सुनकोशीमा बेपत्ता वृद्ध दम्पती: पत्नीको शव भेटियो, पति अझै बेपत्ता
हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर छेउबाट सुनकोशी नदीमा हाम फालेर बेपत्ता भएका वृद्ध दम्पतीमध्ये पत्नी तिलकुमारी पराजुलीको शव फेला परेको छ।
गत साउन २० गते मण्डनदेउपुर नगरपालिका–७ बस्ने ६८ वर्षीय केदारनाथ पराजुलीले बोन म्यारो क्यान्सर भई शारीरिक रूपमा अशक्त भएकी आफ्नी ६७ वर्षीया श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीतर्फ जाँदै गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार नदीमा हाम फालेका तिनै वृद्ध दम्पतीमध्ये पत्नी तिलकुमारीको शव आइतबार दिउँसो ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१, खुजिङकुनास्थित सुनकोशी नदी किनारमा फेला परेको हो।
नदी किनारमा नाम र ठेगाना नखुलेको महिलाको शव फेला परेको भन्दै तस्बिरसहितको जानकारी प्राप्त हुनासाथ प्रहरीले मृतकका आफन्त हरिसँग समन्वय गरेको थियो। त्यसपछि पिसाब थैलीमा रहेको पाइप र छोटो कपालका आधारमा आफन्तले शवको पहिचान गरेका हुन्।
हाल शवलाई परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। नदीमा बेपत्ता भएका उनका पति केदारनाथको अवस्था भने अझै अज्ञात रहेको छ। उनको खोजी कार्य जारी छ।
प्रतिक्रिया दिनुहोस !