किसानको गुनासोपछि ‘सुनकागती’ विवादमा विज्ञको स्थलगत निरीक्षण
धादिङ : धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा वितरण गरेको ‘सुनकागती’का बिरुवामा अपेक्षित फल नलागेपछि बिरुवाको जातीय शुद्धतामाथि प्रश्न उठेको छ। किसानको गुनासोपछि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का फलफूल विज्ञले स्थलगत निरीक्षण गर्दा वितरण गरिएका बिरुवामा सुनकागतीसँगै अन्य प्रजातिका कागतीका बिरुवासमेत मिसिएको पाइएको बताएका छन्।
गाउँपालिकाले किसानलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले आर्थिक वर्ष २०७९/८० मा ३ लाख रुपैयाँ बजेट छुट्याएर ६ हजार ६ सय ६६ वटा बिरुवा खरिद गरी वितरण गरेको थियो। निःशुल्क बिरुवा पाएपछि किसानले उत्साहका साथ खेती सुरु गरेका थिए।
तीन वर्षसम्म मलजल, गोडमेल र संरक्षणमा समय तथा लगानी गरेका किसानले फल लाग्ने समयमा भने अपेक्षित सुनकागतीको सट्टा बिमिरोजस्तो देखिने फल पाएपछि निराश बनेका छन्। लामो समयको मेहनत र लगानीपछि अर्कै प्रजातिको फल लागेपछि किसानले गाउँपालिकासँग जवाफदेहिता र क्षतिपूर्तिको माग गरेका छन्।
किसानको गुनासो सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले स्थलगत अनुगमन गरेका थिए। त्यसपछि राष्ट्रिय फलफूल विकास केन्द्र र नेपाल कृषि अनुसन्धान परिषद्का विज्ञलाई बोलाएर बिरुवाको अवस्था र फलको प्रजातिबारे निरीक्षण गराइएको हो।
राष्ट्रिय फलफूल विकास केन्द्रकी बागवानी अधिकृत सिर्जना पौडेलका अनुसार निरीक्षणका क्रममा गाउँपालिकाबाट वितरण गरिएका बिरुवामा सुनकागती मात्र नभई अन्य कागतीका प्रजातिसमेत रहेको देखिएको छ। बिरुवामा जातीय शुद्धता कायम नभएको प्रारम्भिक रूपमा देखिएको उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !