युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गर्दै रुस

युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गर्दै रुस
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिरहेको आरोप लगाएका छन्।

उनका अनुसार जापोरिजियामा भएको रुसी आक्रमणमा उत्तर कोरियासँगको गठबन्धनमा रहेको रुसले उपलब्ध गराएको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरिएको थियो। उक्त आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएका छन्।

जापोरिजियाका क्षेत्रीय गभर्नर इभान फेदोरोभले आक्रमणपछि सवारीसाधन र भवनहरूमा आगो लागेको तस्बिर सार्वजनिक गरेका छन्। उनका अनुसार रुसले शहरमा क्षेप्यास्त्र र निर्देशित बम प्रयोग गरेर आक्रमण गरेको थियो। औद्योगिक संरचना, पूर्वाधार तथा गैरआवासीय भवनहरू पनि आक्रमणको निशानामा परेका छन्।

सोमबार साँझ भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले पहिलोपटक रुसले ‘उत्तर कोरियाबाट थप सहयोगबिना युद्ध गर्न नसक्ने’ अवस्थामा पुगेको दाबी गरे। यसबाट विश्वका अन्य देशलाई समेत खतरा उत्पन्न हुने उनले चेतावनी दिए।

जेलेन्स्कीले सोमबार पश्चिमी साइबेरियामा रहेको रुसी पेट्रोकेमिकल उद्योगमा युक्रेनी सेनाले गरेको हवाई आक्रमणलाई ‘निकै महत्वपूर्ण उपलब्धि’ भएको बताएका छन्। उनले रुस र रुसी नागरिकलाई शान्ति आवश्यक रहेको देखाउन युक्रेनले थप ‘शक्तिशाली आक्रमण’ गर्ने चेतावनीसमेत दिए।

रुसले उत्तर कोरियाबाट सैन्य सहयोग लिइरहेको आरोप जेलेन्स्कीले यसअघि पनि लगाउँदै आएका छन्। गत सप्ताहन्त उनले रुसी सेनासँग मिलेर लड्न उत्तर कोरियाले ५० हजारसम्म सैनिक पठाइरहेको दाबी गरेका थिए।

युक्रेनी अधिकारीहरूका अनुसार रुसले रातभर युक्रेनमा १२० वटा ड्रोनसहित विभिन्न प्रकारका क्षेप्यास्त्र प्रहार गरेको थियो। तर, पहिलोपटक युक्रेनले प्रहार गरिएका वा रोकिएका क्षेप्यास्त्रको संख्या भने सार्वजनिक गरेको छैन। यसअघि सोमबार युक्रेनी वायु सेनाले हवाई प्रतिरक्षा प्रणालीका लागि प्रयोग हुने इन्टरसेप्टर क्षेप्यास्त्रको अभावबारे ‘सनसनीपूर्ण शीर्षक’ नबनाउन र ‘निराशावाद नफैलाउन’ सञ्चारमाध्यमलाई आग्रह गरेको थियो।

राजधानी किभमा भएको आक्रमणमा एउटा अस्पतालमा क्षति पुगेको छ। यद्यपि अधिकारीहरूका अनुसार अस्पतालका कर्मचारी र बिरामीहरू सुरक्षित स्थानमा आश्रय लिइरहेका थिए। खेरसोन र खार्किभका विद्युत् सबस्टेसनमा भएको आक्रमणपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

किभमा रातभर दुईपटक हवाई आक्रमणको साइरन बजेको थियो। राजधानीको बाहिरी क्षेत्रमा विस्फोटको आवाज सुनिएको र त्यसपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्। आक्रमणमा एक जना घाइते भएका छन्।

सुमीमा रुसी ड्रोन आक्रमणबाट दुई महिला घाइते भएका छन्। सुमी सिटी मिलिटरी एडमिनिस्ट्रेसनका प्रमुख सर्गेई क्रिभोशिन्कोका अनुसार घाइते महिलाहरू ५२ र ६६ वर्षका छन्। उनीहरूको घटनास्थलमै उपचार गरिएको थियो।

आक्रमणबाट सर्वसाधारणका सवारीसाधन, गोदाम भवन र पूर्वाधारमा समेत क्षति पुगेको उनले बताएका छन्।

रुसको सबैभन्दा ठूलो अनलाइन रिटेल कम्पनीमध्ये एक वाइल्डबेरीजको भोरोनेजस्थित लजिस्टिक्स केन्द्रमा आगलागी र विस्फोट भएको खबर आएको छ। युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा रहेको कम्पनीका सबै संरचना खाली गराइएको वाइल्डबेरीजले जनाएको छ। यद्यपि कम्पनीले आक्रमणको पुष्टि भने गरेको छैन।

‘रुसको अमेजन’का रूपमा चिनिने वाइल्डबेरीजका गोदामहरू पछिल्ला केही सातादेखि युक्रेनी आक्रमणको निशानामा पर्दै आएका छन्। गत जुलाईमा वाइल्डबेरीजका विभिन्न खुद्रा गोदाममा युक्रेनले गरेको ड्रोन आक्रमणका कारण ठूलो संख्यामा रुसी साना तथा मझौला व्यवसायको कारोबार प्रभावित भएको थियो। त्यसबेला किभले रुसी नागरिकले सैन्य सामग्री खरिद गर्न प्रयोग गर्ने लजिस्टिक्स केन्द्रलाई लक्षित गरेको र रुसी सेनाका लागि हुने आपूर्ति अवरुद्ध गर्न खोजिएको बताएको थियो।

यसैबीच युक्रेनले रुसी गणतन्त्र तातारस्तानमा गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा एक बालकसमेत थिए। युक्रेनी सीमाबाट करिब १ हजार १०० किलोमिटर टाढा रहेको तातारस्तानमा भएको यो आक्रमण युक्रेनमा सन् २०२२ मा पूर्ण युद्ध सुरु भएयताकै रुसमाथिको सबैभन्दा घातक एकल आक्रमणमध्ये एक हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.