कृष्ण जन्माष्टमी

आस्था भक्ति र बढ्दो लोकप्रियता

आस्था भक्ति र बढ्दो लोकप्रियता

कृष्ण जन्माष्टमी हिन्दु धर्मावलम्बीका लागि अत्यन्त महत्वपूर्ण र श्रद्धापूर्वक मनाइने पर्व हो। भगवान् विष्णुका आठौं अवतार, श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने यो पर्वले विश्वभरका करोडौं मानिसको हृदयमा विशेष स्थान बनाएको छ। भाद्र कृष्ण अष्टमीको रातमा मथुराको जेलमा कंशको कैदमा हुँदा माता देवकीको गर्भबाट भगवान् श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ। यही पवित्र दिनलाई स्मरण गर्दै, हरेक वर्ष यो पर्वलाई भव्यताका साथ मनाइन्छ।श्रीकृष्णले धर्मको पुनर्स्थापना र अधर्मको विनाशका लागि पृथ्वीमा अवतार लिएका थिए।

जन्माष्टमी केवल धार्मिक पर्वमात्र नभई सांस्कृतिक, सामाजिक र आध्यात्मिक चेतनाको प्रतीक पनि हो। नेपालमा मात्र होइन, भारत, बंगलादेश, श्रीलंका, फिजी, मौरिसस, अमेरिका, युरोपलगायतका देशमा पनि कृष्ण जन्माष्टमीको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको छ।

ऐतिहासिक पृष्ठभूमि र धार्मिक महत्व : कृष्ण जन्माष्टमीको उद्गम द्वापर युगमा अधर्म नष्ट गर्न र धर्मस्थापना गर्न भगवान् कृष्णको जन्म भएको थियो।उनको बाल्यकालका विविध लीलाहरू, जस्तै माखन चोर, कंश वध, र गोकुलमा बिताएको समय, भक्तजनका लागि प्रेरणादायक छ।जन्माष्टमीले मात्र कृष्णको जन्म सम्झाउनेमात्र होइन, ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णले जीवनलाई कसरी परिपूर्ण बनाउने भन्ने शिक्षा पनि दिने पर्व हो। पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने, झाँकीसहित शोभायात्रा गरिने र विभिन्न भजन–कीर्तनको आयोजना गरिने गर्दछ।यसले सम्पूर्ण नेपाली समाजमा कृष्ण भक्तिलाई जीवित राख्न ठूलो योगदान पुर्‍याएको छ।

कृष्ण जन्माष्टमी मनाउने परम्परा र विधि : विश्वभर हिन्दु धर्मावलम्बीले जन्माष्टमी उत्सव धार्मिक विधि, भजन–कीर्तन, कथा वाचन, र व्रत गरेर मनाउँछन्।भक्तजनहरू राति १२ बजे जन्माष्टमीको शुभमुहूर्तमा भगवान् कृष्णको पूजा र आराधना गर्दछन् र व्रत खोल्ने चलन छ।तसर्थ मथुरा र वृन्दावनमा जन्माष्टमी विशेष रूपमा भव्य रूपमा मनाइन्छ, जहाँ कृष्णका दिव्य लीलाहरूलाई पुनर्जीवित पार्ने रासलीला, झुला उत्सवजस्ता कार्यक्रम गर्छन्।नेपालमा पनि यस पर्वलाई विधिपूर्वक मनाउने चलन बढ्दो छ।जसले धार्मिक विश्वाससँगै सामाजिक मेलमिलाप वृद्धिमा भूमिका खेल्छ।

आस्था र भक्तिको बढ्दो स्वरूप : अहिलेको समयमा कृष्ण जन्माष्टमीको लोकप्रियता विश्वव्यापी छ। भागवत कथा वाचन, भजन–कीर्तन, र विभिन्न सांस्कृतिक कार्यक्रममार्फत कृष्णभक्तिको स्तर बढिरहेको छ।प्रविधि र सञ्चारको विकासले पनि जन्माष्टमीको प्रचारप्रसारमा ठूलो भूमिका खेलेको छ।सामाजिक सञ्जाल र धार्मिक च्यानलहरूले यो पर्वलाई अझ धेरै मानिससम्म पुर्‍याएका छन्। भिन्नभिन्न उमेर समूहमाझसमेत कृष्ण जन्माष्टमीको महत्व र उसकी शिक्षालाई बुझ्ने र आत्मसात् गर्नेलाई उत्साह प्रदान गरेको छ।

आधुनिक युगमा कृष्ण जन्माष्टमीको सामाजिक प्रभावः आजको दौडधुप र तनावपूर्ण जीवनशैलीले मानिसलाई आध्यात्मिक शान्तिको खोजीमा लगाएको छ। यस सन्दर्भमा कृष्ण जन्माष्टमीजस्तो पवित्र पर्वले भक्तजनलाई मानसिक शान्ति र सामाजिक एकताको सन्देश दिने महत्वपूर्ण भूमिका खेलेको छ। नेपालजस्ता बहुधार्मिक र बहुसांस्कृतिक देशहरूमा पनि कृष्ण जन्माष्टमीले धार्मिक सहिष्णुता र एकताको सन्देश फैलाउन सहयोग पुर्‍याएको छ।विशेषगरी युवापुस्ताले यसमा बढी चासो देखाउनु शुभसंकेत हो कि धार्मिक संस्कार र सांस्कृतिक चेतना अझ मजबुत हुँदैछ।

जन्माष्टमीको ऐतिहासिक र धार्मिक महत्व : जन्माष्टमीले हिन्दु धर्मको मूल सिद्धान्तहरू, नैतिकता र आध्यात्मिकताको गहिरो सन्देश बोकेको छ।श्रीकृष्णको जीवन आफैंमा एउटा पाठ हो।उनको जन्म दुष्ट शक्तिहरूको विनाश गर्न र धर्मको पुनस्र्थापना गर्न भएको थियो।उनको बाल्यकालका लीलाहरू, महाभारतमा दिएको उपदेश (गीता) र उनको प्रेमिल स्वभावले सबैलाई आकर्षित गर्दछ।यसर्थ धर्मको रक्षालाई हेर्ने हो भने श्रीकृष्णको जन्म कंशजस्ता अधर्मीहरूको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्न भएको थियो।यसले अन्याय र दुष्टताविरुद्ध धर्मको विजयको प्रतीकलाई दर्शाउँछ।त्यसरी नै कर्मयोगको सिद्धान्तमा भगवद् गीतामा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेशले कर्मको महत्वलाई जोड दिएको छ।कुनै पनि फलको अपेक्षा नगरी आफ्नो कर्तव्य पूरा गर्नुपर्छ भन्ने यो सन्देश आज पनि उत्तिकै सान्दर्भिक छ।त्यसरी प्रेम र एकतामा राधा–कृष्णको प्रेमलाई भक्ति र आत्माको परमात्मासँगको मिलनको प्रतीक मानिन्छ।यसले प्रेम, समर्पण र एकताको सन्देश दिन्छ।

भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा मथुरा नगरीमा भएको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ।उनका पिता वसुदेव र आमा देवकी थिइन।जन्म समयमा मथुरामा कंशनामक अत्याचारी शासकको शासन थियो।कंशले देवकीका सात सन्तानहरू मारिसकेको थियो, तर आठौं सन्तान कृष्णले उसको विनाश गर्ने भविष्यवाणी भएकाले कृष्णको जन्मकै क्षणमा वसुदेवले उनलाई गोपनीय रूपमा गोकुल पुर्‍याएका थिए।यो पर्व भगवान् श्रीकृष्णको जन्मदिनको अवसरमा मनाइन्छ, जसलाई वैष्णव परम्परामा विष्णुको आठौं अवतारका रूपमा मानिन्छ। नेपाली समाजमा मात्र होइन, भारत, बंगलादेश, श्रीलंका, मौरिसस, फिजी, नेपाल, भुटान, म्यानमार तथा विश्वभर रहेका हिन्दुहरूमा यो पर्व विशेष आस्था, भक्ति र उल्लासका साथ मनाइन्छ। पछिल्ला वर्षहरूमा धार्मिक भावनासँगै सांस्कृतिक र सामाजिक दृष्टिकोणले पनि यसको लोकप्रियता बढ्दो क्रममा छ।हाम्रो देशमा विशेषगरी काठमाडौंको पाटनस्थित कृष्णमन्दिर, भक्तपुरको कृष्णमन्दिर, मथुरा–गोकुलको प्रतिरूप झल्काउने गोकर्णेश्वर, चितवन, पोखरा, जनकपुर आदिमा विशेष कार्यक्रम हुन्छ।

अन्ततः, यस पर्वले हामीलाई जीवनको हरेक परिस्थितिमा धर्मको बाटो नछोड्न र प्रेम र सद्भावका साथ जीवन बिताउन प्रेरित गर्छ।कृष्ण जन्माष्टमी नेपाली जीवनको एक जीवन्त र धड्कनदार सांस्कृतिक र आध्यात्मिक अंग बनिरहेको छ।यसको आस्था जमिनजस्तो गहिरो छ, जुन शास्त्र, कथा, भक्ति परम्परा र कृष्णको बहुआयामिक व्यक्तित्वमा जगेको छ।यसको लोकप्रियताको आकाश विस्तारै ठूलो हुँदै गइरहेको छ।

जसलाई सामाजिक सञ्जालको शक्ति, सांस्कृतिक पहिचानको खोजी, कृष्णको सार्वभौमिक सन्देश र आयोजनहरूको नवीनताले ठूलो गतिशीलता दिइरहेको छ।यो पर्वले समाजमा एकताको सूत्र बनेर, सांस्कृतिक विरासतलाई सिँचेर, नैतिक मूल्यहरूलाई जगाएर र मानसिक शान्ति प्रदान गरेर अमूल्य योगदान दिइरहेको छ। यद्यपि, व्यावसायीकरणको दोधार, आध्यात्मिकतामाथि रीतिरिवाजको प्रभुत्व र पर्यावरणीय चिन्ताजस्ता चुनौतीहरूसँग सामना गर्नुपर्छ।

भविष्यको दिशा रीतिरिवाज र भक्ति, परम्परा र नवीनता, उत्सव र स्थिरताबीच सन्तुलन कायम गर्नेमा नै निर्भर गर्दछ। मूलतः जन्माष्टमी आस्थाको अक्षय नदी हो जुन नेपाली हृदयबाट सतत प्रवाहित हुँदै गइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.