अन्तरिक्ष शक्तिका रूपमा उदाउँदै भारत
अन्तरिक्ष क्षेत्रमा बढ्दो प्रतिस्पर्धाले भारतलाई एउटा यस्तो विशिष्ट अवसर प्रदान गरेको छ, जहाँ टकरावभन्दा सहकार्यले अन्तरिक्ष अन्वेषणलाई अघि बढाउने कथा निर्माण गर्न सकिन्छ। विश्वसनीय र लागत प्रभावी अन्तरिक्ष राष्ट्रका रूपमा पहिचान बनाएको भारत अब आफ्ना प्राविधिक उपलब्धिलाई दीर्घकालीन अन्तर्राष्ट्रिय साझेदारीमा रूपान्तरण गर्ने अवस्थामा पुगेको छ। यस्तो साझेदारीले वैज्ञानिक प्रगति, आर्थिक वृद्धि र दिगो विकासमा योगदान पुर्याउन सक्छ।
भारतको अन्तरिक्ष यात्राको आफ्नै विशिष्ट इतिहास छ। शीतयुद्धकालीन प्रतिस्पर्धाबाट विकसित भएका धेरै अन्तरिक्ष कार्यक्रमभन्दा फरक, भारतको अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय विकासको साधनका रूपमा परिकल्पना गरिएको थियो। डा. विक्रम साराभाईले भारतको अन्तरिक्ष दृष्टिलाई आम नागरिकको जीवनस्तर सुधार्ने व्यावहारिक प्रयोगसँग जोड्नुभएको थियो। उहाँको नेतृत्वमा सञ्चार, मौसम पूर्वानुमान, विपद् व्यवस्थापन, स्वास्थ्य सेवा, कृषि र शिक्षालाई सुदृढ बनाउने उद्देश्यले भूउपग्रह विकास गरिए।
विकासमुखी यो दर्शन अझै पनि भारतको अन्तरिक्ष कार्यक्रमको केन्द्रमा छ। यो विश्व दक्षिण (ग्लोबल साउथ) का देशहरूको आवश्यकतासँग पनि गहिरोसँग मेल खान्छ, जहाँ अन्तरिक्ष प्रविधिलाई प्रतिष्ठा प्रदर्शनभन्दा पनि व्यावहारिक विकासका लागि प्रयोग गर्न खोजिन्छ।
आज भारतको अन्तरिक्ष उपलब्धि विकासमुखी प्रयोगमा मात्र सीमित छैन। चन्द्रयान अभियान, मंगलयान, आदित्य-एल१ सौर्य वेधशाला तथा आगामी गगनयान मानव अन्तरिक्ष उडान कार्यक्रमले भारतलाई जटिल र विश्वसनीय अन्तरिक्ष अभियान सञ्चालन गर्न सक्षम राष्ट्रका रूपमा स्थापित गरेका छन्।
चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवनजिक सफलतापूर्वक सफ्ट ल्यान्डिङ गरेपछि भारत विश्वका सीमित अन्तरिक्ष शक्तिहरूको समूहमा प्रवेश गर्यो। यसले तुलनात्मक रूपमा कम लागतमा पनि विश्वस्तरीय नवप्रवर्तन हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरेको छ।
भारतको बढ्दो विश्वसनीयता यस्तो समयमा आएको छ, जतिबेला विश्वव्यापी अन्तरिक्ष अर्थतन्त्र तीव्र गतिमा विस्तार भइरहेको छ। हालः ६०० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको रहेको अन्तरिक्ष क्षेत्र सन् २०३५ सम्ममा करिब १.८ ट्रिलियन अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो क्षेत्र स्याटेलाइट सञ्चार, पृथ्वी अवलोकन, नेभिगेसन, जलवायु सेवा, ब्रोडब्यान्ड कनेक्टिभिटी तथा कक्षमै सेवा प्रदान गर्ने प्रविधि र चन्द्र अन्वेषणजस्ता नयाँ क्षेत्रमा व्यावसायिक गतिविधिबाट तीव्र रूपमा अघि बढिरहेको छ।
धेरै देश अन्तरिक्ष अर्थतन्त्रमा सहभागी हुन चाहन्छन्, तर उनीहरूसँग आफ्नै अन्तरिक्ष प्रविधि र पूर्वाधारको पर्याप्त क्षमता छैन। त्यसैले उनीहरू केवल प्रक्षेपण सेवा उपलब्ध गराउने साझेदारभन्दा भरपर्दो र दीर्घकालीन सहकार्य गर्न सक्ने साझेदारको खोजीमा छन्।
भारतसँग यस्ता आवश्यकताहरू पूरा गर्नसक्ने क्षमता छ। सन् २०२० मा अन्तरिक्ष क्षेत्रलाई उदारीकरण गरेपछि निजी क्षेत्रको सहभागिताका लागि बाटो खुलेको थियो। इन्डियन नेसनल स्पेस प्रमोसन एन्ड अथोराइजेसन सेन्टरको स्थापना, न्यु स्पेस इन्डिया लिमिटेडको बढ्दो व्यावसायिक भूमिका तथा निजी कम्पनीहरूको विस्तारले भारतमा विश्वकै गतिशील उदीयमान अन्तरिक्ष पारिस्थितिकीतन्त्र निर्माण भएको छ।
भारतीय स्टार्टअपहरूले प्रक्षेपण यान, स्याटेलाइट प्लेटफर्म, भूस्थानिक प्रविधि तथा प्रणोदन प्रविधिको विकास गरिरहेका छन्, जसले विश्वव्यापी लगानीकर्ता र ग्राहकलाई आकर्षित गरिरहेको छ। स्काइरुट एरोस्पेस, पिक्सेल र अग्निकुल कस्मोसजस्ता कम्पनीहरूले उन्नत अन्तरिक्ष प्रविधिमा भारतीय निजी क्षेत्रले अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने प्रमाणित गरेका छन्। अबको अर्को कदम यो पारिस्थितिकीतन्त्रलाई अन्तर्राष्ट्रियकरण गर्नु हो।
भारतले आफूलाई केवल कम लागतको अन्तरिक्ष प्रक्षेपण गन्तव्यका रूपमा मात्र प्रस्तुत गर्नु हुँदैन। बरु स्याटेलाइट डिजाइन, प्रक्षेपण सेवा, अभियान सञ्चालन, ग्राउन्ड स्टेसन, अन्तरिक्ष यात्री प्रशिक्षण, क्षमता अभिवृद्धि तथा कृषि, विपद् व्यवस्थापन र समुद्री सुरक्षाजस्ता क्षेत्रमा अन्तरिक्ष प्रविधिको प्रयोगलाई समेट्ने व्यापक साझेदारीको प्रस्ताव गर्न सक्छ।
यस्ता एकीकृत साझेदारी विश्व दक्षिण तथा हिन्द-प्रशान्त क्षेत्रका त्यस्ता देशका लागि महत्वपूर्ण हुन सक्छन्, जो आफ्नो विकासका प्राथमिकता पूरा गर्न सस्तो, अनुकूलित र विश्वसनीय प्रविधिको खोजीमा छन्।
भारतले यस्तो सहकार्यको कूटनीतिक महत्त्वसमेत देखाइसकेको छ। दक्षिण एसिया स्याटेलाइटमार्फत भारतले छिमेकी देशहरूलाई सञ्चार तथा विकाससम्बन्धी लाभ उपलब्ध गराएको थियो। भारतीय प्रक्षेपण यानहरूले विश्वभरका सरकार, विश्वविद्यालय तथा व्यावसायिक संस्थाका सयौं विदेशी स्याटेलाइट सफलतापूर्वक कक्षमा पुर्याएका छन्।
भारतको आर्टेमिस सम्झौतामा सहभागी हुने निर्णयले अन्तर्राष्ट्रिय सहकार्यका माध्यमबाट चन्द्रमाको शान्तिपूर्ण अन्वेषणमा सहभागी हुने उसको इच्छाशक्ति पनि देखाएको छ। नासा, युरोपेली अन्तरिक्ष एजेन्सी र जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीसँगको सहकार्यले भारतको वैज्ञानिक तथा प्राविधिक क्षमता थप सुदृढ बनाएको छ।
यी साझेदारीले विश्व दक्षिणको अग्रणी आवाजका रूपमा भारतको स्थानलाई अझ बलियो बनाएका छन्। भारतले किफायती, विश्वसनीयता र पारस्परिक सम्मानमा आधारित विकास साझेदारीको प्रस्ताव गरिरहेको छ, जसले प्राविधिक निर्भरता सिर्जना गर्नुको सट्टा साझेदार देशको क्षमता अभिवृद्धिमा जोड दिन्छ।
त्यसैले अन्तरिक्ष सहकार्य भारतीय कूटनीतिको महत्वपूर्ण साधन बन्दै गएको छ। यसले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउनुका साथै प्रत्यक्ष विकासात्मक लाभ पनि पुर्याइरहेको छ।
भारतले आफ्नो पूर्ण क्षमता हासिल गर्न सुधारको गति कायम राख्नुपर्नेछ। नियामकीय स्वीकृतिलाई थप छिटो बनाउने, जोखिम लगानीमा पहुँच विस्तार गर्ने, बौद्धिक सम्पत्तिको संरक्षण बलियो बनाउने तथा अनुसन्धान संस्था, उद्योग र शैक्षिक क्षेत्रबीच सहकार्य बढाउने काम महत्वपूर्ण हुनेछ।
सार्वजनिक खरिदसम्बन्धी नीतिले भारतीय स्टार्टअपलाई निरन्तर सहयोग गर्नुपर्नेछ। यसबाट उनीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न, नयाँ प्रविधिको विकास गर्न तथा विश्वव्यापी आपूर्ति शृंखलामा जोडिन सहज हुनेछ।
भारत अन्तरिक्षको विश्वव्यापी शासन प्रणाली निर्माणमा पनि ठूलो भूमिका खेल्ने अवस्थामा पुगेको छ। कक्षीय भीडभाड, अन्तरिक्ष फोहोर, अन्तरिक्ष स्रोतको जिम्मेवार उपयोग तथा उदीयमान अन्तरिक्ष अवसरमा समान पहुँचजस्ता विषय अन्तर्राष्ट्रिय चासोका प्रमुख विषय बन्दै गएका छन्।
अन्तरिक्ष गतिविधि विस्तार हुँदै जाँदा जिम्मेवार मापदण्ड र अभ्यास निर्माणमा सहमति जुटाउन सक्ने देशहरूको आवश्यकता पनि बढ्नेछ। अन्तरिक्षको शान्तिपूर्ण प्रयोगप्रतिको भारतको दीर्घकालीन प्रतिबद्धता र बढ्दो प्राविधिक क्षमताले पारदर्शिता, दिगोपन तथा समान पहुँचलाई प्रोत्साहन गर्ने नियम निर्माणमा अर्थपूर्ण योगदान पुर्याउने आधार दिएको छ।
आगामी दशकले अन्तरिक्षमा कुन देशले नेतृत्व गर्छ भन्ने मात्र होइन, अन्तरिक्षको शासन कसरी सञ्चालन हुन्छ भन्ने कुरा पनि निर्धारण गर्नेछ। वैज्ञानिक क्षमता, उद्यमशील पारिस्थितिकीतन्त्र र अन्तर्राष्ट्रिय विश्वसनीयताका कारण भारत स्थापित तथा उदीयमान अन्तरिक्ष राष्ट्रबीचको दूरी कम गर्ने विशिष्ट अवस्थामा छ।
समावेशिता, पारस्परिक लाभ र नवप्रवर्तनमा आधारित सहकार्यात्मक साझेदारी निर्माण गर्न सके भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई विश्वव्यापी संलग्नताको महत्वपूर्ण आधारस्तम्भका रूपमा विकास गर्न सक्छ।
बढ्दो रूपमा विभाजित हुँदै गएको विश्वमा भारतको अन्तरिक्ष क्षेत्रले एउटा शक्तिशाली सन्देश दिन्छ, अन्तरिक्षमा भएका सबैभन्दा ठूला उपलब्धि त्यस्ता हुन्छन्, जसले राष्ट्रहरूलाई एकअर्कासँग जोड्छन्। मानवताको अन्तरिक्ष यात्राको आगामी चरणमा भारतको सबैभन्दा दीर्घकालीन योगदान यही बन्न सक्छ।
लेखक पूर्वराजदूत एवं लेखक हुन्।
प्रतिक्रिया दिनुहोस !