हरित चाडपर्व अभियान सुरु

हरित चाडपर्व अभियान सुरु
सुन्नुहोस्

ललितपुर :  जलवायु अनुकूलनमा टेवा पुर्‍याउनका लागि चाडपर्व संस्कृतिको प्रवर्द्धन गर्ने ‘हरित उत्सव’ अभियान शनिबारबाट शुभारम्भ गरिएको छ। चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउने उद्देश्यसहित ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको हो। कार्यक्रममा प्रतिनिधिसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक वासना थापाले वातावरण संरक्षणका लागि पुनःप्रयोगको अभ्यासले समाजमा सकारात्मक प्रभाव पार्ने बताइन्।

‘वातावरण संरक्षण हाम्रो जिम्मेवारी हो, संरक्षित हाम्रो सम्पदा र हरित वातावरणले सकरात्मक प्रभाव पार्छ, जलवायु परिवर्तन कुनै एक वर्ग वा समुदायको मात्र सरोकार नभई सबै नागरिकको साझा विषय हो,’  प्रमुख सचेतक थापाले भनिन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले जलवायु परिवर्तनका कारण समाजका सबै वर्ग प्रभावित भइरहेको बताउँदै यो महिला वा अल्पसंख्यक समुदायको मात्रै सरोकारको विषय नभएको उल्लेख गरिन्। श्रेष्ठले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक नीतिगत व्यवस्था तथा कानुनी प्रबन्धमा ध्यान दिँदै संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत राखिन्।

त्यस्तै मधेसी आयोगका सदस्य रेणु साहले विश्वव्यापी रूपमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न हरित अभियान, पुनःप्रयोग र पुनः चक्रणलाई प्राथमिकता दिनुपर्ने धारणा राखिन्। साहले वातावरण संरक्षणका लागि सबै पक्षले एकअर्कालाई सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखिन्। प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्नुपर्नेमा समेत साहले जोड दिइन्। त्यस्तै, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव मधु घिमिरेले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमा ध्यान दिनुपर्ने बताउँदै प्रत्येक स्रोतको उपयोग गर्दा थोरैबाट पनि बढीभन्दा बढी लाभ लिन सकिने गरी दिगो र जिम्मेवार उपभोगको अभ्यास विकास गर्नुपर्नेमा जोड दिइन्।

साथसाथै फाउन्डेसनकी अध्यक्ष प्रजिता कार्कीले कार्यक्रम वातावरण संरक्षणसम्बन्धी सचेतना जगाउने अभियान भएको बताइन्। उनले महिलावादी संस्था तथा जलवायु परिवर्तनसँग जोडिएका समस्याका क्षेत्रमा काम गर्ने संस्थासँग सहकार्य गर्दै अघि बढ्ने धारणा राखिन्।  ‘जलवायु अनुकूल मानवीय गतिविधिलाई प्राथमिकता दिनु सबैको जिम्मेवारी हो। प्रकृतिको संरक्षणबाट मात्रै मानव अस्तित्व सुरक्षित गर्न सकिन्छ। चाडपर्वका समयमा हुने अत्यधिक प्लास्टिकको प्रयोग तथा वातावरणमा नकारात्मक प्रभाव पार्ने गतिविधि न्यूनीकरण गर्दै पुनःप्रयोग र व्यवहार परिवर्तनमा जोड दिनुपर्छ,’ उनले भनिन्।  

अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वका नाममा बढ्दो उपभोग, प्रत्येक अवसरमा नयाँ पोसाक खरिद गर्ने प्रवृत्ति, प्लास्टिकजन्य सामग्रीको अत्यधिक प्रयोग तथा खाद्यान्न खेर फाल्दा वातावरणीय प्रदूषण मात्र होइन, महिलामाथि पर्ने अदृश्य श्रम, आर्थिक भार र सामाजिक दबाबसमेत बढाएको उल्लेख गरिन्।

फाउन्डेसनले अन्तरपुस्ता नारीवादी मञ्च (आईजीएफएफ) तथा ललितपुर महानगरपालिकाको सहकार्यमा आयोजना गरेको उद्घाटन कार्यक्रममा महिला, युवा, कलाकार, जलवायु अभियन्ता, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी अधिकारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको सहभागिता  थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.