१० जना मात्रै बस्ने गाउँ, जहाँ पुग्न आतुर छन् संसारभरका मानिस

१० जना मात्रै बस्ने गाउँ, जहाँ पुग्न आतुर छन् संसारभरका मानिस

स्पेन : स्पेनमा एउटा यस्तो गाउँ छ, जहाँ अहिले मुस्किलले १० जना मानिस बस्छन् । यहाँ कुनै रेस्टुरेन्ट छैन र बिरलै कोही घुम्न आउँछन् । तर आगामी एक विशेष दिनका लागि भने यही सानो गाउँमा पुग्न संसारभरका मानिसबीच होड चलेको छ । यो उत्तरी स्पेनको बुर्गोस प्रान्तमा रहेको अवेलेनोसा डे मुन्यो नामको सानो गाउँ हो । यहाँ एउटा बार छ, जुन अब कहिल्यै खुल्दैन । एउटा मदिरा गोदाम पनि छ, जुन अब सञ्चालनमा छैन ।

तर गाउँको शान्त वातावरणमा ध्यान दिएर सुन्नु भयो भने मधुर धुन जस्तो आवाज सुनिन्छ । चर्को गर्मीमा फुलेका ल्याभेन्डरका झाडी वरिपरि भुनभुनाइरहेका मौरीको आवाज, ढुंगाका छानामाथि तीव्र गतिमा उडिरहेका कालो–सेतो स्वालो चराको चिरबिर र खाली सडकमा कहिलेकाहीँ सुनिने कुनै एक्लो ट्याक्टरको आवाजले यहाँको जीवनको संकेत दिन्छ ।

हप्तामा एक पटक नजिकैको बेकरीबाट आउने एउटा साधारण सेतो भ्यानले गाउँमा बस्ने केही मानिसका लागि रोटी ल्याउँछ । त्यसबेला केहीबेर गाउँको सुनसान शान्ति भंग हुन्छ । यी थोरै मानिसका लागि यही नै दैनिक जीवन हो—यस्तो ठाउँ, जहाँ अधिकांश दिन वास्तवमै केही हुँदैन । तर यसै गर्मीयाममा सन्नाटा र सुनसानपनका लागि चिनिने यो गाउँ संसारकै सबैभन्दा रोमाञ्चक स्थानमध्ये एक बन्नेछ ।

‘डबल ट्वाइलाइट’ को अद्भुत दृश्य

१२ अगस्ट २०२६ मा एटलान्टिक महासागरमाथिबाट एउटा पूर्ण सूर्यग्रहण पार हुनेछ । सन् १९९९ पछि पहिलो पटक मुख्य युरोपबाट पूर्ण सूर्यग्रहण देखिनेछ । भौतिकशास्त्री डा. मारिया तेरेसा लोपेज सान्चेजका अनुसार सन् १९१२ पछि मुख्य स्पेनबाट देखिने यो पहिलो पूर्ण सूर्यग्रहण हुनेछ ।
पूर्ण सूर्यग्रहण महादेशको निकै साँघुरो क्षेत्रमा मात्र देखिनेछ र अवेलेनोसा डे मुन्यो ठीक त्यही क्षेत्रमा पर्छ । यो गाउँलाई ग्रहण अवलोकनका लागि विशेष बनाउने अर्को कारण यहाँबाट देखिने प्राकृतिक दृश्य हो—पश्चिमतर्फ फैलिएका सुनौला गहुँका खेत र साना पहाडहरू ।

त्यसमाथि यहाँ भवन र कृत्रिम बत्ती निकै कम छन् । चर्चित पर्यटकीय क्षेत्रमा हुने भीडभाड पनि यहाँ हुने छैन । ग्रहणको समयले यसलाई झनै विशेष बनाउनेछ । ग्रहण सूर्यास्त हुनुभन्दा केही समयअघि लाग्ने भएकाले आकाशमा ‘डबल ट्वाइलाइट’ अर्थात् दुई पटक साँझ परेको जस्तो दृश्य देखिनेछ ।
लोपेजका शब्दमा, यो केही मिनेटभित्र दुई पटक सूर्यास्त हेरे जस्तो हुनेछ । त्यसै रातपछि पर्सिड उल्कावर्षा पनि देखिनेछ । यसले एकै रातमा दुर्लभ खगोलीय घटनाहरूको अद्भुत संगम प्रस्तुत गर्नेछ । 

१९५० को दशकमा २०० मानिस, अहिले मुस्किलले १० जना
गाउँमा बस्ने सारा अल्भारेज रोड्रिगेजलाई यो दृश्य हेर्न सबैभन्दा राम्रो ठाउँ कहाँ हो भन्नेमा कुनै शंका छैन । उनी भन्छिन्, ‘गुफातर्फ माथि जानुहोस्, त्यहाँबाट सबै कुरा देख्न सकिन्छ ।’ सन् १९३७ मा यही गाउँमा जन्मिएकी अल्भारेजले आफ्नो जीवनमा यो गाउँलाई पूर्ण रूपमा परिवर्तन भएको देखेकी छन् ।

उनका अनुसार सन् १९५० को दशकमा गाउँमा करिब २०० मानिस बस्थे र धेरै साना पसलहरू थिए । माछा बेच्ने मानिसहरू साइकलमा छिमेकी गाउँसम्म पुग्थे । ७३ वर्षअघि यही गाउँमा जन्मिएका राउल ग्रान्डे रेविला भने बाल्यकालमै म्याड्रिड गएका थिए । उनलाई अझै सम्झना छ—एक जना हुलाकी गधामा चढेर चिठी र पत्रपत्रिका पुर्‍याउन गाउँमा आउने गर्थे । पछि कृषि क्षेत्रमा मेसिनको प्रयोग बढ्दै गयो । आसपास रोजगारीका अवसर कम भएकाले मानिसहरू म्याड्रिड, बिलबाओ, बार्सिलोना लगायतका ठूला सहरतर्फ बसाइँ सर्न थाले । 

ग्रहण हेर्न विदेशबाट समेत मानिस आउँदै
ग्रहणको अवसरमा ग्रान्डे आफ्नी पार्टनर, छोरा, नातिनातिनी र साथीहरूको ठूलो समूहसहित गाउँ फर्कने छन् । उनका भाइ पनि आफ्ना छोराछोरी, नाति र बहिनीसहित आउने छन् । यसरी करिब २० जनाको समूह गाउँमा जम्मा हुनेछ र एक रातका लागि गाउँको जनसंख्या लगभग दोब्बर हुनेछ ।
सन् २०२२ मै होटल बुक

अवेलेनोसाको यो पुनः खोज अब पुराना बासिन्दा र उनीहरूका परिवारमा मात्र सीमित छैन । नजिकैको लेर्मा ड्युकको पुरानो दरबारमा बनेको पाराडोर डे लेर्मा होटलमा समेत ग्रहण हेर्न आउने मानिसहरूले सन् २०२२ मै बुकिङ गरिसकेका थिए । कास्टिला वाई लियोन पर्यटन बोर्डका अल्बर्टो बोस्कुए कोएलोका अनुसार पूरै क्षेत्रमा यस्तै अवस्था छ । उनका अनुसार अधिकांश होटल तथा बसोबासका स्थानहरू पहिले नै पूर्ण रूपमा बुक भइसकेका छन् । ग्रहण हेर्न आउने मानिसहरू चर्चित स्थानभन्दा पनि ग्रहण सबैभन्दा राम्रोसँग देखिने स्थान खोजिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.