जीवन बचाउने अस्पताल नै स्वास्थ्यकर्मीका लागि जोखिमपूर्ण बन्दै गएका छन्। पछिल्लो समय बिरामीको उपचारका क्रममा उत्पन्न असन्तोषदेखि सामान्य विवादसम्मका निहुँमा चिकित्सक र नर्समाथि ज्यानै लिने गरी आक्रमण र अस्पताल तोडफोडका घटना शृंखलाबद्ध रूपमा बढेका छन्। साउन महिनाभित्रै घटेका तीन प्रतिनिधि घटनाले मुलुकको स्वास्थ्य क्षेत्र कति असुरक्षित छ भन्ने डरलाग्दो चित्र प्रस्तुत गरेको छ।
साउन ८ गते राति नारायणी अस्पतालमा मुटुको समस्या (म्यासिव मायोकार्डियल इन्फ्राक्सन) आएका बिमारीको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तको समूहले ड्युटीमा रहेका डा. प्रमोद राममाथि निर्घात कुटपिट गरे। उत्तेजित भीडले अस्पतालका भौतिक संरचनामा समेत व्यापक तोडफोड गर्यो। घाइते चिकित्सकको न्याय र अस्पतालको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारी आन्दोलन घोषणा गर्यो। साउन १३ गते सरकार र संघबीच सुरक्षाको ग्यारेन्टीसहित पाँचबुँदे सहमति भएपछि मात्रै आन्दोलन फिर्ता भएको थियो। 
तर, सोही साउन १३ गते वीरगन्जको घटनाको मसी नसुक्दै भक्तपुर अस्पतालमा अर्को हिंसात्मक घटना दोहोरियो। ८२ वर्षीय बिरामीलाई आईसीयूमा पुनः भर्ना गर्ने विषयमा उत्पन्न विवादपछि बिरामीका आफन्तले आईसीयू र आकस्मिक कक्षमा तोडफोड गरे। सोही क्रममा उत्तेजित समूहले ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि उपचारमा प्रयोग हुने ‘कैंची’ प्रहार गर्दा स्वास्थ्यकर्मीको हातमा गम्भीर चोट लाग्यो। प्रहरीले घटनामा संलग्नलाई नियन्त्रणमा लिएर ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कसुर’ मा अनुसन्धान अघि बढाएको छ।
यो घटना सामान्य हुन नपाउँदै ३ दिन अगाडि (साउन २२ गते) विकट कालीकोटको पलाँता अस्पतालमा भने घटना झनै अच्चमको बन्यो। उपचार नपाएको होइन, अस्पताल परिसरमा मोबाइल गेम खेल्न नदिएको सामान्य निहुँमा मेडिकल अधिकृत डा. अली हैदर रैन र स्टाफ नर्स शान्ता गिरीमाथि कुटपिट गरे। उक्त समूहले सोही राति पुनः अस्पतालमा छिरेर फार्मेसी, ओपीडी कक्षका साथै डाक्टरहरूको आवासगृह (क्वार्टर) मा समेत व्यापक तोडफोड र आक्रमण गर्यो, जसले गर्दा स्वास्थ्यकर्मीहरू रातभर ज्यान जोगाउन भाग्नुपर्ने स्थिति सिर्जना भयो।
एकजना चिकित्सक रातभर आकस्मिक कक्षमा बिरामीको उपचारमा व्यस्त हुन्छन्। बिहानको उज्यालोसँगै एउटा बिरामीको मृत्यु हुन्छ। केही मिनेटमै अस्पताल परिसर तनावग्रस्त बन्छ। आफन्तको रुवाबासी आक्रोशमा बदलिन्छ। सामाजिक सञ्जालमा ‘डाक्टरको लापरबाही’ भन्ने आरोप फैलिन्छ। केहीबेरमै चिकित्सक कुटिन्छन्, अस्पताल तोडफोड हुन्छ, सेवा बन्द हुन्छ। र, अर्को गम्भीर बिरामी उपचार नपाएर अर्को अस्पतालतिर भौंतारिन्छ।
पछिल्ला वर्षहरूमा नेपालका विभिन्न अस्पतालमा यस्ता घटना बारम्बार दोहोरिएका छन्। चिकित्सकमाथि हातपात, धम्की, घेराउ, अभद्र व्यवहार र अस्पताल तोडफोडका घटनाले स्वास्थ्य क्षेत्रलाई गम्भीर असुरक्षातर्फ धकेलेका छन्। नेपाल चिकित्सक संघले पछिल्ला १० महिनामा करिब ९० जना चिकित्सक कुटिएको दाबी गरेको छ। संख्या विवादको विषय हुन सक्छ, तर समस्या वास्तविक छ भन्नेमा विवाद छैन।
यहीं एउटा कठिन प्रश्न उठ्छ, डाक्टर किन कुटिन्छ ? यो प्रश्नको उत्तर केवल ‘आफन्त आवेगमा आए’ वा ‘डाक्टरले गल्ती गरे’ भन्ने दुई वाक्यमा सकिँदैन। यदि त्यसरी हेर्ने हो भने हामी प्रत्येक घटनापछि केही दिन सामाजिक सञ्जालमा बहस गर्छौं, आन्दोलन गर्छौं, विज्ञप्ति निकाल्छौं, सेवा बन्द गर्छौं। सम्झौता हुन्छ र फेरि केही समयपछि अर्को घटना दोहोरिन्छ। समस्या यथावत् रहन्छ। त्यसैले यस विषयलाई भावनाले होइन, प्रमाणले, आरोपले होइन, विश्लेषणले र पक्षधरतालाई होइन, सत्यलाई आधार बनाएर हेर्न आवश्यक छ।
हिंसा केवल व्यक्तिमाथि होइन, प्रणालीमाथिको संकेत हो
कुनै पनि सार्वजनिक संस्थाभित्र बारम्बार एउटै प्रकारको हिंसा दोहोरिन्छ भने समस्या व्यक्तिभन्दा ठूलो हुन्छ भन्ने समाजशास्त्रको मान्यता छ। त्यो संस्थाको संरचना, शासन, संस्कार र उत्तरदायित्वसँग जोडिएको हुन्छ। नेपालमा चिकित्सकमाथिको हिंसा पनि यस्तै संकेत हो। एउटै अस्पतालमा वर्षौंसम्म हजारौं बिरामी उपचार भएर घर फर्किन्छन्। तर, त्यही अस्पतालमा कुनै एउटा घटनापछि हिंसा हुन्छ भने त्यसलाई केवल चिकित्सकको नैतिकता वा आफन्तको आवेगले मात्र व्याख्या गर्न सकिँदैन।
त्यहाँ स्वास्थ्य प्रणाली, अस्पताल व्यवस्थापन, सञ्चार, कानुनी संयन्त्र, सामाजिक मनोविज्ञान र राजनीतिक संस्कृतिको संयुक्त प्रभाव हुन्छ। नेपालमा चिकित्सकमाथिको हिंसा व्यक्तिगत असफलताभन्दा धेरै हदसम्म प्रणालीगत असफलताको परिणाम हो। तर, प्रणालीगत समस्या भन्नु चिकित्सक, अस्पताल वा राज्यमध्ये कसैलाई जिम्मेवारीबाट मुक्त गर्नु होइन। बरु सबै पक्षको जिम्मेवारी पहिचान गर्नु हो।
नेपालमा समस्या कति गम्भीर छ ?
नेपालमा कार्यस्थल हिंसाबारे अनुसन्धान अझै सीमित भए पनि उपलब्ध अध्ययनहरूले चिन्ताजनक अवस्था देखाएका छन्। नेपाल हेल्थ रिसर्च काउन्सिलमा प्रकासित डा.वर्ष मानन्धरका टिम र डा. विपल्भ अधिकारीका टिमले गरेका छुट्टाछुट्टै अध्ययनहरूले करिब आधादेखि दुई–तिहाइ चिकित्सकले आफ्नो पेसागत जीवनमा कुनै न कुनै प्रकारको हिंसा अनुभव गरेको उल्लेख गरेका छन्। सबैभन्दा सामान्य हिंसा मौखिक दुर्व्यवहार हो।
त्यसपछि धम्की, धकेलाधकेल, शारीरिक आक्रमण र अस्पताल तोडफोडका घटनाहरू छन्। अधिकांश घटनामा आक्रमणकारी बिरामीका आफन्तहरू देखिएका छन्। र, धेरैजसो घटना आकस्मिक कक्ष, आईसीयू (सघन उपचार कक्ष), प्रसूति कक्ष, शल्यचिकित्सा कक्ष तथा गम्भीर अवस्थाका बिरामीको उपचार हुने विभागमा केन्द्रित हुन्छन्। अर्थात् ‘जति बढी जोखिमयुक्त सेवा, त्यति बढी हिंसाको सम्भावना’ रहन्छ। यसले चिकित्सकको व्यक्तिगत चरित्रभन्दा पनि उपचारको प्रकृतिसँग सम्बन्धित जोखिमलाई देखाउँछ।
विश्वमा पनि यस्तै समस्या छ ?
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीमाथिको हिंसालाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौती मानेको छ। अधिकांश देशहरूमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीले मौखिक तथा शारीरिक हिंसा भोग्ने गरेका छन्। अधिकांश विकसित मुलुकमा हिंसा भए तुरुन्तै प्रहरी, अस्पताल प्रशासन र कानुनी प्रक्रियामा सक्रिय हुन्छन्। घटनाको अनुसन्धान हुन्छ, दोषीमाथि कडा कारबाही हुन्छ, र त्यस अवधिमा पनि स्वास्थ्य सेवा निरन्तर चलिरहन्छ।
नेपालमा भने अधिकांश घटनामा पहिले भीड जम्मा हुन्छ, चिकित्सकमाथि हातपात हुन्छ, अस्पताल घेरिन्छ र सेवा बन्द हुन्छ। चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रन्छन्। अनि मात्र कानुनी प्रक्रिया सुरु हुन्छ। अर्थात कानुनभन्दा भीड प्रभावकारी छ र दण्डहीनताको संस्कृति बलियो छ।
चिकित्सक नै किन लक्ष्य बन्छन् ?
बिरामीको मृत्यु हुँदामात्र होइन। गम्भीर बिमारीले बेड नपाउँदा, आईसीयूमा बेड खाली नहुँदा, ब्लड बैंकमा रगत उपलब्ध नहुँदा, फार्मेसीमा औषधि नपाउँदा, सिटीस्क्यान बिग्रिँदा वा कुनै परीक्षण गर्न नपाउँदा र एम्बुलेन्स ढिलो पुगे पनि चिकित्सकमाथि दुव्र्यवहार तथा कुटपिटका घटना हुन्छन्। तर, यी सबै समस्याको प्रत्यक्ष कारण चिकित्सक होइनन्।
बिरामीको परिवारले यी सबै प्रणालीगत कमजोरीलाई छुट्याएर हेर्न सक्दैनन्। अर्थात् स्वास्थ्य प्रणालीको असफलताको प्रतिनिधि अनुहार चिकित्सक बन्छ। यसलाई समाजशास्त्रमा दृश्य (भिजिवल) जवाफदेहिताको समस्या भनिन्छ। त्यसैले चिकित्सकमाथिको हिंसालाई केवल ‘व्यक्तिगत विवाद’ भनेर बुझ्नु गलत हुन्छ।
कुनै पुल भत्कियो भने इन्जिनियरलाई निर्माणस्थलमै कुटिएको समाचार विरलै सुनिन्छ। एउटा मुद्दा हारियो भने वकिलमाथि अदालत परिसरमै भीडले आक्रमण गरेको प्रायः देखिँदैन। विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकमाथि विद्यालयमै संगठित हमला सामान्य घटना होइन। तर, बिरामीको मृत्यु वा उपचारमा जटिलता आयो भने चिकित्सकमाथि हातपात, अस्पताल तोडफोड वा घेराउको घटना नेपालमा बारम्बार दोहोरिरहेको छ।
त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथिको आक्रमणको उत्तर केवल स्वास्थ्य क्षेत्रभित्र खोजेर पुग्दैन। यसको उत्तर समाजशास्त्र, मनोविज्ञान र राज्यको संरचनामा पनि खोज्नुपर्छ। चिकित्सक दुःखको अन्तिम साक्षी हुन्छ। मानिसहरूले आफ्नो जीवनको सबैभन्दा कठिन क्षण अस्पतालमा बिताउँछन्। त्यहाँ आशा र निराशा, जीवन र मृत्यु, सफलता र असफलता, सबै केही केही घण्टामै बदलिन सक्छ। जब मृत्यु हुन्छ, शोकले तर्कलाई कमजोर बनाउँछ।
मनोविज्ञानले यसलाई ‘सर्च फर ब्लेम’ अर्थात् दोषी खोज्ने स्वाभाविक मानवीय प्रवृत्ति भन्छ। त्यसबेला सबैभन्दा नजिक उभिएको व्यक्ति चिकित्सक हुन्छ। र, दोष चिकित्सकलाई लगाउँछन्।
उपचारको समयमा चिकित्सक राज्यको अनुहार बन्छ। बिरामीले औषधि नपाउनु, आईसीयूमा बेड नपाउनु, रगत अभाव हुनु, उपकरण बिग्रिनु, जनशक्ति कम हुनु जस्ता समस्याहरू राज्य र स्वास्थ्य प्रणालीका हुन्। तर, ती समस्याहरूको सामना गर्ने व्यक्ति चिकित्सक हुन्छ। यसरी चिकित्सकले आफ्नै निर्णयको मात्र होइन, सम्पूर्ण प्रणालीको असफलताको भार पनि बोकेको हुन्छ। त्यस्तै धेरै पेसामा गल्तीको असर महिनौं वा वर्षौंपछि देखिन्छ। तर, चिकित्सामा परिणाम तत्काल देखिन्छ। बिरामी बाँच्यो वा बाँचेन। यही तत्काल देखिने परिणामले भावनात्मक प्रतिक्रिया पनि तत्काल उत्पन्न गर्छ।
चिकित्सासम्बन्धी निर्णयहरू जटिल हुन्छन्। परिवारले उपचारको सबै वैज्ञानिक पक्ष बुझ्न सक्दैन। जहाँ जानकारी कम हुन्छ, त्यहाँ शंका बढ्छ। जहाँ शंका बढ्छ, त्यहाँ अफवाह फैलिन सजिलो हुन्छ। र मृत्युसँग मानवीय संवेदना जोडिन्छ। अनि सामाजिक सञ्जालमा मृत्युको एउटा भिडियोले अनुसन्धानभन्दा छिटो फैसला सुनाइदिन्छ। घटना भएको केही मिनेटमै ‘लापरबाही’, ‘हत्यारा’, ‘ठगी’ जस्ता शब्दहरू फैलिन्छन्। यसले भीडलाई भावनात्मक रूपमा उक्साउँछ। र यसले चिकित्सकमाथिको हिंसा बढाएको देखिन्छ।
नेपाली समाजमा चिकित्सकलाई कहिले ‘भगवान्’ भन्छन्, कहिले ‘व्यापारी’ बनाइदिन्छन्। यी दुवै अतिवादी दृष्टिकोण हुन्। चिकित्सक न त चमत्कार गर्न सक्ने देवता हुन्, न प्रत्येक असफल परिणामका दोषी हुन्। उनीहरू पनि सीमित स्रोत, सीमित ज्ञान र अनिश्चित जैविक प्रक्रियाबीच निर्णय गर्ने मानिस नै हुन्। जब समाजले चिकित्सालाई विज्ञानभन्दा चमत्कारका रूपमा बुझ्छ, तब असफलतापछि आक्रोश बढ्छ।
र, सबैभन्दा महत्वपूर्ण सत्य स्वास्थ्य सेवा केवल औषधि, शल्यक्रिया वा प्रविधिमा आधारित हुँदैन। यसको आधार विश्वास हो। बिरामीले आफ्नो शरीर चिकित्सकलाई किन सुम्पिन्छ ? किनभने उसले विश्वास गर्छ। चिकित्सकले पनि बिरामीको हितमा निर्णय गर्छन्, किनभने उनीहरू पेसागत नैतिकतामा विश्वास गर्छन्। जब यही विश्वास कमजोर हुन थाल्छ, तब प्रत्येक जटिलता शंकाको विषय बन्छ, प्रत्येक मृत्यु आरोपको विषय बन्छ, र प्रत्येक चिकित्सक सम्भावित दोषीको रूपमा हेरिन थाल्छ। त्यसैले चिकित्सकमाथिको हिंसाको सबैभन्दा ठूलो क्षति एउटा व्यक्तिको चोट होइन। यसले समाज र स्वास्थ्य प्रणालीबीचको विश्वासलाई घाइते बनाउँछ।
समस्या कहाँ छ ?
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको हिंसालाई बुझ्न ‘स्वीस् चिज मोडेल’ सिद्धान्त उपयोगी हुन्छ। बिरामी सुरक्षाको क्षेत्रमा प्रसिद्ध यो सिद्धान्तले भन्छ कि कुनै पनि दुर्घटना वा संकट एउटै गल्तीले होइन, धेरै तहका कमजोरीहरू एकै ठाउँमा मिल्दा हुन्छ। प्रत्येक तहमा केही ‘प्वाल’ हुन्छन्। ती प्वालहरू एउटै रेखामा पर्दा दुर्घटना हुन्छ।
नेपालमा चिकित्सकमाथिको हिंसा पनि यही ढाँचामा विकसित भएको देखिन्छ। बिरामीको मृत्यु वा जटिलता अन्तिम घटना मात्र हो, त्यसअघिदेखि धेरै तहमा समस्या जम्मा भइरहेका हुन्छन्।
के कानुनको अभाव हो कि कार्यान्वयनको कमजोरी ?
हरेक हिंसात्मक घटनापछि एउटै प्रश्न उठ्छ, ‘कडा कानुन बनाउनुपर्छ।’ तर अर्को प्रश्न पनि त्यत्तिकै महŒवपूर्ण छ, भएका कानुनको कार्यान्वयन कत्तिको प्रभावकारी छ ? नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन लागु छ। यस ऐनको उद्देश्य स्वास्थ्य सेवालाई नियमित, भरपर्दो, मर्यादित र प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्नु हो। यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ समेत जारी गरिएको छ। पछि २०७८ मा पहिलो संशोधन अध्यादेशमार्फत स्वास्थ्यकर्मीमाथिको हिंसाविरुद्धका व्यवस्थालाई थप सुदृढ बनाउने प्रयास गरिएको थियो।
यसैले नेपालको समस्या कानुनको अभाव होइन, कानुनको प्रभावकारी कार्यान्वयनको अभाव हो। हरेक चर्चित घटनापछि चिकित्सक संगठनले आन्दोलन गर्छ, सरकार वार्तामा बस्छ, दोषीमाथि कारबाहीको प्रतिबद्धता व्यक्त हुन्छ। तर, केही समयपछि फेरि उस्तै घटना दोहोरिन्छ। यसले एउटा गम्भीर प्रश्न उठाउँछ, यदि कानुन छ भने हिंसा किन रोकिएन ?
यसका केही प्रमुख कारण देखिन्छन्। पहिलो, घटनापछि तुरुन्त र निष्पक्ष अनुसन्धान तथा अभियोजन हुन नसक्नु। दोस्रो, राजनीतिक वा स्थानीय दबाबका कारण कानुनी प्रक्रिया कमजोर हुनु। तेस्रो, कतिपय अस्पताल स्वयंले घटनालाई औपचारिक रूपमा कानुनी प्रक्रियामा लैजान हिच्किचाउनु। चौथो, स्वास्थ्य संस्था, प्रहरी, सरकारी वकिल र अदालतबीच प्रभावकारी समन्वयको अभाव। पाँचौं, प्रत्येक घटनाको निष्पक्ष मेडिकल समिक्षा र फौजदारी अनुसन्धानलाई समानान्तर रूपमा सञ्चालन गर्ने संस्थागत संयन्त्र नहुनु। यसले दण्डहीनताको मनोविज्ञान विकास गर्छ। समाजले ‘आक्रमण गरे पनि केही हुँदैन’ भन्ने सन्देश पाउँछ। र हिंसा पुनः दोहोरिन्छ।
हो, कानुनले स्वास्थ्यकर्मीलाई सुरक्षा दिन्छ भने त्यही कानुनी राज्यले बिरामीलाई पनि न्याय दिनुपर्छ। यदि वास्तविक चिकित्सकीय लापरबाही भएको छ भने त्यसको निष्पक्ष अनुसन्धान, विशेषज्ञ मूल्यांकन र कानुनी कारबाही पनि उत्तिकै आवश्यक छ। न निर्दोष चिकित्सकलाई भीडको न्याय स्वीकार्य हुन सक्छ, न वास्तविक लापरबाहीलाई पेशागत संरक्षण गरिनुपर्छ। सभ्य समाजको आधार भनेकै हिंसालाई शून्य सहनशीलता, तर सत्यको निष्पक्ष अनुसन्धान हुनु हो।
हिंसाको सबैभन्दा ठूलो मूल्य कसले तिर्छ ?
समान्यतयाः ‘डाक्टर कुटियो, पीडित डाक्टर भयो’ जस्तो धेरैलाई लाग्ला। तर, यसको असर त्यतिमै सीमित हुँदैन। तर, हरेक घटनापछि उपचार सेवा बन्द हुन्छ। स्वास्थ्यकर्मीहरू त्रासमा काम गर्न बाध्य हुन्छन्। अनि जटिल बिरामी हेर्न चिकित्सकहरू हिच्किचाउन थाल्छन्।
यस्ता घटनाहरूले चिकित्सकको निर्णय प्रक्रियामा पनि परिवर्तन आउँछ। चिकित्सकहरू आवश्यकभन्दा धेरै परीक्षण लेख्न बाध्य हुन्छन्। जोखिमयुक्त बिरामीलाई उपचार गर्ने भन्दा तुरुन्त रेफर गर्नु सुरक्षित ठान्ने हुन्छ। जटिल शल्यक्रिया गर्न नचाहने तथा गम्भीर बिरामीको जिम्मेवारी लिन डराउने हुन्छ। यसलाई ‘डिफेन्स मेडिसिन’ भनिन्छ। यसले उपचारको लागत बढाउँछ, स्वास्थ्य प्रणालीको दक्षता घटाउँछ र अन्ततः बिरामीलाई नै अतिरिक्त आर्थिक तथा स्वास्थ्य भार पर्छ। अहिले असुरक्षित कार्यस्थल (अस्पताल) का कारण पनि नेपाली चिकित्सकहरू विदेश जान बाध्य भएका छन्।
अन्तर्राष्ट्रिय अनुभव– विश्वले के सिक्यो ?
चिकित्सकमाथिको हिंसा नेपालमा मात्र सीमित समस्या होइन। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ), अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ), अन्तराष्ट्रिय नर्सिङ काउन्सिल (आईसीएन) तथा पब्लिक सर्भिस इन्टरनेसनल (पीएसआई) ले स्वास्थ्यकर्मीहरूमाथिको हिंसालाई विश्वव्यापी सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा स्वीकार गरेका छन्। डब्लूएचओका अनुसार स्वास्थ्यकर्मीहरू अन्य धेरै पेसाकर्मीको तुलनामा कार्यस्थल हिंसाको उच्च जोखिममा हुन्छन्। विशेषगरी आकस्मिक कक्ष, मानसिक स्वास्थ्य सेवा, प्रसूति सेवा, सघन उपचार कक्ष तथा एम्बुलेन्स सेवामा कार्यरत स्वास्थ्यकर्मीहरू बढी जोखिममा छन्।
बेलायतको नेसनल हेल्थ सिर्भस (एनएचएस) ले स्वास्थ्यकर्मीमाथिको हिंसाविरुद्ध ‘जिरो टोलेरेन्स’ निति लागू गरेको छ। बिरामी वा आफन्तबाट हुने शारीरिक आक्रमण, धम्की, जातीय वा लैंगिक दुव्र्यवहार र कार्य अवरोधलाई सामान्य व्यवहारका रूपमा स्वीकार गरिँदैन। अष्ट्रेलियाका धेरै अस्पतालले चिकित्सक र नर्सका लागि ‘डि–इस्केल्यासन’ तालिम अनिवार्य गरेका छन्। सम्भावित हिंसात्मक अवस्थालाई कसरी शान्त बनाउने, कसरी सुरक्षित रूपमा संवाद गर्ने, र कसरी टोलीगत रूपमा प्रतिक्रिया दिने भन्ने तालिम नियमित रूपमा दिइन्छ। यसका साथै त्यहाका धेरै अस्पतालमा आकस्मिक साइरन, सुरक्षित परामर्श कक्ष, र उच्च जोखिम भएका बिरामीका लागि विशेष सुरक्षा प्रोटोकल छन्।
भारतका केही राज्यहरूले चिकित्सकमाथिको हिंसाविरुद्ध विशेष कानुन बनाएका छन्। अमेरिकामा विशेषगरी आकस्मिक कक्ष र मानसिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मीहरू कार्यस्थल हिंसाको उच्च जोखिममा छन्। धेरै अस्पतालले हिंसाको जोखिम मूल्यांकन, कर्मचारी प्रशिक्षण, सुरक्षा प्रविधि र घटना प्रतिवेदन प्रणालीलाई संस्थागत गरेका छन्।
समाधान कसरी गर्ने ?
नेपालको आफ्नै र अन्तर्राष्ट्रिय अनुभवबाट सिकेर सामाजिक, आर्थिक र प्रशासनिक सन्दर्भअनुसार बहुआयामिक रणनीति विकास गर्न आवश्यक छ। सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको हिंसामा शून्य सहनशीलताको नीति अपनाउने, कानुनको छिटो र निष्पक्ष कार्यान्वयन गर्ने, प्रत्येक प्रदेशमा स्वतन्त्र चिकित्सकिय घटना छानविन समिति (मेडिकल इन्सिडेन्ट रिभिउ कमिटी) गठन गर्ने, स्वास्थ्य क्षेत्रमा सुरक्षा मापदण्ड अनिवार्य गर्ने र स्वास्थ्य क्षेत्रमा लगानी तथा जनशक्ति वृद्धि तत्काल गर्नुपर्छ।
त्यस्तै, हरेक अस्पतालले अनिवार्य रूपमा बिमारी सहयाता वा परामर्श कक्ष स्थापना गर्ने, बिमारीका गुनासो सुन्ने प्रणाली, आपतकालीन सञ्चार, सीसीटीभी तथा सुरक्ष प्रणाली र जोखिम कक्ष (आकास्मिक, शल्यकक्ष, आईसीयू आदि) मा विशेष सुरक्षा प्रणाली कायम गर्नुपर्छ। हरेक चिकित्सकले बिमारी र उनका आफन्तसँग सम्यमित व्यवहार, पूर्ण परामर्श, चिकित्सकीय कागजात तथा मञ्नुरीनामालाई प्राथमिकतामा राख्नुपर्छ। बिरामीसँग सहानुभूतिपूर्ण व्यवहारलाई संस्थागत गर्नुपर्छ।
सरकार, अस्पताल र चिकित्सक वा स्वास्थ्यकर्मीहरू मात्र होइन समाजमा पनि परिवर्तन आवश्यक छ। समाजमा स्वास्थ्य साक्षरता अभियान चलाउनुपर्छ। मिडियाबाट बिना कुनै अनुसन्धान नै दोषी घोषणा गर्ने अभ्यासलाई रोक्नुपर्छ। राजनीतिक दलले अस्पताललाई अनावश्यक दबाब दिने थलो नबनाउने प्रतिबद्धता गर्नुपर्छ। नागरिकले विवादको समाधान कानुनी प्रक्रियाबाट खोज्ने संस्कारको विकास गर्नुपर्छ। चिकित्सक र बिरामीबीच विश्वास पुनर्निर्माण गर्ने राष्ट्रिय अभियान अगाडि बढाउनुपर्छ।
चिकित्सकमाथिको हिंसाको एउटै कारण छैन। यो स्वास्थ्य प्रणाली, सामाजिक मनोविज्ञान, कमजोर सञ्चार, दण्डहीनता, राजनीतिक संस्कार, अस्पताल व्यवस्थापन र कहिलेकाहीँ चिकित्सकीय व्यवहारका कमजोरीहरूको संयुक्त परिणाम हो। त्यसैले समाधान पनि एउटै कानुन, एउटा आन्दोलन वा एउटा विज्ञप्तिबाट सम्भव छैन।
अनि डाक्टर र बिरामीको सुरक्षा एकअर्काका प्रतिस्पर्धी होइनन्। सुरक्षित चिकित्सकले मात्र सुरक्षित बिरामीको उपचार गर्न सक्छ। यदि चिकित्सक डराएर उपचार गर्छ भने त्यसको मूल्य बिरामीले तिर्नुपर्छ। चिकित्सकमाथिको हिंसा अन्त्य गर्नु चिकित्सकको मात्र एजेन्डा होइन। यो स्वास्थ्य प्रणाली सुधारको एजेन्डा हो। यो सभ्य समाज निर्माणको एजेन्डा हो।
यसैले प्रश्न केवल ‘डाक्टर किन कुटिन्छ ?’ होइन। प्रश्न, किन हाम्रो समाज दुःख, शोक र असफलताको समाधान कानुनी प्रक्रिया र संवादबाट होइन, प्रत्यक्ष हिंसाबाट खोज्न थालिरहेको छ ? हुनुपर्छ। यदि यसको उत्तर खोजिएन भने आज चिकित्सक कुटिन्छन्, भोलि शिक्षक, इन्जिनियर, न्यायाधीश वा अन्य सार्वजनिक सेवाका पेसाकर्मी पनि असुरक्षित बन्न सक्छन्। सभ्य समाजको पहिचान अपराधको अभावले होइन, विवाद समाधान गर्ने सभ्य संस्कृतिले हुन्छ।
अस्पतालमा मुक्का चल्ने समाज अन्ततः न्यायालयमा पनि तर्कभन्दा आवेगलाई ठूलो ठान्न थाल्छ। त्यसैले चिकित्सकमाथिको हिंसा रोक्नु भनेको एउटा पेशाको रक्षा मात्र होइन। लोकतान्त्रिक, कानुनी र सभ्य समाजको रक्षा गर्नु पनि हो।
- स्वास्थ्य प्रणालीको संरचनागत असफलता
नेपालको स्वास्थ्य प्रणालीमा चिकित्सक सबैभन्दा देखिने पात्र हुन्, तर निर्णय गर्ने सबैभन्दा शक्तिशाली व्यक्ति होइनन्। सरकारी अस्पतालमा एउटै चिकित्सकले दिनमा १५०–२०० बिरामीसम्म हेर्नुपर्ने अवस्था छ। जनशक्ति कम हुनु, आईसीयूमा बेड नहनु, उपकरण बिग्रिनु, औषधि समयमा नै उपलब्ध गराउन नसक्नु, रगत नपाइनु, रेफरल ढिलो हुनु जस्ता समस्याहरू संरचनागत समस्या हुन्। तर, बिरामीका आफन्तले यस प्रणालीको असफलतालाई डाक्टरमाथिको आक्रोशमा रूपान्तरित गर्छन्।
- अपेक्षा र वास्तविकताबीचको दूरी
पछिल्लो दुई दशकमा चिकित्सा प्रविधिमा अत्यन्त धेरै प्रगति भएका छन्। ‘सबै रोग निको हुन्छ’ भन्ने धारणा बलियो भएको छ। ‘अस्पताल पुगियो भने बिरामी बच्छन नै।’ भन्ने विश्वास छ। तर उत्कृष्ट उपचार हुँदाहुँदै पनि जटिलता आउन सक्छ, मृत्यु हुन सक्छ, वा अपेक्षित परिणाम नआउन सक्छ।
- सञ्चार : उपचारको सबैभन्दा उपेक्षित औषधि
चिकित्सकीय विवादको कारण सधैं उपचारको गुणस्तर मात्र हुँदैन। बिरामी वा उनका परिवारले चिकित्सकविरुद्ध असन्तुष्टि व्यक्त गर्नु वा कानुनी उजुरी गर्नुका कारणमध्ये अपर्याप्त वा असंवेदनशील सञ्चार पनि हो। चिकित्सकले बिरामीको कुरा ध्यानपूर्वक नसुन्नु, हतारमा संवाद गर्नु, जोखिम र अनिश्चितताबारे स्पष्ट जानकारी नदिनु तथा सहानुभूतिपूर्ण व्यवहारको कमीले अविश्वास बढाउने देखिएको छ।
- विश्वासको संकट
निजी स्वास्थ्य सेवाको विस्तारसँगै समाजमा ‘धेरै पैसा तिरियो भने राम्रो परिणाम आउनैपर्छ’ भन्ने धारणा बलियो भएको छ। चिकित्सा सेवा बजारको सामान्य वस्तु होइन। अस्पतालले सेवा दिन्छ। तर, परिणाम भने बिरामीको अवस्था, रोगको प्रकृति, समय, जैविक
प्रतिक्रिया र उपचारको सीमाले पनि निर्धारण गर्दछ।
- सामाजिक सञ्जाल र ‘तत्काल न्याय’
कुनै घटना भएको केही मिनेटमै सामाजिक सञ्जालमा पुग्छ। घटनाको पूर्ण विवरण आउनुअघि नै ‘लापरबाही’, ‘हत्या’, ‘ठगी’ जस्ता शब्द प्रयोग हुन थाल्छन्। यसले अनुसन्धानको ठाउँमा भावनालाई स्थापित गर्छ।
- राजनीतिक संरक्षण र दण्डहीनता
कुनै अस्पतालमा हिंसा भएपछि दोषीलाई तुरुन्त कानुनी कारबाही हुँदैन। यसले समाजमा एउटा गलत सन्देश जान्छ। ‘हिंसा प्रभावकारी दबाबको माध्यम हो’ भन्ने आमबुझाई भएको छ। कतिपय घटनामा स्थानीय राजनीतिक प्रभाव, भीडको दबाब वा अनौपचारिक सम्झौताले कानुनी प्रक्रिया कमजोर बनाउँछ।
- अस्पताल व्यवस्थापनको मौनता
धेरै अस्पतालमा संकट आउँदा चिकित्सक एक्लै अगाडि हुन्छन्। यस अवस्थामा अस्पताल व्यवस्थापन अगाडि बढ्नुपर्ने हो। मृतकका परिवारसँग नियमित संवाद, जोखिमको स्पष्ट जानकारी, गुनासो व्यवस्थापन, सुरक्षा समन्वय, संकट व्यवस्थापन जस्ता भूमिकामा अस्पताल प्रशासन वा व्यवस्थापकले नेतृत्व गर्नुपर्ने हो। तर, त्यसो हुन सक्दैन।
- चिकित्सकभित्रका आत्मसुधारका क्षेत्र
कतिपय अवस्थामा बिमारीको मेडिकल प्रोफाइलको राम्रो अभिलेख नराख्नु, मञ्जुरीनामा प्रक्रियालाई औपचारिकतामा सीमित गर्नु, असंवेदनशील भाषा प्रयोग गर्नु, समयमै रेफर नगर्नु, वरिष्ठसँग परामर्शमा ढिलाइ गर्नु, जस्ता कमजोरीले विवादलाई गम्भीर बनाउन सक्छ।
प्रतिक्रिया दिनुहोस !