पोखरादेखि कोरोलासम्म
कोरोलास्थित हिउँकृत भूमिमा चैत्र अन्तिम साता हामीले आ–आफ्ना नामहरु हिउँमा लेखेर आयौं । एक ! दुई ! तीन ! चार ! पाँच ! अह ! एक सय सत्र जनाले । एक सय सत्र जनाले २४ नम्वर पिल्लर वरपर छरिएर एकै पटक कुल्चँदा हिउँको सेतो रङ हल्का गुलाबीमा परिणत भएथ्यो । कल्पनामा अनगिन्ती पटक पुगेको ठाउँमा पुग्नु, त्यहाँको माटोलाई स्पर्श गर्नु र आफ्नै आँखाले प्रकृतिको विराट सौन्दर्यलाई अनुभूत गर्नु पाउनु फरक कुरा रहेछन् ।
कोरोला नाकाको ४,७०० मि उचाइमा पुगेर निलो आकाशमुनिको सेताम्य धर्ती वरपर देखिएका असंख्य हिमालहरुको समिपमा केही समय बरालिएर हामी ओरालियौं । उकालो चढेपछि ओरालो ओर्लनै पर्ने प्रकृतिको शाश्वत नियम हिमालमा मात्र सीमित रहेनछ, जीवनमा पनि उत्तिकै सत्य रहेछ । चाहे त्यो पहाडको उचाइमा होस् या जीवनकै उचाइमा ।
पोखरा तीन दिनदेखि झरीले निथु्रक्क भिजिरहेथ्यो । हप्ता दिनदेखि लगातार मौसम पूर्वानुमानका सूचना पच्छयाई रहेथे म । बिहान उठेर बस चढ्ने स्थानसम्म पुग्दा बस परिचित तथा अपरिचित दुवैथरी मानिसहरुले भरिभराउ थियो । बिहान सात बजे कोलपाटन सहकारीको कार्यालय अगाडिबाट सबै यात्रुहरुलाई दही खुवाएर बिदाइ गरिएका चार वटा बस केही समय अघि पछि गरी पालैपालो छुटे । यात्राको व्यवस्थापन एडभेन्चर टुर एण्ड ट्राभल्सलाई प्याकेजमा दिइएकोले सञ्चालक साथीहरु ढुक्क देखिन्थे । बस पृथ्वीचोक, बाग्लुङ बसपार्क हुँदै हेम्जाको याम्दी पुल पुग्दा झलमल्ल खुलेका हिमाली दृष्य मनमोहक देखिरहेथे । अघिल्लो दिनसम्मको मौसमी फेरबदल आज हाम्रै स्वागतार्थ बदलिएको भान भइरहेथ्यो । यात्राको उत्साहले सबैलाई छपक्क छोपेको देखिन्थ्यो ।
सबैका चेहरा उज्याला, आँखा उत्फुल्ल देखिरहेथे । संयोगले त्यस दिन यशोधा म्याम र म एउटै सिटका सहयात्री बन्यौ । केही साथीहरु बसमा बजिरहेको लोकगीतको तालमा नाच्दै, गाउँदै, हाँस्दै माहौल तताइरहेथे । तर खै किन किन, मेरो मन भने त्यो उत्सवसँग रमाउन सकिरहेको थिएन । मन एकतमासले बोझिलो बनिरहेथ्यो । कुनै एकान्तमा बसेर अश्रुग्रन्थीलाई मुक्त गर्न चाहन्थे म । त्यसैले चुपचाप चुपचाप झ्याल बाहिर फैलिएका बस्ती, नदी, वनपाखा बदलिँदा प्राकृतिक दृष्यावलोकन नियाल्दै निकैबेर आफैसँगको संवादमा हराइरहे । कहिलेकाहीँ परिस्थितिबस यात्रा बाहिरभन्दा आफैभित्र धेरै भई दिदोरहेछ ।
लुम्ले काँडेस्थित थकाली भान्साघरमा बिहानी खाजा खाइसक्दा नसक्दै पछाडि छुटेका दुईवटा बस सँगसँगै आइपुगे । चार वटै बसका यात्रुहरु एकै पटक सडकमा ओर्लदा सानोतिनो बजारमै पुगेको भान भइरहेथ्यो मलाई । त्यो भिडभाडलाई खाजा घरमै छाडी हामी भने अगाडि बढ्यौ । गलेश्वर धाम पुग्दा आमाको फोन आयो । आमासँग केहीछिन गफिएपछि भने बोझिलो मन केही हल्का भयो । गलेश्वर मन्दिर काली गण्डकीको एउटै शिलामाथि बसेको शिबजीको प्रसिद्ध मन्दिर हो जहाँ टाढा टाढादेखि दर्शनार्थीहरु आईपुग्दछन् । प्रकृतिको दृष्यावलोकनमा निमग्न नजर तातोपानी कुण्डमा केहिबेर अड्याएपछि राजमार्गमा पर्ने दी मोटल होटलमा स्वादिलो खाना खाइयो ।
केहीछिनमै बस रुप्से झरना नगिचै रोकियो । अग्लो पहाडको टुप्पोबाट खसेको रुप्से भने उही गति र शैलीमा निर्वाध झरिरहेथ्यो । मन केहीछिन रुप्से चिन्तनमा अलमलियो । हामीले रुप्सेको छेक पारेर केही तस्विर लियौं । छातीभरि रुप्सेलाई अँगालेर केहीछिन सुस्ताएपछि बाटो लाग्यौ । मुस्ताङ मेरा लागि यसअघि दुई दुई पटक पुगिसकेको ठाउँ हो । उतिबेला भने हामी लेते झरेर उत्तरतर्फ रहेको कोवाङ गाउँमा एक रात बसेका थियौ । सुन्दर थकाली गाउँ, ढुंगाका घर, मलिलो खेतबारी, स्याउँका बगैंचा र शान्त वातावरणमा रहेको रमणीय गाउँ मनमोहक थियो । कोवाङ गाउँको मीठो सम्झना लेते पुगेपछि ताजा बनिदियो ।
बस घाँसा चेकपोष्ट, लेते हुुँदै चार बज्दा नबज्दै मार्फा पुग्यो । सेतो, रातो माटोले लिपेका घरहरु अनि माटोकै छाना र छानामाथिको दाउराको थुप्रोले मार्फाको पहिचान झल्काइरहेथ्यो । पर्यटकीय मौसम भएकाले पनि मार्फाका गल्लीहरु आन्तरिक पर्यटकको घुइँचोले गुल्जार देखिन्थे । स्याउका बगैचाहरु, परम्परागत पसलहरु, वरपर फरफराई रहेका लुङ्गदरहरुले थकाली जनजीवनको गहिरो पहिचान र संस्कृतिको बारेमा बताइरहेथे । फूल फक्रेर सेतै देखिएका स्याउबारीमा ज्यामी माहुरीहरु रस बटुल्ने हतारोमा देखिरहेथे । ज्यामी माहुरी जो जीवनभर अथक परिश्रम गरिरहन्छन, प्रकृतिलाई जीवन्त राख्न यिनीहरुको योगदान अनन्त रहन्छ । मलाई किन, किन गृहणी महिलाहरु र ज्यामी माहुरीहरु उस्तै उस्तै लाग्दछन । हाम्रो यात्रामा एक तिहाई भन्दा बढि संख्यामा महिलाहरु यात्रारत थिए । न कसैसग गुनासो, मात्र एकअर्काप्रतिको अनुराग झल्किरहेथ्यो उनीहरुको मुहारमा ।
मार्फा गाउँ वरपर थकाली तथा शेर्पा डे«स लगाएर फोटो खिच्नेहरुको हुल देखिरहेथ्यो । जेरी गल्ली यहाँको फेमस गल्ली रहेछ । थकालीे लुगामा सजिएर हामी एक हुल आमा–युवतीहरु मार्फाका गल्लीहरु निर्वाध चहा¥यौं । करिब दुई घण्टा मार्फा गाउँमा विताएर जोमसोमतर्फ लाग्दै गर्दा बाटैबाट एयरपोर्ट देखियो । बसको झ्यालबाट चिसो बतासले जोडजोडले सुसेली मारी रहँदा जोमसोमै बजारमा बाह्र बजे हावा सरर .....गीतको बोल सम्झनामा ताजा बनेर आयो । जोमसोम बजार छिचोल्दै घडीमा पाँच बज्न लाग्दा भने हामी दुम्बा तालतर्फ सोझियौ । वरपर हिमाललाई साक्षी राखेर समथरिलो डाँडाको बीचमा सुन्दर दुम्बा लेक साँझपख हाम्रै पर्खाइमा बसिरहेथ्यो । ताल वरपर फाट्टफुट्ट केही मानिसहरु ओहोरदोहोर गरिरहेथे । नयनभरि साँझपखको दुम्बाताल र तिखो बतासलाई साक्षी राखेर केही फोटो भिडियो कैद गरेपछि भने हामी आएकै बाटो पुनः ओरालियौं ।
घाम डाँडामाथि पुग्न आँटिसकेको थियो । दुम्बा तालबाट ओर्लदै गर्दा खोला पारी छुसाङ गाउँ टलक्क टल्कियो । अन्ततः एकाध घण्टाको यात्रा पछि झम्के साँझमा हामी छुसाङ पुग्यौ । छुसाङको चिसो सिरेटो सिधै कानमा ठोक्कियो । छुसाङ वरपर रहेका तीन वटा होटलमा यताउता बाँडिएर हामी बास बस्यौ । खाना खाएर चुठ्न जाँदा मुटु छुने ठिहिरोमा स्फूर्तिसँग भाँडा मल्दै गरेका कलिला भाइ, बहिनी बाग्लुङदेखि काम गर्न आएको बताइरहेथे। आफ्ना छोराछोरी भन्दा कम उमेरका एसइइकोे रिजल्ट कुरी बसेका ती युवासँग केहीछिन गफिएँ । जम्मा छ घरधुरी रहेको छुसाङस्थित गुम्बा पछिल्लो समय पर्यटकको केन्द्र बनेको रहेछ । गुम्बाको आफ्नै धार्मिक सांस्कृतिक महत्व रहेकाले हरेक दिन त्यस गाउँका घरधनीहरु गुम्बामा पूजापाठ गर्न पालैपालो साँझमा जाँदा रहेछन् । गुम्बा जीर्ण अवस्थामा रहेको र त्यसको संरक्षणका लागि सरकारको सहयोगको अपेक्षा रहेको एक गाउँलेले बताए।
हामी भने समय अभावले गुम्बा हेर्ने रहर मनमै थाती राखी भोलिपल्ट बिहान सबेरै खाजा खाएर कोरोला नाकातर्फ लाग्यौ । मुस्ताङको भू–बनोट अन्यतिरको भन्दा निकै फरक छ । एकपछि अर्को गर्दै कैयौ पहाड छिचोलेर हामी लगातार नाङ्गा डाँडामा क्याराभानसहित उकालो लाग्यौ । बाटोमा स–साना झाडी र बुट्टयान मात्र देखिन्थे । ठाउँठाउँमा ओर्लदै घरी उजाड डाँडाको त घरी समिपमै रहेको हिमालको तस्विर आँखाभरि कैद गरिरहयौ । पहाडहरु उच्च छन, पहाडी मनहरु उदार छन्, विशाल छन्, बसले पहाडी बाटो फन्को मारीरहँदा मैले महसुस गरे ।
छुसाङबाट करिब एक सय किलोमिटरको ग्राभेल सडकमा पर्ने समर, स्याङबेसी, घमीडाँडा, चराङ हुदै लगातार उक्लिरहयौ । बाटोमै दामोदर कुण्ड जाने अर्कोतर्फको बाटो देखियो । रमेश क्षितिजको उपन्यास तोरकिन पढ्दा माथिल्लो मुस्ताङमा पर्ने गाउँहरुका धर्म, संस्कृति, चालचलन र बदलिँदो सामाजिक आर्थिक परिवर्तनका सन्र्दभहरु केही जानकारी प्राप्त गरेकी थिएँ । बाटोबाट देखिएका ती सुन्दर गाउँहरु पुग्न नपाए पनि कल्पनामा एक प्रकारको रोमाञ्चकताको अनुभूति महसुस गरिरहेथे म ।
चराङको पुल तरेपछि हाम्रो बस लोमान्थाङतर्फ उक्लियो । लोमान्थाङ्ग पुगेर दिउँसो एक बजे बसबाट उत्रँदा आफू नितान्त भिन्न संसारमा पुगेको अनुभूति भइरहेथ्यो । यात्रामा केही साथीहरुलाई भने अल्टिच्युड सिकनेसका कारण वाकवाक लाग्ने, टाउको दुख्ने समस्या देखियो । दिउँसोको खाना हामीले लोमान्थाङको त्रिभद्रीका होटलमा खायौं । दाल, साग र स्वाइबिनको तरकारीसहितको सुस्वादु खाना खुवाएका होटलका फूर्तिला कुक भाइ पोखरा छोरेपाटनबाट त्यहाँ पुगेका रहेछन् । उनको मेशिनसरी चलेको ज्यानले आज बिहानदेखि छ सय जनालाई खाना खुवाइसकेको बताउँथे उनी । बाटोमा कोही भेटिनु र त्यसपछि कहिल्यै नभेटिनु यात्राको सौन्दर्यता हो । मेरो स्मृतिमा भने उनी यद्यपि आईरहेछन् ।
यातायातको साधनको सहज सुविधा, बिदाको समय भएर पनि होला आन्तरिक पर्यटकको चाप थेगिनसक्नु रहेछ यतिबेला मुस्ताङमा । हतार हतारमा लोमान्थाङ दरबार परिसर लगायत वरपरका गल्ली फनक्क घुमी भ्याउँदा गाइड भाइले मुस्ताङ दरबारको इतिहासबारे छोटो जानकारी गराए । मुस्ताङी राजाको दरबारमा बडेमाको भोटे कुकुरले भुकेर तलमाथि पहरा दिइरहेथ्यो । देशमा गणतन्त्र आएपछि अन्तिम राजा जिग्मे दोर्जे पलवर विष्ट राजगद्दी त्यागेर काठमाडौंमा बस्न थालेछन् । तीन बजे पछि नाका बन्द हुने जानकारी गराउँदै गाइड भाइले गाडीमा बस्न भनेपछि हामी हतारहतार कोरोलातर्फ लाग्यौं ।
इलाका प्रहरी कार्यालय छोसेर चेकिङ पोष्टका एक जना प्रहरी जवान बसभित्रै पसेर त्यस ठाउँको अवस्थिति, उचाइ, सञ्चो बिसञ्चोका बारेमा हामीलाई सोधपुछ गरिरहँदा बस बाहिर चलेको हावाले उनीहरु बसेको सेन्ट्री पाल नै उडाउला जस्तो गरिरहेथ्यो । घरीघरी चलिरहने तीब्र बतासका कारण धुलाका कणहरु हवार्रर बसभित्र मात्र होइन मुखभित्र पसिदिन्थ्यो । अन्ततः चेकिङ भएको केहीछिनमै हामी कोरोला नाकाको पवित्र भूमिमा पाइला टेक्यौ । ४,७०० मिटर उचाइमा पुगेर निलो आकाशमुनिको सेताम्य धर्ती वरपर देखिएका असंख्य हिमालहरुको बीचमा उभिरहँदा पोखरेली कवि तीर्थ श्रेष्ठको कविता हिउँमा लेखिएका नामहरु मनमनै गुनगुनाईरहे मैले ।
हामी त्यहाँ पुग्दा कोरोलाको आधाउधी जमिन बासी हिउँले ढाकिएको थियो । जमिन कताकति मात्र खाली देखिन्थ्यो । त्यहाँ पुगेका सयौ सहयात्रीको अनुभूति आ–आफ्नै हुँदो हो । मैले सोधिनँ । साथीहरुका मनभित्र कस्ता कौतुहल मडारिदै छन ? के कस्ता अनुभूतिले दिमागमा हल्ला गर्दैछन् ? कोही टिकटकमा रमिरहेथे, कोही किनमेलमा । कोही हिउँ खेल्नमा त कोही फोटो भिडियोमा । पहिलो पटक हिउँ छुनेहरु उत्तेजित हुँदै हिउँका थुप्राहरुमा निस्फिक्री लडीबुडी खेलिरहेथे, हिउँका डल्लाहरुसँग जिस्किरहेथे । मानिसहरुको हिउँ मोह छक्क लाग्दो थियो । मान्छे आफूसँग नभएको चिजको आशक्तिले भएको चिजको वेवास्ता गरिदिँदोरहेछ सायद । हिउँमा जीवन यापन गर्नेहरुलाई बोध हुन्छ हिउँको सकस । डिसेम्बरको महिना कोपनहेगनका चिसा रातहरुमा कामबाट फर्कदै गर्दा हिउँको अवरोधका बाबजुद समयमा नआइपुगेको रेल पर्खेर बस्दाको कष्ट सम्झँदा आज पनि झसङ्ग हुन्छु म ।
पारिपट्टि चाइनातर्फ ठूलाठूला भवनहरु, गाडीका शोरुमहरु प्रशस्त देखिन्थे । लाग्दथ्यो त्यो कुनै भव्य शहर हो, तर अपरिचित । अन्जान मान्छेहरुको चालचुल टाढाबाट केही देखिन्थेन । नेपालतर्फ भने फिरफिरे पालभित्र सामान राखेर तँछाडमछाड गर्दै सामान बेच्न तल्लिन देखिन्थे विक्रेताहरु । प्रहरी बस्नका लागि समेत पक्की पूर्वाधारको व्यवस्था नभएको देख्दा नेपाल सरकारप्रति टिठ लाग्यो । ओरालो लागेको बस निरन्तर गुडिरहयो । साँझ नौ बज्न केही मिनट बाँकी छँदा हामी छुसाङ आइपुग्यौं ।
तेस्रो दिन बिहान सबेरै हाम्रो समूह कागबेनीतर्फ लाग्यो । कागबेनीमा श्राद्ध गर्नेहरु आफ्ना पितृलाई अर्पण गर्न पोखरादेखि सामलतुमल बोकेर आएका थिए । मान्छेहरुको बजार देखिन्थ्यो कागबेनीमा । कागबेनीको बसपार्क पहिले भन्दा निकै व्यवस्थित बनेको रहेछ । एकै पटकमा सयौं जनालाई माइकबाट पण्डितले श्राद्ध गराएको दृष्य नितान्त नौलो लागिरहेथ्यो मलाई । हरेक श्रद्धालुहरु श्रद्धा, भक्तिपूर्वक पितृ कार्यमा निमग्न देखिन्थे । यस ठाउँमा पुगेपछि वर्षौ अघि धर्तीबाट बिदा हुनु भएका मेरा बुवाको स्मृतिले अभिभूत भए म । मुक्तिनाथ आउने वहाँको अधुरो सपना सम्झेर मेरा आँखा छचल्किए । निर्वन्ध आफ्नै लयमा बगिरहेकी कालीगण्डकीलाई हेर्दै केहीछिन टोलाएँ । साँच्चीकै बाँच्नु जत्तिको राम्रो थोक, अर्को केही रैनछ जीन्दगीमा।
पितृकार्य सकाएर मुक्तिनाथ पुग्दा दश बज्न आँटिसकेको थियो । मुक्तिनाथमा देखिएको श्रद्धालु भक्तजनहरुको भिडले कुनै भव्य मेलाको झल्को दिइरहेथ्यो । भारतीय पर्यटकका लागि धार्मिक आकर्षणको केन्द्र भएकोले अत्यधिक उपस्थिति उनीहरुकै देखिन्थ्यो । अन्नपूर्ण र धवलागिरि हिमालको काखमा अवस्थित यस धाममा पुग्दा हरेक तीर्थयात्रीलाई लाग्छ– यही हो मोक्षको द्वार । समुद्री सतहबाट तीन हजार ७१० मिटरको उचाइमा अवस्थित मुक्तिनाथ विश्वका हिन्दु र बौद्ध दुवैका लागि परम पवित्रस्थल हो । तर नुहाउनेहरु, कुण्डमा पौडनेहरु, लुगाफाटो कुर्ने कुरुवाहरु, लाइनमा उभिनेहरु सबै सबैको अस्तव्यस्तताले पवित्र मुक्तिक्षेत्रको धज्जी उडाएझै लागिरहेथ्यो । यो भिडभाडलाई अलिकति मात्र व्यवस्थित गर्न पाए कति सुन्दर देखिन्थ्यो होला मुक्तिक्षेत्र, म मनमनै कल्पिरहे ।
यात्रामा निस्कँदा सबै पक्ष सुखद मात्र नहुँदा रहेछन् । मन्दिरबाट ओरालिदै गर्दा आँखै अगाडि एउटा मृत्यु देखेपछि भने मुटु थरर्र काँप्यो । भनिन्छ, जन्म र मृत्यु प्राकृतिक कुरा हुन । जन्मनु माने एक दिन मृत्युकोे काख अँगाल्नु हो । तैपनि यस्तो अवश्यम्भावी कुरामा पनि भयवित भई दिँदोरहेछ मान्छे । आँखै अगाडिको मृत्युको भयले म आक्रान्त बने । आफन्तहरु विलाप गरेर रोइरहेका थिए । वरपरकाहरु हातखुट्टा मलिरहेथे । देख्दा मोटाघाटा ज्यानका उनी भारतीय पर्यटक रहेछन् । ५०–५५ हाराहारी उमेरका लाग्ने उनको इहलिला मुक्तिक्षेत्रको काखमा समाप्त भयो । जीवन सकिन आखिर एउटै दुर्घटना पर्याप्त हुँदोरहेछ । केही क्षण अघिसम्म जीन्दगी सुन्दर सयपत्रीको माला थियो, जो भर्खरै चुँडियो ।
छिनमै डोलेहरुले डोलामा हालेर दौडाउँदै ओरालो झार्दा ‘यसको दिन यति नै रहेछ’ डोलेहरुले गरेको सतही टिप्पणीले मन चसक्क चस्कियो । उनीेहरुले मृत्युलाई साधारण दैनिक घटना जसरी लिए, जसरी अस्पतालमा मृत्युसँग पैठेजोरी खेल्दै गरेका कैयौ मान्छे देखिरहेका डाक्टरहरुलाई मृत्युको भयले छुँदैन । उनीहरुलाई पनि सायद त्यस्तै लाग्यो होला । हरेक पल पृथ्वीको गति जस्तै मृत्युको क्रम कहिल्यै रोकिदैन । मृत्यु निवन्ध शीर्षकमा भिमनिधि तिवारी लेख्दछन्, ‘जीवन त एउटा आभाष, भौतिक भ्रान्ति हो । मृत्यु नै शान्ति हो या यसैको द्धार हो ।’ तैपनि हामी कहिल्यै आफ्ना आफन्तको मृत्युको कल्पना समेत गर्न सक्दैनौ ।
मुक्तिनाथको बसपार्क पोखरा बसपार्क जत्तिकै गाडीले भरिभराउ देख्दा केही वर्ष अगाडिको मुक्तिनाथ यात्रा ताजा बनाइरहेथ्यो । आखिर यो देशको समृद्धिको एक बलियो आधार पर्यटन नै त रहेछ । एक सय सत्र जनाको टोलीमा कोही कता छिरलिएथे, कोही कता भौतारिरहेथे । केही क्षण ढिला गरेर भए पनि सबैलाई सम्हालेर ल्याउन सञ्चालक साथीहरुलाई हम्मेहम्मे परिरहेथ्यो । समूहमा यात्रा गर्नु धेरै मान्छेलाई पढ्नु पनि हो । हाम्रा गाउँठाउँमा रहेका कतिपय सहकारीहरुले स्थानीय मानिसहरुसँग सहकार्य गरेर आय आर्जनको जोहो मात्र गरेका छैनन्, कहिल्यै घर बाहिर पाइला नचालेका आफ्ना सदस्यहरुलाई साहसिक यात्रा गराउने जिम्मा पनि लिएका छन् ।
भनिन्छ जो यात्रा गर्छन् उनका पाइला शिथिल हुन्छन्, तर जो जीवनमा कुनै यात्रा गर्दैनन् उनका मन शिथिल हुन्छन् । उहिले पोखराको कुनै फिल्म हलमा मुस्ताङसम्बन्धी डकुमेन्ट्री हेरिरहँदा मुस्ताङ रहस्य हो, अवसरहरुको अथाह भण्डार हो, प्रकृतिको अनुपम सुन्दर उपहार हो भन्ने भनाई मुस्ताङलाई नजिकबाट देखेपछि आज पुनः अनुभूति गरिरहेकी छु । साढे एक बजे मुक्तिनाथबाट हिडेको हाम्रो टोली जोमसोमको कोशेली घरमा मुस्ताङको कोशेली किन्दै गर्दा घर फर्कनका लागि पटक्क हतारिएको देखिन्थेन । जोमसोमबाट बस चढेदेखि नाच्दै गाउँदै रमाइलोमा जमेको मेरो बसका साथीहरु पोखरा पुगिञ्जेल उत्तिकै स्फूर्तिमा रमाईरहेथे । यात्राले केवल नयाँ गन्तव्य चिनाउँदो रहेनछ, मनभित्र लुकेर बसेका अनेकौ अनुभूतिहरु समेत उजागर गरिदिँदोरहेछ । यस यात्राले मलाई निकै गहिरो सत्यको साक्षात्कार गरायो ।
प्रतिक्रिया दिनुहोस !