मानिसबाट कुकुर बनेको भाइरल खबरको पछाडि के छ वास्तविक रहस्य ?
काठमाडौं : हालै सामाजिक सञ्जालमा ‘एक जापानी पुरुष अरबौँ रुपैयाँ खर्च गरेर मानिसबाट कुकुर बनेको’ भन्दै केही तस्बिर तथा समाचारहरू निकै भाइरल भइरहेका छन्।
२६ वर्षीय जापानी युवाले २२० करोड (दुई अर्ब २० करोड) रुपैयाँभन्दा बढी खर्च गरी आफूलाई शल्यक्रिया (सर्जरी) गरेर कुकुर बनाएको खबर फैलिएपछि आममानिसमा अनेकौँ जिज्ञासा र कौतूहल उत्पन्न भएको छ। 'के मानिस साँच्चै शल्यक्रिया गरेर कुकुर बन्न सक्छ?' वा 'के कसैले कुकुर बन्नकै लागि अरबौँ रुपैयाँ खर्च गर्ला?' जस्ता प्रश्नहरू सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्।
विशेषगरी नेपाल र भारतका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाझ यस खबरले सनसनी मच्चाएको छ। तर, तथ्य जाँच गर्दा यो खबरकाे वास्तविक रहस्य फरक रहेको छ ।
के हो त वास्तविक तथ्य?
जापानका ‘टोको’ नाम गरेका पुरुषले कुनै शल्यक्रिया वा शारीरिक रूपान्तरण गरेर कुकुर बनेका होइनन्। उनले केवल आफ्नो बाल्यकालको जनावर बन्ने सपना पूरा गर्न 'कोली' प्रजातिको कुकुरजस्तै देखिने विशेष पोसाक तयार पारेका हुन्। जुन समाचारहरू हालको नभइ ३ वर्ष पुराना हुन् ।
जापानको चर्चित कम्पनी ‘जेपेट’का कालिगडहरूले ४० दिनको निरन्तर मेहनतपछि यो पोसाक तयार पारेका थिए। उक्त कम्पनीले चलचित्र, विज्ञापन र मनोरञ्जन क्षेत्रका लागि विभिन्न प्रकारका मस्कट र पोसाकहरू निर्माण गर्ने गर्दछ। टोकोका अनुसार यो पोसाक बनाउन उनले २० लाख जापानी येन (लगभग १४ हजार अमेरिकी डलर अर्थात् १९ लाख नेपाली रुपैयाँभन्दा बढी) खर्च गरेका छन्।
कुकुरको जस्तो कस्टम लगाएर कुकुर जस्तै हाउभाउ गरेको, पार्कतिर डुल्न गएका ती युवाको भिडिओहरू I want to be an animal नामक युट्युब च्यानलबाट सार्वजनिक भएका छन् । यो अकाउन्टबाट सार्वजनिक भएको सबैभन्दा पहिलो भिडिओ तीन वर्ष पुरानो छ । यो च्यानलमा पछिल्लो छ महिनामा कुनै भिडिओ पोस्ट भएका छैनन् ।
टोकोले अहिलेसम्म सार्वजनिक रूपमा आफ्नो वास्तविक अनुहार र पहिचान खुलाएका छैनन्। तर उनले न्युयोर्क पोस्टसँगको कुराकानीमा पनि सानैदेखि जनावर बन्ने एउटा अस्पष्ट सपना भएको बताएका छन् ।
तसर्थ, सामाजिक सञ्जालमा ‘शल्यक्रिया गरेर मानिस कुकुर बनेको’ वा ‘अरबौँ खर्च भएको’ भन्दै फैलाइएका दाबीहरू पूर्ण रूपमा सत्य नरहेको र कतिपय भाइरल तस्बिरहरू एआई बाट बनाइएका भ्रामक सामग्री भएको पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस !