै कारण यसको नाम ‘सीतापाइला’ रहन गएको हो। सिमेन्ट र इँटाले बनेको एउटा सानो मन्दिरभित्र माता सीताको त्यो पदचिह्नलाई ससम्मान संरक्षित गरिएको छ। मलाई लाग्यो, यस नगरका अमूल्य गहनाका रूपमा रहेका भद्रकाली मन्दिर, जानकी मन्दिर, ट्वाट्वाके चमेरो गुफा र सिद्ध गुफाजस्ता ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरूलाई अझ व्यवस्थित गर्न सक्ने हो भने, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी नगरको अर्थतन्त्रमा दरिलो टेवा पुर्याउन सक्छ।

स्थानीयवासीको जीविकोपार्जन र पारिवारिक आम्दानीको मुख्य मेरुदण्ड कृषि नै हो। व्यापार–व्यवसाय, पशुपालन, साना उद्योग, सरकारी तथा निजी सेवा र वैदेशिक रोजगारीले पनि अर्थतन्त्र धानेको छ। पहाडी भूगोलमा अवस्थित नगरपालिकाको २७.७५ प्रतिशत जमिन कृषियोग्य र उर्वर छ। जंगल र जलस्रोतको कुनै कमी नभएको यस क्षेत्रलाई सानाठूला खोलानालाले सिञ्चित छन् भने मुख्य जलाधारका रूपमा शारदा नदी अनवरत बगिरहेकी छन्।
पहाडका भिराला पाखाहरूमा हुर्किएका सल्लाका सुसाउने रूखहरूले मेरो ध्यान तान्यो।

सल्लाको बोक्रा ताछ्दा निस्कने चिप्लो र सुगन्धित पदार्थलाई अंग्रेजीमा ‘रेजिन’ र हाम्रो जनजिब्रोमा ‘खोटो’ भनिन्छ। विशेषगरी तारपिन तेल, औषधीय सामग्री, अगरबत्ती र रङरोगन बनाउन प्रयोग हुने यो खोटोको व्यावसायिक सदुपयोग गर्न सके नगरभित्रै रोजगारी सिर्जना हुने र आर्थिक समृद्धि हासिल हुने सम्भावना देखें। सल्यानको पहिचान बोकेका सल्यानी खुकुरी, माल्नेटाको अदुवा, बाफुखोलाको आलु र पिरो–सुगन्धित टिमुरजस्ता स्थानीय उत्पादनहरूको व्यवस्थित बजारीकरण गर्न सके सुनमा सुगन्ध हुने थियो।

घुम्दै जाँदा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्मको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका र बेपत्ता पारिएका योद्धाहरूको सम्झनामा निर्मित ‘शान्ति स्मारक २०७४’ नजिक पुग्यौं। ती वीर सहिदहरूकै अतुलनीय बलिदानको जगमा आज देशले यो परिवर्तनको सास फेर्न पाएको सत्यलाई
मनन् गर्दै मैले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरें र मनमनै भनें, ‘वीर सहिदहरू अमर रहून्।’

एउटा कुराले साँच्चै खुसी तुल्यायो— कर्णाली प्रदेशमै रहेर पनि शारदा नगरपालिकाले आगन्तुकहरूको सहजताका लागि नगरका विभिन्न स्थानमा ‘क्यूआर कोड’सहितको ’लोकेसन इन्फर्मेसन बोर्ड’ जडान गरेको रहेछ। प्रविधिको यो सुन्दर प्रयोगले नगरलाई स्मार्ट र प्रविधिमैत्री बनाएको छ। ‘गरे के हुँदैन र !’ भन्ने सकारात्मक सन्देश शारदा नगरपालिकाले व्यवहारमै प्रमाणित गरेको छ।

हाम्रो घुमघाम प्राय: पैदल नै हुन्थ्यो। कंक्रिटको सहरमा हुर्किएका नानीबाबुहरू पहाडका उकाली–ओराली र भिराला बाटाहरूमा हिँड्दा पनि अलिकति थाकेनन्, न त कुनै गाह्रो माने वा खुट्टा दुख्यो भनेर गनगन नै गरे। बाटोभरि फलेका ऐंसेलु, काफल, ओखर र किम्बुजस्ता जंगली फलहरू उनीहरूका लागि बिल्कुलै नौला थिए। आफैंले टिप्दै ती मीठा फलको स्वाद लिन पाउँदा उनीहरूको अनुहारमा देखिएको खुसी अवर्णनीय थियो। उता, डाँडाकाँडामा ढकमक्क फुलेका राता र सेता लालीगुराँसहरूले पहाडलाई यसरी सजाएका थिए, मानौं कुनै नवयौवना बेहुली रातो घुम्टो ओढेर लजाउँदै बसेकी छिन्।

शारदा नगरपालिकाका सुन्दर र उज्याला पक्षहरूको बयान गरिरहँदा यहाँ लुकेका केही अँध्यारा र सुधार गर्नुपर्ने पाटाहरूलाई पनि नजरअन्दाज गर्न मिल्दैन। नगरपालिकाको पाश्र्वचित्र अध्ययन गर्दा के देखिन्छ भने, यहाँका १५ वटा वडामध्ये केवल पाँच वटामा मात्र विद्युत्को पूर्ण पहुँच पुगेको छ। अन्य पाँच वटा वडामा आंशिक पहुँच छ भने बाँकी पाँच वटा वडा अझै पनि बिजुलीको उज्यालोबाट वञ्चित छन्। यसरी नगरका सबै बस्तीमा विद्युत् नपुग्नुको मुख्य कारण सल्यान जिल्लामा हालसम्म कुनै पनि ठूला वा माइक्रो हाइड्रो (जलविद्युत्) आयोजनाहरू सञ्चालनमा नआउनु हो। शिक्षा र स्वास्थ्यजस्तै विद्युत् पनि आजको युगमा नागरिकको आधारभूत आवश्यकता बनिसकेको छ। यदि स्थानीयस्तरमै जलविद्युत् परियोजनाहरू सञ्चालनमा ल्याउन सके ती अँध्यारा बस्तीहरूले पनि उज्यालोको अनुहार देख्न पाउने थिए।

यस नगरको अर्को चुनौती भनेको कृषिको आधुनिकीकरण नहुनु हो। यहाँको उर्वर माटोले आधुनिक कृषि प्रणालीको पर्खाइ गरिरहेको छ। परम्परागत खेतीपातीका कारण माटोको उर्वराशक्ति क्रमश :  क्षीण हुँदै गएको छ भने उत्पादन र उत्पादकत्वमा पनि ह्रास आएको छ। कृषि पेसालाई व्यावसायिक रूप दिँदै यातायातको सहज पहुँच विस्तार गर्न सके यहाँका ठाउँठाउँमा दूध चिस्यान केन्द्र, कृषि संकलन केन्द्र, कोल्ड स्टोर र मासुजन्य उद्योगहरू फस्टाउन सक्थे। कृषि क्षेत्रको सबैभन्दा ठूलो रोगका रूपमा रहेको बिचौलिया प्रथाको अन्त्य गरी किसानदेखि व्यापारीसम्मको प्रत्यक्ष सञ्जाल निर्माण गर्नुपर्ने टड्कारो आवश्यकता छ।

यसो हुन सके किसानले आफ्नो पसिनाको उचित मूल्य पाउने थिए भने व्यापारी र उपभोक्ता पनि ठगिनबाट जोगिने थिए। यहाँका अधिकांश घरपरिवार कृषिमा नै निर्भर रहेकाले खाद्यान्नका साथै नगदे बाली, फलफूल, तरकारी, मसला, जडीबुटी र पशुपालनलाई व्यापक रूपमा विस्तार गर्नुपर्छ। यसका लागि किसानलाई चेतना, प्रविधि, उन्नत बिउबिजन, मल, सुलभ कर्जा र सिँचाइको व्यवस्थापन गर्न नगरपालिकाले विशेष पहल गर्नुपर्ने देखिन्छ। नगरभित्र बग्ने नदीनालाको पानीलाई आधुनिक नहर र कुलोमार्फत खेतसम्म पुर्‍याउने र आकाशे पानीको सञ्चय गर्ने प्रविधि लागू गर्न सके यहाँका किसानको जीवनस्तरमा कायापलट हुन सक्छ।

वातावरण संरक्षणको पाटोमा पनि केही निराशाजनक दृश्यहरू देखिए। बाटोको भिरालो र पाखाहरूमा जथाभावी फालिएका फोहोरका पोकाहरूले प्रकृतिको सुन्दरतालाई गिज्याइरहेका थिए। यसरी फालिने फोहोरले वातावरणलाई मात्र प्रदूषित गर्दैन, जंगली तथा घरपालुवा जनावरहरूले प्लास्टिक खाँदा उनीहरूको ज्यानै जाने जोखिम पनि उत्तिकै हुन्छ। बजार घुम्दा मैले अर्को एउटा उदेकलाग्दो दृश्य देखें— पसलहरूमा अझै पनि सामान दिन कालो पोलिथिनको निर्बाध प्रयोग भइरहेको रहेछ।

पसलेलाई सोधें, ‘सरकारले धेरै वर्षअघि नै प्रतिबन्ध लगाइसकेको कालो पोलिथिन अझै किन प्रयोग गर्नुहुन्छ ?’ सहज उत्तर थियो, ‘यसबारे केही थाहै छैन, पहिलेदेखि नै यसैमा सामान बेच्ने गरेका छौं।’ नेपाल सरकारले २०७२ सालदेखि नै ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, बिक्री–वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। संघीय र प्रादेशिक कानुनहरू बने पनि स्थानीय तहले यसलाई कडाइका साथ लागू गर्न नसक्दा सल्यानमा अझै पनि यो हानिकारक प्लास्टिक प्रयोगमै रहेको पाइयो।

यी केही चुनौती भए तापनि प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावनाले भरिपूर्ण सल्यान साँच्चै मनमोहक छ। शारदा नगरपालिकाले छोटो समयमै समृद्धिको जुन बाटो पहिल्याउँदै छ, त्यो निकै आशालाग्दो छ। सीमित बजेटको परिधिभित्र रहेर जनताका असीमित आवश्यकताहरू पूरा गर्न गरिएका प्रयासहरू र भविष्यका लागि कोरिएका योजनाबद्ध विकासका रेखाहरू हेर्दा लाग्छ— सही कार्यान्वयन हुँदै जाने हो भने शारदा नगरपालिका कर्णाली प्रदेशकै एउटा ‘नमुना नगर’ बन्नेछ।

सल्यान र शारदाको दुई साताको बसाइ अत्यन्तै उपलब्धिमूलक र अविस्मरणीय रह्यो। अन्त्यमा यति भन्छु, जीवन भनेको यात्रा, भोगाइ र अनुभवकै एक सुन्दर सँगालो त हो नि... !।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.