कांग्रेसको राष्ट्रिय भेलामा को-को हुँदैछन् सहभागी ? संयोजक कोइरालाले पठाए पत्र
काठमाडौं : नेपाली कांग्रेसले आगामी साउन २९ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा राष्ट्रिय भेलाको तयारी तीब्र रुपमा अगाडि बढाएको छ। भेलाका संयोजक डा. शंशाक कोइरालाले ७ प्रदेश सभापति, ७७ जिल्ला सभापति र १६५ प्रतिनिधि सभा क्षेत्रीय समितिका सभापतिलाई समेत सहभागिताका लागि पत्र पठाएका छन् ।
भेलामा प्रदेश सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर/नगर/गाउँपालिका कार्यसमितिका सभापतिसमेत सहभागी हुने छन्।
नागरिक अधिकार र लोकतन्त्रको रक्षाका लागि नीतिगत छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गर्न लागिएको उनीहरुको दाबी छ। भेलाले मुलूकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथिको चुनौति, हाम्रो पार्टी नेपाली कांग्रेस भित्रको विवादलाई मध्यनजर गर्दै बोलाइएको कोइरालाले जानकारी दिएका छन्।
कोइरालाले पत्रमा भनेका छन्, ‘मुलूकको वर्तमान राजनीतिक अवस्था, लोकतन्त्र, राष्ट्रिय स्वाधिनता र सार्वभौमिकता माथिको चुनौति, हाम्रो पार्टी नेपाली कांग्रेस भित्रको विवादलाई मध्यनजर गर्दै सबल, सक्षम र सुदृढ कांग्रेसले नै सबै चुनौतिको सामना गर्न सक्ने विगतका अनुभव रहेकोले पार्टीको सम्पूर्ण एकता र भावी कार्यदिशा तय गर्न यही २०८३ श्रावण २९-३१ गते सम्म “नेपाली कांग्रेसको राष्ट्रिय भेला” काठमाण्डौमा आयोजना गरिएकोले यहाँको सक्रिय सहभागिता सहित यहाँको प्रदेश / जिल्लाबाट क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधि, पूर्व केन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्व मन्त्री तथा सांसद, प्रदेश सभा क्षेत्रीय सभापति, महानगर/नगर/गाउँपालीका कार्यसमितिका सभापतिहरुलाई सहभागि गराईदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।’
कांग्रेसको आन्तरिक विवादले उग्र रूप लिइरहेका बेला संस्थापन इत्तर पक्षले राष्ट्रिय भेला गर्ने औपचारिक घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस !