सुरक्षित स्तनपान, स्वस्थ जीवन
जन्मेको केही दिनसम्म आमाको स्तनबाट आउने बाक्लो पहेँलो दूधलाई बिगौती दूध (कोलोस्ट्रम) भनिन्छ। यसमा रोगसँग लड्ने प्रतिरोधात्मक तत्व प्रशस्त हुने भएकाले यसलाई शिशुको ‘पहिलो खोप’ समेत भनिन्छ।
जन्मेको एक घण्टाभित्रै स्तनपान सुरु गराउँदा नवजात शिशुलाई संक्रमणबाट जोगाउन, नवजात शिशुको मृत्युको जोखिम घटाउन र आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न मद्दत पुग्छ। स्तनपानले शिशुलाई आवश्यक पोषण दिनुका साथै आमा र शिशुबीचको भावनात्मक सम्बन्धसमेत बलियो बनाउँछ।
स्तनपानबाट शिशुलाई हुने फाइदा :
- रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
- शारीरिक तथा मानसिक विकासमा सहयोग गर्छ।
- संक्रमणबाट जोगाउँछ।
- कुपोषण तथा अत्यधिक वजन बढ्ने जोखिम घटाउँछ।
- आमा र शिशुबीचको आत्मीयता अनुभूति बढाउँछ।
स्तनपान गराउँदा आमालाई हुने फाइदा
- बच्चाप्रतिको आत्मीयता र भावनात्मक सम्बन्ध प्रगाढ बनाउँछ।
- सुत्केरीपछि हुने अत्यधिक रक्तस्रावको जोखिम घटाउन सहयोग गर्छ।
- पाठेघरलाई सामान्य अवस्थामा फर्किन मद्दत गर्छ।
- स्तन तथा पाठेघरको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ।
६ महिनासम्म स्तनपानमात्रै
शिशु जन्मेदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्वव्यापी सिफारिस छ। यस अवधिमा शिशुलाई आवश्यक पर्ने ऊर्जा तथा अधिकांश पोषक तत्व आमाको दूधबाटै प्राप्त हुन्छ। ६ महिनापछि उपयुक्त पूरक आहार सुरु गर्दै कम्तीमा दुई वर्ष वा त्यसभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनुचित प्रयोगले शिशुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। स्तनपान पर्याप्त नहुँदा वा प्रतिस्थापन गर्ने वस्तुको असुरक्षित प्रयोग हुँदा संक्रमण, कुपोषण तथा भविष्यमा मोटोपना र मधुमेहजस्ता नसर्ने रोगको जोखिम बढ्न सक्छ।
स्तनपान नगर्ने शिशुमा झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी संक्रमणको जोखिम पनि बढी हुने विभिन्न अध्ययनहरूले देखाएका छन्। स्तनपानले शिशुको मस्तिष्क तथा बौद्धिक विकासमा समेत सकारात्मक भूमिका खेल्ने प्रमाणहरू छन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गराउँदा नवजात शिशुको मृत्युको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
नेपालमा स्तनपानको अवस्था कस्तो छ ?
नेपालमा स्तनपानको अभ्यासमा केही सुधार देखिए पनि अझै अपेक्षित अवस्थामा पुग्न सकेको छैन।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार नेपालमा ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर ५६ प्रतिशत छ। त्यस्तै, जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गराउने दर ५५ प्रतिशत र दुई वर्षसम्म स्तनपानलाई निरन्तरता दिने दर ७४ प्रतिशत रहेको छ। प्रदेशगत रूपमा पूर्ण स्तनपानको दर कर्णाली र सुदूरपश्चिममा सबैभन्दा बढी ७४ प्रतिशत र लुम्बिनीमा सबैभन्दा कम ३६ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। यी तथ्यांकले स्तनपानको अभ्यासमा सुधारको सम्भावना भए पनि जन्मेको पहिलो घण्टामै स्तनपान सुरु गराउने विषयमा अझै ठूलो चुनौती रहेको देखाउँछ।
स्तनपान र बाल पोषणको सम्बन्ध स्तनपान बाल पोषणको आधार हो। नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै गम्भीर जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये २५ प्रतिशत पुड्कोपनि, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रक्तअल्पताबाट प्रभावित छन्। विश्वभर पाँच वर्षमुनिका बालबालिकाको मृत्युको ठूलो हिस्सा कुपोषणसँग सम्बन्धित हुने भएकाले बाल कुपोषण न्यूनीकरणमा स्तनपानको भूमिका महत्वपूर्ण छ।
जीवनको सुरुवाती चरणमा पर्याप्त स्तनपान र त्यसपछि उपयुक्त पूरक आहारले बालबालिकाको वृद्धि तथा विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन। आमालाई स्तनपान गराउन सहज वातावरण सिर्जना गर्नु परिवार, कार्यस्थल, स्वास्थ्य संस्था, समुदाय र राज्य सबैको साझा जिम्मेवारी हो।
प्रतिक्रिया दिनुहोस !