सांस्कृतिक पर्व गथाँमुग चह्रे सम्पन्न

सांस्कृतिक पर्व गथाँमुग चह्रे सम्पन्न
सुन्नुहोस्

भक्तपुर : मंगलबार दिनभर भक्तपुरको दोबाटो र चौबाटोमा प्रदर्शन गरी राखिएका त्रिखुट्टे राक्षस घण्टाकर्णको पुतला साँझ बस्ती बाहिर पुर्याई जलाइएको छ।   

गथाँमुग चह्ने अर्थात् घण्टाकर्ण चतुर्दशी मनाउने क्रममा पर्वको परम्परा अनुसार नर्कट, निगालो र छ्वाली लगायतबाट बनाइएको राक्षसलाई साँझ परेपछि स्थानीयवासीले बाजागाजासहित अश्लील गाली गर्दै बस्ती बाहिर पुर्याई जलाएका छन्।

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन नेवा: समुदायले मनाउने यो पर्व भक्तपुरमा मंगलबार परम्परागत विधि अनुसार मनाइएको हो। नेपाली भाषामा ‘ग’ को अर्थ घर, ‘थाँ’ को अर्थ स्तम्भ, र ‘मुग’ को अर्थ बलियो भन्ने बुझिन्छ। चतुर्दशीलाई नेवारीमा ‘चह्रे’ भन्ने गरिन्छ। 

नेवा: समुदायले घरभित्रका भूत, प्रेत, पिशाच, राक्षस र रोगव्याधि भगाई बलियो र सुरक्षित बनाएको प्रतिकका रुपमा यो पर्वलाई उत्साहपूर्वक मनाएका छन्। आफ्नो घर, टोल र नगर सफा, बलियो र सुरक्षित बनाइराख्न यो पर्व मनाउने गरेको स्थानीयहरु बताउँछन्।

खेतीको समयमा घरको सरसफाइ नहुने हुँदा फोहोर जम्मा हुने सम्भावना हुन्छ। घरका अँध्यारा कुना र फोहोरमा भूतप्रेतको बास हुने भन्दै यो दिन सरसफाइ गरिन्छ। कसिङ्गरलाई कलात्मक बनाइ जलाइने भएकोले यो सांस्कृतिक पर्व विज्ञानसँग जोडिएको स्थानीय शिक्षक प्रकाश दुवाल बताउँछन्। 

यो पर्वमा राक्षसको आकृति बनाउँदा नांगो बनाइन्छ भने जलाउन जाँदा अश्लील गालीगलौज गर्ने परम्परा रहेको छ। यो पर्व मनाउँदै आएका पत्रकार सुन्दर सिल्पकार यसलाई तत्कालीन यौन शिक्षासँग जोडेर हेर्नुपर्ने तर्क गर्छन्। नकारात्मक ऊर्जालाई भगाउने अर्थमा पनि यो पर्वको विशेष महत्त्व रहेको उनको भनाइ छ। रोपाइँपछि भक्तपुरको पहिलो पर्व  गथाँमुगसँगै अब जात्रा र पर्व भित्रिने संस्कृतिविदहरु बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.