ढल्केवर ट्रमा सेन्टर जोगाउन मेयरदेखि सांसदसम्म सडकमा, स्वास्थ्यमन्त्रीको राजीनामा माग

ढल्केवर ट्रमा सेन्टर जोगाउन मेयरदेखि सांसदसम्म सडकमा, स्वास्थ्यमन्त्रीको राजीनामा माग

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै जारी आन्दोलनमा शनिबार सांसदसमेत सडकमा उत्रिएका छन्। ट्रमा सेन्टर ढल्केवरबाट अन्यत्र सार्न खोजिएको भन्दै भइरहेको आन्दोलनमा शनिबार जनप्रतिनिधिहरूले सडकमा उत्रिएर ऐक्यबद्धता जनाएका हुन्।

गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित स्थानीयले आन्दोलन चर्काएका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै पहिलो चरणको आन्दोलन थालेको थियो।

शनिबार आन्दोलनको तेस्रो दिन विरोध र्‍यालीमा प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादव, प्रदेशसभा सदस्यहरू हरिनारायण महतो, शेषनारायण यादव, कुमरकान्त झा, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, उपमेयर सुनिता सिंह बुढाथोकी अग्रपंक्तिमा देखिएका थिए। स्थानीयको सशक्त उपस्थिति देखिएको र्‍यालीमा स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै चर्को नाराबाजी गरेका थिए।

प्रदर्शनमा सहभागी सांसद तथा जनप्रतिनिधिले ढल्केवरका लागि अघि बढिसकेको ट्रमा सेन्टरको योजना अन्यत्र सार्ने निर्णय स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनीहरुले स्थानीयको मागविपरीत सरकार अघि बढे सशक्त आन्दोलन चर्काउने घोषणा गरेका छन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री मेहताले ट्रमा सेन्टर लहानमा निर्माण गर्ने अभिव्यक्ति दिएपछि ढल्केवरमा त्यसको विरोध भइरहेको छ। स्थानीयले मन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै ढल्केवरमा निर्माण गर्ने भनिएको योजना अन्यत्र सार्न खोजिएको आरोप लगाउँदै आएका छन्।

शनिबारको शान्तिपूर्ण विरोध र्‍यालीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य डा. चन्द्रमोहन यादवले स्थानीयको आन्दोलनलाई सदनमा सशक्त रुपले निरन्तर आवाज उठाउने विश्वास दिलाए। ढल्केवरमै ट्रमा सेन्टर निर्माणका लागि सरकारको घुँडा टेकाउन शान्तिपूर्ण आन्दोलनको विकल्प नरहेको उनले जिकिर गरे। प्रदेशसभा सदस्य हरिनारायण महतोले यथास्थितिमै ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे। उनले स्थानीयको आन्दोलनलाई सरकारले बेवास्ता गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए।

प्रदेशसभा सदस्य कुमरकान्त झाले ढल्केवरमा ट्रमा सेन्टर स्थापना गर्ने विषयमा छेडखानी नगर्न सरकारलाई सचेत गराए। उनले यो विषयलाई लिएर प्रदेशसभामा पनि अवरोध सिर्जना गर्ने उल्लेख गरे। मधेश प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य शेषनारायण यादवले स्थानीयको आन्दोलनमा निरन्तर साथ र समर्थन रहने प्रतिबद्धता जनाए। उनले सरकारले ढल्केवरमा यथाशीघ्र ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। ट्रमा सेन्टर ढल्केवरमै निर्माण हुने स्पष्ट प्रतिबद्धता नआएसम्म आन्दोलन जारी राख्नुको विकल्प नरहेको उनको भनाइ थियो।

ट्रमा सेन्टरका विषयमा स्थानीयको आन्दोलनमा सांसद र जनप्रतिनिधिको प्रत्यक्ष सहभागिता बढ्दै गएपछि सरकारमाथि राजनीतिक दबाबसमेत बढेको छ। आन्दोलनकारीले ढल्केवरमै ट्रमा सेन्टर निर्माणको सुनिश्चितता गर्न माग गर्दै आएका छन्। हाल मिथिला नगरपालिका–७, साविकको ढल्केवर गाविस वडा नं २‘क’ को कित्ता नं १६९ को चार विघा क्षेत्रफल रहेको ऐलानी जग्गालाई आधार मानेर संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा धनुषाको ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने शीर्षकमा पहिलो पटक रकम विनियोजन गरेको थियो।

उक्त योजनाका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि पूरा भइसकेर लालपूर्जा बनिसकेको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले बताए। शिलान्यासको संघारमा रहेको उक्त योजना स्वास्थ्य मन्त्रीको अभिव्यक्तिले अन्योलमा परेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.